दसैंको मुखमा चरम संकटमा सुन व्यवसाय

काठमाडौं । दसैंको मुखमा १० प्रतिशत सुन व्यवसायी पलायनको अवस्थामा पुगेका छन् । सुन कारोबारमा आएको मन्दीका कारण व्यवसायी व्यवसायबाटै पलायनको अवस्थामा पुगेका हुन् ।
गएको ६ महिनादेखि सुन कारोबार ठप्प प्राय छ । कारोबार नै ठप्प भएपछि पसल भाडा र कर्मचारी लागत धान्न नसक्ने भएपछि व्यवसायीले पलायनको बाटो रोजेका हुन् । त्यसमध्ये केही त पलायनसमेत भइसकेको बताइन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध करिब २० प्रतिशत व्यवसायी पलायनको अवस्थामा पुगेको बताइन्छ । जसमध्ये केही व्यवसायी त पेसा पलायन भएर पसलसमेत बन्दगर्न थालिसकेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बाग्मती प्रदेश संयोजक अमृत गजमेरले बताए ।
महासंघमा भएको आन्तरिक छलफलमा अझै ६ महिना व्यवसायमा यसैगरी मन्दी आउने आँकलन गरिएको छ । व्यवसायीले अझै ६ महिना कारोबार नचल्ने निष्कर्ष निकालेका छन् । सोहीअनुरूप तयारी अवस्थामा व्यवसायीले काम गरिरहेको गजमेरकोे भनाइ छ ।
यता विगत पाँच महिना महिनादेखि ठप्प भएको सुन आयात भदौबाट सुरु भएको छ । भदौमा वाणिज्य बैंकहरूले ५० किलो सुन आयात गर्दै सुनको आयातलाई पुन सुचारु गरेका हुन् । बैकहरूले कोभिडको संक्रमण सुरु भएको महिना फागुनदेखि सुन आयात रोकेका थिए । त्यसपछि एकैपटक भदौमा ५० किलो सुन आयात भएको नेपाल बैंकस संघले जनाएको छ ।
सुन खपत ह्वात्तै घटेपछि सुनको आयात रोकिएको संघले जनाएको छ । कोरोनाका कारण सुन व्यवसाय नचलेपछि बैकहरूले सुन आयात गरेका थिएनन् । सुनको कारोबार नभएपछि सुनका गर गहना बनाउने कालीगढसमेत बेरोजगार भएका छन् । व्यवसायीले सुनको गरगहनाको माग नै नआएपछि सबैजसो कालीगढलाई बिदा दिएका छन् । काठमाडौंमा फाट्टफुट्ट मात्रै कालीगढ छन् ।
भएका कालीगढले समेत अझै भने जस्तो काम पाएका छैनन् । काम नभएर घर फर्किएका सुनका गर गहना बनाउने कालीगढ अझै फर्किएका छैनन् । कामको चाप अझै नदेखिएका कारण कारण उनीहरू नफर्किएका हुन् । व्यवसायीले यसपालिको दसैं त्यसै जाने अनुमान गरिरहेका छन् । किनकि, आयातित सुनको मागले समेत त्यस्तै संकेत गरिरहेको बताइन्छ ।
अघिल्लो वर्षदेखि नै सुनको मूल्य लगातार उकालो लागेको छ । लगातार सुनको मूल्य उकालो लागेका कारण गत वर्षदेखि नै सुनको माग घट्दै गएको थियो । गत वर्ष सुनको मूल्य बढेर सुन खपत भएन । यस वर्ष कोभिडका कारण व्यवसायी थप नोक्सानमा परेका छन् ।
गत आर्थिक वर्ष २४ सय किलो सुन आयात भएको भन्सार विभागको भनाइ छ । यस वर्ष भने गएको दुई महिनामा जम्मा ५० किलो सुन आयात भएको विभागले जनाएको छ । जबकि, यस अघिको वर्ष मासिक ३ सय किलो सुन खपत हुने गरेको थियो । अघिल्लो वर्ष दैनिक चार देखि पाँच किलो सुन बिक्री हुने गरेको थियो । अति भएपछि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको भदौ २६ गते शुक्रबार बसेको कार्यसमिति बैठकको निर्णयअनुसार व्यापार, व्यावसाय बन्द गर्नू मात्र अहिलेको संक्रमण अवस्थाको समाधान होइन, अर्थतन्त्र चलायमान राख्न यसलाई व्यवस्थित र सुरक्ष्यात्मक उपायहरू अपनाई सुनचाँदी गरगहना व्यापार, व्यवसायलाई दिगो रूपमा सञ्चालन गर्न सुझावहरूसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा अनुरोध गरिएको थियो । त्यसयता केही सहज भए पनि कोभिडको संकट र बजारमा सुनको मूल्य अकासिएका कारण बिक्री नै हुन छाडेको बताइएको छ ।
दुई महासंघबीच तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल
केही दिनअघि नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘लकडाउन’का कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा एक्कासि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको कारोबार मूल्य तोकेपछि बजार तथा उपभोक्तामा अन्योल देखिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको बताइन्छ । तेजरत्न शाक्य आजीवन अध्यक्ष रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘लकडाउन’का कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा एक्कासि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको कारोबार मूल्य तोकेपछि बजार तथा उपभोक्तामा अन्योल देखिएको हो । सुनचाँदी व्यवासायी महासंघले सरकारले कोभिड–१९ को महामारी फैलन सक्ने भन्दै देशव्यापी लकडाउन गरेका कारण नयाँ मूल्य तोक्न नसकिएको प्रस्टीकरण दिएको बेला मूल्य तोकिएको हो । सामान्यतयाः नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा सुन तथा चाँदीको दैनिक मूल्य निर्धारण गर्ने गरेको छ । महासंघका तर्फबाट नयाँ कारोबार मूल्य निर्धारण नहुँदै एकाएक आभूषण महासंघले मूल्य सार्वजनिक गरेपछि व्यवसायीका साथै उपभोक्ता पनि अन्योलमा परेका थिए । लकडाउनमा अत्यावश्यकबाहेकका सबै व्यापार व्यवसाय रहेकै अवस्थामा दरभाउ निकाल्ने विषयमा आभूषण महासंघका तर्फबाट जानकारी माग भएको थियो तर सरोकारवालासँग छलफल गरेर तय गरौंला भनिए पनि एक्कासि मूल्य तोकिएपछि अन्योल छाएको हो । उता भाउ तयका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँगको परामर्शमा समेत आवश्यक हुन्छ । यता नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अन्तर्राष्ट्रिय बजार भाउअनुसार सुनचाँदीको बजार मूल्य धेरै फरक भइसकेको अवस्थामा दुई महिनादेखि पुरानै बजार भाउले उपभोक्तामा अन्योल सिर्जना गरेकाले नयाँ दरभाउ तोकिएको जिकिर गरेको छ । संघको १२ जेठको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार लिई सुनचाँदीको मूल्य कायम गरी प्रकाशन गर्ने निर्णय भएअनुसार नै नयाँ मूल्य सार्वजनिक गरिएको उनीहरूको दाबी छ ।
दुइटा संघका दुईथरी मूल्य
गत चैत १० गते नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ तोक्यो । लगत्तै सरकारले चैत ११ देखि लकडाउन ग¥यो । महासंघले पनि सुनको दरभाउ निर्धारण रोक्यो । जिल्लाका व्यवसायीले दरभाउको माग गरेपछि सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायी महासंघलाई पुनः मूल्य तोक्न आग्रह ग¥यो । दरभाउ तोक्न आनाकानी गरेपछि आभूषण महासंघले जेठ १४ मा सुनको भाउ प्रतितोला ८६ हजार १ सय निर्धारण ग¥यो । त्यसपछि आभूषण महासंघले निरन्तर मूल्य तोकिरहेको छ । गत जेठ २५ गते सुनचाँदी व्यवसायी महासंघले पनि मूल्य तोक्यो । तर यी दुई संस्थाले तोकेको मूल्य फरकफरक छ । प्रतितोला १ सय रुपैयाँ फरक परेपछि उपभोक्तामा अन्योल थपिएको छ । मूल्य फरकबारे जानकार व्यवसायीले सच्याउने काम भने गरेका छैनन् । दुवै महासंघले आफूले प्रकाशन गरेको मूल्य उचित भएको दाबी गर्छन् । ‘राष्ट्र बंैकको निर्देशिकाअनुसार अन्तर्राष्ट्रिय सिस्टममै मूल्य निर्धारण गरेका छौं । बैंकको नाफा, होल्डिङ चार्ज, बिमालगायत जोडेर दरभाउ निर्धारण गरेका छौं । अर्काे महासंघले एक सय रूपैयाँ घटाएर तोकेको छ,’ रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले भने, ‘मूल्य प्रणाली सिस्टममा हुनुपर्छ । तर एकलौटी रूपमा बजारमा प्रभाव पार्ने हिसाब देखियो । यो विवादित विषय हो ।’
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले भने मूल्य तोक्ने जिम्मा आफू नेतृत्वको महासंघको भएको दाबी गरे । ‘विगतमा हामीले नै तोक्दै आएका थियौं, विगतकै प्रणालीअनुसार तोक्ने जिम्मा हाम्रै हो,’ उनले भने, ‘अहिले बीचमा अर्को महासंघले पनि मूल्य तोक्यो ।’ एकदुई घन्टा तलमाथि हुँदा मूल्य पनि सोहीअनुसार फरक पर्ने उनले बताए । सबैको सहमतिमा दरभाउ मिलाइने उनको भनाइ छ । मूल्य फरकफरक हुँदा उपभोक्ता झुक्किने सम्भावना उच्च स्वयं व्यवसायी बताउँछन् । सुनचाँदी व्यवसायी महासंघका दररेट निर्धारण समितिका सयोजक तेजरत्न शाक्य हुन् । महासंघका पूर्वअध्यक्षसमेत रहेका उनले पनि भाउ नमिलेको स्विकारे । सरकारी कार्यालय र राष्ट्र बैंकको काममा सुनचाँदी व्यवसायी महासंघकै मूल्यलाई मान्यता दिइएकाले अर्को महासंघको मान्यता नहुने उनको दाबी छ ।
यता आभूषण महासंघका अध्यक्ष महर्जन पनि आफूहरूले पारदर्शी रूपमा मूल्य तोकेको दाबी गर्छन् । आभूषणअन्तर्गत रहेको मूल्य निर्धारण समितिले बिहान साढे १० बजेभित्र मूल्य तोक्ने उनले बताए । ‘अर्को महासंघले कसरी मूल्य निर्धारण गर्छ, आएको छैन । कुन समयको मूल्य राख्छ, त्यो पनि थाहा छैन,’ महर्जनले भने, ‘अब सही प्रणालीमा आउनुपर्छ । अन्तर्राष्ट्रिय भाउ हेर्नेबित्तिकै यहाँका उपभोक्तालाई पनि भाउ थाहा हुनुपर्छ । सबै पारदर्शी र यथार्थ हुनुपर्छ । अब भाउ निरन्तर राख्छौं ।’ मूल्यका सन्दर्भमा बैंकहरूसँग समन्वय एवं सहकार्य गरिरहेको उनको भनाइ छ ।
आयात कोटा कटौती
सुन आयातको दैनिक आयात कोटा ५० प्रतिशतले कटौती भएको छ । यसअघि सुनको दैनिक आयात कोटा २० किलो थियो । वाणिज्य बैंकले मात्रै सुन आयात गर्न पाउने नियम छ । आयातित सुन सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण महासंघलगायतको सिफारिसमा अन्य व्यवसायीले खरिद गर्न पाउँछन् । व्यवसायीका अनुसार दरभाउमा देखिएको अस्थिरताले सुनको माग छैन । चाडबाड र सिजनमा भने यसको माग दोब्बर पुग्ने व्यवसायीहरूको दाबी छ ।
मूल्य अझै बढ्ने अनुमान
व्यवसायीका अनुसार सुनको मूल्य थप बढ्ने संकेत देखिएको छ । कोभिड–१९ का कारण आर्थिक संकट र अमेरिका, चीनबीचको व्यापारिक युद्ध कायमै रहेकाले लगानीकर्ता सुनमै आकर्षित छन् । यता सरकारले सुनचाँदीको कारोबारलाई व्यवस्थित बनाउने भन्दै सुन, चाँदी, हीरा तथा बहुमूल्य धातुका गहना व्यवसाय तथा कारोबारको मापदण्ड, २०७१ को मस्यौदा तयार ग¥यो । तर, मापदण्ड अझै लागू भएको छैन । लामो समयदेखि अपारदर्शी रूपमा सुनचाँदी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीको दबाबमा मापदण्ड लागू नभएको बताइन्छ । सुन, चाँदी र हीराको कारोबारलाई चुस्त बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन मस्यौदा तयार गरिए पनि अहिलेसम्म आपूर्ति विभागकै दराजमा थन्किएको छ । सुनचाँदीको मस्यौदा यत्तिकै थन्किँदा बजारमा किनबेच हुने सुनमा भएको मिसावट, मर्करी, क्याडियम, जर्तीसँगै ज्यालामा व्यवसायीले आफूखुसी गर्ने गरेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । सुन पसल अनुगमन गर्न सरकारसँग दक्ष प्राविधिक छैन । बजारमा गुणस्तरीय सुन छ भनेर भन्न सकिन्न।सुन खुद्रा पसलको सामानजस्तो नभएकाले गुणस्तर हेर्न दक्ष जनशक्ति चाहिन्छ । मापदण्ड मस्यौदा समितिमा आपूर्ति, अर्थ, कानुन मन्त्रालय र आपूर्ति विभागका प्रतिनिधि तथा निजी क्षेत्रबाट नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधि थिए । तर त्यो मस्यौदाले कार्यरूप नपाउँदैसम्म उस्तै समस्या रहने बताइन्छ ।
त्यसो त २०७१ वैशाखमा न्युरोडका केही व्यवसायीले बेच्ने सुनमा तोकिएको तौल र शुद्धता नभएको भन्दै सरकारले पाँचवटा सुन पसलमा सिलबन्दी गरेको थियो । यसपछि सरकारले सुन कारोबार मापदण्ड मस्यौदा तथा सुन पसल अनुगमन निर्देशिका तयार गर्ने जनाएको थियो । पछिल्लो समय हरेक पेसा व्यवसायसँगै सुनव्यवसायीहरू संकटमा परेपछि सरकारले यथोचित सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply