14th August 2018, Tuesday

E-budhabar

नौनी पगाल्ने प्रयत्न



नौनी पगाल्ने प्रयत्न

केही दशकयता पत्रकारिता क्षेत्रमा क्रियाशील मोहन मैनाली समाज नियाल्ने अध्येतासमेत हुन् । खासगरी, नेपालको हिमाली र कर्णाली प्रदेशका जनजीवनलाई नजिकबाट छामेका मैनाली पत्रकारिताका लागि आवश्यक कच्चा पदार्थहरू खोज्न ती थलोहरूमा पुग्दा बटुलेका अनुभवलाई साहित्यिक कलेवर दिएर लेख्न पनि उत्तिकै रुचाउँछन् । तर, उनी आफ्नो लेखनलाई ‘गैरआख्यान’ भन्न चाहन्छन् । ‘उपल्लो थलो’ र ‘मान्ठा हराएको जुग’जस्ता दुई गैरआख्यान ल्याइसकेका मैनालीले तेस्रो कोसेलीका रूपमा ‘देखेको देश’ ल्याएका छन्, जसमा उनले नेपाल घुमाइका अनुभूतिहरूलाई शब्दबद्ध गर्नुका साथै आफ्ना गहकिला अनुभवहरूलाई समेत सुधी पाठकसामु बाँडचुँड गर्ने उदारता देखाएका छन् ।
देशका गह्रागह्रामा पाइला टेक्दा बटुलेका अनुभव त उनले बिसाएका छन् नै, आफ्नो जीवनका निजी पाटाहरूदेखि कुनै समारोहमा आफूले दिएको मन्तव्यलाई समेत किताबमा राख्ने घृष्टता गरेका छन् । हाम्रो परिवेश, हाम्रो वातावरण, हाम्रो विकास, हाम्रा शासक, हाम्रा किताब, हाम्रो समाज, हामीले भोगेको हिंसा र हाम्रो पत्रकारिताजस्ता अनेक विषयवस्तुमा छिरल्लिएको हुँदा ‘देखेको देश’ले दिने स्वाद खिचडीकोशशजस्तो लाग्छ । कुनै एउटै चिजको मौलिक स्वाद लिन पाइँदैन । तर, स्वाद मौलिक नभए पनि उनले वितरण गर्ने ज्ञान भने मौलिक र मीठास लाग्छन् ।
नेपालभित्र मात्र होइन, भुटानको यात्रा गर्ने क्रममा उब्जिएका अनुभूतिलाई पनि उनले उतारेका छन् । लेख्छन्, ‘सगरमाथा क्षेत्रको हिउँको थुप्रो देख्दा मलाई खुल्दुली लाग्यो– २,४०० किलोमिटर लामो हिमालयमा कति टन हिउँ थुप्रिएको होला ? यसले कति टनको एअरकन्डिसनरको जति चिसो दिँदो होला ? यो हिउँ नहुने हो भने हामीले कति गर्मी खप्नुपथ्र्यो होला ?’ वातावरण पत्रकारितामा पनि दख्खल राख्ने मैनालीले विकास र सम्पन्नताको प्रतिक मानिने बाटाहरू बनाउने क्रममा संग्लो पहाडी भूभागमा जथाभावी एक्जाभेटर चलाउँदा त्यसले निम्त्याएको प्राकृतिक विपत्तिप्रति तीव्र चासो राखेका छन् । त्यस्तै, गुराँसको राजधानी मानिने तेहथुमका जंगली इलाकाहरूमा स्थानीयबासीले गुराँसको रुख काट्दा देखिएको विनाशप्रति पनि उनी सजग देखिन्छन् । सुझाव दिँदै भन्छन्, ‘यति राम्रो गुराँसको जंगल संसारमा कहीँ पनि बाँकी छैन । नकाटीकन, नटिपीकन बेच्दा अर्थात् पर्यटकलाई देखाउँदा यसले जंगलले कालान्तरसम्म अथाह पैसा दिइरहन्थ्यो । तर, काटेर र अगेनामा बालेर यो जंगल मासिँदै छ ।’
स्रोत–साधनले भरिपूर्ण काठमाडौंका विद्यालयहरूमा अध्ययन गरेका विद्यार्थी र दूरदराजका गाउँमा अध्ययन गरेका विद्यार्थीबीचको अन्तररेखा कोट्याउन पनि उनी इच्छुक देखिएका छन् । लेख्छन्, ‘बूढानीलकण्ठ स्कुल र मेरो स्कुल बसेको ठाउँका बीच पनि आकाश–पातालको अन्तर थियो । बूढानीलकण्ठ स्कुल त्यति बेलाको शक्तिको केन्द्र राजदरबारबाट १० किलोमिटर पनि टाढा छैन । मैले पढेका बेला मेरो स्कुलबाट नजिकको मोटर पुगेको बजार धरान आइपुग्न चार÷पाँच दिन पैदल हिँड्नुपथ्र्यो ।’ मूलतः मैनालीले ‘देखेको देश’ मा विकासका नाममा भित्रिइरहेको विनाशका कथा लेखेका छन्, शासकहरूका प्रवृत्ति र राजनीतिक दलका नियतहरूका सार खिचेका छन्, दशकौंअघिको नेपाललाई चिनाउने वृत्तचित्रहरूका बयान कोरेका छन्, पुस्तक–संसारमा हराउँदाका अनुभूतिहरू पस्किएका छन् । आफ्ना जीवनानुभवबाट खारिएका नौनीलाई पगालेर मग्मगाउँदो र स्वादिलो घ्यु बनाउने प्रयत्न गरेका छन् ।
कृति ः देखेको देश
विधा ः गैरआख्यान
लेखक ः मोहन मैनाली
प्रकाशक ः बुकहिल
पृष्ठ ः ३६७
मूल्य ः ४००।–

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरकारको बाटोमा अदालतको तगारो

काठमाडौं । दुई तिहाइ बहुमत प्राप्त स्थिर सरकारलाई आफ्नो ढंगले काम गर्न अदालतले पटकपटक तगारो लगाएको छ । अघिल्लो सरकारले राजनीतिक आस्थाका आधारमा जाँदा जाँदै गरेका नियुक्तिहरू- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

साउने प्रतिज्ञा

हरेक दिन दाह्री–जुँगा मिलाएर हिँड्ने एकजना साथी दाह्री–जुँगा पालेको अवस्था देखेपछि प्रश्न गर्न मन लाग्यो, ‘दाह्री–जुँगा पाल्न थाल्नुभएछ नि, किन यस्तो विरूप हो ?’ ती साथीले जवाफ- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समस्याको उठान

देश, समाज र परिवारभित्र दैनन्दिन रूपमा अनेक घटनाहरू जन्मिरहेका हुन्छन् । निश्चय नै, त्यस्ता घटनाहरूले मानिसको जीवनमा सानाठूला प्रभाव पार्दछन् । कुनै घटनाको प्रभाव क्षणिक हुन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा