महान्यायाधिवक्तामा तीनको दौड
काठमाडौं । सरकारको प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्तामा नियुक्तिका लागि तीन अधिवक्ता अग्रपंक्तिमा देखिएका छन् । वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र नरेन्द्र पाठक तथा अधिवक्ता हरि फुयाँलले दाबेदारी प्रस्तुत गर्दै महान्यायाधिवक्ता बन्न ‘लबिङ’ तीव्र पारेका हुन् ।
गत १८ फागुनमा हरिकृष्ण कार्कीले राजीनामा दिएपछि कानुनी पेसाको आकर्षक राजनीतिक नियुक्तिको पद मानिने महान्यायाधिवक्ता रिक्त छ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिसमा परेपछि कार्कीले पदबाट राजीनामा दिएका थिए । बार एसोसिएसनको अध्यक्ष रहेकै बेला महान्यायाधिवक्ता हुँदै कार्कीलाई न्यायाधीशमा सिफारिस गरिएकोमा एमालेनिकट कतिपय कानुन व्यवसायीहरू असन्तुष्ट छन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट महान्यायाधिवक्ता नियुक्तिको प्रस्ताव लैजाने अन्तिम तयारी गरिरहेका छन् । यसक्रममा प्रधानमन्त्रीको गृह जिल्ला झापाकै फुयाँलले बाजी मार्न सक्ने धेरैले अनुमान गरेका छन् । तर, वरिष्ठतामा भने नेपाल बार एसोसिएसनका उपाध्यक्षसमेत भइसकेका वरिष्ठ अधिवक्ता हरि उप्रेती मानिन्छन् । प्रधानमन्त्री ओली र कानुनमन्त्री अग्नि खरेलको सहानुभूति भने फुयाँलप्रति नै रहेको जानकारहरू बताउँछन् । उनी एमालेनिकट कानुन व्यवसायीहरूको जनसंगठन पीपीएलएका पूर्वसचिव हुन् । कानुन क्षेत्रको नियुक्तिमा मन्त्री खरेलसँगै निर्वतमान सभामुख सुवास नेम्वाङको बलियो हात हुने हुँदा यी दुईलाई खुसी पार्न तिनैजना दौडधुपमा लागेका छन् । विवादमुक्त रहन नेम्वाङले भने तिनै दाबेदारसँग समदूरीको व्यवहार प्रदर्शन गरिरहेको स्रोतको भनाइ छ ।
उता, महान्यायाधिवक्ताको चर्चामा रहेका चर्चित अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले भने आफू सो पदका लागि दौडमा नरहेको स्पष्ट पारेका छन् । धेरैले भट्टराईले नै सो पदमा बाजी मार्ने अनुमान गरे पनि उनले सो पदका लागि रुचि नरहेकोसमेत स्पष्ट पारेका हुन् । ‘मैले तीन/चार दिनअघि नै सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेरै व्यक्तिगत कारणले आफूले महान्यायाधिवक्तामा रहेर सहयोग गर्न नसक्ने जानकारी गराइसकेको छु,’ भट्टराईले बुधबारसँग भने, ‘महान्यायाधिवक्ताका लागि मेरो व्यक्तिगत रुचि पनि छैन ।’ प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाका भट्टराई आफ्ना विचार र मान्यता स्पष्ट अडानका साथ राख्ने चर्चित अधिवक्ताका रूपमा परिचित छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply