19th September 2017, Tuesday

E-budhabar

किन र कस्तो स्ववियु ?



विद्यार्थी आन्दोलन, स्ववियु निर्वाचन र शैक्षिक गुणस्तरकाबीच आपसमा अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ । तर, जयतु संस्कृतम्को नाराबाट सुरु भएको नेपाली विद्यार्थी आन्दोलनमा यतिबेला ती एजेन्डाहरूले महŒव पाएका छैनन् ।
विद्यार्थी आन्दोलनको सूत्रपात गर्दा त्यसमा शैक्षिक गुणस्तर अझ भनौं शैक्षिक मुद्दाको परिकल्पना पनि गरिएको थियो । जहानियाँ राणा शासनको अन्त्य गर्नु त्यसको मूल ध्येय थियो । अर्थात्, विद्यार्थी आन्दोलनको सुरुवात राजनीतिक उद्देश्य प्राप्तिका लागि भएको थियो । जसमा शैक्षिक एजेन्डाले पनि उच्च प्राथमिकता पाएका थिए । त्यसकै बलमा बलमा नेपाली जनताले २००७ सालमा प्रजातन्त्र नामको उपलब्धि पाए । २०१७ सालमा महेन्द्रले ‘कु’ गरेर प्रजातन्त्रको चिरहरण गरेपछि पुनः विद्यार्थी आन्दोलन सुरु भयो । त्यसले विश्वविद्यालय र क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिकल्पना ग¥यो । पञ्चायती शासकहरूको अनिच्छाका बाबजुद विद्यार्थी संगठनहरूले क्याम्पसहरूमा स्ववियु निर्वाचन गरे । बिस्तारै त्यसलाई विश्वविद्यालयले मान्यता दियो । स्ववियुमार्फत निरंकुश पञ्चायत शासनका क्रममा पनि स्ववियुको मञ्च प्रयोग गर्दै प्रजातन्त्रको अभ्यास गरियो । प्रजातन्त्र पुनः प्राप्तिको आन्दोलनको तयारीका लागि स्ववियुको मञ्चलाई नै प्रयोग गरियो । राजनीतिक दलहरू प्रतिबन्धित रहेकाले स्ववियुकै मञ्चमार्फत दलीय गतिविधिहरू सञ्चालन गरिए । अर्थात्, स्वतन्त्र विद्यार्थी युनियनको परिकल्पना र गठन राजनीतिक तथा शैक्षिक उद्देश्य प्राप्तिका लागि थियो । स्ववियुमार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्नेभन्दा पनि राजनीतिक स्वतन्त्रता प्राप्तिको उद्देश्यमै त्यो सीमित थियो । तर, त्यसको जग भने शैक्षिक उन्नयन पनि थियो नै ।
ज्ञानेन्द्र शाहले ‘कु’ गर्दा पनि त्यसका विरुद्ध स्वतन्त्र विद्यार्थी युनियनको मञ्चमार्फत नै त्यसको विरोध सुरु भएको थियो । विद्यार्थी आन्दोलनको प्रादुर्भाव र स्ववियुको गठन तथा निरन्तरतासँग शैक्षिक मुद्दाको अन्योन्याश्रित सम्बन्ध छ । इतिहासका हरेक पाना पल्टाउँदा विद्यार्थी आन्दोलन र स्ववियुहरू राजनीतिक मञ्च र शैक्षिक एजेन्डा उठानका केन्द्रका रूपमा उपयोग हुँदै आएका छन् । यद्यपि, यसले अपेक्षाकृत रूपमा शैक्षिक एजेन्डालाई कार्यान्वयन गराउन भने चुकिरहेको अवस्था थियो ।
अहिले विद्यार्थी राजनीतिकै कारण सरकारी क्याम्पसहरूमा शैक्षिक गुणस्तर खस्किएको आरोपसमेत लाग्दै आएको छ । स्ववियुलाई सत्ताका रूपमा प्रयोग गरिएको, चरम आर्थिक अनियमिता हुने गरेकोलगायतका संंगीन आरोपबाट स्ववियु मुक्त हुन सकेको छैन । विद्यार्थी संगठनहरू भन्नेबित्तिकै हेय भावले हेर्ने परिपाटीको विकास भइरहेको छ । इतिहासमा शैक्षिक एजेन्डालाई मूलमन्त्र नबनाएकोे स्ववियुले यसपालिको निर्वाचनमार्फत नयाँ इतिहासको सूत्रपात गर्नु आवश्यक छ । शिक्षामा कसरी गुणस्तर भर्न सकिन्छ ? शिक्षामा कसरी माटो सुहाउने ज्ञान भर्न सकिन्छ ? कसरी विश्व बजारमा बिक्न सक्ने बनाउन सकिन्छ ? कसरी हाम्रो शिक्षा प्रणालीलाई उत्पादनसँग जोड्न सकिन्छ ? भनेर स्ववियु निर्वाचनपूर्व नै ठोस बहस चलाउनु आवश्यक छ । राजनीतिक आन्दोलनका क्रमहरू करिब–करिब समाप्त भएकाले पनि अब विद्यार्थी संगठन र स्ववियुका मञ्चहरूले इतिहासमा कहिल्यै नगरेको काम गर्नु आवश्यक छ । सधैं पार्टीको झन्डा बोक्ने, राजनीतिक गलफती गर्नेहरूले अब शिक्षामा प्राण भर्ने योजना अघि सार्नु आवश्यक छ । स्ववियुको असली पुनःसंरचना गर्नुपर्छ । त्रिभुवन विश्वविद्यालयको साख जोगाउन र सरकारी क्याम्पसहरूप्रति विद्यार्थीहरूको आकर्षण बढाउनका लागि स्ववियुको मञ्चले अधिकतम काम गर्न सक्छ र गर्नु पनि पर्छ । क्रमशः धाराशायी बन्दै गएका सरकारी शैक्षिक सस्ंथाहरूको सशक्तीकरण र गुणस्तर अभिवृद्धिका लागि पनि युनियनले काम गर्नुपर्छ ।
सरकारी शैक्षिक संस्थाहरू धाराशायी हुँदै जाने र निजी संस्थाहरू फस्टाउने परिपाटीको अन्त्य आवश्यक छ । सरकारी क्याम्पसका प्राध्यापकहरूले निजी कलेज सञ्चालन गरिरहेका छन् । सरकारी क्याम्पसको लोगो भजाएर आफ्नो व्यापार मात्रै फस्टाउन तल्लीन प्राध्यापकहरूमाथि स्ववियुले निगरानी गर्नुपर्छ । सुस्त प्रशासनलाई चुस्तदुरुस्त बनाउनुपर्छ । प्राथमिक तहदेखि नै सरकारी शैक्षिक संस्थाहरूको गुणस्तर अभिवृद्धिका लागि विद्यार्थी संगठनहरूले गतिविधि सञ्चालन गर्नुपर्छ । जहाँ शैक्षिक संस्था त्यहाँ विद्यार्थी संगठन तथा स्ववियु अनि जहाँ विद्यार्थी संगठन र स्ववियु त्यहाँ गुणस्तरीय र सुलभ शिक्षा भन्ने नारा तय गरेर काम अघि बढाउनुपर्छ ।
खालि इतिहास भजाएर सुनौलो भविष्यको असम्भव कल्पनामा डुब्न छाडेर इतिहासको निर्मम समीक्षामार्फत विद्यार्थी आन्दोलन अघि बढ्न सक्नुपर्छ । इतिहासमा पनि कहिल्यै नगरेको कामको बखान गर्न तत्कालै छाड्नुपर्छ । अब नयाँ शिराबाट गतिशील विद्यार्थी आन्दोलन र शैक्षिक गुणस्तर अभिवृद्धिमा दिलोज्यान दिएर लागिपर्ने स्ववियुको संरचना निर्माण अपरिहार्य बनिसकेको छ । हामीले अब साँचो अर्थमा नयाँ स्ववियुको निर्माण गर्ने अभियान सञ्चालन गर्नु आवश्यक छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा