खाली ठाउँमा भर्नै सकस
काठमाडौं । नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठान (नास्ट) नेतृत्वविहीन भएको साढे तीन महिना कटिसक्यो । तर, अझै पनि नास्टको उपकुलपति नियुक्त गर्नेतिर कुनै तत्परता देखाइएको छैन ।
सरकारले अरू निकायहरूमा धमाधम नियुक्ति गरे पनि नास्ट भने अहिलेसम्म प्राथमिकतामा परेको देखिँदैन । प्रधानमन्त्री स्वयं कुलपति र शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सहकुलपति रहने नास्टको उपकुलपतिबाट डा. जीवराज पोखरेलले भदौ २२ गते नै अवकाश पाइसकेका हुन् । तर, डा. पोखरेलले अवकाश पाएको साढे तीन महिना बितिसक्दा पनि नास्टले नयाँ कुलपति पाउन सकेको छैन । सचिवमा भने डा. बुद्धराम खड्गीको कार्यकाल अझै केही महिना बाँकी रहेको छ ।
नास्टमा उपकुलपति रिक्त रहेपछि शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीको अध्यक्षमा नयाँ उपकुलपति नियुक्तिका लागि तीन सदस्यीय सिफारिस कमिटी गठन हुन्छ र सोही कमिटीले तीन व्यक्तिको नाम सिफारिस गरेपछि त्यसमध्येबाट नै उपकुलपति नियुक्ति हुन्छ । तर, नास्टमा उपकुलपति खाली रहेको साढे तीन महिना बितिसक्दा पनि नयाँ उपकुलपतिको नाम सिफारिस गर्न अहिलेसम्म कमिटी नै गठन भएको छैन । सिफारिस कमिटी गठन नभएको हुँदा नास्टको उपकुलपतिको नियुक्ति लम्बिने देखिएको छ ।
त्यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव खाली रहेको डेढ महिना बितिसक्दा पनि नियुक्ति हुन सकेको छैन । कोषको सदस्य–सचिव गोविन्द गजुरेलको अवधि कात्तिक २६ गते नै सकिएको थियो । आफ्नो अवधि सकिनुभन्दा चार महिनाअघि नै सदस्य सचिव गजुरेलले वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर सदस्य सचिवका लागि नयाँ मानिस खोज्न आग्रह गरेको बताइन्छ । मन्त्री बस्नेतलाई सदस्य सचिव गजुरेलले ‘यो कार्यकाल पूरा गरेपछि म अर्को कार्यकाल दोहोरिन्न । अर्को मानिस नियुक्त गर्न मान्छे खोज्नुस्’ भनेका थिए । तर, सदस्य सचिव गजुरेलले सुझाव दिएको चार महिना र उक्त पद खाली रहेको डेढ महिना बितिसक्दा पनि नयाँ सदस्य सचिव नियुक्तिका लागि कुनै प्रक्रिया चालिएको छैन ।
कोषको सदस्य सचिवमा नियुक्ति पाउन पूर्वमाओवादी केन्द्रनिकटका धेरै व्यक्ति आकांक्षी देखिएपछि मन्त्री बस्नेत पनि संकटमा परेको बताइन्छ । तर, उक्त पदमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिफारिस गरेका व्यक्ति नै नियुक्त हुने भएकाले अहिले आकांक्षीहरू मन्त्री बस्नेतकहाँभन्दा अध्यक्ष दाहालकहाँ नै धाउन थालेका बताइन्छ । तर, कांग्रेसनिकट पूर्ववन सचिव डा. कृष्णचन्द्र पौडेल, सिद्धार्थ बज्राचार्य पनि सदस्य सचिव बन्ने दौडमा रहेको बुझिएको छ । बज्राचार्य भने कोषको कार्यकारी निर्देशक पदमा कार्यरत छन् । त्यस्तै, कोषका अर्का कार्यकारी निर्देशक दीपककुमार सिंह र निर्देशक सरिता ज्ञवाली पनि सदस्य सचिव बन्न इच्छुक देखिएका छन् । कोषमा कार्यरत कर्मचारीहरू इच्छुक देखिए पनि सदस्य सचिवमा अध्यक्ष दाहालनिकटकै व्यक्तिको नियुक्ति हुने सम्भावना बढी रहेको देखिन्छ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply