अखिलमा दीपक गौतम पक्षको अग्रता
काठमाडौं । आम विद्यार्थीको आशाको केन्द्र रहेको मुलुककै भरपर्दो विद्यार्थी संगठन अनेरास्ववियु यतिबेला २२औं राष्ट्रिय महाधिवेशनको संघारमा उभिएको छ । संगठन स्थापनाको आधा शताब्दीको अवधिमा पुर्खाको वीरासत र नेपालको युवा विद्यार्थी आन्दोलनको पर्याय बनेको अनेरास्ववियुमा नयाँ नेतृत्वका लागि उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामा पक्षबीच रस्साकस्सी चलेको छ । तर, आन्दोलनको हरेक मोर्चामा अब्बल रहँदै विद्यार्थीबीच लोकप्रिय रहेको गौतम समूह लामाभन्दा निकै अगाडि रहेको अहिलेसम्मको तथ्यांकले देखाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि उद्घाटन गर्नुहुने २२औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलगत्तै सिधै निर्वाचन कार्यक्रमतर्फ प्रवेश गर्ने बताइएको छ । संगठनको विधान तथा नीतिका कुरा यसअघि विधान सम्मेलनले नै तय गरिसकेको हुनाले महाधिवेशनको औपचारिक उद्घाटनपछि प्रजातान्त्रिक प्रक्रियाअनुसार उम्मेदवारहरूबीच निर्वाचन कार्यक्रमअनुसार निर्वाचन सुरु हुने
बताइएको छ ।
गौतमको टिम सशक्त
अध्यक्षका आकांक्षी गौतम गृह जिल्ला काभ्रेस्थित सरस्वती मावि गोठपानीको प्रारम्भिक कमिटीदेखि जिल्ला कमिटी अध्यक्ष हुँदै केन्द्रीय कमिटी सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष भइसकेका छन् । बागमती विशेष ब्युरोको अध्यक्ष हुँदा नै संगठनमा बेजोड काम गरेर देखाएका उनी अघि सारिएका टिममध्येका सशक्त उम्मेदवार मानिन्छन् । सो समूहबाट उपाध्यक्षहरूमा जीवन राई, राधिका खतिवडा, नीलकण्ठ आचार्य र सरोज यादव छन् भने महासचिवमा अब्दुल हुसेन खाँ छन् । त्यस्तै सचिवमा आरती लामा, सुदेश पराजुली, भक्तकुमारी लामा, इन्जिनीयर अशेष घिमिरेलगायतले उम्मेदवारी दिने बुझिएको छ ।
नवीनातिर कोको ?
लामाको समूहबाट महासचिवमा ऐनबहादुर महर तथा उपाध्यक्षामा महेश बर्तौला, रश्मि आचार्य, शैलेश लामा र सुनीता बराल तय भएका छन् । लामा पनि काभ्रेकै हुन् । उनी जिल्लाकै महेन्द्र मावि मादन कुँडारीको प्रारम्भिक कमिटीदेखि जिल्ला कमिटीको उपाध्यक्ष हुँदै बानेश्वर क्याम्पसको स्ववियु सचिव र सभापतिसमेत भइसकेकी हुन् । उनी अनेरास्ववियुको केन्द्रीय सदस्य, दुई कार्यकाल सचिवालय सदस्य, एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिवसमेत भइसकेकी छन् । उपाध्यक्षका अन्य उम्मेदवार महेश बर्ताैला, शैलेश लामा र सुनीता बराल पनि प्रारम्भिक कमिटीदेखि स्ववियुको राजनीति हुँदै केन्द्रीय कमिटीका पदाधिकारीसम्म पुगेका नेता हुन् । महासचिवमा उम्मेदवारी दिन लागेका महर भने संगठनभित्र बदनाम र पटकपटक कारबाही भोगेका पात्र हुन् । सचिवमा आरसी लामिछाने, समिक बडाल, कमला बोहोरा, दुर्गानन्द ठाकुर लगायतको उम्मेदवारी पक्का भएको छ । सात सचिवमा सबैको अन्तिम नाम टुंगो लगाउन भने बाँकी नै रहेको छ । करिब ५० सदस्यीय सचिवालयको सदस्यका लागि झन्डै एक सय विद्यार्थी नेताले दाबी गरेका छन् । सचिवालय सदस्यमा नारायण घर्ती, उन्नति केसी, सुदर्शन शिवाकोटी, जेनिश लामा, सम्झना गौतम, रमेश प्रधान, भाष्कर खनाल, हरि लिम्बू, माधव पन्त, धर्म गिरी, नरेश रोकाय, यमराज पाण्डे, राजकुमार शर्मा, सुरेश राउत, सूर्य रोकाय, युवराज कुँवर, लोकेन्द्र सिंह, डम्बर अधिकारी, अर्जुन अधिकारी, सन्दन थापा मगर, बिरुदास श्रेष्ठले उम्मेदवारी दिने पक्का भएको छ । यस्तै, कनिस पटेल, श्याम प्रजापति, सरिता पुरी, आद्रता रेग्मी, सरिता सापकोटा, मर्यादा विष्ट, विनीता तामाङ, कल्पना वाइबा, वाङ्छु योन्जन, उमेश आचार्य, मोती विक, जनक विक, दीपक विक, जमुना ढकाल र सुजाता पोखरेलले पनि सचिवालय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
कुन क्षेत्रमा कसका बढी प्रतिनिधि ?
अहिलेसम्म देशैभरिबाट लगभग १६ सय प्रतिनिधि निश्चित भएकामा गौतम पक्षको लगभग ६० प्रतिशत रहेको बताइन्छ । विकास क्षेत्रगत आधारमा पाँच क्षेत्रमध्ये सबै विकास क्षेत्रमा गौतम समूहका प्रतिनिधि धेरै र लामा समूहका प्रतिनिधि थोरै रहेका छन् ।
आयोजकमा कसका कति ?
अखिलमा केन्द्रीय कमिटी र राष्ट्रिय परिषद् सदस्य गरी कुल ३ सय ६४ सदस्य रहेका छन् । राष्ट्रिय परिषद् सदस्य (रापस) र केन्द्रीय कमिटीका सदस्यहरू आयोजक तथा स्वत: प्रतिनिधि हुने व्यवस्था छ । जसअनुसार कुल ३ सय ६४ आयोजकमध्ये लगभग ७० प्रतिशत गौतमको पक्षमा रहेको दाबी गरिएको छ ।
दीपकलाई सात र नवीनालाई चारको समर्थनअखिलका पूर्वअध्यक्ष रहेका र हाल पार्टीको केन्द्रीय कमिटीमा रहेका नेताहरूमध्ये गौतमलाई सात र लामालाई चार पूर्वअध्यक्षहरूको समर्थन रहेको बताइएको छ ।
गौतमलाई समर्थन गर्नेमा टंक कार्की, तुलबहादुर गुरुङ, योगेश भट्टराई, अरुण नेपाल, राजेन्द्र राई, ठाकुर गैरे र रामकुमारी झाँक्री रहेका छन् भने लामालाई समर्थन गर्नेमा शंकर पोखरेल, हिक्मत कार्की, रूपनारायण श्रेष्ठ, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई र माधव ढुंगेल रहेका छन् । त्यसमध्ये रूपनारायणलाई बिचैमा केही समयका लागि अध्यक्ष भएकाले अध्यक्षकै मान्यता दिइएको छैन भने रवीन्द्र अधिकारी विद्याथी इन्चार्ज रहेकाले तटस्थ भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी छ । त्यस हिसाबले नवीनालाई समर्थन गर्नेमा चार पूर्वअध्यक्ष मात्र रहेका छन् भने बहालवाला अध्यक्ष मल्ल पनि तटस्थ बस्नुपर्ने बाध्यता छ । सम्मेलनले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्दै १ सय ४१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रचारमा भिजिटिङ कार्ड मात्र
अखिलले विगतमा जस्तो भड्किलो प्रचारप्रसार सामग्री निषेध गरेको छ । बन्द सत्रलाई व्यवस्थित गराउन र निर्वाचनमा प्रचारका नाममा अनावश्यक खर्च नहोस् भनेर आचारसंहिता जारी गरेको छ । सो आचारसंहिता कडाइका साथ कार्यान्वयन नगर्ने उमेदवारको उमेदवारी तत्काल खारेज हुने अखिलले जनाएको छ । निर्वाचनलाई प्रभावित पार्ने गरी सबै प्रकारका प्रकाशन गर्न गराउन नपाइनुका साथै उमेदवारहरूले आफ्नो परिचय खुल्ने भिजिटिङ कार्ड वा ए–फोर आकारको सामान्य हाते पर्चा मात्र वितरण गर्न पाइने बताइएको छ । अध्यक्ष किशोरविक्रम मल्लले कार्यकालको अन्तिम पत्रकार सम्मेलन सोमबार गरी महाधिवेशन तयारीबारे जानकारी गराउँदै पार्टीले सञ्चालन गरेको निर्वाचनमा पनि विकृति आएको जनाउँदै यसलाई नमुना बनाउने प्रतिबद्धता जनाए । निर्वाचनका क्रममा नारा, जुलुस, र्याली जस्ता गतिविधि गर्न नपाइने, कुनै प्रकारका प्रकाशनहरु समेत गर्न नपाइने, अधिवेशन परिशर भित्र उमेद्वारको आफ्नो परिचय बाहेकका अन्य प्रचार सामग्री पूर्ण रूपमा रोक लगाइएको आचारसंहितामा उल्लेख छ ।
आचारसंहितामा उल्लेख गरिएअनुसार ज्याकेट, टिसर्ट, ट्रयाकसुट, डटपेन, टोपी, झोला, डायरी, लकेट, व्यक्तिको चरित्र हत्या हुने खालको सामग्री, फ्लेक्स बोर्ड, तुल, ब्यानर, ब्रुसर, गम्छालगायतका सामग्री वितरण गर्न निषेध गरिएको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply