पत्रकार महिलाको सुरक्षाको सवाल
युनेस्कोले हालै मात्र गरेको एक अध्ययनले देखाएअनुसार दुई तिहाइ पत्रकार महिलाहरूले आफनो पेसाका कारण धाक, धम्की र दुव्र्यवहार भोग्नुपरेको छ भने आधाजतिले यौनिक दुव्र्यवहार झेल्नुपरेको अवस्था छ । पत्रकारितामा लागेका महिलाहरूसम्बन्धी अर्को एक अध्ययन अनुसार धेरै पत्रकार महिलाले अनलाइन यौनिक दुव्र्यवहार, हिंसापूर्ण धम्की र गालीगलौजको अनुभव गर्नुपरेको छ । इन्टरनेसनल न्युज सेफ्टी इन्स्टिच्युट र इन्टरनेसनल विमेन्स मिडिया फाउन्डेसनको एक अध्ययन अनुसार २५ प्रतिशत उत्तरदाताले आफूले अनलाइन मौखिक, लिखित र शारीरिक धम्की तथा परिवार र साथीहरूमाथि हुन सक्ने ज्यादतिको धम्की सुन्नुपरेको छ ।
पत्रकार महिलामाथि हुने अनलाइन हिंसा र दुव्र्यवहारमध्ये प्रमुख एक तिनका छोरी सन्तानको बलात्कार वा हत्याको धम्की हुने गरेको छ । राजनीति वा अन्य विवादित सवालहरूमा आफनो लेखनद्वारा अनलाइन बहस गर्न चाहने महिलाहरू अनलाइन आक्रमणमा परेका छन् । अञ्जा कोभाक्स, कविता कृष्णन्, लौरी पेन्नी आदि पत्रकार महिलाहरूले आफ्नो यस्तो अनुभव बताएका छन् । अर्कातिर पत्रकार महिलाहरूले आफनो रिपोर्टिङभन्दा बढी अनुहार, शारीरिक अवस्था वा फेसन आदिका सम्बन्धमा टिप्पणी सुन्नुपर्दछ । हरेकका लागि व्यक्तिगत सुरक्षा सबैभन्दा ठूलो कुरा हो । त्यसैले अनलाइन धम्की र दुव्र्यवहारको परिणामस्वरूप कतिपय पत्रकार महिलाहरूले छद्म नाम प्रयोग गरेर लेख्न थालेका छन्, कतिपयले जुन विषयमा लेख्दा धम्की आयो त्यस विषयमा लेख्न नै बन्द गरेका छन् भने कतिपयले आफनो पेसा नै छाड्नुपरेको अनुभव पनि बताएका छन् । कतिपयलाई मानसिक दबाब र मनोवैज्ञानिक निराशाहरू उत्पन्न हुन पुगेको छ ।
सामान्यतया के देखिएको छ भने पत्रकार महिलाहरूमाथि हुने अनलाइन असुरक्षा र हिंसा दुई किसिमबाट हुने गरेको छ । पहिलो अनलाइनमा लेखेबापत वा आफ्नो अभिव्यक्ति दिएबापत त्यसका उपयोगकर्ता अन्य व्यक्तिहरूबाट पाइने धाक, धम्की, गालीगलौज जस्ता असुरक्षाका अवस्था विद्यमान छन् भने आफनै सहकर्मी मिडियाका मालिकहरू वा पत्रकारहरूमार्फत लोभलालच, धाकधम्की र अपमान सहनुपर्ने पनि उनीहरूको बाध्यता छ । विशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य, प्रजनन तथा यौन शिक्षा, लैङ्गिक हिंसा बारेका कार्यक्रम गर्दा पत्रकार महिलालाई धेरै नै अप्ठेरो वातावरण सृजना हुने गरेको छ । नवलपरासीमा रहेको विजय एफएमकी सन्ध्या सापकोटाले यस्ता विषयमा कार्यक्रम चलाउँदा महिला भएर पनि यस्तो कार्यक्रम चलाउने, लाज नभएको, बिग्रिएर हिँडी भन्ने जस्ता धेरै व्यक्तिगत लान्छनाहरू सहनुपर्यो । फूलबारी सामूदायिक रेडियो सिरहाकी संस्थापक अध्यक्ष डाक्टर मन्जुला गिरीको अनुभवमा आफ्नो रेडियो तथा जिल्लामा भएका अरू रेडियोमा कार्यरत धेरै महिलालाई बलात्कार गर्ने, सार्वजनिक ठाउँमा बेइज्जत गर्ने जस्ता धम्की आउने गरेको छ । यस्ता धम्कीबाट महिलाहरू मनोवैज्ञानिक रूपले नै त्रसित बन्नुपरिरहेको अवस्था छ । त्यस्तै वीरगञ्जबाट प्रसारित रेडियोहरूको रात्रिकालीन फोन इन कार्यक्रमका केही महिला श्रोताहरूले रात्रिकालीन कार्यक्रम प्रस्तोतामाथि यौनशोषण र रकम ठगीको आरोपसहित उजुरी दिएका थिए भने पुरुष श्रोताहरूबाट हुने फोन आतंककै कारण होला वीरगञ्जका एफएमहरूमा काम गर्ने महिला कार्यक्रम प्रस्तोताहरूले कार्यालयबाहेकको नम्बर सार्वजनिक गर्दैनथे ।
यी घटनाक्रमहरूले नेपालका पत्रकार महिलाहरूमा पनि विभिन्न सञ्चार प्रविधि र अनलाइनमार्फत धम्की, त्रास, दबाब आदि दिने र असुरक्षा सृजना गर्ने प्रवृत्ति दिनानुदिन बढ्दो छ । यस्ता आपराधिक मनसाय र गलत रवैयाको कारण महिलाहरू पत्रकारिता पेसाबाट नै पलायन हुने, आफ्ना स्वतन्त्र अभिव्यक्तिहरूलाई व्यक्त गर्न नसक्ने र सूचना तथा प्रविधिको पहुँचबाट टाढिँदै जाने अवस्था आउन सक्ने देखिन्छ । तसर्थ यसलाई बेलैमा सम्बोधन गर्न सम्बन्धित सरोकारवालाहरूले तुरुन्तै पहलकदमी गर्नुपर्दछ ।
सुझावहरू
१. नेपालको सन्दर्भमा मोबाइल, इन्टरनेट जस्ता सूचना र सञ्चार प्रविधिहरूमा के कति महिलाको पहँुच छ भन्ने तथ्य पहिल्याउनका लागि यससम्बन्धी अलग्गै अध्ययनको आवश्यकता देखिन्छ । त्यसैगरी पत्रकार महिलामाथिको असुरक्षा, अनलाइन मिडिया प्रयोगकर्ता महिलाहरू, अनलाइन मिडियाद्वारा महिलामाथि भएका दुव्र्यवहार, हिंसा र गालीगलौजको मात्रा, प्याटर्न तथा प्रभावलाई आंकलन गर्नका लागि विशिष्ट अध्ययन गरिनु आवश्यक छ ।
२. अनलाइनमार्फत हुन सक्ने दुव्र्यवहार, हिंसा र गालीगलौजको कानुनी रूपमा नै स्पष्ट परिभाषा बनाउनुपर्दछ ।
३. अनलाइन पत्रकारितालाई नैतिकतापूर्ण बनाउन प्रेस काउन्सिल ऐन १९९२ लाई पुनर्समीक्षा गरी अनलाइनलाई पनि यसको क्षेत्राधिकारभित्र ल्याउनु आवश्यक छ । साथै इन्टरनेटमा आउन सक्ने आपत्तिजनक सामग्रीलाई रोक्नका लागि व्यक्तिको गोपनीयता, मर्यादा र प्रतिष्ठाको सुरक्षाका लागि बनाइएको मानहानि तथा गालीगलौज ऐन (लायबल एन्ड स्लेन्डर याक्ट १९५९) जस्ता विभिन्न सम्बन्धित ऐनहरूको समीक्षा गरी अझ प्रभावकारी बनाउनुपर्दछ ।
३. प्रविधिहरूको उपलब्धता, उपयोग, यसले पार्न सक्ने प्रभाव, यसका सकारात्मक नकारात्मक असर, यसबाट पीडित भएमा उपचारको खोजी जस्ता पक्षहरूमा आम जनतालाई व्यापक सचेत बनाउन इन्टरनेटसम्बन्धी पाठ्यक्रमहरू तयार गरी औपचारिक अनौपचारिक पठनपाठनमा समावेश गर्न जरुरी छ । इन्टरनेट प्रयोगसम्बन्धी प्रस्ट निर्देशिका तयार गर्नुपर्दछ । यसबाट महिलाहरू पनि लाभान्वित हुनेछन् ।
४.मिडियासम्बन्धी संघसंस्थाहरूले इन्टरनेट र सामाजिक मिडियालाई अभिव्यक्ति स्वतन्त्रताको सकारात्मक प्रयोग गर्ने माध्यमको रूपमा स्वीकार गर्नुपर्दछ । मिडियाका लागि जेन्डर नीति निर्देशिका नभएको हुँदा महिलालाई निचा र यथास्थितिमा देखाउने किसिमका मिडिया सामग्रीहरूको उत्पादन, आयात र वितरण तथा प्रसारण निर्बाध भइरहेको छ । महिलाहरूले बढी उपभोग गर्ने भनिएका क्षेत्रीय स्याटेलाइट टेलिभिजनका कार्यक्रमहरू हुन् वा अनलाइन विधामा प्रसारण हुने सामग्री तिनमा आचारसंहिता लागू भएको पाइँदैन । तसर्थ अनलाइन दुव्र्यवहार र हिंसालाई सम्बोधन गर्ने किसिमको नीति निर्देशिका र आचारसंहिता बनिनु तथा कार्यान्वयन हुनुपर्दछ ।
५. सञ्चार तथा सूचना प्रविधिमा महिलाको अत्यन्त कम पहँुच छ । मोबाइल धेरैको हातहातमा भए पनि इन्टरनेट आधारित अन्य अनलाइनहरूबाट उनीहरूले चाहे जति फाइदा लिन सकेका छैनन् । खासगरी ग्रामीण महिलाहरूको पहुँच सारै कम छ । तसर्थ सूचना तथा सञ्चारसम्बन्धी संरचनाहरूको विकास गर्दा तिनको भौतिक पक्षलाई मात्र ध्यान नदिई तिनमा सबै लिंग, तह र तप्काका जनताको पहुँच सुनिश्चित गर्ने पक्षतिर पनि सोच्नुपर्ने देखिन्छ ।
६. कसरी सुरक्षित रूपमा सूचना तथा सञ्चार प्रविधिहरूको प्रयोग गर्ने भनेर महिलासँग सम्बन्धित संगठन र अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि गराउनुपर्दछ ।
७. सरकारी र गैरसरकारी सरोकारवालाहरूले प्रविधि आधारित महिलाविरुद्धको हिंसालाई स्वीकार गर्न र त्यसको अन्त्यका लागि कानुनी संयन्त्रहरूको तर्जुमा, कार्यान्वयन र अन्य माध्यमद्धारा क्रियाशील हुन प्रतिबद्ध हुनुपर्दछ ।
८. मिडिया हाउसहरूले महिलाको समान सहभागिताका लागि महिलामैत्री नीति र अभ्यास अवलम्बन गर्न जरुरी छ । पत्रकार महिलाहरूलाई पनि पत्रकार पुरुषलाई जत्तिकै कामका लागि समान अवसर दिनुपर्दछ । समाचार बनाउने र प्राप्त गर्ने सम्बन्धमा महिला र पुरुषको समान सहभागिता हुनुपर्दछ भने महिलाको सुरक्षासँग गाँसिएका विशेष आवश्यकतालाई सम्बोधन गर्ने गरी महिलामैत्री वातावरण निर्माण गर्न सक्नुपर्दछ । यसका निम्ति सिंगो पत्रकारिता पेसालाई सुरक्षित बनाउनु जरुरी छ र पत्रकार महिलामाथिको यौन तथा अन्य दुव्र्यवहार कम गर्नका लागि उजुरी गर्ने व्यवस्था मिलाउनु आवश्यक छ । पत्रकार महिलाले नियुक्तिपत्र पाउनुपर्ने र नियमित एवम् पुरुषसरह समान पारिश्रमिक पाउनुपर्दछ । सुत्केरीलगायतका विशेष अवस्थामा बिदा र अन्य सुविधा पाउनुपर्दछ । साथै महिलाले पनि पुरुषले जत्तिकै मिडियामा आफनो दृष्टिकोण, विचार र अनुभव व्यक्त गर्ने अवसर पाउनुपर्दछ भने लैंगिक समानताका सवालहरूले पर्याप्त कभरेज पाउनुपर्छ ।(विश्व प्रेस स्वतन्त्रता दिवस २०१५ को सन्दर्भमा युनेस्को, काठमाडौं अफिस र सेन्टर फर मिडिया फ्रिडमको आयोजनामा सन् २०१५ जुन २९ मा काठमाडौंमा आयोजित सेमिनारमा लैंगिक समानता र पत्रकार महिलाको सुरक्षा शीर्षकमा प्रस्तुत कार्यपत्रबाट)
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply