प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्ध सुधार्न विशिष्ट सम्मान

काठमाडौं । तीन दिनपछि हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई भारत सरकारले उच्च महत्त्व दिँदै विशेष तयारी गरेको छ । अघोषित नाकाबन्दीबाट दुई देशबीचको सम्बन्धमाथि नै गम्भीर प्रश्न उठ्ने गरी दरार देखिएका कारण भारतीय सरकारले उच्च महत्त्व दिँदै त्यस्तो तयारी गरिरहेको उच्च कूटनीतिक स्रोतले जनाएको छ ।
गृहकार्यका लागि भारत पुगेर फर्किएका अर्थमन्त्री विष्णु पौडेलले भारतीय सरकारले प्रधानमन्त्री ओलीलाई ‘राजकीय सम्मान’ दिने गरी तयारी गरिरहेको सूचना अवगत गराएपछि प्रधानमन्त्री ओली थप उत्साहित भएको बुझिएको छ । जबकि कुनै पनि मुलुकबाट राष्ट्रप्रमुखको भ्रमण हुँदा मात्रै कूटनीतिक भाषामा राजकीय सम्मान दिने अन्तर्राष्ट्रिय प्रचलन छ । त्यस्तो मान्यता हुँदाहुँदै आफ्नो भ्रमणलाई उच्च महत्त्व दिएको जानकारी पाएपछि प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध पूर्ववत् अवस्थामा फर्काएर सम्बन्ध थप प्रगाढ र सुदृढ पार्नेबाहेक भ्रमणको अरू कुनै ठोस एजेन्डा नरहेको बताएका छन् । भारतले त्यस्तो तयारी गरे राजकीय सम्मान पाउने प्रधानमन्त्री ओली बहुदलीय व्यवस्थापछिका दोस्रा प्रधानमन्त्री हुनेछन् । बहुदलीय व्यवस्था स्थापनापछि २०४८ सालको आम निर्वाचनबाट बनेको कांग्रेस नेतृत्वको पहिलो सरकारका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मात्रै भारतीय सरकारले राजकीय सम्मान दिएको थियो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित प्रजातन्त्र दिवस अर्थात् ७ फागुनमा पाँचदिने भ्रमणका सिलसिलामा भारत प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ ।
भ्रमणका एजेन्डाहरू भने अझै सार्वजनिक भएका छैनन् । हिजो मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे जानकारी गराएका छन् । त्यस क्रममा उनले दुई देशबीचको सम्बन्धमा देखिएको असामान्य स्थितिलाई सामान्य अवस्थामा फर्काएर सम्बन्ध सुदृढ गर्नेतर्फ नै भ्रमण केन्द्रित रहने बताएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणलाई आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गर्ने सरकारको तयारी छ । भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले घोषणा गरेको सहयोग कार्यान्वयन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासहित भारतीय लगानीमा सञ्चालित विभिन्न परियोजना कार्यान्वयन र व्यापारका विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रपति निवासमै आवासको व्यवस्था
नेपालमाथि अघोषित नाकाबन्दी लगाएर गल्ती महसुस गरिसकेको भारतले त्यसको कूटनीतिक जवाफ भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई सम्मान दिएर गर्ने तयारी गरेको छ । ‘कुनै पनि मुलुकले गल्ती गरिसकेपछि त्यसलाई ठाडै स्वीकार गर्दैन, त्यसलाई कूटनीतिक रूपमा व्यवहारमार्फत संकेत गर्ने हो,’ अर्थमन्त्री पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसैका लागि भारतले राजकीय सम्मानकै तयारी गरिरहेको मैले पाएको छु ।’ भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति प्रणव मुखर्जीसँग भेट गर्नेछन् । त्यसक्रममा रात्रिभोजका साथै प्रधानमन्त्री ओलीसहित १० सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई राष्ट्रपति निवासमै आवासको समेत व्यवस्था गरिएको उच्च स्रोतको दाबी छ । यद्यपि, दुवै देशको तर्फबाट प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक कार्यतालिका भने सार्वजनिक भएको छैन ।
पहिलो दिन नै मोदीसँग भेट
प्रधानमन्त्री ओली प्रजातन्त्र दिवसमा सहभागी भएलगत्तै भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्नेछन् । त्यहाँ पुगेलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग सेभेन रेसकोर्सस्थित प्रधानमन्त्री कार्यालयमा मोदीसँग पहिलो भेटवार्ता गर्नेछन् । भेटका क्रममा अघोषित नाकाबन्दीपछिको दुई देशबीचको सम्बन्ध, आपसी हित र नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
जम्बो प्रतिनिधिमण्डलभ्रमणमा प्रधानमन्त्रीकीधर्मपत्नी राधिका शाक्यसहित कम्तीमा ४२ सदस्यीय टोली सामेल हुने भएको छ । टोलीमा परराष्ट्र मन्त्री कमल थापा पनि सहभागी हुने भनिए पनि उनी जाने/नजाने टुंगो नलागिसकेको सूत्रले जनाएको छ । त्यस्तै, गृह मन्त्री शक्तिबहादुर बस्नेत, अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, अर्थ सचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सभासद् डा. राजन भट्टराई, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाल, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, स्वकीय सचिव राजेश बज्राचार्य, भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत सहभागी हुनेछन् । त्यस्तै, भ्रमण दलमा एमाओवादीसहित सरकारमा सामेल अन्य दल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सभासद्हरू तथा सरकारी सञ्चार माध्यमका प्रतिनिधिलाई समेत सहभागी गराइने भएको छ । सरकारी सञ्चारमाध्यममध्ये रासस, नेपाल टेलिभिजन र रेडियो नेपाललाई मात्रै सामेल गरेर गोरखापत्रलाई नपारिएपछि महाप्रबन्धक र सञ्चालक समिति सदस्यको टोलीले भने सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईलाई भेटेरै लबिङ गरेका छन् । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकासहितको २५ सदस्यीय टोली पनि निजी खर्चमा भ्रमण टोलीमा सामेल हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार भ्रमणमा सरकारको तर्फबाट ४२ जनासम्मको टोली सहभागी हुने तयारी भए पनि अन्तिम टुंगो बुधबार बस्ने मन्त्रिपरिषद्ले लगाउनेछ । ‘सरकारको तर्फबाट ४२ जनासम्मको टोली सहभागी हुनेछ, व्यापारी प्रतिनिधिमण्डल निजी खर्चमा सहभागी हुनेछ,’ दाहालले भने । तर, व्यापारीसहित भ्रमण टोलीको संख्या ७० नाघिसकेको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
Leave a Reply