आधा दशकमै मोर्गनको छलाङ

डेढ दशकअघि देश चरम द्वन्द्वबीच गुज्रिरहेको थियो । अझ, मध्यपश्चिमको पहाडी भूभाग रोल्पा त युद्धको तातो भुंग्रोमाथि उभिएको थियो । त्यही समय, काठमाडौंमा बसेर विद्यार्थी राजनीति र विज्ञानको उच्च शिक्षा अध्ययन गरिरहेका रोल्पा, जिनावाङ–८ का दीपेन्द्र भण्डारीले भने करिब–करिब एउटा निर्णयसामु आफूलाई पुर्याइसकेका थिए । अमृत साइन्स कलेजमा अध्ययन गरिरहेका उनले आफ्नै गाउँ फर्किएर राजनीति गर्ने र अध्यापन कार्यलाई पनि गति दिने निश्चय गरे । तर, एमालेका शीर्ष तहका नेताहरूले भने उनको अभियानलाई अग्रगति दिने कुनै चासो देखाएनन् र गाउँ फर्किएर राजनीतिमा होमिने उनको इच्छामा पूर्णविराम लाग्न पुग्यो ।
उनले त्यही समय अर्को विकल्प पनि सोचेका थिए । राजनीति गर्ने आधार तय भएनन् भने काठमाडौंमै कुनै व्यवसाय गर्ने सोच उनीसँगै मौजुद थियो । त्यही विकल्पस्वरूप, ०५७ सालको सुरुमै उनले बिलबोर्ड इन्स्टिच्युट स्थापना गरेर शिक्षा क्षेत्रलाई व्यवसायको माध्यम बनाए । तत्कालीन समयमा बागबजारमा स्थापित उक्त इन्स्टिच्युटमा दुई जना भारतीय र एकजना नेपाली शिक्षक डा.लक्ष्मीप्रसाद साहले पनि अध्यापन गराउनुहुन्थ्यो । तर, ०५८ सालमा दाङमा माओवादीले सेनाको ब्यारेकमाथि आक्रमण गरेपछि देशमा संकटकाल लागू भयो । संकटकाल लागू भएपछि ती शिक्षकहरू डराए । तर, उनले आश्वस्त पारेपछि तिनीहरू नेपालमै बसे । नेपालमा धेरै विद्यार्थीले अध्ययन गर्ने मोर्गन इन्टरनेसनल कलेजका संस्थापक प्रिन्सिपल एवम् प्राचार्य भण्डारी शिक्षा क्षेत्रमा आफूले पाइला टेक्नुको श्रेय तिनै भारतीय शिक्षकहरूलाई दिन्छन् । उनी भन्छन्– ‘ती शिक्षकहरूले मलाई बारम्बार तिम्रो राम्रो नेटवर्क छ, नेतृत्व क्षमता पनि तिमीसित छ, एउटा कलेज खोल भनेर पटक–पटक सुझाव दिइरहन्थे । तिनीहरूले मलाई ३/४ वर्षसम्म नै कलेज खोल्नका लागि उत्प्रेरणा दिइरहे । र, मलाई पनि कलेज खोल्दा उचित हुने लाग्यो ।’ अहिले करिब पाँच हजार विद्यार्थीले अध्ययन गर्ने मोर्गनको गर्भाधानमा तिनै शिक्षकहरूको प्रेरणा र प्रश्रय जोडिएको उनी अहिले गौरवपूर्वक बताउँछन् ।
०६६ सालमा मोर्गन स्थापनाका लागि पहल गर्नुअघि उनीहरूले तीन वर्षसम्म ललितपुर कलेज चलाए । भण्डारी भन्छन्– ‘कलेज खोल्ने उद्देश्यले नै मैले आफ्ना कलेजका साथीहरूको एउटा टिम बनाएँ । ललितपुर कलेज बिक्रीमा छ भन्ने सुनेपछि हामीले त्यो कलेज किन्यौं । त्यतिबेला हामीले १८ लाख रुपियाँमा उक्त कलेज किनेका थियौं ।’ तर, तीन वर्षसम्म उक्त कलेज चलाएको अनुभव सँगालिसकेको हुँदा उनले अझ ठूलो कलेज चलाउने सोच बनाए । भन्छन्– ‘ममा नेपालकै प्रतिष्ठित र विशाल कलेज चलाउने महत्त्वाकांक्षा थियो । र, तत्कालीन समयमा भूतपूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाको साथ लिएर मैले उक्त कलेजलाई अघि बढाएँ ।’ पाँच वर्षअघि मोर्गनको सुरुआत गर्दा उपयुक्त ठाउँमा भाडाको घर पाइएन । घर भाडामा नपाएपछि काठमाडौंको बसुन्धारामा निर्मित एउटा घर किनेर कलेज सञ्चालन गर्न थाले । एनएमबी बैंकको ऋण सहयोगमा २२ करोड ५० लाख लगानीमा उक्त कलेज सुरुआत गरिएको थियो ।
उक्त कलेजले पहिलो वर्ष विज्ञान, व्यवस्थापन र ह्युम्यानिटिज संकायको पढाइ सुरु गर्यो । दोस्रो वर्ष बीबीएस, बीबीए, बीआईएम, बीएचएम साथै इन्जिनियरिङ संकाय र अहिले स्नातकोत्तरमा एमएस्सी र एमबीएस दुईटा कार्यक्रम रहेका छन् । स्नातक तहमा भने ११ वटा कार्यक्रम रहेका छन् । उनी भन्छन्– ‘मेरो उद्देश्य त तीन हजार विद्यार्थीहरूलाई अध्ययन गराउने कलेज खोल्ने थियो । तर, अहिले हामीकहाँ पाँच हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।’ र, उक्त कलेजमा प्राध्यापक र कर्मचारीहरू गरी अढाई सयले रोजगारसमेत पाइरहेका छन् । धेरै विद्यार्थी संख्या भएको उक्त कलेजको व्यवस्थापकीय पक्ष चाहिँ कसरी मिलाइरहेका छन् त उनले ? भन्छन्– ‘आ–आफ्नो विषयका विभागहरू छन् र तिनीहरूमा आ–आफ्नै हिसाबले काम भइरहेको हुन्छ ।’
मोर्गनको नतिजा अत्यन्तै उत्कृष्ट रहेको भण्डारी बताउँछन् । मोर्गनमा अध्ययन गरेकाहरूले हरेक वर्ष त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा २/३ जनाले नाम निकाल्छन् भने इन्जिनियरिङमा ५०/६० जनाले नाम निकाल्दै आइरहेका छन् । त्यस्तै, चार्टर्ड एकाउन्टेन्टमा सय जनाभन्दा बढीले नै नाम निकालिरहेका छन् । भण्डारी भन्छन्– ‘कलेजको भौतिक संरचना, पुस्तकालय र खेलकुदको राम्रो र सुन्दर सुविधा भएको हुँदा विद्यार्थीहरूको चाप निकै नै बढिरहेको छ । अहिलेसम्म हामीले चापलाई धानिरहेका छौं । तर पनि, यो वर्ष हामीले चार/पाँच सय विद्यार्थीहरूलाई फर्काउन बाध्य भयौं ।’ भण्डारीले कलेजसँगै मोर्गन इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट र मोर्गन इन्टरनेसनल स्कुलको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।
वि.सं.०३१ सालमा रोल्पाको जिनावाङमा जन्मिएका भण्डारीले सात कक्षासम्मको अध्ययन गाउँमै गरे पनि प्रवेशिका परीक्षा भने दाङको श्रीगाउँस्थित सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन् । स्कुलकै गुरु भरत न्यौपानेले दाङ गई अध्ययन गर्न उत्प्रेरित गरेपछि उनले दाङमा आएर एसएलसी उत्तीर्ण गरेका थिए । तर, गाउँको स्कुलमा अध्ययन गर्दा भने बिहान एक डोको घाँस नकाटी उनी स्कुल जान पाउँदैनथे । भन्छन्– ‘नौ बजेसम्म एक भारी घाँस नकाटी म स्कुल जान पाउदिन्नथेँ । त्यही भएर नै ममा मिहिनेत गर्नुपर्छ भन्ने भावनाको विकास भयो ।’ आफूले एसएलसी उत्तीर्ण गरेको स्कुलमा अध्यापन गर्ने प्रायजसो दार्जिलिङका शिक्षकहरू भएको हुँदा पढाइ पनि उत्कृष्ट रहेको उनी बताउँछन् । ‘यो स्कुल मध्यपश्चिमकै उत्कृष्ट स्कुल हो । मैले अध्ययन गरेको स्कुलबाट परीक्षा दिने सबैले एसएलसी उत्तीर्ण गर्थे’– उनले भने । उनले एसएलसी उत्तीर्ण गरेपछि विज्ञानका शिक्षक इन्द्र डाँगी र चित्र गौतमले उच्च शिक्षा हासिल गर्न काठमाडौं जान सुझाव दिए । उनी भन्छन्– ‘उच्च शिक्षा अध्ययनका लागि म काठमाडौं आएँ । तर, मलाई राजनीतिप्रति धेरै नै चाख बढ्यो । त्यतिबेला भर्खर बहुदल आएको हुँदा राजनीतिक चहलपहल बढी नै थियो । तर, मैले राजनीति र अध्ययन, दुवैलाई सँगसँगै अगाडि बढाइरहेँ । अस्कलमा अखिलको एकलौटी शासन चल्थ्यो । त्यहाँको होस्टेलमा बस्दा म अझ बढी सक्रिय रूपमा राजनीतिमा लागेँ ।’
अस्कलमा अध्ययन गर्दा उनले बाह्र वर्षसम्म पेसेवर रूपमै विद्यार्थी राजनीति गरे । ‘ममा राजनीतिमा सक्रिय रहने इच्छा र चाहना थियो’– उनी भन्छन् । तर, समयान्तरमा उनी राजनीतिमा होइन, शिक्षा क्षेत्रमा जम्न पुगे ।
कुनै बेला, गाउँ फर्किएर राजनीतिमा सक्रिय रहने चाहना पूरा नभए पनि शिक्षाको माध्यमद्वारा समाज बदल्ने र सुन्दर समाज निर्माण गर्ने उद्देश्यसहित एउटा दह्रो शैक्षिक संस्था हाँकेर उनले आफू कुशल व्यवस्थापक रहेको जनाउ दिइरहेका छन् । हुन पनि, उनी यति धेरै मिहिनेत गर्छन् कि, बिहान ५:३० बजे उनी कलेज आइसकेका हुन्छन् र बेलुकी ७ बजेसम्म कलेजमै रहन्छन् । अहिले उनले मोर्गनलाई हरेक दिन १२ घन्टाभन्दा बढी समय दिइरहेका छन् । आफूले अहिलेको उचाइ ग्रहण गर्नुको रहस्य खोल्न उनी चुक्दैनन् । प्रस्ट शब्दमा भन्छन्– ‘मैले अहिले जुन सफलता प्राप्त गरेको छु । यो मैले चयन गरेको दृष्टिकोण र मेरो मिहिनेतकै प्रतिफल हो । म सानैदेखि मिहिनेत गर्थें । मिहिनेत गर्ने त्यही वाणीले नै मलाई अहिलेको बिन्दुसम्म ल्याइपुर्याएको हो ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply