दोस्रो सूचीमा हजार जना छानबिनको घेरामा
काठमाडौं । राजनीतिकर्मी, व्यवसायी र प्रशासक गरी २९ जनाको सम्पत्ति छानबिन अघि बढाएपछि चर्चामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्षपातको गन्ध नआउने गरी दोस्रो चरणको सूची तय गरेको छ । स्रोतका अनुसार, पहिलो चरणमा तीमध्ये पाँच जनामाथि मुद्दा दायर गरेपछि दोस्रो चरणको सूचीमा छानबिन गर्ने योजना बनेको छ ।
राजनीतिक र प्रशासनिक उच्च पदमा पुगेकामध्ये १ सय २९ जनाको नाम छानबिनका लागि तय भएकोमा २९ जनालाई मात्र उपस्थित हुन पत्र काटिएको थियो । ती सबैले आयोगमा उपस्थित भएर आफ्नो सम्पत्ति विवरण बुझाउनका लागि १३ पृष्ठ लामो विवरण फर्म बुझिसकेका छन् र आउँदो एक साताभित्र विवरण बुझाउनेछन् । स्रोतले भन्यो– ‘त्यसपछि क–कसमाथि छानबिन गर्ने र क–कसको फाइल टुंग्याउने भन्ने तय हुन्छ ।’१ सय २९ जनाको छानबिन सकिएपछि मात्रै बाँकीमा प्रवेश गर्ने तयारी आयोगले गरेको छ ।
एक हजारको तथ्यांक
यसबीचमा स–साना विषयमा छानबिन गरे पनि धेरैले अपेक्षा गरेको सम्पत्ति छानबिनका विषयमा चाहिँ आयोग किन मौन बसेको थियो त ? उच्च स्रोतले बुधबारसँग भन्यो–‘संविधान बनेको थिएन । त्यस्तो बेलामा ध्यान अन्यत्र मोडिन सक्थ्यो । लोकमानले बिथोले भन्ने आरोप लाग्न सक्थ्यो । त्यही भएर ठूलामाथि छानबिन नभएको हो ।’ तर, आयोग चुप लागेर भने नबसेको उक्त स्रोतले बतायो । स्रोतले भन्यो– ‘यस अवधिमा हामीले प्रशस्त सूचना संकलन गरेका छौं । उनीहरूका सम्पर्क–सम्बन्ध खोतलेका छौं ।’
उक्त स्रोतका अनुसार, सरकारी ओहदामा पुगेका राजनीतिकर्मी, कर्मचारीलगायतको गरेर एक हजार जनाको विवरण आयोगले तयार गरेको छ । भैरवप्रसाद लम्साल आयोगको प्रतिवेदनलाई पनि त्यसका लागि आधार बनाइएको छ । स्रोतले भन्यो– ‘हामीले एक हजार जनाको सबै विवरण संकलन गरेका छौं । त्यसका लागि डाटा बैंक नै बनाएका छौं ।’ त्यही डाटा बैंकका आधारमा छानबिन अघि बढाउने गरिएको छ ।
छानबिनमा विशेषज्ञ प्रयोग
सरकारी ओहदामा रहने व्यक्तिहरू बाठा हुने भएका कारण उनीहरूले आफ्नो नाममा सम्पत्ति राख्दैनन् भन्ने आयोगलाई पनि थाहा नहुने कुरा भएन । त्यही भएर यसपटक आयोगले मुद्दा दर्ता गरेपछि आफ्नो हात तल नपर्ने गरी प्रमाण संकलनलाई विशेष महत्त्व दिएको थाहा भएको छ । त्यसका लागि सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल टेलिकमको समेत सहयोग लिइएको छ । यतिसम्मकि लगातार टेलिफोन सम्पर्कलाई समेत आधार मानेर आयोगले सम्पत्ति छानबिन गरिरहेको छ ।
पूर्वप्रधानमन्त्रीहरूलाई नछुने
आयोगले तयार गरेको सूचीमा पूर्वप्रधानमन्त्रीहरू पुष्पमकल दाहाल, शेरबहादुर देउवा र झलनाथ खनालको नाम छ भनेर चर्चा चले पनि तत्काल कुनै पनि पूर्वप्रधानमन्त्रीमाथि छानबिन हुने कुरालाई आयोग स्रोतले अस्वीकार गरेको छ । स्रोतले भन्यो– ‘आयोगभन्दा माथि राष्ट्र हुन्छ । राष्ट्रको नेतृत्व गरेको व्यक्तिमाथि यत्तिकै आरोप लगाउने कुरा हुँदैन । कुनै त्यस्तै कारण परेछ भने पछि बेग्लै कुरा हो नत्र अहिले कुनै पनि पूर्वप्रधानमन्त्रीमाथि छानबिन हुँदैछ भन्ने निराधार कुरा हो ।’
२५ प्रतिशत सफलताको आशा
आयोगले अहिलेसम्म दायर गरेका अकुत सम्पत्तिसम्बन्धी मुद्दामा सफलताको प्रतिशत धेरै छैन । विशेष अदालतबाट धेरैले सफाइ पाएका छन् । यसपटक पनि त्यस्तै भयो भने कुनै व्यक्तिको सामाजिक जीवनमा प्रश्न उठाउने नियतले मात्र छानबिन अघि बढाएको देखिने त होइन भन्ने प्रश्नमा स्रोतले भन्यो– ‘अकुत सम्पत्तिको मुद्दामा प्रमाणित गर्न गाह्रो हुन्छ । यसमा २५ प्रतिशत सफलता प्राप्त भयो भने पनि त्यो पर्याप्त नै मान्नुपर्छ ।’
कार्की र पाठकबाहेकलाई थाहा छैन
आयोगमा आयुक्तहरूको कार्यविभाजन भएको छ । एक जना आयुक्तले जिम्मा लिने र उसले गरेको अनुसन्धानमा अर्को आयुक्तले समर्थन जनाएपछि मात्रै आयोगको पूर्ण बैठकमा प्रस्ताव जाने गरेको छ । अकुत सम्पत्ति छानबिनको मुद्दा प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफैं राखेका छन्, जसमा आयुक्त राजनारायण पाठकको समर्थन आवश्यक हुन्छ । स्रोतका अनुसार, छानबिन सकिएर ती दुईबाट निर्णय भइसकेपछि मात्रै मुद्दा चलाउनका लागि आयोगको पूर्ण बैठकमा प्रस्ताव जान्छ । त्यसपछि मात्रै बाँकी आयुक्तलाई थाहा हुन्छ । त्यही भएर अहिलेको सम्पत्ति छानबिन प्रकरण पनि अरू आयुक्तहरूलाई थाहै छैन ।
कसले गर्यो अभय ठाकुरसँग बिलौना ?
छानबिनमा परेका २९ जनामध्ये एक जनाले आफूमाथिको छानबिन अघि नबढाउनका लागि आयोगका प्रमुख आयुक्त कार्कीका निकटस्थहरू मात्र होइन, छिमेकी मुलुकका अधिकारीहरूसँग समेत हारगुहार गरेको थाहा भएको छ । उनले प्रमुख आयुक्त कार्कीलाई भेट्न सूत्रहरू परिचालन गरिरहेका छन् । हालै भारतीय राजदूतको दिवाभोज समेत खाइसकेका तिनले भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख सहसचिव अभय ठाकुरलाई समेत गुहारेको थाहा भएको छ । उनीसँग मित्रता भएका कुनै सभासद्लाई समेत प्रयोग गरेको समाचार छ । भारतीय नाकाबन्दीका कारण भाउ घटेका अमरेशकुमार सिंहको यस प्रकरणबाट फेरि भाउ बढेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply