चिया र कफी विकासमा समर्पित
नेपालको ग्रामीण भेगमा उत्पादित अग्र्यानिक कफीको माग विश्व बजारमा दिनप्रतिदिन बढ्दो छ । जापान, अमेरिका, कोरिया, जर्मनी र अस्ट्रेलियामा लोकप्रिय रहेको नेपाली कफीको विदेशी निर्यात भने अत्यन्तै न्यून छ । अहिले करिब सात हजार टन कफीको माग रहे पनि उत्पादन भने पाँच सय टन पनि नाघेको छैन । नेपालमा अग्र्यानिक कफी बर्सेनि ४ सय ६३ टन मात्रै उत्पादन हुँदै आएको छ । माग र आपूर्तिबीचको यो खाडललाई पुर्न सकियो भने कफीबाटै नेपालले मनग्य आर्थिक स्रोत बटुल्न सक्छ ।
सात महिनाअघि, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी–निर्देशकमा नियुक्त शेषकान्त गौतम भन्छन्– ‘चिया र कफीले नेपालमा रोजगार सिर्जना गर्न, गरिबी न्यूनीकरण गर्न, विदेशी मुद्रा आर्जन गर्न र आयात प्रतिस्थापन गर्न सहयोगी भूमिका खेल्छ । चिया र कफीको विकास र विस्तारमा हामी गम्भीरतापूर्वक लाग्यौं भने केही वर्षभित्रै महत्त्वपूर्ण परिणाम आउनेमा कुनै शंका छैन ।’ नेपालमा कफी उत्पादन कम हुने भए पनि चियामा भने आत्मनिर्भर भइसकेको छ । नेपालमा उत्पादित चियाले नेपालमा मात्र होइन, विदेशमा पनि राम्रो विस्तार पाएको छ । गौतम भन्छन्– ‘केही वर्षयता भने चियामा गुणस्तरको समस्या देखिएको छ भने कफीमा चाहिँ उत्पादनकै समस्या रह्यो । तर, यी दुवै उत्पादनलाई व्यवस्थित गर्दै लैजाने योजनामा हामी लागेका छौं ।’
हुन पनि, गएको वैशाख ३१ गते कार्यकारी–निर्देशकको जिम्मेवारी पाएपछि नेपालमा कफीको व्यावसायिक खेतीको सुरुआत भएको गुल्मीका गौतमले के सोचे भने, अब चिया र कफीको व्यावसायिक खेतीलाई विस्तार नगरी हुँदैन । चिया खेतीको विस्तार सन्तोषजनक भए पनि कफीको विस्तार भने बिल्कुलै सन्तोषजनक र उत्साहप्रद छैन । मागको एक छेउ पनि कफी उत्पादन भइरहेको छैन, हामीकहाँ । यही पक्षलाई अनुभूत गरेर नै, बोर्डले यो वर्षलाई कफी नर्सरी वर्षको रूपमा मनाउने निधो गरेको छ । कफीको बिरुवा तयार हुन १८ महिना लाग्ने भएको हुँदा यो वर्षलाई नर्सरी विस्तारकै रूपमा मात्र लिइने गौतमले बताए– ‘हामीसँग पर्याप्त जमिन छ र भौगोलिक अनुकूलता पनि रहेको छ । त्यसैले हामीले देशभरि नै कफी खेतीको विस्तार गर्दै उत्पादन बढाउने तयारीमा जुटेका छौं । त्यही भएर नै यो वर्षलाई नर्सरी वर्षको रूपमा लिएर देशभरि ठूलो मात्रामा कफी विस्तार गर्ने भएका छौं । र, आउँदो वर्ष भने हामी कफी रोपणमा जोड दिनेछौं ।’ उनले थपे– ‘हामी यो वर्ष २० लाख कफीको बिरुवा उत्पादन गर्ने तयारीमा छौं । त्यति बिरुवा रोप्दा हामी अहिलेको उत्पादनलाई दोब्बर बनाउन सक्छौं ।’
कुनै बेला, विद्यार्थी राजनीतिमा सक्रिय रहेका गौतमले पछिल्लो समय भने गुल्मीका पाखा–भित्ताहरूमा कफी खेती गरेर ग्रामीण अर्थतन्त्रलाई टेवा दिने सोच बनाए । डेढ दशकअघि गुल्मीमा फर्किएर भूगोलको राजनीति गर्ने र कृषि व्यवसायलाई पनि निरन्तरता दिने सोच बनाएका ५० वर्षीय गौतमले राजनीतिमा छलाङ मार्न नसके पनि कफीलगायत कृषि क्षेत्रको विकासमा भने जिल्लामा अग्रपंक्तिमै रहेर सक्रियता देखाए । भन्छन्– ‘कृषि उत्पादनमा युवा, नेतृत्वकर्ताहरू लागे भने त्यसले राम्रो सन्देश जाने भएको हुँदा मैले जिल्लामा फर्किएपछि व्यावसायिक कृषि उत्पादनमा अभियान नै चलाएँ ।’ त्यही क्रममा उनले ०६३ सालमा गुल्मीको अर्जैमा २० हजार कफीको बिरुवा रोपेर यही व्यवसायमा आफूलाई अब्बल बनाउन चाहे । जिल्ला सहकारी संघको अध्यक्ष भएपछि त उनले कृषि क्षेत्रको विकासलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरे ।
नेपालमा कफीको उत्पादन कम भए पनि चिया भने बर्सेनि २१ हजार टन उत्पादन भइरहेको छ । अहिले सीटीसी चिया पूर्वको झापामा बढी उत्पादन भइरहेको छ भने अर्थोडक्स भने पहाडी जिल्लाहरूमा उत्पादन भइरहेको छ । गौतम भन्छन्– ‘हामी चियामा आत्मनिर्भर भइसकेका छौं । अहिले ६० प्रतिशत सीटीसी चिया विदेशमा निर्यात हुन्छ भने अर्थोडक्स भने ९० प्रतिशत विदेशमा निर्यात हुने गरेको छ ।’ उनले थपे– ‘तर, सीटीसी चियामा भने पछिल्लो समय गुणस्तरको समस्या देखिएको छ ।’ त्यसो त, नेपालमा चिया प्रयोग गर्नेहरूको संख्या बढी भएको र चियाको इतिहास पनि लामो भएको हुँदा यसको उत्पादन तुलनात्मक रूपमा बढी भएको गौतमको स्वीकारोक्ति छ ।
त्यसो त, नेपालमा कफी खेतीको प्रारम्भ गुल्मी जिल्लाबाटै भएको हो । १९९५ सालमा गुल्मीका हीरा गिरीले बर्माबाट कफी ल्याएर जिल्लाकै आँपचौरमा रोपेपछि यो नयाँ खेतीले विस्तारित हुने मौका पाएको हो । तर, व्यावसायिक रूपमा कफी खेती भने ०३२/३३ सालदेखि मात्रै भएको हो । गौतमले भने–‘कफीको उत्पादन भए पनि व्यवस्थित बजारको अभावले गर्दा सुरुका दिनहरूमा समस्या देखिएको थियो तर अहिले भने मागअनुरूप उत्पादन हुन सकिरहेको छैन ।’ त्यसो त, गुल्मीबाट फैलिएको कफी अहिले देशका ४१ जिल्लामा उत्पादन भइरहेको छ । तर, २३ जिल्लामा भने व्यावसायिक रूपमै खेती भइरहेको छ । गौतमले भने– ‘धेरै कफी उत्पादन हुनेहरूमा सुरुका दिनमा गुल्मी नै थियो । तर, रोगको संक्रमणका कारण अहिले गुल्मीका उत्पादन घटेको छ । अहिले स्याङ्जा, ललितपुर र काभ्रेपलान्चोकमा भने तुलनात्मक रूपमा राम्रो कफी उत्पादन भइरहेको छ । पछिल्लो समय कफीलाई सेतो गबारोले सताएको पनि गौतमले बताए ।
नेपालमा उत्पादन हुने कफी अग्र्यानिक कफी हो । गौतम भन्छन्– ‘अग्र्यानिक भएकै कारण कफीमा विषादि छर्न पाइँदैन । नेपाली कफीको अन्तर्राष्ट्रिय बजार सुरक्षित रहेको हुँदा विषादि छर्ने गरिएको छैन । विषादि नछर्दा रोगले सताएको छ । तर, हामीले वैज्ञानिकहरूलाई सेतो गबारो नियन्त्रण गर्नका लागि के कस्तो प्रयास गर्न सकिन्छ भनेर पहल पनि गरिरहेका छौं ।’ त्यसो त, विदेशमा पनि अग्र्यानिक भएकै कारण नेपाली कफी लोकप्रिय रहेकोमा द्विविधा छैन । विदेशीहरूले पनि अग्र्यानिक भएकैले नेपाली कफी रुचाएका हुन् । गौतम भन्छन्– ‘अहिले गुल्मी, ललितपुर र सिन्धुपाल्चोकका किसानहरूले संस्थागत रूपमा विदेशमा कफी निर्यात गर्दै आएका छन् ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply