युद्धस्तरमा कामहरू भइरहेको छ
० देशको आर्थिक र सामाजिक विकासमा नेपाल टेलिकमले कस्तो योगदान पु¥याइरहेको छ ?
जुनसुकै देशको पनि आर्थिक र सामाजिक विकासको एउटा अपरीहार्य अंग भनेको सञ्चार हो । सञ्चार सुविधाबाट प्रत्यक्ष रूपमा यसले योगदान त गरेकै छ । अर्को कुरा टेलिकम सरकारी र पब्लिक संस्था भएको हिसाबले हामीले जुनसुकै किसिमका कारोबार गर्दा, सामान किन्दा वा सेवा–सम्झौता गर्दा पनि प्रतिस्पर्धात्मक रूपमा गर्छौं । कुनै आपूर्तिकर्ता वा निर्माणकर्ता हामीलाई मन पर्ने वा हामीले चाहेको भन्ने हुँदैन । खुला प्रतिस्पर्धा गराएर हामी सबैलाई समान अवसर दिने हुनाले मुलुकको सूचना प्रविधिको विकास हुनुका साथै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने ठेकेदारहरू, आपूर्तिकर्ताहरू, विदेशी आपूर्तिकर्ताका साझेदारहरू, सफ्टवेयर डेभलपरहरू, मार्केटिङ कन्सल्ट्यान्टहरू, विज्ञापनकर्ताहरू सबैले एउटा किसिमको व्यवसाय गर्ने अवसर पाउनुभएको छ । त्यसकारण हामीले हेर्दा नेपाल टेलिकमले प्रत्यक्ष आफूले सेवा क्षेत्रमा काम गरेको त छँदै छ, अप्रत्यक्ष रूपमा पनि आर्थिक गतिविधिलाई चलायमान गर्ने केही न केही योगदान गरेको छ भन्ने हाम्रो भनाइ हो ।
० टेलिकमको सेजा तुलनात्मक रूपमा सस्तो, भरपर्दो भए पनि अन्य निजी सेवाप्रदायकको तुलनामा गुणस्तरीय हुन सकेन भन्ने गुनासो छ नि ?
अलिकति हामीलाई हेर्ने मान्छेको पर्सेप्सनले पनि त्यस्तो गरेको हो कि जस्तो लाग्छ । पटक–पटक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको सर्वेक्षणमा टेलिकमलाई कतिपय ठाउँमा कम्पिटीसनभन्दा राम्रो र कतिपय ठाउँमा बलियो प्रतिस्पर्धात्मकका रूपमा निक्र्योल गरेको छ, खासगरी सेवाको प्राविधिक गुणस्तरको हिसाब गर्ने हो भने । बिक्रीपछिका सेवाहरू, ग्राहकसँगको समन्वयका सेवाहरू भन्ने कुराचाहिँ अलिकति हाम्रो ऐतिहासिक पृष्ठभूमिका कारण पनि हुन सक्छ । सरकारी भएपछि तुलनात्मक रूपमा पछि नै हुन्छन् भन्ने पुरानो मान्यताले पनि यस्तो धारणा बनेको हुन सक्छ । त्यसलाई हामी चिर्ने प्रयास गर्दै छौं । त्यसमा सुधार गर्नुपर्ने आवश्यकता नभएको भने होइन । हालका वर्षहरूमा नेपाल टेलिकम व्यवस्थापनको प्रमुख ध्यान नै कसरी बिक्रीपछिका सेवाहरूलाई, ग्राहकसँगको समन्वयलाई, आफ्नो सम्बन्धलाई कसरी प्रगाढ बनाउने भन्ने खालको नै छ । सेवाको मूल्यको हिसाबले हामी अगाडि छौं । गुणस्तरको हिसाबले पनि अगाडि नै छौं तर ग्राहकहरूसँगको हाम्रो समन्वय र सम्पर्कलाई कसरी अझै प्रगाढ बनाउने भन्नेतिर हामी भएका केन्द्रित छौं । यसका लागि सोसियल मिडीयाको प्रयोग, कल सेन्टरहरू स्थापना भइरहेको छ । सुधारको प्रयासमा हामी निरन्तर छौं ।
० टेलिकमले फोरजी सेवा विस्तार कहाँ पु¥याएको छ ?
अहिले फोरजीसम्बन्धी सम्झौताहरू सबै सम्पन्न भइसकेका छन् । त्यसलाई हामीले पाएको म्यान्डेटअनुसार यसै वर्षभित्र सम्पन्न गर्ने भन्ने सरकारको निर्देशनअनुसार काम गरिरहेका छौं । हाम्रो व्यवस्थापनको पनि त्यसमा दृढता छ । त्यहीअनुसार अहिले युद्धस्तरमा साइट सर्भेहरू गर्ने, देशभरिका स्थानमा नयाँ टावर खडा गर्नलाई तथा नयाँ बीटीएस खडा गर्न भएका बीटीएसहरूमा उपकरण खडा गर्न र फोरजीका लागि उपयुक्त बनाउन देशभरिका सयौं ठाउँमा सर्भेका काम, साइट तयार गर्ने कामहरू युद्धस्तरमा भइरहेको छ ।
० यसबाहेक टेलिकमका भावी योजनाहरू के छन् ?
– वारयरलेसमा बाहेक हाम्रा भावी योजनाहरूमा विगत वर्षदेखि नै हामीले केन्द्रित गरिरहेको र चर्चामा रहेको योजना हो– अप्टिकल फाइबर ब्रोडब्यान्डको योजना । बीचमा विभिन्न व्यावहारिक कारणहरूले गर्दा अलिकति ढिलो भए पनि यो वर्ष हामीले सामानहरू सबै यही वर्ष ल्याइसक्छौं । त्यसका साथसाथै एडीएसएलका ग्राहकलाई तथा लोकल टेलिफोनका ग्राहकहरूलाई फाइबरमा रूपान्तरण गर्ने परियोजना एकदमै प्राथमिकताका रूपमा अगाडि बढ्छ । मोबाइलमा एक हिसाबले हाम्रो मेजर प्रोजेक्ट छ । त्योबाहेक नेपाल सरकारकै राष्ट्रिय गौरवकै योजनाअन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने र त्यसमा पनि प्रदेश १, २ र ३ को परियोजना नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मा लगाएको छ । त्यसको पनि खरिद प्रक्रिया लगभग टुंगिसकेको छ । पाँच सम्झौतामध्ये चारवटा सकिएका छन् । अर्को पनि यसै हप्ता सायद हुने भन्ने छ । त्यसपछि त्यो कम पनि अघि बढ्छ । अहिले र भावी २–३ वर्षका मेजर योजनाहरू भनेका यही हुन् । देशमा सूचना महामार्ग तयार गर्ने काम हामीले पाएको खण्डमा त्यो परियोजना छिटो सम्पन्न गर्ने कामहरू नै हो । त्योबाहेक अन्य स–साना परियोजनाहरू निरन्तर रूपमा आइरहेकै छन् ।
० निजी सेवा प्रदायकहरू पनि आक्रामक ढंगले आइरहेको सन्दर्भमा टेलिकमका चुनौती थपिएका छन्, उनीहरूसँग अब्बल भएर जान अरू योजना के छन् ?
प्रमुख त देशमा गुणस्तरीय सेवा सबै कुनाकाप्चामा पु¥याउनुपर्ने आवश्यकता छ, किनभने हाम्रो देशमा अझै सेवा नपुगेका ठाउँहरू प्रशस्त छन् । गुणस्तर सुधार गर्नुपर्ने योजनाहरू पनि धेरै छन् । त्यसबाहेक हामीहरूले चौतर्फी रूपमा विभिन्न परम्परागत नयाँ विद्युतीय च्यानलहरू प्रयोग गरेर ग्राहकसँगको सम्बन्धलाई सुधार गर्ने, ग्राहकको चाहनाअनुरूप आफ्ना सुविधा पस्किने कामहरू गर्नुपर्ने चुनौती छ । प्रतिस्पर्धा त भविष्यमा अझै जटिल भएर जाला । देशमा त्यस्तो बजार देखियो भने अर्को अप्रेटरहरू पनि आउन सक्छन् । तथापि हाम्रो सबल पक्ष के छ भने हामीमाथि देशभरिका ग्राहकको अत्यन्त प्रगाढ आस्था छ । त्यसलाई सही साबित गरेर हाम्रा सेवा सुविधा तथा बिक्रीपछिका सेवा तथा आफ्ना सञ्चार सम्पर्कका क्षमताहरू विकास गरेर र सेवाको प्रचारप्रसार, बजारीकरणमा वैज्ञानिकता ल्याएर हामीले काम गर्न सकेको खण्डमा प्रतिस्पर्धामा हामी खरो उत्रिन सक्छौं । अहिलेसम्म उत्रिएका पनि छौं ।
० सुशासन र पारदर्शितामा व्यापक गुनासो छ नि ?
सार्वजनिक संस्थानहरूको आलोचना अलि बढी नै हुन्छ । त्यसलाई व्यवस्थापन गर्दै जानुपर्छ । केही चुनौती पनि छन् । त्यसलाई व्यवस्थापन गर्दै जान्छौं । अहिलेको व्यवस्थापनले खासगरी यो विषयलाई गम्भीरतापूर्वक लिएको छ । मानव संशाधनको व्यवस्थापनलाई वैज्ञानिक गर्ने, कार्यविभाजन र कार्यक्षमताको मूल्यांकनलाई वैज्ञानिक गर्ने प्रयासमा समग्र संस्था लागेको छ ।
नेपाल टेलिकम ः दीर्घकालीन लक्ष्य
नेपालमा सर्वप्रथम दूरसञ्चार सेवा १९७३ सालमा सञ्चालनमा आएको थियो । यद्यपि २००५ सालमा मोहन आकाशवाणीको स्थापनापछि मात्रै दूरसञ्चार सेवा औपचारिक रूपमा प्रदान गरिएको थियो । पहिलो राष्ट्रिय पञ्चवर्षीय योजना (२०१२–२०१७) अनुरूप २०१६ मा दूरसञ्चार विभाग स्थापना गरियो । दूरसञ्चार सेवाको आधुनिकीकरण तथा सेवा विस्तारका निम्ति तेस्रो पञ्च वर्षीय योजना (२०२३–२०२८) अनुसार २०२६ सालमा दूरसञ्चार विभागलाई दूरसञ्चार विकास समितिमा परिणत गरियो । सञ्चार संस्थान ऐन, २०२८ लागू भएपछि यस समितिलाई २०३२ सालमा नेपाली जनतालाई दूरसञ्चार सेवा प्रदान गर्ने मनोकांक्षाका साथ नेपाल दूरसञ्चार संस्थान नामकरण गरी पूर्णतया सरकारी संस्थाका रूपमा रूपान्तरण गरियो ।
मुलुकको दूरसञ्चार सेवा सञ्चालनमा २९ वर्षको अनुभव रहेको दूरसञ्चार संस्थान २०६१ वैशाख १ गते दूरसञ्चार कम्पनी लिमिटेडमा परिणत गरियो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कम्पनी ऐन २०५३ अनुसार दर्ता गरिएको कम्पनी हो । आमनेपाली जनतामाझ यो कम्पनी नेपाल टेलिकमको नामले परिचित छ । स्थापनादेखि नै नेपाल टेलिकम आफ्ना ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रयत्नरत छ । यसका लागि ग्राहकवर्गको हितलाई मध्यनजर राखी सधैं सोअनुरूपको प्रविधि चयन गरिँदै आएको छ । निरन्तरको प्रयासबाट कम्पनीले सहरी क्षेत्रदेखि तुलनात्मक हिसाबले कम आर्थिक उपलब्धि हुने दुर्गम क्षेत्रहरूसम्म आफ्नो पहुँच विस्तार गरेर आफूलाई अन्य सेवा प्रदायकहरूभन्दा भिन्न र विशेष बनाएको छ ।दूरसञ्चार सेवा विकासको एक महत्वपूर्ण पूर्वाधार हो र नेपाल टेलिकमको व्यापक पहुँचले सहरी तथा ग्रामीण क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा अवश्य पनि महŒवपूर्ण योगदान पु¥याइरहेको टलिकमको दाबी छ । मुलुकमा दूरसञ्चार सेवाको विस्तारको कार्य, प्रविधि, उपकरणको मूल्यमा भइरहेको कमी, जीवनस्तरको सुधारमार्फत बजार विस्तार तथा स्वस्थ प्रतिस्पर्धाबाट निर्देशित हुन्छ । वर्तमान प्रतिस्पर्धात्मक वातावरणमा पूर्णतया सरकारी स्वामित्व तथा एकाधिकार रहेको कम्पनीबाट व्यवसाय उन्मुख र ग्राहक केन्द्रित कम्पनीमा रूपान्तरण भइरहेको उसको दाबी छ ।
सस्तो र भरपर्दो दूरसञ्चार सेवाहरू सर्वसुलभ रूपमा सबैलाई उपलब्ध गराउनुका साथै दूरसञ्चार क्षेत्रमा देशकै अग्रणी सेवाप्रदायकका रूपमा आफ्नो स्थान उसले ओगट्न सफल भइरहेको छ ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply