धमाधम मुहार फेर्दै विमानस्थल
काठमाडौं । सरकारले राम्रो काम गर्यो भने त्यसको जनस्तरबाट पनि राम्रो प्रशंसा हुन्छ । जसको पछिल्लो उदाहरण हो, गत हप्ता एकै दिन देशभरका ३९६ गाउँपालिकामा गरिएको स्वास्थ्य केन्द्रको शिलान्यास । त्यति मात्र होइन, पछिल्लो समय सरकारले नागरिक उड्डयनको क्षेत्रमा आमूल परिवर्तन देखिने गरी काम गरेको छ । नेपालमा हवाई यात्रुको धेरै चाप हुने काठमाडौंको त्रिभुवन अन्तर्राष्टिय, लुम्बिनिको भैरहवा अन्तर्राष्टिय, पोखरा र जनकपुर विमानस्थलमा आएको परिवर्तनले गर्न खोज्दा सम्भव हुने रहेछ भन्ने गतिलो सन्देश दिएका छन् ।
कोभिड १९ महामारीले विश्वमै सन्त्रास छाइरहेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थललगायतका यी सबै विमानस्थलमा पूर्वाधार निर्माणको काम भने रोकिएन । जसको परिणाम त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा धावनमार्ग विस्तारको काम सकियो । साबिकको तीन हजार मिटर लामो धावनमार्ग विस्तार गरी थप ३ सय मिटर बनाइएको छ । धावनमार्ग छोटो हँुदा जहाजलाई सुरक्षित उडान अवतरण गर्न केही कठिनाइ भइरहेको थियो । लकडाउनकै समयमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एक हजार ५ सय क्षमताको ‘डिपार्चर हल’ निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । यही बीचमा वाइडबडी जहाज राख्न मिल्ने क्षमताका ककपार्किङ्ग वे’ थपिएको छ । यसले गर्दा आकाशमा जहाज होल्ड हुने अवस्थामा कमी ल्याएको छ । त्यस्तै, समानान्तर ‘ट्याक्सी वे’ निर्माण तथा विमानस्थलको उत्तरतर्फ थप २२ वटा जहाज क्षमताका पार्किङ्ग स्थल बनाउने काम पनि भएका छन् । यी सबै संरचना, सेवा र सुविधाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति का साथै देख्दा पनि आकर्षक भएको छ ।
त्यस्तै जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य पनि सकिएको छ । हिजै मात्र संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले नयाँ भवनको औपचारिक उद्घाटन गरेका छन् । आधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै जनकपुर विमानस्थलको पाँच दशक पुरानो टर्मिनल भवन विस्थापित भएको छ । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको छ ।
कोभिड–१९ को असरबीच लुम्बिनी र पोखरा दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले उल्लेख्य प्रगति हासिल गरेका छन् । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत सम्पन्न भएको छ । कोभिड–१९ को असर देखिनुपहिला ८५ प्रतिशत काम सम्पन्न भएको थियो ।
त्यस्तै, कोभिडअगाडि ५० प्रतिशत मात्रै काम सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण ६५ प्रतिशत सकिएको छ । भैरहवा विमानस्थल निर्माणको काम गत वर्ष नै सम्पन्न गर्ने सरकारको लक्ष्य थियो । तर, कोभिड–१९ का कारण ढिलाइ भएर आगामी फागुनसम्ममा सञ्चालन गर्ने लक्ष्य सरकारले लिएको छ । कोरोनाकै कारण समयमा निर्माण गर्न नसकेपछि विमानस्थलको पुनः ठेक्का अवधि डिसेम्बरसम्मका लागि थप गरिएको छ । ३ हजार मिटर लामो रनवे निर्माण टर्मिनल भवन निर्माण लगायतका अधिकांश काम सम्पन्न भइसकेको छ । अहिले चिनियाँ र केहि थाई जनशक्ति नआएकाले मात्र काम केही पर धकेलिएको छ । कोभिडका कारण रोकिएका ती जनशक्ति आएको ९० दिनभित्र सबै काम सम्पन्न हुने बताइएको छ । मन्त्री भट्टराईले गत शनिबार मात्र उक्त विमानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेर चाँडो काम सक्न निर्देशन दिएका छन् ।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुनसम्म सम्पन्न गर्ने लक्ष्य छ । धावनमार्गको काम सम्पन्न भइसकेको छ भने १४ वटा भवन निर्माण सम्पन्न गरेर फिनिसिङ काम सुरु भएको छ ।
सम्बन्धित समाचार
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- आजबाट छठ पर्व सुरु
- ६८ यात्रु बोकेको यतीको जहाज पोखरामा दुर्घटनाग्रस्त
- पर्यटन पुर्वाधारका क्षेत्रमा क्रान्ति नै भएको छ
- पर्यटन बजार मर्न नदिने आन्तरिक पर्यटकले हो : मन्त्री भट्टराई
- कोभिड महामारीकै बीच फेरिए विमानस्थलका मुहार
- विराटनगर विमानस्थल सुधारका लागि त्रिपक्षीय सम्झौता
- लुम्बिनी गुरुयोजनाको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न
Leave a Reply