द्वन्द्वको घाउ बोकेर चम्किँदैछ बेनी

एघार वर्षअघिको त्यो भयावह रात अझै पनि बेनीबासीहरूको स्मृतिपटलबाट मेटिइसकेको छैन । मनोरम कालीगण्डकी र म्याग्दी नदीको संगमथलो बेनी बजारले विगतको द्वन्द्वकालीन समयमा नराम्रो झट्का बेहोर्नुपर्यो । माओवादी द्वन्द्वको चरमोत्कर्षका बेला दुई नदीको भेट हुने एउटा सुन्दर बजार बेनी विद्रोहीहरूको आक्रमणको निसानामा पर्यो । ०६० चैत ७ गते राति बेनीमा त्रासको विजारोपण भयो र ध्वंसको तीतो इतिहास रचियो । तीसको दशकमा मन छन्त्यालले गाएको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ को सौन्दर्य पनि बेनी आक्रमणसँगै मेटिएको आभास म्याग्दीबासीलाई नभएको होइन ।
तर, माओवादीले बेनी बजारमा भीषण आक्रमण गरेर एक दर्जन सरकारी कार्यालय, एउटा पुस्तकालय र निजी घर ध्वस्त बनाए पनि बेनीबासीहरूले भने समयक्रममा त्यो घाउ बिर्सिन थालेका छन् । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुविरकुमार श्रेष्ठ भन्छन्– ‘माओवादी आक्रमणबाट जिल्लाका व्यवसायीहरूलाई त्रसित तुल्याए पनि हामीले जिल्ला छाडेर अन्तै व्यवसाय गर्ने सोच बनाएनौं । आज हामीले जिल्लालाई चम्काउन सक्षम भएका छौं ।’
हुन पनि, अहिले बेनी बजारको भाग्य राम्ररी नै चम्किन थालेको छ । नेपालको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जानका लागि सडकमार्ग बनेपछि बेनीको व्यापार, व्यवसाय चम्किने क्रम सुरु भएको हो । किनकि, मुक्तिनाथको प्रवेशद्वार नै बेनी बजार हो । मुक्तिनाथ मन्दिरको दर्शन गर्न खासगरी भारतीय धार्मिक पर्यटकहरूको घुइँचो नै लाग्छ । अब सोह्र श्राद्ध सुरु भएपछि त पर्यटकहरू थेगिनसक्नु हुन्छन् । श्रेष्ठ भन्छन्– ‘पर्यटकहरू भित्रिएपछि निश्चित रूपमा जिल्लामा आम्दानीको स्रोत बढ्दो रहेछ ।’ अहिले बेनीलगायत म्याग्दी जिल्लाका होटलहरूले राम्रो कमाइ गर्न थालेका छन् । म्याग्दी र मुस्ताङका व्यवसायीहरूले राम्रो फाइदा लिन थालेका छन् ।
तीन वर्षअघि म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठ बेनीकै स्थायी बासिन्दा हुन् । ४५ वर्षअघि बेनीमै जन्मिएका श्रेष्ठले व्यापार, व्यवसायमा भने ०४९ सालदेखि नै हात हालेका हुन् । त्यतिबेला उनले ६५ हजार रुपियाँमा एउटा बरफ उद्योग खोलेर व्यवसायमा कदम राखे । तर, समयक्रममा उनले किराना पसलदेखि फर्निचर, मेटल उद्योगहरूमा पनि लगानी गरे । त्यसपछि भने ०६० सालमा उद्योग वाणिज्य संघमा प्रवेश गरेर दुई कार्यकाल उपाध्यक्ष भएपछि अध्यक्षको गरिमामय जिम्मेवारी सम्हाल्न पुगेका हुन् । अहिले उनी जिल्लाका विभिन्न सामाजिक संघसंस्थाहरूमा पनि आबद्ध छन् । बेनी बजारकै प्रकाश उच्च माविको व्यवस्थापन समितिदेखि एउटा सञ्चार सहकारीमा पनि उनी आबद्ध छन् । उनको सञ्चार सहकारीले जिल्लामा म्याग्दीकाली एफएम र टेलिभिजन पनि सञ्चालन गरिरहेको छ । आफ्नो व्यवसायसँगै सामाजिक क्रियाकलापमा पनि उत्तिकै क्रियाशील श्रेष्ठले म्याग्दीलाई कसरी समृद्ध बनाउने भन्नेमा आफ्नो चिन्तन अहोरात्र पोखिरहेका छन् ।
हुन त, राजनीतिक पहुँचले कति ठूलो अन्तर र असर पार्दोरहेछ भन्ने जिउँदोजाग्दो उदाहरण म्याग्दी जिल्ला नै हो भन्दा फरक पर्दैन । म्याग्दीबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरूको आवाज केन्द्रीय तहमा त्यति नसुनिने भएर नै होला, छिमेकी जिल्ला बागलुङमा सडक पिच भएको करिब दुई दशकपछि मात्रै बेनी बजारसम्म पिच हुनसक्यो । बागलुङमा त ०५१ सालमै पिच भइसकेको थियो तर बागलुङ र पर्वतको सीमामा पर्ने मालढुंगाबाट जम्मा १३ किलोमिटर मात्र पर्ने बेनी बजारसम्म भने सडक पिच दुई वर्षअघि मात्रै भयो । अहिले पनि केही भागमा पिच हुन बाँकी नै छ । श्रेष्ठ राजनीतिक पहुँच नपुगेकै कारण म्याग्दी पछाडि परेको बताउँछन् । .
म्याग्दी धौलागिरि अञ्चलको नाका भएको हुँदा म्याग्दीको विकासबिना सिंगो धौलागिरि अञ्चल र क्षेत्रको विकास नहुने पनि उनी बताउँछन् । हुन पनि, पर्यटकहरूको अत्यधिक घुइँचो लाग्ने मुस्ताङको प्रवेशद्वार त बेनी बजार नै हो भने पर्वतको ३–४ वटा र बागलुङका पनि त्यति नै गाविस छिर्ने नाका पनि म्याग्दी नै हो । अझ, विश्वमै सिकारका लागि प्रसिद्ध मानिएको ढोरपाटन क्षेत्र प्रवेश गर्न म्याग्दी नै टेक्नुपर्छ । म्याग्दीले पर्यटन क्षेत्रबाट आफ्नो भाग्य चम्काउन सक्ने श्रेष्ठले राम्ररी ठम्याएका छन् । भन्छन्– ‘नेपाली अर्थतन्त्रलाई ठूलो टेवा र फाइदा पुर्याउने आधार नै पर्यटन क्षेत्रको विकास हो । तसर्थ, हामीले म्याग्दीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न हरसम्भव प्रयास गरिरहेका छौं । बेनी बजारबाट ३ किलोमिटरमा रहेको प्रसिद्ध गलेश्वर मन्दिरमा पर्यटक भित्र्याउन संघले प्रयास जारी राखेको छ । किम्बदन्तीअनुरूप, गलेश्वरमा पार्वतीको गला पतन भएको थियो । र, त्यही कारण नाम नै गलेश्वर रहन गयो । सोही जिल्लामा रहेको पुलाश्रम अर्को धार्मिक पर्यटकीय क्षेत्र बनाउन पनि उनी लागिपरेका छन् । सो ठाउँमा पौलस्य ऋषिले तपस्या गरेको मानिन्छ । किम्बदन्तीअनुरूप, पौलस्य ऋषि रावणको हजुरबुबा भएको हुँदा सो ठाउँमा रावण पार्क बनाउने योजना पनि अघि सारिइसकेको छ ।
जिल्लामा समस्याहरू नभएका होइनन् । र, समस्याहरूको प्रत्यक्ष मार जिल्लाका उद्योगी, व्यवसायीहरूले भोग्नुपरिरहेको छ । श्रेष्ठ भन्छन्– ‘मालढुंगादेखि बेनीसम्मको सडक पूर्णरूपमा पिच हुनुपर्छ । म्याग्दीलाई विद्युत् हब बनाउने कुरा उठिरहेको छ । म्याग्दी र कालीगण्डकी नदीबाट १२ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ भने अरू साना नदीहरूबाट पनि विद्युत् निकाल्न सकिन्छ । तर, केन्द्रीय प्रसारण लाइनको अभावका कारण काम अघि बढ्न सकिरहेको छैन । सरकारले यो दिशातिर ध्यान दिनु आवश्यक छ ।
जिल्लाको समग्र विकासबारे संघले आफ्नो खाका कोरेको बताउँदै श्रेष्ठ भन्छन्– ‘पर्यटक, कृषि, सडक र विद्युत्को विकासका लागि हामी पनि प्रयत्नशील छौं । साथै, जिल्लाका प्रसिद्ध रुप्से छहरा, संसारकै सबभन्दा गहिरो अन्धगल्छीको प्रचार–प्रसारका साथै विभिन्न ऐतिहासिक कोटहरू र राजाकालीन दरबारहरूको संरक्षणतिर पनि ध्यान जानुपर्ने आवश्यकता उनले देखेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply