एउटै कार्यालयमा रजाइँ गर्नेहरूको रुवाबासी
काठमाडौं । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको निर्देशनअनुसार काठमाडौं उपत्यकामा लागतार तीन वर्षदेखि कार्यरत कर्मचारीको धमाधम काजसरुवा भइरहेको छ । उनले भ्रष्टाचारका जड मानिएका उपत्यकामा वर्षौंदेखि कार्यरत कर्मचारीलाई पहिलो चरणमा उपत्यकाबाहिर सरुवा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । र, उनको यो प्रतिबद्धतामा मन्त्री विक्रम पाण्डेले पनि साथ दिएका छन् ।
उपत्यकापछि उनले झापा, इटहरी, हेटौंडा, चितवन, पर्सा, विराटनगर, पोखरा, नेपालगन्जजस्ता सहरमा लामो समय काम गर्नेहरूलाई पनि सरुवा गर्ने योजना बनाएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका मालपोत कार्यालयहरूमा तीन वर्षभन्दा बढी १५ वर्षसम्म कार्यरत २६ कर्मचारीको काजसरुवा भएको छ । भूमिसुधार व्यवस्थापन विभागका अनुसार काजसरुवा हुनेमा दुई मालपोत अधिकृत छन् भने अरू नासु र खरिदार छन् । त्यसमा कलंकी मालपोत कार्यालयका मालपोत अधिकृत राजेन्द्र बुढाथोकी र टोखा सरस्वतीका कलकबहादुर खत्री छन् । बुढाथोकी नेपाल निजामती कर्मचारी युनियन संघका सचिव हुन् । उनलाई टे«ड युनियनका भएकाले विभागमा काजसरुवा गरिएको छ । बुढाथोकी जागिर खाएदेखि नै कलंकीमा छन् । घूस लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरे पनि सफाइ पाएपछि उनी पुनः कलंकीमै कार्यरत छन् । उपत्यकाका विभिन्न मालपोत कार्यालयमा कार्यरत नायब सुब्बाहरू कर्णकुमार थापा, ठाकुरबाबु घिमिरे, टंकनाथ पौडेल, गंगाराम बुढाको उपत्यकाबाहिर काजसरुवा भएको छ । त्यस्तै, उपत्यकाबाहिर काजसरुवा हुने डिल्लीबजार मालपोत कार्यालयका रैथाने नासुहरूमा ताराप्रसाद जोशी, चूडामणि राजभण्डारी, बोधराज शर्मा छन् । डिल्लीबजार मालपोत कार्यालयमा १५ वर्षदेखि बसेका र दुई वर्षदेखि दरबन्दीविना नै रहेका खरिदार लक्ष्मण भट्टराईलाई पनि अहिलेका सचिव देवकोटाले डाँडा कटाएपछि मालपोतका कर्मचारीहरूमा रुवाबासी चलेको छ । लक्ष्मण भट्टराई र ताराप्रसाद जोशी मालपोतका डन नै मानिन्छन् । चाहविलका नासुहरू धु्रवकुमार थापा, दामोदर पौडेल,भोजराज पोखरेल, भूपेन्द्रकुमार पौडेल, रामबाबु अर्याल र शम्भुप्रसाद गौतम पनि काजसरुवा भएका छन् । कलंकी मालपोतका बैकुण्ठ विष्ट, भरत गिरी, रघुनाथ तिमिल्सिना, रोशनराज रेग्मी छन् । मनमैजु मालपोतका नासु पीताम्बर भण्डारी र उदयनारायण सिग्देल पनि डाँडा कटाइएका छन् । ललितपुरका राजेन्द्रबहादुर अमात्य, केदारबहादुर कार्की र भक्तपुर मालपोत कार्यालयकी नासु मीरा खत्री र खरिदार पार्वती भट्टराई पनि काजसरुवामा परेका छन् । उपत्यकाका मालपोत र नापी कार्यालयमा १७ वर्षदेखि कार्यरत खरिदार, नासु र अधिकृतका कारण सरकारी सार्वजनिक जग्गा दर्ता गर्ने र मासिक ५० करोड रुपैयाँ पुँजीगत लाभकर छली हुँदै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत तथ्यांक अधिकृत श्रीनारायण यादव र एक्सरे टेक्निसियन श्याम श्रेष्ठ, बिन्दुकाजी महर्जनहरूको मिलेमतोमा अवैध रूपमा सुन भित्रने गरेजस्तै मालपोत र नापी कार्यालयमा १५ वर्षदेखि कार्यरत कर्मचारीका कारण ती कार्यालय भ्रष्टाचारका अखडा बन्दै गएका छन् । जुन कुरालाई मध्यनजर गर्दै सचिव देवकोटाले पद सम्हाल्नासाथ गएको पुस २४ गते तीन वर्षदेखि कार्यरत कर्मचारीलाई माघ १५ गतेभित्र उपत्यकाबाहिर सरुवा गर्न निर्देशन दिएका थिए । मालपोत कार्यालयले उक्त निर्देशन पालना गरेको भए पनि नापी विभागका महानिर्देशक कृष्णराज बीसीले मातहतका कार्यालयबाट अभिलेख मागेकोजस्तो गरी गएको असोजमा घूस खाएर सरुवा र थमौती गरेका सर्वेक्षकलाई विभागमा तानेर राख्न थालेका छन् । बीसीले सचिव देवकोटालाई झुक्याएको नापीका अधिकारीहरू बताउँछन् । गएको असोज १४ को सरुवामा महानिर्देशक बीसीले उपत्यकाका कार्यालयमा थमौती गरेबापत ठूलै रकम घूस लिएको कुरा भूमिसुधारमन्त्री विक्रम पाण्डेकोमा पनि पुगेको छ । असोज १४ मा घूस लिएर चावहिल नापी कार्यालयमा मात्रै दुई वर्ष अवधि पूरा गरिसकेका १९ जना कर्मचारीलाई सरुवा नगरेको विवरण भूमिसुधार मन्त्रालयमा पुगेको छ । डिल्लीबजार, चावहिल, कलंकी, भक्तपुर र ललितपुरमा पनि त्यत्तिकै संख्यामा कर्मचारीहरू कार्यरत रहेको विवरण सचिव दवकोटाकोमा पुगेको छ । उपत्यकाका पाँचवटा कार्यालयमा १ सयको हाराहारीमा कर्मचारी ५ वर्षदेखि २० वर्षसम्म कार्यरत रहेका छन् । काठमाडौं उपत्यकाका नापी कार्यालयबाट यस्ता कर्मचारी सरुवा नगरेबापत महानिर्देशक बीसीले प्रतिकर्मचारी ३ लाखका दरले २ करोडभन्दा बढी उठाएको विवरण मन्त्री पाण्डेसम्म पुगेको छ । घूस लिएर थमौती भएकाहरूले अहिले बीसीलाई फोन गर्दै फिर्ता माग्न थालेका छन् । असोजमा महानिर्देशक बीसीले घूस लिएर थमौती गरेका सर्वेक्षकहरूमा भक्तपुर नापी कार्यालयका सर्वेक्षक देवेन्द्र कोइरालाको १० वर्ष भइसकेको छ । भक्तपुरका सर्वेक्षक उमाकान्त यादव २० वर्षदेखि कार्यरत छन् । किरण मल्ल भक्तपुरमा १० वर्षभन्दा बढी भइसकेको छ । १० वर्षदेखि रामकुमार पौडेल, उमेश थापा, बलराम गौतम पनि उपत्यकाका कार्यालयमै छन् । ललितपुर नापी कार्यालयका सर्वेक्षक बुद्धि थापा २० वर्षदेखि कार्यरत छन् । ललितपुरकै दीपक पण्डित पनि १० वर्ष भइसकेको छ । कलंकीका सुविन्द्र श्रेष्ठ २० वर्षदेखि कार्यरत छन् । चावहिल नापी कार्यालयका ईश्वर अर्याल र टीका बीसी पनि १० वर्षदेखि उपत्यकामै छन् । सचिवको निर्देशनअनुसार तीन वर्ष कार्यरतलाई उपत्यकाबाहिर सरुवा गर्न थालेपछि नापीका महानिर्देशक बीसीसँग असोजमा लिएको घूस फिर्ता माग्न थालेको बुझिएको छ । बीसीलाई घूस पु¥याउने बिचौलिया निलम्बित सर्वेक्षक कमलबहादुर खत्री र शुभकान्त झाले ‘यो सचिव सरुवा भइहाल्छ, महानिर्देशक बीसीले अघिल्लोलाई त सरुवा गरिदिए कर्मचारी चलाएपछि यसलाई कहाँ राख्छन्, दुई महिना हो, फेरि साबिककै ठाउँमा ल्याइन्छ’ भन्दै सुकेधाराको यूसी क्याफेमा मदिरामा मस्त हुँदै ढाडस दिने गरेका छन् । जनताका जग्गाको नक्सा बिगार्ने र अनेक तरहले दुःख दिएर घूस असुल्दै यी सर्वेक्षकहरूले कमाएको करोडौं रुपैयाँ सम्पत्तिमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नजर पर्न नसकेको उजुरी अख्तियारमा परेको छ । गएको असोज १४ को सरुवामा विभागमा सरुवा गरिए पनि रमाना नबुझी डिल्लीबजार नापीमा कार्यरत सर्वेक्षकहरू हरि रायमाझी, घमण्ड कार्की, ललितपुरका केशव थापा, चिरञ्जीवी कार्की, दीपक श्रेष्ठहरू पनि १० वर्ष भइसकेको छ । ललितपुरमा इमाडोलको नदी उकासको पचासौं रोपनी सरकारी जग्गा गैरकानुनी रूपमा दर्ता गरी करोडौं रुपैयाँ घूस खाने सर्वेक्षक शुभकान्त झा अख्तियारले निगरानी गरेपछि जोगिन विभागमा पुगेका छन् । एक प्रमुख नापी अधिकृतले भने, ‘उपत्यकामा पाँच वर्ष बस्ने, पुनः एक वर्ष बढुवा विभागमा जाने र फेरि उपत्यकाका कार्यालयमा सरुवा भएका अमिन, सर्वेक्षकहरूको रेकर्ड पनि मगाएर उपत्यकाबाहिर सरुवा गर्नुपर्छ ।’
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply