माक्र्सवादी दर्शन र यसको सान्दर्भिकता
सन् १८१८ मा जर्मनमा जन्मेका दार्शनिक कार्ल माक्र्सको विश्व राजनीति र मूलतः मजदुर तथा आमजनताको गाँस, बास र कपासको मुद्दालाई प्रधानता दिने राजनीतिक लाइनलाई उठाउने दृष्टिले हेर्ने, बुझ्ने र सम्झने गरिएका छन् । मजदुर र आज जनताको पक्षमा सन् १८४८ मा कार्ल माक्र्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्र लेखेका थिए । विश्वका मजदुर, किसान, सर्वहारा, शोषित र पीडितका लागि संगठित भएर पुँजीपति र शोषकका विरुद्ध आन्दोलन गर्नुपर्ने कुरामा कार्ल माक्र्सको जोड रहेको थियो । जर्मनपछि बेलायत बसाइका क्रममा माक्र्सले राजनीतिदेखि इतिहास, कानुन, समाजशास्त्र तथा अर्थशास्त्र समेतको गहन र व्यापक अध्ययन र अनुसन्धान गर्नुभयो । माक्र्स कुनै पनि कुराको इतिहासदेखिको विश्लेषणात्मक र तुलनात्मक अध्ययन गर्नुपर्छ भन्ने मान्यता राख्दथे । जिन्दगीभर आफ्नो निजी धन–सम्पत्ति आर्जनमा नलागेका उनको निजी आर्थिक जीवन भने कष्टपूर्ण रहेको थियो । त्यस्तो आर्थिक अवस्थामा पनि उनकी श्रीमती जेनीले उनलाई जीवनभर साथ र सहयोग गरिन् । माक्र्सलाई जीवनभर साथ दिने अर्का व्यक्ति दार्शनिक एंगेल्स नै थिए । माक्र्सले लन्डनमा बस्दा पुँजी नामको राजनीतिक–अर्थशास्त्रको अनुसन्धानमा आधारित पुस्तक प्रकाशित गरेका थिए । सो पुस्तक आज पनि विश्वभर पढिन्छ र पढनुपर्छ । विशेषगरी राजनीतिशास्त्र, विश्व इतिहास, कानुन आदि विषयमा अध्ययन र अध्यापन गराउँदा माक्र्सका रचना, विचार, मान्यता, मूल्य, दर्शन आदिको अध्ययन गर्नैपर्ने हुन्छ । यस्ता महान् र विचार एवं दर्शनका विद्वान् माक्र्सले जर्मन दार्शनिक हेगेलले प्रतिपादन गरेको आदर्शवादलाई ठ्याक्कै उल्टाएर विज्ञान र वस्तुवादी दर्शन भौतिक वस्तुवादी सिद्धान्तको रूप दिए ।
माक्र्सको दार्शनिक मान्यता
कार्ल माक्र्सले इतिहासको गहिरो अध्ययन गरी ऐतिहासिक भौतिकवादी दर्शन र मान्यतालाई सार्वजनिक गरेका थिए । उनको व्याख्याअनुसार आदिम कालमा समाजमा आदिम साम्यवाद रहेको र समाजमा शोषक, सामन्त तथा पुँजीवादी शक्तिको उदयसँगै उद्योगी र पुँजीपतिले श्रमिकलाई शोषण गर्दै आफू थप धनी हुँदै जाने र श्रमिकले उत्पादन गरेको वस्तुमा अतिरिक्त मूल्य थपेर उनीहरूले चौतर्फी शोषण गर्न पुग्ने भन्दै यस्तो स्थितिमा श्रमिकको आर्थिक अवस्था अरू दयनीय बन्ने भनेका थिए । माक्र्सले शोषण र दमनको अत्याचारबाट मुक्त पाउन मजदुर, श्रमिक तथा किसानले पुँजीपतिहरूका विरुद्ध संगठित भएर राजनीतिक लडाइँ लडनुपर्ने भनेका थिए । समाजमा आर्थिक र सामाजिक विभेदको अन्त्यका लागि क्रान्तिबाहेक अर्काे कुनै सूत्र नभएको भन्दै माक्र्सले पुँजीपति, बुर्जवा र शोषकहरूले बनाएका कानुन र प्रणालीलाई नै उखेल्नुपर्ने धारणा राखेका थिए । सन् १८८३ मा माक्र्सको निधन भएपछि माक्र्सको धारणालाई विभिन्न प्रकारले बुझ्ने, व्याख्या गर्ने, लागू गर्ने र जनतामा प्रवाहित गर्ने तथा विचारसंग्रह आदिको प्रकाशन र बिक्री–वितरणले तीव्रता पायो । तत्कालीन सोभियत संघमा भ्लादिमिर लेलिनले माक्र्सकै सैद्धान्तिक धरातलमा टेकेर सन् १९१७ अक्टोबरमा समाजवादी अक्टोबर क्रान्ति गरी समाजवादी व्यवस्था ल्याए । माक्र्सले भनेका क्रान्तिका विचार र मान्यतालाई आफूखुसी व्याख्या गर्ने काम पनि गरिए । सन् १९१७ मा लेलिनकै चेला रहेका स्टालिन सन् १९३० मा सत्तामा आएपछि वर्ग दुस्मन खत्तम गर्ने भन्दै भटाभट लाखौंलाख मानिसलाई मार्ने काम भयो । सक्ता निरंकुश र दमनकारी भयो । यसको कारण मानिसहरू वितृष्णा फैलियो । अर्काेतर्फ क्रान्ति र विचारलाई विश्वव्यापी फैल्याउने र विचारको निर्यात गर्ने भन्ने मान्यतामा तत्कालीन सोभियत संघले विश्वमा आफ्नो प्रभाव बढाउन समाजवादी विचारधारा र मान्यतालाई फिजाउन अनेक प्रकारका विधि अपनायो र फैल्यायो । तर तत्कालीन रूसको जस्तो समाज, इतिहास, अवस्था, वातावरण, मजदुर र स्थिति आदि अन्य मुलुकमा थिएन र हुने अवस्था पनि हुन्नथ्यो । त्यसैले कतिपय देशमा क्रान्ति भए पनि टिकेन ।
माक्र्सवादी विचार र विश्वमा प्रभाव
फ्रान्समा सन् १८७१ मा आएको सक्ता ७२ दिनमै ढलेको थियो । अन्य मुलुकहरूमा पनि रूसकै जस्तो अवस्था थिएन र क्रान्तिका प्रयासहरू कतै सामान्य सफल भए भने कतै दबाइए र कतै आफैं धराशयी बन्न पुगे । क्युबामा सन् १९६० मा भएको समाजवादी क्रान्तिका नायक फिडेल क्रास्त्रोको नेतृत्वको कम्युनिस्ट सत्ता भने लामो समय टिक्यो र आजसम्म पनि टिकेको छ । चीनमा सन् १९४९ मा माओको नेतृत्वमा ल्याइएको जनवादी सक्ता उसले आफ्नै मोडेलले चलायो र जनताको चाहना, समाज, समय र परिवर्तनका नियमहरूलाई पनि स्वीकार गरी चीनले आफूलाई विश्वको ठूलो समाजवादी मुुलुकको एक नम्बर मुलुक कायम राखेको देखिन्छ । तर, त्यहाँ पनि सन् १९६५ देखि सन् १९७५ को अवधिमा सांस्कृतिक क्रान्तिको नारामा करिब ८ लाख मानिस मारिए तापनि त्यसबाट समाजको व्यापक परिवर्तन भएन बरू असन्तुष्टि बढ्न पुग्यो । सन् १९७५ पछि नेता देङस्यायो पिङले सत्ता सम्हालेपछि आर्थिक उदारीकरण र सुधारका नीतिहरू लिइएपछि चीनले आर्थिक विकास र उन्नत्तिको क्षेत्रमा चमत्कार गर्दै अघि बढेको देखिन्छ । उद्योग र व्यापार तथा आर्थिक समृद्धिको क्षेत्रमा चीन अमेरिका पछिको दोस्रो ठूलो मुुुलुक भएको छ । सन् २०४९ मा उसको समाजवादी सत्ताको एक सय वर्ष पूरा हुने र सो अवधिभित्रै उसले बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत विश्व बजार कब्जा गर्दै पर्यटन, समाजिक–सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई व्यापक विस्तार गर्ने लक्ष्य लिएको छ र चीन सो अवधि पूर्व नै विश्वको एक नम्बर आर्थिक शक्तिसम्पन्न मुलुकको सूचीमा पुग्ने प्रक्षेपणहरू गरिएका छन् । यस अर्थमा चीनको समाजवाद र व्यवस्था कार्ल माक्र्स, लेनिन, स्टालिन आदिको धारणा, मान्यता र दर्शनमा नभएर आफ्नै मुलुकको इतिहास, आवश्यकता र क्रान्तिको भावनाबाट प्रेरित हुँदै आवश्यकता अनुसारको सुधार र परिवर्तन गर्दै अघि बढेकोले उसले सफलता पाएको देखिन्छ । दार्शनिक कार्ल माक्र्सको विचार, दर्शन, मान्यता र सिद्धान्तलाई विश्वभर अध्ययन गरिने एउटा विचार भए पनि उनले त्यतिबेलाको युरोपलार्ई हेरेर र मजदुरको अवस्थालाई विचार गरेर बनाएका उनका सबै मूल्य र दर्शन आजको समाजमा हुबहु लागू हुन्छन र हुन सक्दछ भन्ने स्थिति छैन् । सन् १९१९ मा अन्तराष्ट्रिय श्रम संगठनको स्थापना र गठन गरिएपछि विश्वका मजदुरहरूका हक, हित, अधिकार, सुरक्षा, सुविधा तथा अन्य सामाजिक सुरक्षाका कुराहरूमा समेत पुँजीपति र उद्योगीहरूले सुविधा र सेवा दिन थाले र बाध्य पनि भए । अर्काेतर्फ सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएपछि सन् १९४८ मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरियो । त्यसैगरी सन् १९६६ मा राजनीतिक तथा नागरिक अधिकार तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुईवटा अन्तर्राष्ट्रिय कानुन आएपछि मजदुर मात्र होइन कुनै पनि मानिसका न्युनतम राजनीतिक अधिकार तथा बाँच्न आवश्यक हुने न्युनतम आर्थिक अधिकार तथा हक र हितको सुरक्षा अन्तर्राष्ट्रिय कानुनले नै गरिदिएपछि संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरू, सन्धि अनुमोदन गर्ने मुलुकहरू तथा अन्य मुलुकहरूले समेत सबैका हक र अधिकारको सुरक्षा गर्नैपर्ने स्थितिको कारण त्यस अघिको समयमा जस्तो प्रकारको मजदुरहरूले त्यस्तो प्रकारले क्रान्ति वा हडताल गर्नुपर्ने स्थितिको लगभग अन्त्य हुन थाल्यो र हुँदै गयो । यस दृष्टिकोणबाट कार्ल माक्र्सले तत्कालीन समयमा राखेको विचार र लेनिनले लिएको क्रान्तिको मोडेललाई कपी गर्दै क्रान्ति गर्ने र गर्न खोज्ने र लागू गर्न खोज्ने राष्ट्र र राजनीतिक पार्टीहरूले इतिहासमा ठूलो धोका खानुपरेको छ र कतिपय अवस्थामा आजपनि केही मुलुकका पार्टी र शक्तिले धोका खाइरहेका छन् । छिमेकी भारतमै पनि सन् १९७५ देखि सन् २००९ सम्म कलकत्ताको सत्तामा रहेको माक्र्सवादी कम्युनिस्ट पार्टी अहिले कलकत्तामा मात्र होइन भारतभरनै अस्तित्वविहीन भएका छन् ।
माक्र्सवादी विचारको नेपालमा सिर्जनात्मक प्रयोग
माक्र्सको सिद्धान्तको नाममा रूढीवादीता, कट्टरता र समयसँग आफूलाई परिर्वतन गर्न नसक्नेहरू हराए र बिलाए । नेपालमा पनि तत्कालीन एमाले नेता मदन कुमार भण्डारीले जनताको बहुदलिय जनवादी नीति लिएर प्रतिस्पर्धात्मकता, विधिको शासन, आवधिक निर्वाचन, मानवअधिकार, स्वतन्त्र निर्वाचन जस्ता आधुनिक प्रजातान्त्रिक मूल्य र मान्यतासँग आफ्नो पार्टीलाई स्पष्टताका साथ अघि नेपाली बढाएपछि माक्र्सवादी विचार र दर्शनलाई नेपाली जनताले सर्वत्र स्वीकार गर्दै आएका छन् ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply