जितेन्द्रदेवको ध्यान मुद्रामा
काठमाडौं । पर्यटनमन्त्री जितेन्द्रनारायण देवको ध्यान मुद्रा संकलनतिर केन्द्रित भएको छ । मन्त्री भएको छोटो समयमै बृहत् वाम गठबन्धनका कारण सरकारको आयु तिल्मिलाएपछि उनी कमाउ धन्दामा केन्द्रित भएको आशंका गरिएको छ ।
उनले पर्यटन मन्त्रालयअन्तर्गतका विभिन्न नियुक्तिमा आँखा लगाएर मुद्रा झार्ने दाउ गरेका कारण अहिले एकाएक उनको अलोकप्रियता चुलिएको हो । तर जति नै प्रयास गरे पनि निर्वाचन आचारसंहितालगायतका कारण उनले त्यसमा सफलता पाइहाल्न भने भ्याएका छैनन् । तर, उनले लुम्बिनी विकास कोष, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत निकायमा आँखा गाडेको भने धेरै भएको छ ।
पर्यटन मन्त्रालयअन्तर्गतका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जसरी पनि पदमुक्त गर्ने उद्देश्य लिएर देवले चौबीस घण्टे स्पष्टीकरण सोधेनन् मात्र, उनलाई बर्खास्तसमेत गरेका थिए ।
पर्यटनमन्त्री देवले घटस्थापनाका दिन सरकारी बिदासमेत नभनी मन्त्रालयमा सचिव महेश्वर न्यौपानेलगायत उच्च अधिकारीसँग बैठक गरी प्राधिकरणका महानिर्देशक गौतमलाई चौबीस घण्टे स्पष्टीकरण सोधेका हुन् । गौतमलाई यसअघि सोधिएको ११ बुँदे स्पष्टीकरण चित्तबुझ्दो नभएको तर्क गर्दै मन्त्री देवले चौबीस घण्टे स्पष्टीकरण सोधेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम तोकिएको समयमा पूरा नगरेपछि प्राधिकरणले २०७३ मंसिर २४ मा ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राखेको थियो । स्पेनको ठेकेदार कम्पनी ‘कन्स्ट्रक्टोरा सान्जोसे एसए’को पक्ष लिँदै मन्त्री देवले गत भदौ तेस्रो साता महानिर्देशक गौतमसँग ११ बुँदे स्पष्टीकरण सोधेका थिए । गौतमलाई प्राधिकरणबाट हटाउन शक्ति दलाल समूहसँगै राजनीतिक नेतृत्वसमेत संलग्न भएको स्रोतको दाबी छ । यो प्रकरणमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, उनका छोरा सुभाष गच्छदार, पर्यटन मन्त्रालय र त्रिभुवन विमानस्थलका उच्च अधिकारी, उड्डयन क्षेत्रका केही व्यवसायीसमेत संलग्न छन् । यीसँगै पर्यटनमन्त्री देव मिलेर गत भदौ २७ मा राजधानीको द्वारिकाज होटलमा बैठक बसी गौतमलाई सोध्ने स्पष्टीकरणपत्र तयार पारेको स्रोतले जानकारी दियो ।
त्यसो त प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवकै पत्रका कारण मन्त्री देवले जिम्मेवारी मुक्त गरेर मन्त्रालयमा तानिसकेका महानिर्देशक गौतमलाई पुनः थमौती गर्न बाध्य भएका छन् ।
त्यसबाहेक त्रिभुवन विमानस्थलमा सञ्चालित ३५ वटा पसल प्रत्येकसँग १ करोड रुपैयाँका दरले रकम उठाई पर्यटनमन्त्री देवलाई चुनाव खर्च जुटाउने जिम्मा विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले लिएको स्रोतको दाबी छ । प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा पर्यटनमन्त्री रहने व्यवस्था छ ।
त्यस्तै, पर्यटनमन्त्री देवले लुम्बिनी विकास कोषको रिक्त उपाध्यक्षमा कसलाई नियुक्ति गर्दा मुद्रा झर्छ भनेर योजना बुनिरहेको बुझिएको छ । गत साउन २३ गते नै कोषका उपाध्यक्ष भिक्षु निग्रोधको अवधि सकिएपछि उनले त्यसयता उपयुक्त पात्र खोजिरहेको बताइन्छ । कोषका सदस्य सचिव अजितमान तामाङले कोषमा उपाध्यक्ष हुनका लागि मन्त्री देवको दैलो धाइरहेको बुझिएको छ । आवश्यक व्यवस्था सबै गर्न तयार भएर सदस्य सचिव तामाङ अब उक्त नियुक्तिका लागि मैदानमा आएको भए पनि मन्त्रीले उनलाई स्विकार्ने हुन् वा होइनन् भन्ने हेर्न भने केही समय कुनै पर्ने भएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply