अर्थमा ‘ज्वाइँ राजा’को रजगज
काठमाडौं । अचेल अर्थ मन्त्रालयमा एक जना मानिस राम्रै कार्यकक्षमा बसेर कर्मचारीहरूलाई निर्देशन दिइरहेका भेटिन्छन् । तर, ती मानिसको कार्यकक्षबाहिर भने कुनै नेमप्लेट झुन्डिएको पाइँदैन । न त उनको पदीय जिम्मेवारी नै के हो भन्नेबारे कसैलाई थाहा छ । ती शक्तिशाली मानिस हुन्– डा. रामशरण खरेल ।
नाताले वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको आफ्नै छोरी–ज्वाइँ पर्ने डा. खरेल अर्थ मन्त्रालयमा हावी हुँदै गएका छन् । अर्थमा उनकै खटनपटन चल्ने गरेको छ । कुनै पदीय जिम्मेवारी नभए पनि र कार्यकक्ष बाहिर नेमप्लेट नझुन्डिए पनि उनलाई कुनै पर्वाह छैन । किनभने, उनले नै सिंगो मन्त्रालय चलाइरहेका छन्, उनकै प्रभाव मन्त्रालयभरि परेको छ ।
अर्थमन्त्री डा. खतिवडाले उनलाई मन्त्रालयमा विशेष सहयोगीका रूपमा ल्याएका हुन् । तर, उनले सहयोगी नभई मन्त्रीको सल्लाहकारकै भूमिका निभाइरहेका छन् । डा. खरेलको नेमप्लेट मन्त्रालयमा नराखिनुको कारणचाहिँ उनी नेपाल राष्ट्र बैंकको कर्मचारी भएको हुँदा हो । राष्ट्र बैंकको कर्मचारीको नेमप्लेट झुन्ड्याउँदा विवाद उत्पन्न हुन सक्ने ठानेर उनको नाम र पद अहिलेसम्म मन्त्रालयमा नटाँगिएको बताइन्छ ।
राष्ट्र बैंकको उपसचिव तहको कर्मचारी रहेका डा. खरेललाई आफ्ना ससुरा अर्थमन्त्री डा. खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्रालयमा ल्याएका हुन् । राष्ट्र बैंकलाई अर्थले डा. खरेललाई ‘विशेष सहयोगी’का रूपमा पठाइदिन पत्राचार गरेको थियो । अर्थमन्त्रीको विशेष सहयोगीका रूपमा अर्थ मन्त्रालयमा जाँदा डा. खरेल राष्ट्र बैंकमा उपसचिवका हैसियतमा थिए । तर, अहिले भने उनी सहसचिवमा बढुवा भइसकेका छन् । लन्डनबाट मनिटरिङ पोलिसीमा पीएचडी गरेका डा. खरेल शतप्रतिशत नम्बरका आधारमा सहसचिवमा बढुवा भएका हुन् । राष्ट्र बैंकको कर्मचारी बढुवा नियमअनुसार स्नातक गरेकाको ९६, स्नातकोत्तर गरेकाको ९८ र विद्यावारिधि गरेकाले १०० नम्बर पाउँछ । पीएचडी गरेको आधारमा शतप्रतिशत नम्बर पाएपछि आफूभन्दा एक दर्जनजति वरिष्ठ कर्मचारीलाई पछि पार्दै उनको र डिल्लीराम पौडेलको सहसचिवमा बढुवा भएको हो ।
यसअघि राष्ट्र बैंकमै छँदा आकर्षक तलब र सुविधा पाइने अन्तर्राष्ट्रिय मुद्रा कोषमा पनि उनी कार्यरत रहिसकेका छन् । ससुराकै कृपाका कारण उनले कोषको अमेरिकास्थित कार्यालयमा तीन वर्ष काम गरिसकेका छन् । जहिल्यै पनि आकर्षक ठाउँमा मात्र मौका पाउँदै आएका डा. खरेलले आर्थिक वर्ष २०७५÷७६ को बजेट निर्माण गर्ने बेलामा निकै चलखेल गरेको बताइन्छ । अचेल राजनीतिलगायत वृत्तमा अर्थ मन्त्रीले राम्रो बजेट ल्याउन सकेनन् भन्ने टिप्पणी व्यापक रूपमा हुने गर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत अर्थमन्त्रीले ल्याएको बजेटप्रति सन्तुष्ट नरहेको बताइन्छ ।
यसैबीच, यो आर्थिक वर्षको बजेट बनाउँदा त्यसको भाषा नै डा. खरेलको रहेको बताइन्छ । बजेटमा काइते र भ्रम सिर्जना गर्ने भाषा प्रयोग गर्नमा उनकै हात रहेको बताइन्छ । उदाहरणका निम्ति, ‘कर्मचारीको भत्ता शतप्रतिशत बढाइएको छ’ भन्ने वाक्य उनले नै राख्न लगाएको बुझिएको छ । जम्मा १ हजार रूपैयाँ भत्ता बढाउँदा ‘शतप्रतिशत’ शब्द राखेर भ्रम सिर्जना गर्न खोजिएकोमा कर्मचारीहरू क्षुब्ध बनेका थिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply