कहाँ–कहाँ छन् कम्युनिस्टहरू सरकारमा ?

पाँच समाजवादी मुलुक
हतियारबन्द युद्धबाट जितेर शासनको बागडोर हातमा लिएका पाँच वटा मुलुकमध्ये चार वटा जनवादी गणतन्त्र चीन, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, समाजवादी गणतन्त्र भियतनाम र जनवादी गणतन्त्र लाओस एसियामा पर्छन् भने गणतन्त्र क्युबा ल्याटिन अमेरिकामा पर्छ । सबभन्दा पहिला विद्रोहमार्फत पेरिस कम्युन (१८ मार्च–२८ मे १८७१) निर्माण गरेर क्रान्ति सम्भव छ भनेर दुनियाँलाई देखाउने युरोप, सन् १९१७ मा पहिलो पटक रुसमा सफलतापूर्वक क्रान्ति सम्पन्न गर्ने पूर्वी युरोपदेखि अफ्रिकासम्मका समाजवादी सत्ताहरू सन् १९९० को धक्कासँगै ढले । तीमध्ये कतिपय देशमा आज कम्युनिस्ट पार्टी नाम मात्रका छन्, कतिपय देशमा उनीहरूले नाम नै बदलेका छन् र कतिपयले सिद्धान्त नै बदलेका छन् । तर, यी पाँच समाजवादी मुलुकले भने आफ्ना घरेलु विशेषतालाई आत्मसात् गरेर समाजवादलाई नयाँ रूपमा अघि बढाइरहेका छन् ।
चीन : माओत्सेतुङको नेतृत्वमा १ अक्टोबर, १९४९ मा क्रान्तिबाट विजय हासिल गरेको चिनियाँ कम्युनिस्ट पार्टीले त्यसयता समाजवादलाई मजबुत बनाउनका लागि राष्ट्रिय आवश्यकता र विशेषताहरूलाई आत्मसात् गर्दै आइरहेको छ । माओ जीवित छँदै सुरु गरेको सांस्कृतिक क्रान्ति (१९६६–१९७६)लाई कठोरतापूर्वक ‘कालो समय’का रूपमा किटान गर्दै नयाँ युगमा अघि बढिरहेको चीनमा नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक तरिका अवलम्बन गरिएको छ । आठ करोडभन्दा बढी सदस्य बनाएर विश्वको सबभन्दा ठूलो राजनीतिक दल बन्न सफल चिनियाँ कम्युनिस्ट पार्टीले ‘चिनियाँ विशेषतासहितको समाजवाद’लाई आफ्नो लक्ष्य बनाएको छ । माओलाई संस्थापक र देङ स्याओ पिङलाई आधुनिक चीनको अगुवाका रूपमा यस पार्टीले आत्मसात् गरेको छ । त्यही नीतिमा उभिएर चीन अहिले विश्वको दोस्रो ठूलो आर्थिक महाशक्तिका रूपमा स्थापित भएको छ ।
सन् २०१२ मा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनबाट चौथो पुस्ताका हु जिन्ताओको ठाउँमा पाँचौँ पुस्ताका सी जिङपिङ कम्युनिस्ट पार्टीको महासचिव चयन भए । कम्युनिस्ट पार्टीको महासचिव, मुलुकको राष्ट्रपति र केन्द्रीय सैन्य आयोगको अध्यक्ष एउटै व्यक्ति हुने चिनियाँ अभ्यास अनुसार अहिले उनले चीनको नेतृत्व गरिरहेका छन् । २ हजार ९ सय ८७ सदस्यीय पिपुल्स जनकंग्रेसमा चिनियाँ कम्युनिस्ट पार्टीका २ हजार १ सय ५७ सदस्य छन् ।
प्रजग कोरिया : युद्धपछि कोरियाली प्रायद्वीप विभाजित भएर सन् १९४८ मा उत्तर तर्फको भूभागमा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया निर्माण भएको हो । किम इल सुङको नेतृत्वमा सुरुमा राम्रै आर्थिक प्रगति गरेको यो मुलुक पछिल्लो कालखण्डमा नाकाबन्दी, खडेरी, बाढीपहिरोजस्ता समस्याबाट आक्रान्त छ । आणविक हतियारयुक्त मुलुक उत्तर कोरियामा श्रमिक पार्टीले आफ्नो घोषणापत्र र मुलुकको संविधानमा सन् १९९२ फेब्रुअरी १९ मा माक्र्सवाद–लेनिनवादको साटो किम इल सुङद्वारा प्रतिपादित जुछे विचारधारा राखेको छ । अहिले ‘संगुन’ अर्थात् ‘सैनिक पहिला’ नीति अख्तियार गरेको उत्तर कोरियामा किम इल सुङका छोरा किम जङ इलको २०११ मा निधन भएपछि उनका छोरा किम जङ युनले नेतृत्व गरिरहेका छन् । दक्षिण कोरियासँग सीमामा बेलाबेला तनाव भइररहने गर्छ, जहाँ दक्षिणतर्फ अमेरिकी सैनिक तैनाथ छन् । ६ सय ८७ सदस्यीय संसद्मा ६ सय १ जना वर्कर्स पार्टीका तर्फबाट सदस्य छन् ।
क्युबा : फिडेल क्यास्ट्रोको नेतृत्वमा सन् १९५९ जुलाई १ मा क्रान्ति सम्पन्न भएको क्युबामा उनले २००६ मा स्वास्थ्यका कारण पद छोडेपछि राहुल क्यास्ट्रोले पार्टी तथा सरकारको नेतृत्व गरिरहेका छन् । आर्थिक नीतिहरूमा क्रमश: चीन र भियतनामको बाटो पछ्याउन सुरु गरेको क्युबाले सामाजिक तथा राजनीतिक सुधारसम्बन्धी पछिल्लो महाधिवेशनबाट एक हजार प्रस्ताव पारित गरेको छ । माक्र्सवाद–लेनिनवादलाई आधिकारिक रूपमा राज्यको नीतिका रूपमा संविधानमै व्यवस्था गरिएको क्युबामा ६ सय १२ सदस्यीय संसद्मा सबै जना कम्युनिस्ट पार्टी अफ क्युबाका तर्फबाट मात्रै सदस्य छन् ।
भियतनाम : फ्रेन्च उपनिवेशविरुद्ध हो चि मिन्हले युद्ध लडेर सन् १९४५ मा उत्तरी क्षेत्रलाई स्वतन्त्र कम्युनिस्ट राज्य घोषणा गरे पनि त्यसयता सन् १९७६ सम्म दक्षिण भियतनाम (साइगन)का लागि लडाइँ भइरह्यो । ५८ हजार अमेरिकी सैनिकले ज्यान गुमाएको भियतनाम युद्ध अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित युद्धमध्ये पर्छ, जहाँ प्रत्यक्ष रूपमा अमेरिकाले हात हालेर पराजय भोग्नुपरेको थियो । २ जुलाई १९७६ मा दक्षिण भियतनाममाथि विजय हासिल गरेर एउटै समाजवादी गणतन्त्र भियतनाम बनेको यो मुलुक विश्वका सबभन्दा छिटो प्रगति गरिरहेका अर्थतन्त्रमध्ये पर्छ, जसले सन् २०२० सम्म आफूलाई विकसित मुलुकको कोटीमा लैजाने घोषणा गरेको छ । सन् २००६ मा पुरानो पुस्ताका नेताहरूलाई बिदा दिएर न्गुयन फु थ्रोंगको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टी अफ भियतनामले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद, लेनिनवाद र होचि मिन्ह विचारधारालाई विधानमा समावेश गरेको छ ।
लाओस : २ डिसेम्बर १९७५ मा सशस्त्र क्रान्तिबाट राजतन्त्र विस्थापित गरेर स्थापित लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकले जलविद्युत्जस्ता प्राकृतिक सम्पदाको उपयोगमा जोड दिइरहेको छ । माक्र्सवाद–लेनिनवादलाई आदर्श बनाएको लाओ पिपुल्स रिभ्युलसनरी पार्टीले पछिल्ला दिनमा आर्थिक सुधारलाई मुख्य जोड दिइरहेको छ । त्यहाँ सन् २००६ देखि चाउमाली सायासोनले पार्टी तथा देशको नेतृत्व गरिरहेका छन् ।
सत्ता साझेदारीमा कम्युनिस्ट पार्टी
सन् १९९० सम्म कम्युनिस्ट पार्टीले शान्तिपूर्ण राजनीतिक र संसदीय निर्वाचनमा भाग लिने कुरालाई सीधै संशोधनवादको बिल्ला भिराइन्थ्यो । राज्यसत्ता बन्दुकको नालबाट आउँछ भन्ने मान्यताबाट दीक्षित भएका कम्युनिस्ट पार्टीहरूले पूर्वी युरोपमा समाजवादले धमाधम धक्का खाएपछि भने आफूलाई नयाँ रूपमा पुनर्गठन गर्न थालेका छन् । सशस्त्र संघर्षबाट स्थापित समाजवाद धराशयी भएपछि शान्तिपूर्ण जनमतबाट आफूलाई जनताको प्रतिनिधि बनाउन कम्युनिस्ट, समाजवादी तथा वामपन्थी पार्टीहरू सक्रिय छन् । तीमध्ये अहिले १६ वटा मुलुकमा कम्युनिस्ट पार्टीहरू यो वा त्यो रूपले सत्ता साझेदारीमा छन् ।
अर्जेन्टिना : सन् २००३ र २००७ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेको फ्रन्ट फर भिक्ट्री नामक मोर्चामा कम्युनिस्ट पार्टी अफ अर्जेन्टिना र त्यसबाट फुटेर बनेको कम्युनिस्ट पार्टी अफ अर्जेन्टिना (एक्टा अर्डिनरी कंग्रेस) पनि सहभागी थिए । राष्ट्रपति क्रिस्टिना फर्नान्डेज क्रिच्नरको सरकारमा यी दुवै पार्टीको सहभागिता छ ।
बंगलादेश : सन् २००८ मा सम्पन्न आमनिर्वाचनमा शेख हसिना वाजेद नेतृत्वको अवामी लिगको अगुवाइमा बनेको ग्रान्ड एलाइन्सको एक सदस्यका रूपमा त्यहाँको कम्युनिस्ट पार्टी वर्कर्स पार्टी अफ बंगलादेश (डब्लूपीबी) समावेश छ । अहिले त्यही मोर्चाको सरकार भएकाले यो पार्टी पनि सत्तामा छ ।
ब्राजिल : डेमोक्रेटिक सोसलिस्ट वर्कर्स पार्टी (पीटी)को नेतृत्वमा सन् २०१० को राष्ट्रपतीय निर्वाचनका लागि बनेको मोर्चा फर ब्राजिल टू किप अन च्यान्जिङमा ब्राजिल कम्युनिस्ट पार्टी एक सदस्य थियो । यही मोर्चाको उम्मेदवार डिल्मा रुसेफले राष्ट्रपतिमा जितेपछि नाम परिवर्तन भएको सत्ताधारी गठबन्धन विथ द चेन्ज अफ पिपुलको पनि यो सदस्य छ र सरकारमा हिस्सेदारी छ ।
बुल्गारिया : बुल्गारियन सोसलिस्ट पार्टीको नेतृत्वमा स्थापित कोलिसन फर बुल्गारिया नामक सत्तारुढ गठबन्धनमा कम्युुनिस्ट पार्टी अफ बुल्गारिया सहभागी छ । सन् २०१३ मा सम्पन्न संसदीय निर्वाचनमा पनि यस पार्टीले भाग लिएको थियो । अहिले त्यहाँको सरकारमा यसको सहभागिता छ ।
चिली : मिचेल ब्याचलेटको सरकारलाई नै वाम रुझान भएको मानिन्छ । पुँजीवाद, उदारीकरण, साम्राज्यवादजस्ता विषयको विरोधीका रूपमा सन् २०१३ मा स्थापित न्युभा माचोरिया (न्यु मेजरिटी) नामक गठबन्धनमा कम्युनिस्ट पार्टी अफ चिली (पीसीसीएच) पनि सहभागी थियो । मिचेल ब्याचलेट राष्ट्रपति निर्वाचित भएपछि यो पार्टी पनि सत्तारुढ बनेको छ ।
एल साल्भाडोर : लामो समयसम्म जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यसहित सञ्चालित छापामार युद्धका कमान्डर रहेका सान्चेज सेरेन सन् २०१४ मा सम्पन्न निर्वाचनबाट एल साल्भाडोरको राष्ट्रपतिमा निर्वाचित भएका छन् । सन् ’८० को दशकमा सशस्त्र संघर्ष चलाएको फुराबोन्डो मार्टी नेसनल लिवरेसन फ्रन्ट (एफएमएलएन) संयुक्त राष्ट्रसंघको मध्यस्थतामा शान्ति प्रक्रियामा आएयता पहिलोपटक सन् २००९ मा यसै पार्टीका नेता माउरिसियो फुनस राष्ट्रपति निर्वाचित भएका थिए । पछिल्लो निर्वाचनपछि सेरेनले एल अरू वाम रुझान राख्ने राष्ट्रहरूसँगको सम्बन्धमा जोड दिएका छन् भने गरिबमुखी नीतिहरू अघि बढाएका छन् ।
इक्वेडर : इक्वेडरमा पनि वाम रुझान भएको सरकार छ । सन् २००६ मा त्यहाँका समाजवादी दलहरू मिलेर बनेको प्राउड एन्ड सोभरिन फादरल्यान्ड (पीसीआईएस) गठबन्धनमा कम्युनिस्ट पार्टी अफ इक्वेडर समावेश छ ।
गुयना : ल्याटिन अमेरिकी यस मुलुकमा वामपन्थी पार्टीको सरकार छ । सन् १९९२ को संसदीय निर्वाचनबाट सत्तामा आएको पिपुल्स प्रोग्रेसिभ पार्टी (गुयना) त्यसयताका चारवटै चुनाव (१९९७, २००१, २००६ र २०११) बाट विजयी बनेको छ । ६५ सदस्यीय संसद्मा एक्लै बहुमत जितेर शासन चलाइरहेको यस पार्टीका निर्विवाद नेता तथा राष्टपति डा. छेदी जागनको सन् १९९७ मा मृत्यु भएयता राष्ट्रपति भरत जाग्देव र महासचिव डोनाल्ड रामोतारले नेतृत्व गरिरहेका छन् ।
माली : सन् १९९० मा मौसा ट्रारेको तानाशाहीका विरुद्धमा बनेको संयुक्त मोर्चा एलाइन्स फर डेमोक्रेसी इन माली–पान–अफ्रिकन पार्टी फर लिबर्टी, सोलिडारिटी एन्ड जस्टिसको सदस्यका रूपमा रहेको मालियन पार्टी अफ लेबर विगतमा होक्जावादी कम्युनिस्टका रूपमा गैरसंसदीय गतिविधिमा सक्रिय थियो । राष्ट्रपति अमाडो टुमानी टोरेको सरकारमा सहभागी यो पार्टी पछिल्लो चुनावमा एलाइन्स फर डेमोक्रेसी इन मालीका नाममा स्थापित सत्तारुढ मोर्चाको सदस्य छ ।
मोरक्को : सन् २०११ मा सम्पन्न संसदीय निर्वाचनबाट संसद्मा उपस्थिति जनाएको पार्टी अफ प्रोग्रेस एन्ड सोसलिज्मले प्रधानमन्त्री अब्बास अल फासीको सरकारमा सहभागिता जनाएको छ ।
नेपाल : संसद्मा मात्रै ६ वटा कम्युनिस्ट पार्टीको उपस्थिति रहेको नेपालमा सन् २००८ मा संविधानसभाको निर्वाचन भएयता चार जना कम्युनिस्ट प्रधानमन्त्री भइसकेका छन् । अहिले सबभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले) हाराहारी शक्तिका साथ नेपाली कांग्रेससँग सत्ता साझेदारीमा छ भने दोस्रो ठूलो कम्युनिस्ट पार्टी एनेकपा (माओवादी) प्रमुख प्रतिपक्षमा छ ।
निकारागुआ : विद्रोही नेताका रूपमा लामो सयमसम्म सशस्त्र संघर्षको नेतृत्व गरेका जोसे डानियल ओर्टेगा सन् २००६ मा दोस्रोपटक निकारागुआको राष्ट्रपति निर्वाचित भएका छन् । पहिलोपटक राष्ट्रपति हुँदा (१९८५–९०) उद्योगहरू राष्ट्रियकरण गरेर चर्चामा आएका ओर्टेगाले अहिले निकारागुआमा आमरूपमा वामपन्थी नीतिहरू लागू गरिरहेका छन् । पहिला विद्रोही समूह सोसलिस्ट सान्डिनिस्टा नेसनल लिवरेसन नै अहिले सत्तारुढ दलका रूपमा छ ।
पेरु : उग्रवामपन्थको सिकार भएको पेरुमा साइनिङ पाथको हतियारबन्द आन्दोलनसँग सुरुदेखि नै असहमत पेरुभियन कम्युनिस्ट पार्टी (पीसीपी) सन् २०११ मा सम्पन्न आमनिर्वाचनमा ओलान्टा हुमालाको पेरु विन्स गठबन्धनमा सामेल थियो । वाम रुझान रहेको उक्त मोर्चाले चुनाव जितेपछि हुमालाको नेतृत्वमा यो पार्टी सरकारमा छ ।
दक्षिण अफ्रिका : साउथ अफ्रिकन कम्युनिस्ट पार्टी (एसएसीपी) आफैँ प्रत्यक्ष चुनाव लड्दैन । अफ्रिकी नेसनल कंग्रेस (एएनसी)को त्रिपक्षीय शक्तिमध्ये एक साझेदार भएकाले एएनसीमार्फत आफ्ना नेता–कार्यकर्तालाई चुनावमा पठाउँछ । एएनसी, एसएपीसी र कंग्रेस अफ साउथ अफ्रिकन ट्ेरड युनियन्सले सन् १९९४ मा दक्षिण अफ्रिकामा स्वतन्त्रतापछिको पहिलो चुनाव भएयता लगातार पाँचपटक जितिसकेका छन् ।
श्रीलंका : कुनै बेला शक्तिशाली कम्युनिस्ट आन्दोलन रहेको श्रीलंकामा अहिले डीइडब्लु गुणसेकेराको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टी अफ श्रीलंकाले परम्परा धानिरहेको छ । राष्ट्रपति महिन्द्रा राजापाक्षले नेतृत्व गरेको युनाइटेड पिपुल्स फ्रिडम एलाइन्समा रहेको यस पार्टीको सरकारमा सहभागिता छ ।
सिरिया : हाफिज अल असदले नेतृत्व गरेको अरब सोसलिस्ट वाथ पार्टीको अगुवाइको सत्तारुढ गठबन्धन नेसनल प्रोग्रेसिभ फ्रन्ट (सिरिया)मा दुई कम्युनिस्ट पार्टी सिरियन कम्युनिस्ट पार्टी र सिरियन कम्युनिस्ट पार्टी (युनाइटेड) सदस्य छन् ।
उरुग्वे : उरुग्वेका राष्ट्रपति जोसे मुजिकाको सरकार वाम रुझान राख्छ । वाम रुझान राख्ने गठबन्धनका रूपमा गठित सत्तारुढ ब्रोड फ्रन्टमा दुई कम्युनिस्ट पार्टी मुभमेन्ट अफ पपुलर पार्टिसिपेसन र कम्युनिस्ट पार्टी अफ उरुग्वे पनि समावेश छन् । सन् २००९ मा मुजिकालाई राष्ट्रपतिमा जिताउन यी पार्टीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
भेनेजुयला : ह्युगो चाभेज सत्तामा आएपछि प्रकट भएको वाम रुझानलाई उनको मृत्युपछि अहिलेका राष्ट्रपति निकोलस माडुरोले अघि बढाइरहेका छन् । त्यहाँको सरकारलाई नीतिहरूका आधारमा वाम सरकारका रूपमा चिनिन्छ । पहिला चाभेजलाई झैँ सन् २०१३ मा माडुरोलाई राष्ट्रपति निर्वाचित गर्नका लागि माक्र्सवादमा विश्वास राख्ने सत्तारुढ गठबन्धन ग्रेट प्याटिओटिकमा रहेर कम्युनिस्ट पार्टी अफ भेनेजुयलाले महत्त्वपूर्ण भूमिका निर्वाह
गरेको थियो ।
क्रमश: ‘नवयुग’
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply