धनाढ्यको दबाब आए पनि झुक्दिनँ
० मुलुकको राजधानी काठमाडौँको प्रहरी प्रमुख भएर आएपछि कस्तो अनुभूति गर्नुभएको छ ?
–अहिले मुलुक असहज परिस्थितिमा छ । यसबेला सम्पूर्ण क्षेत्रबाट सकारात्मक र आपसी भाइचाराको दृष्टिकोणका साथ अगाडि बढ्नुपर्छ । काठमाडौँ आफैंमा विविध खाले चुनौती भएको सहर हो । नेपालको राजधानी सहर भएको हुनाले यहाँ अपराधका गतिविधिदेखि अन्य शान्ति सुरक्षाका चुनौतीहरू रहेका छन् । शान्ति सुरक्षामा संगठित अपराध नियन्त्रण भएकाले चुनौती घटेको छ । त्यसका विरुद्धमा सशक्त ढंगले प्रहरी परिचालन गरेका छौं । त्यसैले अहिले सुरक्षालाई चुनौती दिने खालका कुनै आपराधिक गतिविधि ३–४ महिनायता भएका छैनन् । तैपनि कुनै पनि त्यस्ता संगठित अपराध गर्ने समूहले टाउको उठाउन नपाओस् भनेर हामी लागिपरेका छौं । त्यसका लागि व्यापक रूपमा प्रहरी परिचालन गरेका छौं । शोअप फोर्स मात्र होइन, सिभिलमा सूचना संकलनका लागि समेत हाम्रो संयन्त्र लागिरहेको छ ।
० कालोबजारी चरम भइरहेको छ, पर्याप्त अनुगमन भएन भन्ने गुनासो छ नि ?
–अहिले आम नागरिकले फेस गरेको कालोबजारी हो । मुलुक अत्यन्त संकटको अवस्थामा छ । ठीक यही बेला कालोबजारी मौलाएको छ । यसलाई नियन्त्रणका लागि विभिन्न निकाय छन् । तर, यसमा सबैभन्दा महत्त्वपूर्ण निकाय चाहिँ नेपाल प्रहरी भएकाले संगठित रूपमा हुनेखाले कुनै पनि कालोबजारीलाई नियन्त्रण गर्न हामीले व्यापक प्रहरी परिचालन गरेका छौं । परिसरमातहत ४१ ठाउँमा सिभिलमा प्रहरी परिचालित भएको छ भने कुनै पनि ठाउँमा अधिक मूल्य लिएर वस्तु खरिद–बिक्री भइरहेको सूचनाका आधारमा कारबाही जारी छ । हामीले अहिलेसम्म लगभग १ सय १० भन्दा बढी व्यक्तिहरूलाई र ७० हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थसहित पक्राउ गरेर कालोबजारी ऐन अनुसार कारबाही गरिसकेका छौं । त्यसले गर्दा कालोबजारी गर्ने संगठित व्यक्तिहरू निरुत्साहित भएका छन् ।
० दुगडको तेलमा ‘एक्सन’ लिने सोच कसरी पलायो ?
–असहज परिस्थितिको फाइदा उठाएर धारा तेल नाकाबन्दी हुनुअघि १ सय ५० देखि ६० सम्ममा पाइरहेकामा असहजताको फाइदा उठाउँदै ३ सय २० रुपियाँसम्मका बजारमा ल्याएर जसरी उपभोक्तलाई लुट्ने क्रियाकलाप भयो, त्यसको विरुद्धमा हामीले तत्काल प्रहरी कारबाही अघि बढायौं । यसको स्वस्तिक तेल भण्डारण गर्ने जडिबुटीमा कारबाही गर्दा १ लाख १३ हजार लिटर स्टक गरेर राखेको पाइयो । त्यसमा संलग्न २ व्यक्ति मेनेजर र कस्टम अफिसरलाई हामीले कारबाही गरिसकेका छौं । संलग्न २ मनेजिङ डाइरेक्टरलाई पनि पक्राउ पुर्जी जारी गरिसकेका छौं ।
यस्तो अवस्थामा ती ठूला व्यक्तिहरूले नागरिकलाई सपोर्ट गर्नुपर्नेमा, कालोबजारीलाई मौलाउन नदिनुपर्नेमा रातारात जसरी लुट्ने काम भयो त्यसका विरुद्ध हामीले सशक्त प्रहरी परिचालन गरेका छौं । अन्य स्थानमा पनि यस्तो देखिएमा तत्काल एक्सन लिने र कारबाहीको दायरामा ल्याउने भनेर हामी लागिरहेका छौं । अन्यत्रको कालोबजारीका बारेमा पनि हामीले खोजी गरिरहेका छौं । तर, अनुरोध के भने यसमा प्रहरीको मात्र एकल प्रयासले सम्भव छैन । आमनागरिकले पनि सुझाव सल्लाह र सूचना दिएर सहयोग गर्नुपर्यो । कसैले स्टक राखेर कृत्रिम अभाव भइरहेको छ भने तत्काल त्यसको सूचना प्रवाह गरेर हामीलाई सहयोग गर्नुपर्यो ।
० व्यापारिक घरानामा ‘एक्सन’ लिँदा दबाब खेप्नुपरेको पनि त होला ?
–दबाब आउनु स्वाभाविक हो । तर, विक्रमसिंह थापा जस्तोसुकै दबाब पनि कानुनका अगाडि टेर्दैन । मेरा लागि कानुनको नजरमा सबै एक हुन् । चाहे धनाढ्य होस् वा गरिब, सबैका लागि कानुन समान हो । कानुनभन्दा माथि कोही पनि छैन । कानुनलाई चुनौती दिने र राज्यलाई चुनौती दिन थाल्ने जो कोही होस्, जस्तो घराना किन नहोस् त्यसलाई छोडिन्न । विगतमा पनि राज्यको अर्थतन्त्र डुबाउने, पेट्रोलिय पदार्थ चोरी गर्नेहरूलाई हामीले कारबाही गरेकै हौँ । हामी कानुनको परिपालना गर्ने सवालमा निर्धक्कसाथ अगाडि बढ्छौं । कुनै दबाब र सोर्सफोर्सबाट हामी विचलित हुनेवाला छैनौं । सोर्सका अगाडि झुक्दैनौं । गलत विषयमा कसैले दबाब दिन्छ भने त्यसको प्रतिकार गर्न सक्नुपर्छ । दबाबले गर्न सकिएन भन्ने कुरा आफ्नो कमजोरी लुकाउन खोल ओडेको ठहरिन्छ ।
० काठमाडौंको चुनौती के छ र कस्तो बनाउने योजना छ ?
–संगठित अपराध नियन्त्रणमा लिइसकेको अवस्था छ तर पनि यसमा हुनसक्ने चुनौतीलाई हल गर्न हामी थप गम्भीर भएर लागेका छौं । साथसाथै अहिलेको असहज अवस्थाको फाइदा उठाएर आम उपभोक्ता समूहलाई कालोबजार बढाउने प्रवृत्ति वास्तवमै चुनौतीको विषय छ । यसमा एकदमै सक्रियतापूर्वक नेपाल प्रहरी लागेको छ । त्यस्ता कालोबजारीलाई हामीले नियन्त्रणमा पनि लिएका छौं । त्यस्तै आमउपभोक्तलाई पेट्रोल, ग्यासलगायतका पदार्थमा धेरै दिन लाइनमा बस्नपर्ने अवस्था सिर्जना भएको छ । समस्या छ । त्यसको व्यवस्थापन गर्नु पनि चुनौतीपूर्ण अवस्था छ । तर, त्यसको पनि हामीले आन्तरिक व्यवस्थापन गरेका छौं । त्यसका साथै भोलि कुनै असहज फाइदा उठाएर कुनै असामाजिक तत्वले शान्ति सुरक्षालाई खल्बल्याउन सक्छन् भन्ने चुनौती छ । त्यसको विरुद्ध पनि व्यापक प्रहरी परिचालन गरेका छौं । त्यस्तो हुन दिने छैनौं । आगामी दिनमा संगठित अपराध र अन्य सामाजिक अपराध खडा हुन सक्छन् । त्यसका लागि नयाँ सुरक्षा रणनीति र वैज्ञानिक सुरक्षा रणनीति अपनाउने हुनसक्छ । यसका साथै समाजलाई चुनौती दिनेखालका अन्य विषय कुन–कुन हुन सक्छन्, तिनको पनि सोध गरेर त्यसलाई पनि कानुनको दायरामा ल्याउनुपर्छ ।
० रात्रीकालीन व्यवसाय र अव्यवस्थित पार्किङ व्यवस्थित हुन प्रहरीकै नियमित असुलीका कारण सकेको छैन, के योजना छ ?
–ट्राफिक व्यवस्थापन र पार्किङका लागि ट्राफिक महाशाखा व्यवस्थित र वैज्ञानिक ढंगले लागेको छ । रात्रीकालीन व्यवसायका सन्दर्भमा यदि प्रहरीले कुनै गल्ती गर्छ भने त्यसलाई कानुनी दायरामा ल्याउनुपर्छ । तर, काठमाडौं आफंैमा एउटा अन्तर्राष्ट्रिय सहर भएकाले अपराध यदि कसैले गर्छ भने किन राति पर्खिन पर्छ र ? दिउँसो नै हामीले कारबाही गरेकै छौं । अब यो काठमाडौं सहरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने हो भने २४सै घन्टा खुला नै गर्नुपर्छ जस्तो मलाई लाग्छ । उनीहरूले नेपाल अन्तर्राष्ट्रिय स्तरको सहर हो र त्यहाँ शान्ति सुरक्षाका दृष्टिले कुनै समस्या छैन भन्ने देखाउनका लागि पनि यहाँ अझै सहज बनाउनुपर्छ । शान्ति सुरक्षाको दृष्टिले सुरक्षित छौं भन्नका लागि अझै शान्त वातावरण दिनुपर्छ । यसमा व्यक्तिगत इन्ट्रेस कसैको छैन । व्यक्तिगत रूपमा कोही प्रहरी अधिकारी देखियो भने कारबाहीको दायरामा आउँछ ।
० प्रहरीको आचरणको कुरा उठिरहेका बेला तपाईंकै मातहतका एक डीएसपीले बन्सरको कुटाइ खाए नि ?
–उहाँले गलत गर्नुभा’छ । कारबाही हुन्छ । हाम्रो ७२ हजार फौजमध्ये एकाध व्यक्तिले गलत गर्यो भनेर सारा संगठनले यति राम्रा काम गरेकोलाई ओझेलमा पार्नु हुँदैन । संगठनले कारबाहीको प्रक्रिया अघि बढाइसकेकाले त्यस्ता व्यक्तिलाई हेरेर सिङ्गो संगठनलाई मुछ्नु हुँदैन । यसमा संगठन दोषी होइन, व्यक्ति दोषी हो । आचरण विरुद्ध काम गर्ने जोसुकै प्रहरीविरुद्ध कारबाही गर्न परिसर पछि हट्दैन ।
० पेट्रोल, डिजेल व्यवस्थित गर्न प्रहरी लागेर कालोबजारी रोक्न खोजे पनि ग्यास उपत्यका भित्र्याएर प्रतिसिलिन्डर आठ हजारको दरमा बिक्री भइरहेको छ, यो किन नियन्त्रण हुन सकेन ?
–जो व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनका लागि लिएको छ ती व्यक्तिलाई मात्र हामीले नियन्त्रण नगरेको हो । एक–दुई सिलिन्डर घरायसी प्रयोजनका लागि उपत्यका भित्र्याउने ग्यासमा नियन्त्रण गर्न थाले सर्वसाधारणले के खाने भन्ने समस्या पनि छ । जुन चिज बजारमा ल्याइसकेपछि बढी मूल्य लिएर बिक्री गरेको छ भने हामीले त्यसलाई भने कारबाही गरेका छौं ।
० उपत्यकामा ८ हजार दरमा त खुलेआम सिलिन्डर पाइरहेको अवस्था किन छ त ?
–त्यही त हामीले त्यस्ता कालोबजारीलाई कारबाही गरेका छौं । १०० भन्दा बढी त्यस्ता सिलिन्डर ल्याएर हामीले कारबाही गरिसकेका छौं । यो कालोबाजारी हाम्रै कारबाहीका कारण कम भएको छ ।
० दुगडजस्तै अन्य उद्योग पनि कारबाहीमा पर्दैछन् ?
–डेफिनेट्ली । हामी हेर्दैछौं । हाम्रा लागि कोही असमान छैनन् । डरलाग्दो ढंगले मूल्यवृद्धि गरेको प्रमाण पाउनासाथ हामी कारबाहीको दायरामा ल्याउछौं । शंकै छैन । तपाईंले हामीमाथि शंका गर्ने ठाउँ नै छैन । कारबाही गरेका छौं । भोलि पनि जारी राख्नेछौं ।
० प्रहरीको जागिरे जीवनमा घटेको सुखद क्षण के छ ?
–आज हामीले गरेका कामको आज आम नागरिकले प्रशंसा गरिदिनुभएको छ । विगतमा भैरहवा छँदा तेल चोरी नियन्त्रण, ललितपुरमा छँदा युनिटी काण्डमा कारबाही र अवैध ढुङ्गा गिटी नियन्त्रण तथा नेपनलगन्जमा छँदा भूमिगत समूह भगवतसिंहको बिगबिगी नियन्त्रणका लागि जसरी लागें, त्यसबाट आम नागरिकले जसरी प्रहरीले काम गर्यो भनेर जुन स्याबासी दिनुभा’छ त्यो नै सुखद क्षण हो । तर, यत्तिमै रोकिनेवाला छैनौं । अझ अगाडि बढ्छौं । यो नै हाम्रा लागि रिचार्ज हो । जनताले राम्रो काम गर्यो भनिदिए हाम्रा लागि पुरस्कार त्यही हो ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply