किन गरेनन् तिनले वचन पूरा ?
काठमाडौं । नेपालमा संविधान बन्दा भारतले नाकाबन्दी गर्नुपर्ने के कारण होला ? नेपालमा त यो प्रश्न उठ्ने नै भयो, स्वयम् भारतमा पनि विश्लेषक, राजनीतिकर्मी, पत्रकार र नागरिक अगुवाहरूले यसको खुलेर विरोध गरिरहेका छन् । भूपरिवेष्ठित सानो मुुलुकमाथि गरेको यो ठूलो ज्यादतीको अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि चर्को आलोचना भइरहेको छ । तर, नेपालमै घुमिरहेका भारतीय अधिकारीहरू भने ‘नेपालकै नेताका कारण यस्तो स्थिति आएको’ भन्दै हिँडिरहेका छन् ।
त्यसो हो भने पनि नेपालका नेताले के त्यस्तो गल्ती गरे, जसका कारण युद्धकालमा जस्तो छिमेकी मुलुकमाथि नाकाबन्दी नै गर्नुपर्यो ? यस प्रश्नको जवाफमा भारतीय सूत्रको दाबी छ– ‘भारत पुगेर हाम्रो मेजमानी खाने, हामीसँग एउटा सहमति गर्ने, अनि यहाँ फर्केर त्यसको ठीकविपरीत कुरा गर्ने ? यसबाट कसरी उनीहरूलाई विश्वास गर्ने ?’
अहिले भारतीयहरूको मुख्य संकेत पुष्पकमल दाहाल र शेरबहादुर देउवाप्रति छ, जो साउनको पहिलो र दोस्रो साता भारत पुगेर खुसी हुँदै नेपाल फर्किएका थिए । तीन दलबीच सीमांकनबिनाको संविधान जारी गर्ने, सीमाका विषयमा पछि विज्ञहरूको आयोग बनाएर टुंगो लगाउने सहमति भइसकेको बेला दुई प्रमुख दलका सत्ताप्रति साह्रै आशक्ति भएका नेतालाई बोलाएर भारतले त्यसलाई भत्काउन चाहेको थियो । प्रदेशबिनाको संविधान मान्दैनौं भनिरहेका मधेसीहरूलाई पहिल्यै सडकमा उतारिसकेको भारतले जुनसुकै मूल्यमा पनि प्रदेशको संख्या तोकेर मात्रै संविधान ल्याउन उनीहरूसँग र नेपालमै भएका नेताहरूसँग पनि दबाब दिएको थियो । संयोग नै भनौं, पछि तीन दलका बीचमा तत्काल प्रदेश टुंग्याएर संविधान ल्याउने सहमति पनि भयो ।
यतिसम्म त कुरा बिग्रिएको थिएन । तर, त्यसरी संविधान ल्याउँदा तराईका पाँच जिल्लाका बारेमा चाहिँ भारतसँग जे–जस्तो सहमति भएको थियो, दाहाल र देउवा दुवै त्यसमा अड्न सकेनन् । अखण्ड सुदूरपश्चिमभनिरहेका देउवाले कैलाली छोड्न मानेनन् र भने झापा, मोरङ र सुनसरीका बारेमा दाहालले पनि अडान लिन सकेनन् । यता भारतीय विदेशसचिव एस जयशंकरको पहिलो नेपाल भ्रमणका क्रममा बालकोटमा भएको वार्तामा भएको सहमति एमाले अध्यक्ष केपी ओलीले पनि कार्यान्वयन गरेनन् । ओलीले झापाबाहेकका अरू जिल्लाका बारेमा लचिलो अडान लिएको थाहा पाएर सन्तोषको सास फेरेर फर्किएको भारतीय पक्ष पछि थप अडान लिँदा चिढिएको बताइन्छ ।
शनिबार बिहानै भएको एउटा भेटघाटमा तत्कालीन एमाओवादी नेता बाबुराम भट्टराईले यही कुराको संकेत गरेका थिए । उनको भनाइ थियो– ‘गर्ने बेलामा आफूले जथाभावी सम्झौता गरेर आउने, वचन दिएर आउने अनि अहिले त्यो पालना नभएपछि त्यसको दोष अरूलाई लगाउने ? अहिलेको समस्याको जड यही हो ।’ डा. भट्टराई जस्ता विश्वासिला मानिसले भनेपछि उताको कुरा त्यही रहेछ भनेर नपत्याउने कुरा पनि भएन । अनि बाँकी नेताले पनि भन्न थालेका छन्– ‘ए, कुरा त्यसो पो रहेछ !’
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply