19th September 2017, Tuesday

E-budhabar

मान्छेका कथा



मान्छेका कथा

युवा स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ को निबन्धहरूले आजका मानिसहरूका निर्मम मानसिकताको सटीक, तीक्ष्ण र सूक्ष्म रेखांकन गर्ने क्षमता राख्छन् । विदितै छ, आधुनिकताको बढ्दो उपस्थिति र चलखेलले सामाजिक, पारिवारिक, सांस्कृतिक हरेक तह र संरचनालाई बिथोलिरहेको छ र नैतिक मूल्य र मान्यताहरू स्खलित हुने प्रक्रिया पनि तीव्र छ । र, वर्तमान पुस्ताका जल्दाबल्दा सर्जक रोदनका निबन्धहरू मानिसका विचार, व्यवहार र चरित्रहरूमा आएका परिवर्तन र त्यसले निम्त्याएका समस्याहरूलाई केलाउने प्रयत्नमा अग्रसर देखिन्छन् ।
‘भनौं कि नभनौं’ नयाँ निबन्ध कृति ल्याएका रोदनले सोही निबन्धमा सामाजिक र व्यक्तिगत रूपमा उठ्ने गरेका नैतिक सवालहरूप्रति औंला उठाएका छन् । निश्चय नै आजको समाज निकै जटिल र दुर्बोध्य छ र झन्झन् जटिल बन्दै गइरहेको छ । पुँजीवादी आधुनिकताको चंगुलमा फसेको समाज, परिवार र व्यक्तिहरूमा व्यक्तिवादी प्रवृत्ति र मोहले जह्रा गाड्दै गइरहेको छ । आफ्नो निहित स्वार्थ, सीमित उद्देश्य र व्यक्तिगत अपेक्षाहरू पूरा गर्ने होडबाजीमा मानिसभित्रका ‘मनुष्यपन’ क्रमशः विलीन हुँदै गइरहेका छन् । रोदनले निबन्ध–लेखनमार्फत मानिसहरूमा व्याप्त स्वार्थ, लालच, संवेदनहीनता, सुखसयलको जिन्दगीप्रति तीव्र मोहजस्ता पक्षहरूलाई छाँट्ने काम गरेका छन् ।
रोदनका हरेकजसो निबन्धहरू मान्छेकै कथा गुन्गुनाउन रुचाउँछन् । टर्कीको विमानस्थलमा केही समय गुजार्दा मानिसहरूमा व्याप्त दौडधुप, असहयोगी भावना, अरूप्रति दर्साइरहेको बेवास्ताजस्ता पक्षहरूलाई उनले ‘कहाँ देख्नु आफैंलाई’ रचनामार्फत उजिल्याउन चाहेका छन् । संसारका जुनसुकै कुनामा बसे पनि आखिर मानिस भनेका मानिस नै हुन् । तर, मानिसहरूमा हराउँदै गएको अपनत्वपन, पराई भावना र स्वार्थी मनोवृत्तिलाई उनले एउटा विमानस्थलमा बस्दा टिपेका छन्, सहजै । त्यसो त, यात्रा–अनुभूतिलाई पनि उनले निबन्ध लेखनको विषय बनाएका छन् । यसबाहेक ‘नर्थ ब्रिजका नौरंगी दिनहरू’, ‘क्याम्ब्रिजको फुर्सद’, ‘आफ्नो भनेको आफ्नै’ र ‘सेन्टजोका डेबिट’ विदेशी भूमिमा विचरण गर्दा उत्पन्न भएका अनुभूतिहरू हुन् रोदनका । अरूका निम्ति सामान्य लाग्ने क्षण वा घटना–सन्दर्भलाई निबन्धको धागोमा उन्ने खुबी उनका यी निबन्धहरूमा देखिन्छन् ।
जीवनका आफ्ना आदर्श व्यक्तित्वको अवसान हुँदा त्यसले कसलाई पो नरन्थन्याउला र ? रोदनले पनि प्रसिद्ध साहित्यकार कृष्णचन्द्रसिंह प्रधानको दुःखद अवसानबाट उत्पन्न पीडालाई मार्मिक रूपले पस्किएका छन् । ‘जित्ने कृष्णचन्द्र’ मा उनी एक स्रष्टाको अवसानले यति पिरोलिएका छन्, त्यही पिरलोका अंश–अंश यो निबन्धमा छताछुल्लै भएका छन्, ‘जित तपार्इंकै भयो । बधाई छ कृष्णचन्द्र दाइ । जित सगरमाथाजत्तिकै सत्य छ । यत्ति हो कि बयासी सालको नागपञ्चमीको दिन खुलेको क्यालेन्डर फेरिफेरि पल्टिरहनुपर्दैन अब । क्यालेन्डरमा सत्र जेठ सतसट्ठीको टाँचा लागेर बन्द भएको छ ।’ त्यस्तै, अर्का सर्जक राममणि रिसालको अवसानमा ‘आँसुको अक्षरमा’ र डा. बिहारीकृष्ण श्रेष्ठको स्मृतिमा ‘बीउ रोप्ने डाक्टरसाप’ र क्याप्टेन जनकबहादुर राणालाई सम्झिएर लेखिएको ‘क्याप्टेनका कलम’ जस्ता निबन्ध समाजमा आफ्नै तवरले, आफ्नै क्षेत्रमा योगदान दिएका व्यक्तिहरूप्रति स्तुत्य–गान गाउन सक्षम छन् ।
अन्ततः रोदनको निबन्ध लेखनको विशिष्टता केमा झल्किन्छ भने, उनी आफूभित्र गढेर बसेका अनुभव, अनुभूति र भावनाका खिलहरूलाई व्यञ्जनामूलक संकेत शैलीमा रोचक र पारदर्शी रूपले कोट्याउन चाहन्छन् । ताकि, खिल निकालेपछिका आनन्द र हर्षविभोरता पाठकहरूले पनि सहजै महसुस गर्न सकून् ।
कृति ः भनौं कि नभनौं
विधा ः निबन्ध
निबन्धकार ः श्रीओम श्रेष्ठ ‘रोदन’
प्रकाशक ः तन्नेरी प्रकाशन
पृष्ठ ः १२२

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा