किन रोजे आईजीपी खनालले यी बदनाम ?
काठमाडौं । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले दज्र्यानी चिह्न लगाएकै भोलिपल्ट प्रहरीका आकर्षक शाखा प्रबन्ध र निवासमा सरुवा गरेका छन् । प्रहरी संगठनमा राम्रो छवि कायम राखेका र आईजी हुँदा पनि सामाजिक सञ्जालदेखि आमपंक्तिमा प्रशंसा बटुलेका खनालले ती ठाउँमा सरुवा गर्दा भने चुकेको चर्चा प्रहरी संगठनभित्रै व्याप्त छ । ‘यति स्वच्छ, शालीन र व्यावसायिक छवि बनाउनुभएका सर्वेन्द्र सापले प्रबन्ध र निवास सहयोगीमा किन दुर्नाम पात्र रोजिबक्स्यो ?’ अहिले प्रहरी संगठनभित्र धेरैको प्रश्न र खुल्दुली यही हुने गरेको छ । उनले नचाहँदानचाहँदै कतै कुनै शक्तिको दबाबमा यस्तो निर्णय लिइएको त होइन भन्ने प्रश्न पनि संगठनभित्र जन्मिएको छ ।
उनले शुक्रबारै आर्थिक कारोबार हुने प्रबन्ध शाखामा आफू काठमाडौंको प्रहरी प्रमुख हुँदाका लेखापाल केशव गौतमलाई सरुवा गरेका छन् । खनाल काठमाडौैंको प्रमुख हुँदा गौतम लेखापाल थिए । त्यसपछि इन्स्पेक्टर बढुवा भएका गौतम अहिले प्रबन्धमा सरुवा भएका हुन् । प्रनि गौतम एमटी (सवारी) शाखामा थिए । प्रबन्धका प्रहरी निरीक्षक बलराम खत्रीलाई एमटीमा लगिएको छ । आईजीपी खनालले शुक्रबारदेखि नै निवासमा सहयोगका लागि प्रहरी निरीक्षक गोविन्द कार्कीलाई ल्याएका छन् । प्रबन्धमा लगिएका गौतम र सिमरा इप्रका हुँदै ट्राफिक प्रहरी कार्यालयमा कार्यरत कार्की दुवै प्रहरी निरीक्षकको छवि त्यति राम्रो छैन । लेखा र प्रबन्धमा कार्यरत प्रहरीहरू सामान्यतया असार मसान्तमा मात्र परिवर्तन गर्ने प्रचलन छ । आफ्नो कार्यकालको खरिदबिक्रीको असार मसान्तसम्मको लेखापरीक्षण गराएर मात्र उनीहरूको सरुवा हुने गरेको थियो । तर, आईजीपी खनालले फुली लगाएकै भोलिपल्ट परिवर्तन गरेकोमा प्रहरीभित्र आश्चर्य मानिएको छ ।
गौतम आन्तरिक लेखापरीक्षण शाखामा दरबन्दी भई एमटीमा काजमा कार्यरत थिए । गौतम विमानस्थलमा लेखापाल हुँदा वैदेशिक रोजगारमा अवैध रूपमा पठाउनेहरूको एजेन्ट बनेर अति बदनाम भएका थिए । उनीमाथि करोडौं सम्पत्ति आर्जन गरेको आरोप छ । एयरपोर्टपछि हनुमानढोकाको लेखापालमा सरुवा भएका थिए । काठमाडौं परिसर नेपालको सबभन्दा बजेट भएको जिल्ला हो । इन्धन, गाडी मर्मत र थुनुवाको सिदामा काठमाडौंका लेखापालले कुस्त आम्दानी गर्न पाउने भएकाले त्यहाँको लेखापाल हुन गृहमन्त्रीदेखि प्रधानमन्त्रीकै सोर्स चल्ने गर्दछ । अहिले पनि त्यहाँ पूर्वगृहमन्त्री जनार्दन शर्माका आफन्त हुन् । त्यसपछि एमटीको लेखापालमा सरुवा भएका गौतम दुई वर्ष गाडीको पार्टपुर्जाको खरिददेखि प्रहरी प्रधान कार्यालय र भ्यालीभित्रका सबै गाडीका सामान र मर्मतका कार्य सबैमा कमिसन खाएको आरोप छ । दुई वर्ष एमटीमा लेखापाल भएर अथाह कमाएपछि त्यसपछि कुकुर शाखामा सरुवा भएका थिए लेखापालकै रूपमा । इन्स्पेक्टर बढुवा भएपछि १ नम्बर गणमा दरबन्दी राखी पुनः कुकुर शाखामा बसेका थिए । तत्कालीन प्रशासन विभागका एआईजी रमेशशेखर बज्राचार्यले मानवस्रोत विभागका वीरेन्द्रबाबु श्रेष्ठलाई भनसुन गरी गौतमको सरुवा १ नम्बर गणबाट आलेपमा गरिदिएका थिए । उनी आलेपमा दरबन्दी राखी एमटीमा कार्यरत रहेकै बेला खनाल आईजीपी भएपछि प्रबन्ध शाखामा सरुवा भएका छन् । गौतम नेपाल प्रहरीका चर्चित र धनाढ्य लेखासमूहका प्रहरीमा उनी ७ नम्बरभित्र पर्दछन् ।
प्रनि गौतमले मैतीदेवीको एक एकल महिलालाई ७० लाख मिटर ब्याजमा दिएका थिए । ७० लाखभन्दा बढी ब्याज असुलीसकेपछि ती महिलाविरुद्ध हनुमानढोका प्रहरी कार्यालयमा उजुरी दिएर थुनाउन खोजेका थिए । पहिला त्यहीँको लेखापाल भएकाले प्रहरीले ती महिलालाई पक्राउ गर्न लागेपछि तत्कालीन काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले जानकारी लिए । खरेलले ‘गौतमलाई तैंले यत्रो पैसा कहाँबाट ल्याइस. । ब्याज नै त्यति धेरै असुलेर उल्टै थुनाउन खोज्ने ? यो रकमको स्रोत खोजी हुन्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइदिन्छु भनेपछि उनी उजुरीको निवेदन फिर्ता लिन बाध्य भएका थिए । यो एउटा उदाहरण हो, उनले यस्ता धेरै भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाएका छन् ।
प्रनि गोविन्द कार्की बनेपा ट्राफिकको प्रमुख हुँदा चोरीको गाडी प्रयोग गरेकोमा विवादमा परेका थिए । जुन गाडी त्यतिबेला अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बरामद गरेका थिए । कार्की ट्राफिक मात्र होइन, सिमरा इप्रकादेखि जहाँ बस्दा पनि घुस्याहा भनेर चिनिएका इन्स्पेक्टर हुन् ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply