स्कर्टिङ लिएर लुम्बिनी पुगे अजितमान
काठमाडौं । आन्दोलनमा उत्रिएका कर्मचारीहरूले खेदेपछि लुम्बिनी टेक्न नसकेका लुम्बिनी विकास कोषका सदस्य–सचिव अजितमान तामाङ चार दिनअघि विशेष सुरक्षा घेरासहित लुम्बिनी पुगेका छन् । कोषमा कार्यरत ज्यालादारी कर्मचारीहरूले आफ्नो राजीनामा माग्दै आमरण अनशनमा बसेपछि लुम्बिनी छाडेका तामाङले लामो समयदेखि काठमाडौंमा बस्दै र विदेशतिर घुम्दै बिताएका थिए ।
बुद्ध जयन्ती नजिकिँदै गएको हुँदा र कोषका अरू पदाधिकारीहरू पनि अनुपस्थित रहेपछि सदस्य–सचिव तामाङले सुरक्षा फौजको आडमा गएको आइतबार कोषको कार्यालय छिरेका थिए । उनलाई सशस्त्र प्रहरी बलले स्कर्टिङ गरेर कार्यालयमा पु¥याएका थिए । करिब दुई घण्टासम्म कोषको कार्यालयमा रहँदा तामाङलाई सशस्त्रले सुरक्षा दिएरै राखेको बताइन्छ । त्यसपछि भने उनी नर्सरीमा रहेको क्वार्टरमा गएका थिए ।
सदस्य–सचिव तामाङ सुरक्षासहित लुम्बिनी पुगे पनि अरू पदाधिकारीहरूको भने कुनै अत्तोपत्तो छैन । कोषका उपाध्यक्ष भिक्षु निग्रोध पनि लामो समयदेखि लुम्बिनी गएका छैनन् । प्रायः काठमाडौंमै बस्न रुचाउने निग्रोध अहिले पनि काठमाडौंमै बसिरहेका छन् । योजना अधिकृत इमानसिंह मोक्तान पनि गृहजिल्ला चितवनमै बसिरहेका छन् । उनी जिल्लामा चुनावी चहलपहलमा सामेल भएको बताइन्छ ।
यसरी नै कोषका प्रशासकीय अधिकृत चूडामणि भट्टराई भने मणिग्राममा रहेको आफ्नो स्टेसनरी पसलमै भेटिने गरेका छन् । उनी १५ दिनको लामो बिदा लिएर स्टेसनरी हेरेर बसेका छन् । अहिले विद्यालयको पाठ्यपुस्तक बेच्ने समय भएको हुँदा उनले नियमविपरीत लामो समय बिदा लिएर किताब बेच्दै बसेको बताइन्छ । कोषको नियमावलीअनुसार कुनै पनि कर्मचारी १५ दिनसम्म बिदामा बस्न पाइँदैन ।
प्रशासकीय अधिकृत भट्टराई कार्यालयमा अनुपस्थित भएपछि केही दिनअघि उनको कुर्सीमा ज्यालादारीमा काम गर्ने एकजना कर्मचारी बसेपछि अहिले लुम्बिनीभरि यो कुराले चर्चा पाएको छ । ती कर्मचारीलाई भट्टराईको कुुर्सीमा बसेको देखेपछि अरू कर्मचारीहरूले केरकार गरेका थिए । तर, ती कर्मचारीले हाँसेर टारेको बताइन्छ ।
यसैगरी, आगामी वैशाख २७ गते बुद्ध जयन्तीलाई कसरी मनाउने भन्ने विषयमा अहिलेसम्म कोषले कुनै निर्णय गरिसकेको छैन । गएको वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा बुद्ध जयन्ती मनाइएको थियो । तर, यसपालि भने बुद्ध जयन्ती मनाउने विषयमा कुनै छलफल नभएको बताइन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दिलनाथ गिरी नियुक्त भएपछि आगामी वैशाख ८ गते कोषको बैठक पहिलोपटक बस्न लागेको हुँदा उक्त बैठकले नै बुद्ध जयन्तीबारे केही टुंगो लगाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply