ठेकेदारहरू यता न उता
काठमाडौं । अर्थमा जाँदा भौतिक पूर्वाधारतिर देखाउने र भौतिक पूर्वाधारमा जाँदा अर्थलाई दोष लगाउने उच्च तहका कर्मचारीहरूको कारण अहिले निर्माण व्यवसायीहरू हैरान हुन पुगेका छन् । असार मसान्त नजिकिँदै जाँदा काम गरेबापतको अर्बौं रुपैयाँ भुक्तानी नहुँदा अहिले निर्माण व्यवसायीहरूको दैनिकी नै अर्थ र भौतिक पूर्वाधार मन्त्रालय धाउनु बनेको छ ।
एकातिर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठेक्काको जिम्मा लिएर पनि समयमै काम पूरा नगर्ने ठेकेदारहरूलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याइरहेका छन् । तर, अर्कोतिर भने निर्माण व्यवसायीहरूले काम गरेबापत अर्बौं रकम सरकारबाट पाउन सकिरहेका छैनन् । अर्बौं रकम भुक्तानी नहुँदा निर्माण व्यवसायीहरूले अर्थ र भौतिक पूर्वाधार मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूसँग केही समययता तीव्र रूपमा लबिइङ गरिरहे पनि तत्काल भुक्तानी हुने अवस्था रहेको देखिँदैन ।
केही दिनअघि निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई भेटेर चाँडै नै रकम भुक्तानी हुनुपर्ने कुरा उठाएका थिए । तर, सचिव अधिकारीले ‘अर्थ मन्त्रालयले बजेट नदिएसम्म हामी भुक्तानी गर्न सक्दैनौं’ भनी अर्थका कर्मचारीहरूलाई भेट्न सुझाव दिए । त्यसपछि निर्माण व्यवसायीहरू अर्थ मन्त्रालयका उच्च कर्मचारीहरूलाई भेट्न गएका थिए । अर्थका कर्मचारीहरूले रकम भुक्तानी नहुनुमा उल्टै भौतिक पूर्वाधार मन्त्रालयलाई दोष लगाए । भौतिक पूर्वाधार मन्त्रालयले ४४ अर्ब रुपैयाँ खर्च नगरी राखेको हुँदा त्यही रकम नै निर्माण व्यवसायीहरूलाई भुक्तानी गरिनुपर्ने कुरा राख्दै आएका छन् ।
अहिले निर्माण व्यवसायीहरूले राज्यबाट ४२ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी छ । व्यवसायीहरूले सडक, सिँचाइ, जलउत्पन्न, भवन निर्माणलगायत कामहरू गरेबापत अर्बौं रकम भुक्तानी लिन बाँकी रहेको हो । सडक निर्माणमा मात्रै करिब आधाभन्दा बढी अर्थात् २२ अर्ब भुक्तानी लिन बाँकी छ । यद्यपि, निर्माण व्यवसायीहरूले सरकारसँग अर्बौं रुपैयाँ भुक्तानी लिन बाँकी रहे पनि भौतिक पूर्वाधारका सचिव अधिकारीले भने केही दिनभित्र नै समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएपछि व्यवसायीहरू ढुक्क भने भएका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply