जापानी शिक्षा र विकास : नेपालले के सिक्न सक्छ ?

गत शनिबार (भदौ २१ गते) राजधानीमा जापान युनिभर्सिटी अल्मुनाई एसोसियसन नेपाल (जुआन) नामक संस्थाले ‘नेपाल–जापान एकेडेमिक फोरम’ नामक एउटा कार्यक्रम आयोजना गरेको थियो । जापानका विश्वविद्यालयमा पढेर फर्किएकाहरूको उक्त संस्थाले आफ्नो स्थापनाको ४० वर्ष पूरा गरेको अवसर पारेर आयोजना गरेको कार्यक्रममा एउटा राम्रो विषयमाथि गम्भीर छलफल भएको थियो– जापानको शैक्षिक प्रणाली, विकास र त्यसको नेपालसँगको सम्बन्ध । कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुग्नुभएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जापानसँगको नेपालको ‘न्यानो, आत्मीय र मित्रतापूर्ण सम्बन्ध’को चर्चा गर्दै त्यसबाट नेपालले हासिल गरेका फाइदाहरूको फेहरिस्त नै सुनाउनुभयो । नेपालको बलियो विकास साझेदारका रूपमा रहेको जापानबाट नेपालले मात्र लाभ लिएको छैन, विकास हुन नसकेका अरू देशहरू पनि लाभान्वित बनेका छन् । नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले आफ्नो देशको शैक्षिक प्रणालीका बारेमा चर्चा गर्दै त्यसबाट नेपालले हासिल गर्न सक्ने लाभका सम्भावित क्षेत्रका बारेमा पनि उल्लेख गर्नुभयो । नेपाल संविधान निर्माणका क्रममा रहेको, संविधान निर्माण भएपछि संक्रमणकालको अन्त्य भएर स्थिर राज्य स्थापना हुने, त्यसले मुलुकको समृद्धिका लागि नयाँ योजनाहरू ल्याउने र त्यही आधारमा धेरैका मुखमा झुन्डिने गरेको नयाँ नेपाल बन्ने सपना पालेका नेपालीहरूका लागि सुधारका सम्भावित क्षेत्रका बारेमा बौद्धिक तहबाट बहस, छलफल र अन्तक्र्रिया हुनु राम्रो कुरा हो । उक्त कार्यक्रमले पनि यही विषयमा मुख्य जोड दिएको थियो । देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्न त्यस मुलुकले गरेको कष्टसाध्य र सफल यात्राका बारेमा मात्र होइन, शिक्षाका दीर्घकालीन र बहुआयमिक प्रभावहरू कसरी अरू क्षेत्रमा पनि परे भन्ने चर्चा वास्तवमा लाभदायक थियो ।
कुनै पनि मुलुक रातरात बन्दैन । अहिलेको अहिल्यै भने जस्तो सबै कुरा या जादुमा बदलिन्छ या त चलचित्रमा । त्यसबाहेक कुनै मुलुकको विकासका लागि त्यति छिटो कल्पना गर्नु अवास्तविक हुन्छ । तर, आज केही पनि गर्ने होइन भने भोलि मात्र होइन, कहिल्यै पनि मुलुक बदलिँदैन । उदाहरणका लागि जापानलाई लिन सकिन्छ । दोस्रो विश्वयुद्धले आर्थिक रूपमा जर्जर भएको मुलुकले कसरी आफूलाई विश्वको आर्थिक महाशक्ति राष्टका रूपमा विकास गर्यो र आज नेपाललगायत विश्वका धेरै गरिब मुलुकहरूको आर्थिक साझेदार बनेको छ भन्ने उदाहरण जापानले देखाएको छ । विकासको अर्थ चिल्ला सडक, झिलिमिली बत्ती, व्यक्तिसँग पर्याप्त पैसा वा देखिने यस्तो चिज मात्र होइन । विकासको जग त शिक्षामा उभिएको हुन्छ भन्ने उदाहरण पनि जापानले देखाएको छ । आज पनि जापानीहरू ढुक्कसँग भन्छन्– ‘हाम्रो देशमा जे जति विकास भएको छ, यसको जस शिक्षा क्षेत्रलाई जान्छ । बलियो शैक्षिक जग बसेका कारण त्यसबाट उत्पादित दक्ष जनशक्तिले जापान निर्माण गरेको हो र गरिरहेको छ ।’ जस्तासुकै आर्थिक कठिनाइहरूमा पनि जापानको जग नहल्लिने एउटा प्रमुख कारण शिक्षा नै रहेछ । शिक्षा र विकासको अन्योन्याश्रित तथा अनन्य सम्बन्धका सबभन्दा राम्रा व्याख्याता सायद जापानीहरू नै होलान् । किनभने, यसका सबभन्दा राम्रा प्रयोगकर्ता उनीहरू नै हुन् ।
जापानमा प्राथमिक तहको शिक्षा ६ वर्ष र निम्न माध्यमिक तहको शिक्षा ३ वर्षको छ, जुन पूर्णत: अनिवार्य र नि:शुल्क छ । थप ३ वर्षको उच्च माध्यमिक तहको शिक्षा अनिवार्य नभए पनि अनिवार्य जस्तै छ, जहाँ विद्यार्थीले आफ्नो रुचि अनुसारका विषयहरू पढ्छन् । यही आधारमा उभिएर भविष्यमा के बन्ने भनेर उनीहरूले तय गर्छन् । दोस्रो विश्वयुद्धको समाप्ति (१९४५) पछि चार चरणमा विकासको भएको जापानको शिक्षा प्रणालीले आज जापानलाई कहाँबाट कहाँ पुर्याएको छ †
जापानीहरू विकासका लागि जोड केमा दिने भनेर पहिचान गर्न र त्यसअनुरूप काम गर्न माहिर मानिन्छन् । क्योटो विश्वविद्यालयका प्राध्यापक डा. तात्सुरो फुजिकुराले आफ्नो कार्यपत्र रिफ्लेक्सन अन डेभलपमेन्ट डिस्कोर्सेस इन नेपाल एन्ड जापान नामक कार्यपत्रमा उल्लेख गरे अनुसार, विकासका लागि जनसहभागिता र त्यस अनुसारको जनचेतना आवश्यक पर्दछ । पक्कै पनि त्यस्तो जनचेतना एक दिनमा बन्ने होइन र त्यसको एउटै उपाय भनेको राज्यले शिक्षाका माध्यमबाट गर्ने हो । विकास भएन भनेर रोदनक्रन्दन गर्नुको साटो विकासका नाममा प्रयोग हुने जार्गनहरू बिर्सेर जनताको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ ।
जापानको सोफिया विश्वविद्यालयकी प्राध्यापक डा. मिकी सुगिमुराल नेपाल र जापानका बीचमा धेरै समानता रहेको केलाउँदै शिक्षाका क्षेत्रमा जापानको अनुभव नेपालका लागि उपयोगी हुने विश्वास व्यक्त गर्छिन् । आफ्नो कार्यपत्र स्कुल एजुकेसन सिस्टम फर ह्युमन रिसोर्स डेभलपमेन्ट इन जापानमा प्राध्यापक सुगिमुराले उठाएका प्रश्नझैँ नेपालको प्राथमिक शिक्षालाई कसले कति नम्बर ल्याउने भनेर प्रतिस्पर्धात्मक बनाउने र कि ज्ञान आधारित बनाउने ? त्यसका आधारमा बाँकी शिक्षाको आधार तयार हुन्छ । अनि प्राविधिक शिक्षामा बढीभन्दा बढी जनशक्तिलाई जोडेर जापानले जस्तै राष्ट निर्माणका लागि आफ्नै दक्ष जनशक्ति निर्माण गर्नुपर्छ । शिक्षा आर्जन गर्ने भनेको कुनै व्यक्तिको व्यक्तिगत जिन्दगी सुखपूर्ण हुने कुरासँग मात्र सम्बद्ध छैन । यो त राष्ट्र निर्माणसँग पनि सम्बद्ध छ र त्यही प्रकारको शिक्षा नीति बनाउनुर्छ भन्ने मान्यता जापानीहरूको रहेको ती दुई प्राध्यापकहरूको निष्कर्ष छ ।
नेपालमा पनि जापानबाट पढेर आएको दक्ष जनशक्ति छ, जुन कुनै न कुनै रूपमा आफ्नो क्षेत्रमा स्थापित छ । पद्मसुन्दर मल्लले पहिलो पटक जापानबाट शिक्षा हासिल गरेर फर्केयता अहिलेसम्म धेरै नेपालीले त्यो अवसर पाएका छन् र पाउने क्रम जारी छ । जापान युनिभर्सिटी अल्मुनाई एसोसियसन नेपालका अध्यक्ष डा. दिनेश भुजूका अनुसार, जापानमा शिक्षा हासिल गर्ने विदेश विद्यार्थीको संख्याका आधारमा नेपालको स्थान चौथो छ । यसबाट पनि नेपालले कुनै न कुनै रूपमा फाइदा नै लिइरहेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply