14th August 2018, Tuesday

E-budhabar

परिवेशको जीवन्त बयान



परिवेशको जीवन्त बयान

नयाँ भूमिमा पाइला टेक्दा हरेक मानिसमा नौलानौला तरंग र अनुभूति जन्मिनु स्वाभाविकै हो । मानिस, स्वभावैले नयाँ ठाउँमा विचरण गर्न उत्साहित हुन्छन्, नयाँ ठाउँको प्राकृतिक सौन्दर्य, जनजीवन र सांस्कृतिक–प्राकृतिक सम्पदाहरू देखेर मुग्ध हुन्छन् । भूगोलको एउटा कुनादेखि अर्को कुनासम्म पुगेर मानिसले यात्राका स्वादहरू लिँदै आएका छन् ।
हरेक दिन विश्वका लाखौं मानिसले नयाँ नौलो भूभागमा पाइला टेकिरहेका हुन्छन् र मुग्ध बनिरहेका हुन्छन् । तर, सीमित मानिसले मात्र आफ्नो यात्रालाई शब्दमा बयान गर्न चाहन्छन् । लेखन क्षमता भएका मानिसले मात्र आफ्नो यात्रा विवरणलाई भाषाको टेको दिन सक्छन् । साहित्य सर्जक इल्या भट्टराईले देशदेशान्तरमा घुम्दा बटुलेका अनुभूतिलाई गहिराइसम्मै पुगेर सुलतित भाषाशैलीमार्फत पस्किँदै आइरहेकी छन् । ‘म साँच्चीकै हराइछु’ उनको नयाँ यात्रा अनुभूति हो । यसअघि उनका लफबराको वरिपरि र युरोप नौलो परिवेशजस्ता दुई यात्रा अनुभूति सँगालिएका पुस्तक सार्वजनिक भइसकेका छन् ।
सन् २००६ मा दोस्रोपटक बेलायत पुगेकी भट्टराईले बेलायतका रमणीय थलोहरूमा घुम्दाताकाका अनुभूतिलाई यो पुस्तकमा एकएकगरी बिसाएकी छन् । पतिसँगै बेलायत पुगेकी लेखिकाले पति काठमाडौं फर्किए पनि बेलायत घुम्ने धोको पूरा नहुँदा केही समय उतै बस्छिन् । बेलायतमा रहेकी छोरीको सान्निध्यमा रहेर उनी अघाउजी घुमफिर गर्छिन् । लन्डनका रमणीय स्थानहरूमा एक्लै घुम्दा रात छिप्पिएको समेत पत्तो पाउँदिनन् उनी । छोरीले फोन गरेर सम्झाएपछि मात्र लन्डनको भव्यताभित्र आफू हराउन पुगेकी महसुस गर्न पुग्छिन् ।
कुनै पनि यात्रा सर्जकको लेखनको विशेषता र क्षमता केमा दर्सिन्छ भने आफूले टेकेको र देखेका भूदृश्यहरूलाई उसले कसरी व्यक्त गरेका छन् ? लेखिका भट्टराईमा भने आँखाले ठम्याएका हरेक दृश्यावलीलाई सुन्दर र मोहक शब्दहरूमा पस्किने क्षमता प्रचुर मात्रामा देखिन्छन् । उनी लेख्छिन्, ‘मगमगाउँदो आनन्दी साँझ यहाँको वातावरणमा छरिएको छ । यहाँ उभिएका रूखहरू पनि यस्तो मनोहारी साँझको अँगालोमा मग्न भएर बिस्तारै हल्लिँदै छन् । आफूछेउ आएकाहरूलाई सियाल दिइरहेका छन् । उभिएरै पातको पंखा हम्किँदै सबैलाई शीतल पार्दै छन् । एक जोडी परेवा उड्दै त्यहीँ आइपुगेका छन् ।’
लन्डन बसाइँ र घुमाइका क्रममा उनी त्यहाँका प्रायः सबैजसो विश्वविख्यात ब्रिटिस म्युजियम, साइन्स संग्रहालय, प्रख्यात विश्वविद्यालयहरूका साथै म्याडम टुसाजस्ता धेरै पर्यटकको आकर्षणको केन्द्रबिन्दुमा पुग्छिन् । उनले जुनजुन ठाउँमा पाइला टेकेकी हुन्छिन्, ती ठाउँ र परिवेशको जीवन्त बयान गर्न उनी छुटाउदिनन् । त्यसो त उनको यात्रा अनुभूति सपाट बयानबाजीमा मात्र सीमित छैन, त्यसमा गहन र रचनात्मक साहित्य भावसमेत घोलिएका हुन्छन् । एउटा वाक्यांस हेरौं, ‘म लन्डनमा छु । अनि लन्डन पनि विस्तारै ममा प्रवेश गर्दैछ । म लन्डनलाई चिन्न खोज्दैछु । लन्डन पनि विभिन्न कोणबाट आफूलाई मसँग परिचित गराउन आतुर छ । त्यसैले त सिंगो लन्डन मेरो अगाडि हात फैलाएर मलाई अँगाल्न बोलाउँदै छ ।’
कृति ः म साँच्चीकै हराइछु
विधा ः नियात्रा
नियात्राकार ः इल्या भट्टराई
प्रकाशक ः अक्सफोर्ड पब्लिकेसन
पृष्ठ ः १५४
मूल्य ः २२५।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरकारको बाटोमा अदालतको तगारो

काठमाडौं । दुई तिहाइ बहुमत प्राप्त स्थिर सरकारलाई आफ्नो ढंगले काम गर्न अदालतले पटकपटक तगारो लगाएको छ । अघिल्लो सरकारले राजनीतिक आस्थाका आधारमा जाँदा जाँदै गरेका नियुक्तिहरू- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

साउने प्रतिज्ञा

हरेक दिन दाह्री–जुँगा मिलाएर हिँड्ने एकजना साथी दाह्री–जुँगा पालेको अवस्था देखेपछि प्रश्न गर्न मन लाग्यो, ‘दाह्री–जुँगा पाल्न थाल्नुभएछ नि, किन यस्तो विरूप हो ?’ ती साथीले जवाफ- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समस्याको उठान

देश, समाज र परिवारभित्र दैनन्दिन रूपमा अनेक घटनाहरू जन्मिरहेका हुन्छन् । निश्चय नै, त्यस्ता घटनाहरूले मानिसको जीवनमा सानाठूला प्रभाव पार्दछन् । कुनै घटनाको प्रभाव क्षणिक हुन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा