बैंकमा तरलता घट्यो
शन्तराम बिडारी
२४ वटा वाणिज्य बैंक महँगोमा सापटी माग्दैकाठमाडौं । लामो समयसम्म अधिक तरलता बोकेर बसेका बैंकहरु चैत मसान्तसँगै महँगो ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) लिने अवस्थामा पुगेका छन् । पैसा उठाउने तर खर्च नगर्ने सरकारी प्रवृत्ति दोहोरिँदा बैंकिङ तरलता घटेको छ। यससँगै बैंकहरुले मंसिरयता आक्रामक रूपमा ऋण बिस्तार गरेका छन्। हरेक व्यवसायीले चैत मसान्तसम्म सरकारलाई कर तथा राजस्व बुझाउनु पर्ने हुन्छ। आन्तरिक राजस्व विभागको प्रारम्भीक तथ्याङ्क अनुसार चैत मसान्तमा मात्र करिब ५५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन हुनेछ। बैंकरहरुल पनि ४० देखि ४५ अर्ब रुपैयाँ सरकारी खातामा जाने अनुमान गरेका छन् ।
यो पैसा बैंकिङ प्रणालीबाट सरकारी खातामा जाने हो। सरकारलाई कर तिर्न चेक काट्नेहरु बढिरहेका छन्। यसले गर्दा तरलता व्यवस्थापन गर्न बैंकहरुले महँगो ब्याजमा आपसी सापटी (एक बैंकले अर्को बैंकसँग) लिइरहेका छन्। गत शुक्रबार दुई प्रतिशत रहेको अन्तर–बैंक सापटी (शनिबार र आइतबारको सार्वजनिक बिदापछि) सोमबार साढे चार प्रतिशतसम्म पुगेको थियो । यस्तो बेलामा अब स्थायी तरलता सुविधा अर्थात एसएलएफ उठाउनेतिर बैंक तथा वित्तिय संस्थाहरु पुग्ने संभावना रहेको वरिष्ठ अर्थविद् डा. चन्द्रमणी अधिकारी बताउँछन् । एक तथ्याङ्क अनुसार, अहिले ३२ अर्ब रुपैयाँ तरलता छ। कर भुक्तानीका लागि यो पैसा गएमा बैंकहरुसँग तरलता बाँकी रहने छैन। यस्तो बेलामा बैंकहरुले कायम गर्नु पर्ने अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्न पैसा पुग्दैन। त्यस्तो बेलामा उनीहरु राष्ट्र बैंकको शरणमा एसएलएफका लागि जानु पर्छ। एसएलएफको ब्याज दर ५ प्रतिशत छ।
सोमबारको मात्र तथ्याङक लिने हो भने पनि राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंक सहज अवस्थामा देखिएका छन्। बाँकी सबै बैंकहरु अन्तर–बैंक सापटी माग्नेको सूचीमा छन्। सरकारी स्वामित्वको कृषि विकास बैंकले समेत सापटी माग गरिरहेको छ।
अन्तर–बैंक सापटी दर धेरै दिन नबढ्ने अनुमान ट्रेजरी विभाग प्रमुखहरुको छ। अहिले कर तिर्नुपर्ने कारणले पैसा बाहिरिन्छ। त्यही कारणले सापटी दर बढेको हो।सामान्य अवस्थामा पनि चैतमा तरलता अभाव हुने नै हो। बैशाख लागेपछि सरकारी खर्च बढ्छ र तरलता वृद्धि भएर जान्छ । त्यसैले अहिलेको अन्तर बैंक दर लामो समयसम्म माथि नरहने विज्ञहरुको अनुमान छ । सहज अवस्थामा रहेका केही बैंकले दर बढाएर राखेको केही बैंकरको दाबी छ । यस्तो बेलामा महँगोमा पनि पैसा जान्छ भनेर दर कायम गरेर बसेको देखिन्छ । मौकाको फाइदा जसले पनि उठाउँछ । फाइदा उठाउने प्रवृतीले अहिले पनि उही समस्या दोहोरिएको वैंकका व्यवस्थापकहरु बताउँछन् ।तर, अहिलेको वृद्धि भने त्यस्तो खालको नभएको बैंकरहरु बताउँछन्। लगभग एसएलएफको हाराहारी अन्तर–बैंक सापटी पुगेको छ । अब अलिकति बढ्ने बित्तिकै जो पनि एसएलएफ लिन जान्छ । मोलमोलाइ गरेर सापटी माग्ने प्रवृती हामीकहाँ छैन । त्यसैले यसपाली अभावै भएर दर माथि पुगेको विज्ञहरुको तर्क छ ।
सबैभन्दा बढी अन्तर–बैंक सापटी कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) बढी हुने बैंकले माग गरिरहेका छन्। अहिले सीसीडी टाइट हुनेमा मेगा, सानिमा, प्राइम, बैंक अफ काठमाण्डू, एनआइसी एसिया लगायतका बैंक छन्।सापटी दिने बैंक नै छैनन् भन्दा पनि हुन्छ। यस्तो अवस्थामा एसएलएफ लिन जानुको विकल्प नभएको एक बैंकरले बताए । राष्ट्र बैंकले सीआरआरको तथ्यांक हरेक १४ दिनमा हेर्छ। त्यसैले अर्को १४ दिनसम्म बैंकहरुलाई सीआरआर कायम गर्नुपर्छ भन्ने खासै तनाव छैन। त्यसो हुँदा सीआरआर कायम गर्न बैंकहरुले एसएलएफ लिने गरेको ती बैंकरको अनुमान छ।
तर यता सरकारी खर्चलाई हेरिरहेका बैंकहरु अब ब्याज बढाउने कसरतमा जुटेका छन्। राजनीतिक अन्योल कायम रहेको र यस्तो बेलामा गत वर्षजस्तो पनि खर्च नभएकाले तरलता उपलब्ध हुन्छ भन्नेमा बैंकर ढुक्क छैनन्।अभाव हुने निश्चित छ भने आफ्नो जोहो अश्वाभाविक नभएको अर्का बैंकर बताउँछन् । त्यसले लामो अवधिको होइन निश्चित अवधिको निक्षेपको ब्याज बढ्छ । बैंकहरुले १०० दिने, तीन महिने, ६ महिने भनेर ब्याज बढी भएको निक्षेप स्किम ल्याउने गरेको पाइन्छ । बैंकले निक्षेपको ब्याज बढाउनेबित्तिकै लागत बढेर आधार दर पनि महँगिन्छ । आधार दर महँगिनु भनेको ऋणको ब्याज पनि बढ्नु हो। बैंकर्स संघले तरलता अभाव हुन थाल्यो भनेर अर्थमन्त्रालयका अधिकारीहरुलाई खर्च बढाउन आग्रहसमेत गरेको छ।
बाणिज्य बैंकहरुले चैत अन्तिम साता २२ अर्ब रुपैयाँले निक्षेप बढाउँदा ऋण ३४ अर्ब रुपैयाँले बृद्धि गरेका छन्।मंसिरयता एकदमै आक्रमक बनेका बैंकहरुले चालु बर्षमा मात्रै ६ खर्ब ३२ अर्ब रुपैयाँ ऋण बढाएका हुन्। जबकी निक्षेप बृद्धि ४ खर्ब २६ अर्ब रुपैयाँ मात्र छ।मंसिरयता हरेक साताजस्तो बैंकहरुले २२÷२५ अर्बका दरले ऋण बढाइरहेका छन्। अहिले २७ बैंकसँग कुल ऋण ३५ खर्ब ३५ अर्ब पुगेको छ। निक्षेप ३९ खर्ब १३ अर्ब पुगेको छ।राष्ट्र बैंकले ८० प्रतिशतको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ८५ प्रतिशत पुर्याइदिँदा पनि कतिपय बैंकहरु त्यो सीमा नजिक पुगिसकेका छन्। उनीहरुको ऋण दिने क्षमता नै घटिसकेको छ। अघिल्लो साता त बैंकहरुले ४० अर्बले ऋण बढाएका थिए। निक्षेपभन्दा ऋण उच्च भएका कारण तरलतामा कमी आएको छ। यही कारण बैंकहरुले आपसमा लिने अन्तर बैंक सापटी दर पनि साढे चार प्रतिशतसम्म पुगिसकेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको फागुन महिनासम्मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो ।वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ ।समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ ।२०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।२०७६ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.३ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २८.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५.२ प्रतिशतले बढेको छ ।समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १९.१ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १७.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ७.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ६१.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३०.३ प्रतिशतले बढेको छ भनेहायर पर्चेज कर्जा ४.६ प्रतिशतले घटेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply