चाइना–साउथ एसिया एक्स्पो नेपालले लिनसक्ने फाइदा
चीनको युनान प्रान्तले विगत तीन वर्षदेखि चाइना–साउथ एसिया एक्स्पो आयोजना गर्दै आएको छ । २३ वर्षयता चाइना आयात–निर्यात मेला गर्दै आएको उक्त प्रान्तीय सरकारले पछिल्लो पटक विश्व राजनीतिमा चीनले बढाइरहेको भूमिकालाई समेत मध्यनजर गरेर दक्षिण एसियाका मुलुकहरूलाई उपस्थित गराउने गरी उक्त आयोजना गर्दै आएको छ । अघिल्लो वर्ष चीनका उपप्रधानमन्त्रीले उद्घाटन गरेको उक्त मेलाको महत्त्वलाई अझ बढाउनका लागि यसपटक चीनका उपराष्ट्रपति ली यानचाओ कुन्मिङ पुग्नुभएको थियो ।
नेताहरूको जमघट
एक्स्पोको मौका पारेर चीनले दक्षिण एसियाका नेताहरूको जमघट गराउँदै आएको छ । नेपालबाट पहिलो वर्ष उपराष्ट्रपति परमानन्द झा सहभागी हुनुभएको थियो भने पोहोर साल प्रधानमन्त्री सुशील कोइराला स्वयम् पुग्नुभएको थियो । यसपटक चाहिँ बल्लतल्ल वाणिज्यमन्त्री सुनील थापा पुग्नुभएको थियो ।
एक्स्पोको उद्घाटन समारोहमा माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन गयुम, लाओसका प्रधानमन्त्री थोङसिङ थाम्माभोङ, बंगलादेशकी सभामुख सिरिन शर्मिन चौधरी, भारतीय विदेश राज्यमन्त्री जनरल भीके सिंहलगायत ४ सय ४० विदेशी अतिथि पुगेका थिए । तीमध्ये ३६ वटा मन्त्रीस्तरीय टोली थिए भने ४२ सचिव वा गभर्नरस्तरीय थिए । २८ राजदूत तथा विदेशी नियोग प्रमुखहरूले पनि त्यहाँ भाग लिएका थिए । चीन भित्रैबाट पनि ठूलो संख्यामा अतिथिहरूको सहभागिता देखिन्थ्यो ।
हल नै कति ठूलो!
कार्यक्रमको भव्यताका लागि भाषणले मात्र काम गर्दैन । त्यसका लागि कति उपयुक्त ठाउँ चाहिन्छ भन्ने कुरा कुन्मिङमा देख्न सकिन्छ । प्रदर्शनीका लागि कुन्मिङ डियान्ची इन्टरनेसनल कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टर निर्माण गरिएको छ । ५.४ मिलियन वर्गमिटरको क्षेत्रफलमा फैलिएको उक्त हल दक्षिणपश्चिम चीनको सबभन्दा ठूलो हो भने सिंगो चीनभरिमा तेस्रो ठू्लो हो, जहाँ २३ वटा त भित्री हल मात्रै छन् ।
सबै आधुनिक प्रविधिले युक्त पारिएको उक्त हलमा एक साथ छ लाख मानिसले अवलोकन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । संरचना निर्माण गर्दा सामान्यत: सानो धारणा नराख्ने चीनले पछिसम्मको कुरा सोचेर यो हल निर्माण गरेको देखिन्छ ।
उत्पादनहरूको जमघट
प्रदर्शनी भन्नेबित्तिकै आ–आफ्नो देशका उत्पादनहरूले मौका पाउने नै भए । हरेक वर्ष चीन र दक्षिण एसियाली देशहरूमा भएका उत्पादनहरूका लागि एउटै थलो जुटाउन चीनले यस्तो आयोजना गर्ने गरेको छ । आठ दक्षिण एसियाली र १० आसियानका देश गरी २० हजार प्रदर्शनकर्ताले आ–आफ्ना सामग्रीहरू प्रदर्शनीमा राखेका थिए ।
यसपटक भारतलाई महत्त्व
हरेक वर्ष चीनले एउटा मुलुकलाई थिम कन्ट्रीका रूपमा प्रस्तुत गर्ने गरेको छ । त्यसका लागि विशेष प्रदर्शनीस्थल बनाउने, बढी स्थान प्रदान गर्ने र सुविधा दिने गरिन्छ । यसै वर्ष चिनियाँ राष्ट्रपति सी जिङपिङ भारत भ्रमणमा गएको अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा आएका कारण पनि दुई देशबीचको सम्बन्ध अघि बढेको विश्लेषण सुनिन्छ । त्यसैको प्रभाव पनि हुन सक्छ, एसियाका यी दुई ठूला अर्थतन्त्रबीच छिमेकीका नाताले हुने प्रतिस्पर्धा त छँदैछ, साथै सहकार्य पनि देखिन्छ ।
यस वर्ष एक्स्पोमा भारतलाई थिम कन्ट्री बनाएर चीनले विशेष महत्त्व दिएको थियो । उद्घाटन सत्रमा भारतबाट विदेश राज्यमन्त्री जनरल वीके सिंह पुग्नुभएको थियो, जसलाई चिनियाँ उपराष्ट्रपतिकै लहरमा राखेर बोल्ने मौका दिइएको थियो ।
भारतबाट मात्रै प्रदर्शनीमा एक सयभन्दा बढी प्रख्यात कम्पनीहरूले भाग लिएका थिए । टाटा ग्रुप, इन्फोसिस ग्रुप, एअर इन्डिया, इन्डियन जेट जस्ता कम्पनीहरूले विशेष साजसज्जाका साथ प्रदर्शनीमा भाग लिएका थिए । भारतीय खाद्य परिकारदेखि गरगहना र लुगाफाटाहरूको उत्पादनको प्रदर्शनी उल्लेखनीय रूपमा रहेको थियो ।
नेपालले लिनसक्ने फाइदा
गत वर्ष यस्तै प्रदर्शनीमा नेपाललाई थिम कन्ट्री बनाइएको थियो । त्यही भएर प्रधानमन्त्री सुशील कोइराला स्वयम् त्यहाँ पुग्नुभएको थियो । तर, यस वर्ष भने उद्घाटन सत्रमा बोल्नका लागि समेत नेपालले मौका पाएन ।
आखिर किन त ? यसमा चिनियाँ पक्षको दोष छैन । कुनै पनि काम समयमा गर्न नसक्ने हाम्रै नेपालका कारण उक्त लज्जास्पद घटना भएको रहेछ । नेपालका तर्फबाट कुन तहको उपस्थिति हुन्छ भन्नेबारेमा चिनियाँ पक्षबाट बारम्बार ताकेता हुँदा पनि यताबाट कुनै खबर पुगेन । पछि नेपाली पत्रकारहरूलाई वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले जानकारी दिए अनुसार, उहाँलाई विदेश जान चाह्यो भन्ने आरोप लाग्छ भनेर औपचारिक रूपमा मन्त्रालयबाट प्रस्ताव नै अघि बढाइएको रहेनछ । पछि प्रधानमन्त्री कोइरालालाई कसैले त्यो त साह्रै महत्त्वपूर्ण कार्यक्रम हो, गत वर्ष तपाईं नै जानुभएको थियो भनेर सम्झाइदिएपछि बल्ल लौ जानूस् भनेर मन्त्री थापालाई फोन गएको रहेछ ।
जब कार्यक्रममा को जान्छ भन्ने कुरा त अन्तिम समयसम्म तय हुँदैन भने त्यस्तो कार्यक्रमका लागि अरू तयारी के नै हुन्छ होला र ? सहजै अनुमान गर्न सकिन्छ । चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले तै पनि जसोतसो सक्दो प्रयास गर्नुभयो र उपराष्ट्रपतिसँग मन्त्री थापाको भेट सम्भव भयो ।
उद्घाटन समारोहमै चिनियाँ उपराष्ट्रपतिले नेपालको भूकम्पका बारेमा चर्चा गरेर त्यहाँ उपस्थिति विश्व समुदायको ध्यान खिच्नुभएको थियो । पछि, बेलुकी मन्त्री थापासँगको भेटमा पनि उहाँ प्रस्ट शब्दमा हामी नेपाललाई निराश बनाउने छैनौं भनेर सहयोगको ढाडस दिनुभएछ । त्यसलाई नेपालले प्रयोग गर्न सक्नुपर्छ ।
नेपालमा आएको महाभूकम्पलाई ध्यानमा राखेर अर्को वर्ष नेपाललाई नै थिम कन्ट्री बनाउन पनि चीन तयार छ । त्यसलाई नेपालले अवसरका रूपमा लिन सक्नुपर्छ ।
प्रदर्शनी किन आयोजना गर्छ चीन ?
करोडौं–अर्बौं रुपियाँ खर्च गरेर चीनले आखिर हरेक वर्ष यस्तो प्रदर्शनी किन आयोजना गर्दछ ? यसबाट हुने व्यापारबाट चीनलाई कति नै फाइदा हुन्छ होला त ? यी प्रश्न भन्दा महत्त्वपूर्ण कुरा चीनका लागि अहिले अन्तर्राष्ट्रिय मञ्चहरूमा उपस्थिति चाहिएको छ, त्यो पनि सामान्य होइन, नेतृत्वदायी । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा चीनलाई प्रवेश गराउनुपर्छ भन्ने आवाज उठ्न थालिसकेको छ । यस्तो अवस्थामा दक्षिण एसियाली मुलुकहरूसँगको सम्बन्धलाई विशेष जोड दिएर चीनले उक्त प्रदर्शनी आयोजना गरेको देखिन्छ । उक्त प्रदर्शनीका अवसरमा आयोजित व्यापारिक क्षेत्रको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका नेपाली उद्योगपति विनोद चौधरीका अनुुसार, दक्षिण एसियामा राजनीतिक र व्यापारिक प्रभाव बढाउन एक्स्पो आयोजना गरिएको देखिन्छ ।
हुन पनि चीनले हरेक वर्ष कुन्मिङमा आयोजना गर्ने एक्स्पो कुनै सामान्य आयोजना जस्तो देखिँदैन । त्यही मौका पारेर त्यहाँ विभिन्न खालका अरू कार्यक्रम पनि आयोजना भइरहेका हुन्छन् । यसपटक पनि त्यस्ता अरू नौवटा महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गरिएका थिए ।
तीमध्ये १०औं चाइना–साउथ एसिया बिजिनेस फोरम, सातौं जीएमएस इकोनोमिक करिडर फोरम, जीएमएस इकोनोमिक करिडर गभर्नर फोरम, प्रथम चाइना–साउथ एसिया टेक्नोलोटी ट्रान्स्फर एन्ड इन्नोभेसन को–अपरेसन कन्फरेन्स, १३औं गैरआवासीय चिनियाँ व्यापारी सम्मेलन, चौथो युनान–ताइवान कन्फरेन्स आदि थिए ।
यी कार्यक्रमहरूबाट पनि के देखिन्छ भने प्रदर्शनीको आयोजना गरेर चीनले आफ्नो विकास, समृद्धि र प्रभावलाई विश्व समुदायसँग अझ बढी जोड्न चाहन्छ ।कुन्मिङबाट फर्केर
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply