टुटल र पठाओमाथि तीव्र कारबाही
अवैध सवारीसाधनलाई रोक नलगाए कडा प्रतिवादमा उत्रिने चेतावनी
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा टा«फिक प्रहरीहरूले टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । केही हप्तायता उसले यातायात व्यवस्था विभागको नीतिगत निर्णयका आधारमा कारबाही थालेको बताएको छ । प्रायोजनविपरीत मोटरसाइकल चलाएको आरोपमा छड्के निरीक्षणका क्रममा टुटल र पठाओ चालकहरू कारबाहीमा पर्न थालेका हुन् ।
गत आइतबार मात्र पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भूका प्रहरी जवान विजय मण्डलले बा७७प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ । जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख छ । यता टुटल र पठाओ चालकमाथि प्रहरीले कारबाही थालेपछि सर्वसाधारण भने उही ट्याक्सी चालकको मनोमानीको चपेटामा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय नेटवर्क भएको यो सेवाका मोटरसाइकल चालकहरूले अतिरिक्त कमाइ गर्नुका साथै सर्वसाधारणलाई समेत निकै सहुलियत हुन थालेकोमा प्रायोजनविपरीत सवारी चलाएको आरोपमा ट्याक्सी चालकहरूको दबाबमा विभागले कारबाही थालेको बताइन्छ । नेपालको प्रचलित कानुनबमोजिम यो कसुरमा २ सय रूपैयाँदेखि हजार रूपैयाँसम्म जरिवाना हुन सक्छ । यसभन्दा बढ्ता कारबाही गर्न सकिँदैन ।
टुटल चालकहलाई पछिल्ला दिनमा मोटरसाइकल रोक्नेबित्तिकै ट्याक्सी चालकहरूले घेर्न थालेका छन् । ‘एकैछिनमा ट्राफिक पनि आइपुग्छ र चिट काट्छ,’ ती चालकले भने, ‘पठाओ हो भन्नेबित्तिकै ट्राफिकले मान्छे बोक्न मिल्दैन भन्यो ।’ त्यति मात्र होइन, ट्याक्सी चालकहरूले भने पुनः भाडामा मान्छे बोके मोटरसाइकल फोडिदिने भने धम्कीसमेत दिन थालेका छन् । धेरैलाई यो अवैधानिक हो कि वैधानिक .भन्नेबारे मतलब नभएकोमा ट्याक्सी चालकले गर्ने मनोमानीको तुलनामा निकै सहुलियत भएकाले सकारात्मक भएको बताउँछन् ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकाल भने प्रयोजनदेखि बाहिर गएर सवारीसाधन चलाए जोसुकैलाई कारबाही हुने बताए । उनले नियम पालना गर्नुगराउनु आफूहरूको धर्म भएको दाबी गरे । ‘ट्रकले मान्छे बोकेर हिँड्यो भने कारबाही हुन्छ । बसले बोरा बोकेर हिँडे कारबाही हुन्छ । यस्तो कारबाही हिजो पनि गरिराखेकै थियौं, भोलि पनि गर्छौं,’ उनको भनाइ छ ।
यसअघि ४ मंसिरमा यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानुनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोके कानुनबमोजिम कारबाही गर्ने जनाएको थियो । त्यसो त १ माघ २०७५ मा पनि ट्राफिकले यातायात व्यवस्था विभागको अनुरोधमा टुटल र पठाओ सञ्चालनमा रोक लगाएको थियो, जसको जनस्तरबाट व्यापक विरोध भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनपछि टुटल र पठाओमा रोक नलगाउन निर्देशन दिएपछि पुनः सञ्चालनमा आएको थियो । अहिले पनि नागरिकहरू भने यो सेवा सुचारु गर्नुपर्ने पक्षमा छन् ।
यातायात व्यवसायी तीव्र आक्रोशित
यातायात व्यवसायीहरूले टुटल, पठाओजस्ता अनलाइनमार्फत चलेका निजी सवारीको सार्वजनिक प्रयोगप्रति विरोध जनाउँदै आएका छन् । ट्राफिक प्रहरीले ४ मंसिरमा राखेको व्यवसायीसँगको छलफल कार्यक्रममा सहभागी अधिकांशले टुटल र पठाओलाई नियमन गर्नुपर्ने माग राखेका थिए । यसको प्रयोगले विकृति ल्याएको व्यवसायीहरूको दाबी छ । निजी सवारीसाधन विभिन्न बहानामा भाडामा प्रयोग हुने क्रम बढ्दै गए भविष्यमा यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने यातायात व्यवसायी संघका महासचिव सरोज सिटौलाले बताए । टुटल, पठाओलगायत सेवा भरपर्दो नभएको, बिमा र दुर्घटना जोखिम पनि व्यवस्थापन नगरिएको र सुरक्षाका हिसाबले यात्रुलाई मर्का पर्ने व्यवसायीहरूको दाबी छ ।
गलत बुझाइ ः पठाओ सञ्चालक
पठाओका सञ्चालक असिममान बस्नेतले ट्राफिक प्रहरीको गलत बुझाइका कारण कारबाही भएको बताउँछन् । ‘रातो प्लेट ट्याक्सीहरूले यात्रु ओसारे मात्र कारबाही हुने यसअघि भनिएको थियो, तर अहिले मोटरसाइकल लाई नै पक्रिन थालिनु राम्रो होइन,’ उनी भन्छन् । त्यस्तै टुटलका सञ्चालक शिक्षित भट्टले भने ‘राइड सेयरिङ’माथि ट्राफिकले कारबाही गर्न थालेको भए पनि आफूहरूले नाफा नभई लोककल्याणकारी राज्यका लागि जनतालाई सहुलियत दिन यो अभियान सुरु गरेको बताए । ‘हाम्रो एउटा प्लेटफर्म मात्र हो । यहाँबाट थुप्रै मान्छेले यातायातको सुविधा र रोजगारी पाइरहेका छन्,’ उनले भने, ‘हाम्रो उत्तरदायित्व प्रयोगकर्ताप्रति छ । सरकार नै यसमा संवेदनशील हुनु आवश्यक छ ।’ नियम कानुनमा परिमार्जन गरेरै भए पनि जनतालाई सहुलीयत दिन राज्य तप्पर हुनुपर्ने उनीहरूको माग छ । उच्च तहमा रहेकाले व्यक्तिगत वा कार्यालयको गाडीमा हिँड्ने हुँदा सर्वसाधारणप्रति उनीहरू उत्तरदायी बन्न नसकेको गुनासो छ । अहिले करिब २५ हजार युवा टुटलमा कार्यरत छन् । टुटलकै कारण पहिला मिटरमा जान नमान्ने ट्याक्सी मिटरमा हिँड्न थालेका छन् । सार्वजनिक यातायात कोचाकोच कम भएको छ र जनताले राहत पाएका छन् । सार्वजनिक यातायातमा चामलको बोराझैं कोचेर कहिलेसम्म हिँडनुपर्ने हो भन्दै सर्वसाधारण भने ट्याक्सी र सार्वजनिक यातायात सहज नगराउन्जेल टुटल र पठाओको विकल्प नभएको बताउँछन् ।
निजी सवारीसाधनले भाँडामा यात्रु बोक्न नहुने कानुनी समस्या छ होला, तर पनि व्यावहारिक पक्षलाई हेर्दा पठाओ, टुटलजस्ता कम्पनीले जनतालाई सरल सुलभ अनि सस्तोमा आवतजावत सुविधा दिएको पक्कै हो । समयको माग र प्रविधिको जमाना अनि नौलो सोचका युवालाई प्रोत्साहित गर्नु राज्यको काम हो । समयसमयमा यस्ता पठाओ, टुटललाई आइपर्ने अवरोध र कारबाहीको समाधानका लागि रातो निजी नम्बर प्लेटमा कालो वा कुनै सरकारी स्टिकर टाँस्ने व्यवस्था गर्न नसकिने होइन । पठाओ र टुटलले पनि बकाइदा व्यवसायको अनुमति लिएर काम अगाडि बढाएको हो । एउटा सरकारी निकाय अनुमति दिने अर्कोले अवरोध र कारबाही गर्ने राम्रो होइन । अर्को व्यवस्था नभएसम्म पठाओ र टुटललाई निर्बाध रूपमा चलाउन दिनुपर्ने अधिकांशको मत छ । यता अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ, सरर र निजी कारहरूले ट्याक्सीजस्तै ओसारपसार गर्नेमाथि सरकारले लगाएको प्रतिबन्ध जायज रहेको टिप्पणी गरेको छ । उनीहरूले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको भन्दै सरकारको उक्त कदमप्रति आफूहरूको पूर्ण साथ र समर्थन रहेको पनि उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘सरकारको यो कदम देखावटी नभईकन दीर्घकालीन रूपमा समस्या समाधानका निम्ति प्रेरणदायी बनोस् । विधि र कानुनी शासनलाई सबैले आत्मसात् गर्नुपर्छ ।’ देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल, पठाओ, सररलाई केही अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूको स्वार्थ पूरा गराउन चल्न दिने भनेर मौखिक निर्देशन दिएकोमा भने आपत्ति जनाए । उनीहरू भन्छन्, ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति र कदम आपत्तिजनक छ । यसले कानुनी राज्यको उपहास भएको छ । उनीहरूको तर्क छ, ‘हामी विधि र विधानअनुसार चल्दै आएका छौं । राज्यले हामीलाई चाहिँ २७ थरीको दोहोरो कर लगाएको छ । २०६९ सालदेखि अहिलेसम्म पनि भाडा समायोजन गरेको छैन । हामी ठूलो पीडामा छौं । तर टुटल, पठाओ र सररलाई आफूखुसी भाडा तोक्ने अधिकार कसले दियो ? यो त दिउँसै लुट हो ।’ खासगरी वैज्ञानिक भाडा प्रणाली विकास गरी उचित ढंगले ट्याक्सीको मिटर भाडा समायोजन गर्न र गैरकानुनी ढंगले प्रयोजनविपरीत सञ्चालन हुँदै आएका दुई तथा चार पांग्रे निजी सवारीसाधनहरूउपर प्रतिबन्ध लगाउन सरकारसँग माग गर्दै आएका छन् । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ बमोजिम रातो नम्बर प्लेटका सवारीसाधनहरूले सार्वजनिक रूपमा यात्रु ओसारपोसार गर्न बन्देज गरेको अवस्थामा टुटल, पठाओ र सररका नाममा गरिएको गतिविधि पूर्णतः गैरकानुनी भएको र उक्त कम्पनीहरूको गतिविधिले लोकतन्त्र र कानुनी शासनको उपहास गरेको एकाथरीको दाबी छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply