नेता–पुत्रकै कारण विमानस्थल ठप्प
काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच लेनदेनमा विवाद उत्पन्न भएपछि अहिले ठप्प छ । करिब ६ महिनादेखि नै सुस्त गतिमा रहेको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम रकम लेनदेनको विवादले तीव्र रूप लिएपछि ठप्प हुन पुगेको हो ।
विवादका कारण सो अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरी र राज्यमन्त्री परशुराम तामाङ केही दिनअघि भैरहवामा नै पुगेर चासो राखेका छन् । मन्त्री र राज्यमन्त्रीले निर्माण कार्य रोकिएको विमानस्थलका बारेमा बुझ्दा भने चिनियाँ कम्पनीबाट ठेक्का लिएर काम गर्ने नेपाली ठेकेदारकै बदमासी र लापरबाही छताछुल्ल हुन पुगेको थियो ।
सो विमानस्थलको निर्माणको काम पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल र भैरहवाकै राजु गुरुङ मिलेर लिएर थिए । उनीहरूले नेपाली निर्माण कम्पनी स्थापना गरेर विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनीसँग ठेक्का लिएका थिए । भैरहवामा रहेर ठेक्कापट्टाको सबै काम गुरुङले नै हेर्दै आएका थिए । तर, नेपाली ठेकेदारले निर्माणका लागि चाहिने सामानहरू भने स्थानीय निर्माण कम्पनीहरूबाट उधारोमा लिए । नेपाली ठेकेदारले चिनियाँ कम्पनीसँग रकम लिए पनि आफूले सामान लिएको ठाउँमा तिर्नेतिर तत्परता नदेखाएपछि समस्या उत्पन्न हुन पुगेको थियो ।
चिनियाँ कम्पनीबाट सबै रकम लिए पनि निर्माण सामग्री सप्लाई गर्ने स्थानीय फर्महरूलाई रकम भुक्तानी गर्नेतिर खनाल र गुरुङले चासो नदेखाएपछि पीडितहरूले चिनियाँ कम्पनीसँग सिधै कुराकानी राखेका थिए । तर, चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिले भने, ‘हामीले दिनुपर्ने सबै रकम दिइसकेका छौं, उनीहरूबाटै लिनू’ भनेपछि स्थानीय फर्महरू छाँगाबाट खसेजस्तै भएका थिए । नेपाली ठेकेदारले स्थानीय निर्माण सामग्री सप्लाई गर्ने फार्म, पेट्रोलपम्पहरूलाई करोडौं रुपैयाँ तिर्नुपर्ने देखिएको बताइन्छ ।
सन् २०१८ मा सिध्याउनुपर्ने उक्त विमानस्थलको निर्माण कार्य अब समयमै सकिने सम्भावना कम हुँदै गएको छ । तर, चिनियाँ कम्पनीले भने मन्त्री र राज्यमन्त्रीसामु भने नेपाली ठेकेदारलाई नदिईकनै अब आफैंले काम गर्ने जानकारी गराएको बताइन्छ ।
यसैबीच, सो अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्न आएका मन्त्री गिरी र राज्यमन्त्री तामाङले लुम्बिनीको पनि निरीक्षण गरेका थिए । लुम्बिनी क्षेत्रभित्र जथाभावी रूपमा फोहोर फ्याँकिएको देख्दा र ठाउँ–ठाउँमा पर्खालहरू पनि फोडिएको देख्दा मन्त्रीले लुम्बिनी विकास कोषका पदाधिकारीहरूलाई झपारेका थिए । मन्त्रीले पदाधिकारीहरूलाई ‘तपार्इंहरूले केही कामै गर्नुभएन, लुम्बिनीलाई लुट्ने काम मात्रै गर्नुभयो’ भनी तीतो पोखेका थिए ।
मन्त्री र राज्यमन्त्री लुम्बिनी आउने भएपछि काठमाडौंमै रहेका उपाध्यक्ष भिक्षु निग्रोध पनि लुम्बिनी पुगेका थिए । सदस्य–सचिव अजितमान तामाङ भने केही दिनअघि नै लुम्बिनी पुगिसकेका थिए । योजना प्रमुख इमानसिंह मोक्तान भने मन्त्री र राज्यमन्त्री आएका दिन लुम्बिनीमा देखा परे पनि भोलिपल्ट नै आफ्नो गृह जिल्ला चितवनतिर लागेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply