अवकाश नपाउँदै अख्तियारमा दौडधुप
काठमाडौं । अवकाशप्राप्त कर्मचारीहरूको लागि आकर्षक मानिने सबैभन्दा शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्नका लागि केही बहालवाला सचिवहरूको दौडधुप सुरु भएको छ ।
अहिले आयोगमा दुई आयुक्त रिक्त छन् । रिक्त आयुक्तमा नियुक्ति पाउन नेपाल सरकारका सचिवहरू अवकाश हुनासाथ सो पदमा पुग्न कसरत गरिरहेको थाहा भएको छ । सत्तारूढ नेकपाका प्रभावशाली नेता र प्रधानमन्त्रीलगायत अन्य शक्तिकेन्द्रहरूको फेर समातेर आयुक्त हुन केही सचिवहरूले अहिलेदेखि नै लबिइङ गर्न थालेको थाहा भएको छ । आगामी माघ महिनाबाट अवकाश हुन लागेका गृहसचिव प्रेमकुमार राई, अर्थसचिव राजन खनाललगायत आयुक्त बन्ने लबिइङमा घुँडा धसेर लागेको थाहा भएको छ ।
गृहसचिव राई एमाले–समर्थक भनेर चिनिएकै कारण लामो समय कांग्रेसको सत्ता रहँदा कोपभाजनमा पर्दै आएका थिए । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारलाई सहयोग गर्न भन्दै प्रभावकारी मानिएको गृह मन्त्रालय चलाउन’ जिम्मेवारी दिएका थिए । एकाध जनजातिहरूलाई काखी च्याप्ने प्रवृत्तिबाहेक गृह सचिव राईको भूमिका विवादमा कमै समेत पर्दै आएको छ । यता अर्थसचिव खनाल भने सरकारलाई करलगायत विषयमा विवादमा पार्ने, राजस्व उठाउने सवालमा कमजोर निर्देशन गरेर सरकारलाई बदनाम पार्ने काम गर्दै आएको अर्थ मन्त्रालयका कर्मचारीहरू बताउँछन् । विगतमा कांग्रेसका अर्थमन्त्री डा. रामशरण महतका विश्वास पात्रका रूपमा चिनिएका उनले अर्थ मन्त्रालयमै बसेर लामो समय ‘तर’ मारेका थिए । खनालको अहिलेको भूमिका पनि सरकारलाई कमजोर पार्ने र कांग्रेसको गुण तिर्नमै केन्द्रित भएको पाइएको छ । तथापि, उनी पनि माघदेखि सचिवबाट अवकाश पाएसँगै नेकपाको कोटामा अख्तियारको आयुक्त बन्ने दाउले दौडधुप गरिरहेको थाहा भएको छ ।
डा. महतले विश्वासिलो ठानेपछि अर्थ मन्त्रालयबाट बाहिरिनु नपर्नेगरी काम गरेका र उनकै निर्देशनमा अनेकौं योजनाहरू डा. महत मन्त्रीबाट बाहिरिइसकेपछि पनि पार्दै आएका खनाल अहिले भने नेकपाको खाँटी मान्छे बन्दै हिँडेको देख्दा अन्य कर्मचारीहरू आश्चर्यमा परेका छन् ।
आयोगको रिक्त आयुक्तमा नियुक्तिका लागि सरकारका केही पूर्वसचिव र केही बहालवालाहरूले समेत चर्को दौडधुप गरिरहेका छन् । अख्तियारको आयुक्तका लागि राजदूतदेखि गृह मन्त्रालयका बहालवाला सचिवको नामसमेत चर्चामा छ । पूर्वमुख्यसचिव र सचिवहरू पनि आयुक्त नियुक्तिको दौडमा लागेको समाचार छ । अख्तियारमा आयुक्तका लागि शक्ति केन्द्रहरू धाएर मरिहत्ते गरेर लाग्नेहरूमा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिवहरू सूर्य सिलवाल, श्रीधर सापकोटाहरूको नाम चर्चामा छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियारको प्रमुख आयुक्तमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालको नाम लिइरहेको कुरा सार्वजनिक भइरहेको छ । पौडेलले पूर्वएमाले र माओवादी केन्द्रका नेताहरूमार्फत अख्तियारमा नियुक्तिका लागि जोडबल गरिरहेको बताइन्छ । संविधानको धारा २३८ अनुसार अख्तियारमा प्रमुख आयुक्त र आयुक्त गरी पाँचजना रहने व्यवस्था छ । संवैधानिक निकायका पदाधिकारी नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुनेछन् भने प्रधानन्यायाधीश, व्यवस्थापिका संसद्को सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुखसमेत ६ जना रहेका छन् । विपक्षी दलका नेतालाई समेत सहमतिमा लिएर संवैधानिक परिषद्मा नियुक्ति सिफारिस गर्नुपर्नेछ ।
सम्बन्धित समाचार
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply