किन मौन छन् अध्यक्ष प्रचण्ड ?
काठमाडौं । स्थिरता र समृद्धिको मार्गमा लम्किने योजना बुनेर नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको पाँच महिना बितेको छ । पाँच महिनाको अवधिमा केही जनप्रिय काम गर्न सरकार सफलसमेत भएको छ । तर, पछिल्लो समयमा भने सरकारलाई अलोकप्रिय साबित गर्ने गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र कांग्रेससमर्थक पेसाकर्मी, बुद्धिजीवीका साथै नागरिक समाजका अगुवा भनिनेहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।
डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा सुधार हुनुपर्ने माग राखेर आमरण अनशन थालेयता भने ओली नेतृत्वको सरकारमाथि हमलाको शृंखला नपत्याउँदो गरी चुलिँदै गएको छ । जुम्लामा अनशन बसेका डा. केसीलाई सरकारले काठमाडौं ल्याएपछि र उनको स्वास्थ्य स्थिति कमजोर बन्दै गएपछि त्यसको सीधा निसाना सरकारमाथि साँध्न थालिएको छ । ओली नेतृत्वको सरकारलाई कमजोर र असफल तुल्याउने कडीका रूपमा पछिल्ला राजनीतिक घटनाक्रमहरू उब्जिएकोमा आशंका गर्ने ठाउँ देखिँदैन ।
तर, ओली नेतृत्वको सरकारमाथि विपक्षी कांग्रेसलगायतका समूह र व्यक्तिहरूले चौतर्फी हमला गरिरहँदा पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने अपेक्षाकृत रूपमा ‘सरकारको बचाउ’ गर्ने गरी सक्रियता नदेखाउँदा सर्वत्र कताकता चिसो पसेको छ । कतिपयले के आशंका पनि गर्न थालेका छन् भने, कतै ओली नेतृत्वको सरकारलाई असफल तुल्याएर आफू प्रधानमन्त्री बन्ने दाउमा त प्रचण्ड लागेका छैनन् ? तर, ओलीपछि निःसन्देह रूपमा प्रधानमन्त्री हुने लहरमा प्रचण्ड नै रहेका हुँदा यस्तो आशंका पुष्टि हुने आधार भने देखिँदैन ।
डा. केसीको प्रकरण उछालिएसँगै सरकारमाथि तीव्र हमला गर्ने क्रम बढ्दै जाँदा त्यसलाई बचाउ गर्न अध्यक्ष प्रचण्डले प्रभावकारी भूमिका खेल्लान् भन्ने अपेक्षा सबैले राखेका थिए । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन बनाउनेदेखि दुई ठूला वामपन्थी दलबीच एकता गरेर स्थिर र समृद्धिको मार्गमा अघि बढ्ने सरकार निर्माणलगायत कार्यमा अध्यक्ष प्रचण्डको अहम् भूमिका रहेको थियो । तर, पछिल्लो समय सरकारमाथि चौतर्फी प्रहार सोझिँदा भने अध्यक्ष प्रचण्डले सरकारको बचाउ गर्न खासै भूमिका निर्वाह नगरेको स्पष्ट देखिएको छ । लामो समयदेखि मौन बस्दै आएका अध्यक्ष प्रचण्डले साउन ७ गते पुष्पलाल स्मृति दिवसको सन्दर्भमा केही कुरा त बोले, तर सरकारको बचाउ गर्नेतिर नभई कांग्रेसको आलोचना गर्न मात्र उनी तयार देखिए ।
डा. केसीको प्रकरणमा विपक्षी कांग्रेस र कांग्रेसनिकट पेशाकर्मीहरू सडकमा उत्रिनु स्वाभाविकै थियो, तर अध्यक्ष प्रचण्डनिकटका केही वाम बुद्धिजीविहरूसमेत सडकमा उत्रिनुलाई भने धेरैले आश्चर्यका रूपमा हेरेका छन् । विगतमा अध्यक्ष प्रचण्डकै जोडबलमा सांसद बनेका श्याम श्रेष्ठ, प्रचण्डसँग निकट मानिने खगेन्द्र संग्रौला, युग पाठकलगायत व्यक्तिहरूसमेत सरकारको विरुद्धमा उत्रिनुलाई केवल संयोग मात्र ठानिएको छैन । ओली नेतृत्वको सरकार असफल हुनु भनेको अध्यक्ष प्रचण्ड पनि असफल हुनु हो । किनभने, ओलीको असफलताको भागिदार केवल प्रधानमन्त्री ओली मात्र हुने छैनन्, नेकपालाई नेतृत्व गरिरहेका अध्यक्ष प्रचण्ड पनि त्यसको भागिदार बन्नेछन् । त्यसैले, अध्यक्ष प्रचण्डमा मौनता त्यागेर सरकारको बचाउ गर्ने र यदि सरकारको कार्यशैली ठीक छैन भने त्यसलाई सुधारेर अघि बढ्नुको विकल्प देखिँदैन । त्यति मात्र होइन, सरकारले गरेका कामबारे सरकारमा रहेका मन्त्रीहरूले नै सशक्त ढंगले बोल्न सकेका छैनन् । न त कांग्रेसी रवैयाको कडा प्रतिवाद नै गर्न सकेको देखिन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply