मुख्य सचिवलाई प्रधानमन्त्रीको चेतावनी
परिणाम नदेखिए विकल्प सोच्नुपर्ने हुन्छ
काठमाडौं । मुख्य सचिव लोकदर्शन रेग्मीले संघीय शासन प्रणालीअनुकूल र जनअपेक्षा पूरा हुनेगरी प्रशासनिक नेतृत्व गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् ।
आफ्नो ‘भिजन’ र गतिलाई पछ्याउनेगरी मुख्य सचिव रेग्मीले ‘बोल्ड’ प्रस्तुति देखाउन नसकेपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । यद्यपि, केही समय रेग्मीलाई बेनिफिट अफ डाउट (शंंकाको लाभ) दिनेगरी कार्यशैलीमा सुधार गरेर सुशासनको अनुभूति हुनेगरी काम गर्न र विकास निर्माणलाई तोकिएकै समयमा पूरा हुनेगरी तीव्रता दिन उनले निर्देशन दिएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले रेग्मीलाई ६ कात्तिक, २०७४ मा मुख्य सचिव नियुक्त गरेको थियो । २० महिने कार्यकालमा रेग्मीले सोचेअनुसार बोल्ड’ प्रस्तुति देखाउन नसकेको प्रधानमन्त्री ओलीको बुझाइ रहेको उनीनिकट स्रोतले जनाएको छ । पछिल्लोपटक प्रधानमन्त्री ओलीले मुख्य सचिव रेग्मीको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै मन्त्री र सचिवहरूकै सामु कडा आलोचना गरेका छन् । ‘मुख्य सचिवजी प्रमुख प्रशासकका रूपमा तपाईंको भूमिका कमजोर देखियो, मन्त्रालय र सचिवहरूबीचको समन्वय, निर्देशन, सहजीकरण र नेतृत्व प्रभावकारी कार्यसम्पादन गर्नुभएको छैन,’ आर्थिक वर्षको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूसामु प्रधानमन्त्री ओलीले भने, ‘मलाई परिणाम चाहिन्छ, आगामी दिनमा त्यसअनुसार नेतृत्वदायी भूमिका खेल्नुस् ।’ सबै मन्त्रालयहरूको काम ठीक ढंगले भएको छ कि छैन, सचिवहरूसँग प्रभावकारी समन्वय गरेर क्रस भेरिफिकेसन (पुस्ट्याइँ) गर्ने, निर्देशन दिएर कडाइका साथ समयभित्रै कार्यसम्पादन गराउने, कार्यशैली नबदल्ने, ढिलासुस्ती गरेर सरकारलाई असहयोग गर्ने कर्मचारीप्रति मुख्य सचिव कठोर रूपमा प्रस्तुत हुन् भन्ने प्रधानमन्त्री ओलीको चाहना रहेको बताइएको छ । मन्त्रिपरिषद्मा प्रधानमन्त्री शक्तिशाली भएजस्तै कर्मचारी संयन्त्रमा रेग्मी त्यतिकै शक्तिशाली र बोल्ड रूपमा प्रस्तुत हुन नसकेको ओलीले निकटस्थहरूलाईसमेत बताउन थालेका छन् ।
सीमा–नाकामा विषादी परीक्षण प्रकरणमा भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालय, कृषि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठाएको पत्रबारे आफूलाई समयमै जानकारी नगराएको, मेलम्ची खानेपानी आयोजनामा गलत रिपोर्टिङ गरेका कारण ढिलाइ भएको, माथिल्लो तामाकोसी आयोजना बढीमा २०७५ सालभित्रै सम्पन्न हुनुपर्नेमा झन्डै एक वर्ष ढिलाई गरेर अर्बौं रुपैयाँ मुलुकका लागि क्षति पुगेको, अन्य राष्ट्रिय गौरवका आयोजनाहरूको काम समय तालिकाअनुसार अपेक्षित रूपमा अघि बढ्न नसक्नुमा मुख्य सचिव रेग्मीकै कार्यक्षमता नै प्रमुख जिम्मेवार रहेको ओलीको निष्कर्ष छ । सोही कारण मन्त्री र सचिवहरूकै सामु प्रधानमन्त्री ओलीले मुख्य सचिवलाई तोकेरै आलोचना गरेको र क्षमता देखाउन गम्भीर ध्यानाकर्षण गराएका थिए ।
मन्त्रालयहरूको समीक्षा बैठकमा सचिवहरूले कार्ययोजनाअनुसार के–कति उपलब्धि भए, उपलब्धि हुन नसक्नुका मुख्य कारणहरू केके हुन् भन्ने तथ्यसहितका प्रस्तुति भन्दा पनि सामान्य कामलाई समेत उपलब्धिका रूपमा प्रस्तुत गरेकोमा समेत प्रधानमन्त्री ओली असन्तुष्ट रहेको स्रोतले जनाएको छ । कार्ययोजनाअनुसार २४ मन्त्रालयको औसत चालू आर्थिक वर्ष सम्पन्न भइसक्दासम्म ६० प्रतिशतभन्दा माथि नै देखिने स्थिति रहे पनि अधिकांशको भुक्तानी अन्तिमतिर हुने भएकाले सबै समेट्न नसकिएको भन्दै नयाँ आर्थिक वर्ष साउनको पहिलो साता मात्र उपलब्धिहरूको विस्तृत विवरण प्रधानमन्त्री कार्यालयमा पठाउने बताएका थिए ।
सरकारले विकसित गरेको पछिल्लो अनुगमन प्रणालीले कामको गति बढाउन सहयोग पुगेको भन्दै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूमा साउन १ गतेदेखि पुरानो र सुस्त गतिलाई त्यागेर प्रभावकारी रूपमा काम अघि बढाइएको देख्न पाइने समापन बैठकमा विश्वास व्यक्त गरेका थिए । १५ जेठमै बजेट पारित भइसकेको अवस्थामा समेत अन्तिम समयमा आएर काम गर्न थालिएको अवस्थाप्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply