19th September 2017, Tuesday

E-budhabar

वैचारिक ऊर्जा



वैचारिक ऊर्जा

पछिल्लो समय प्रगतिशील कथा लेखनमा निरन्तर लागिपर्ने स्रष्टामा रोहित दहाल गनिन्छन् । प्रगतिशील मूल्य, मान्यता र चेतले भरिपूर्ण कथा लेख्ने सर्जकहरूको लहरमा पर्ने दहालले समाजका विभिन्न अंगमा व्याप्त विकृतिजन्य पक्षहरूलाई लेखनमार्फत नै बाघझाप्पु हान्दै आएका छन् । उनमा सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रका सूक्ष्मतम पक्षहरूमा चिराचिरा केलाउँदै त्यसलाई समृद्ध कथातŒवले सजिसजाउ बनाउने खुबी व्याप्त छ । दहालको दोस्रो कथाकृति ‘पैंतालाले थिचेको देउता’मा समाजमा आइरहेको ह्रास एवं मूल्य–मान्यताहरूको बढ्दो विघटनबारे उजागर गर्ने कथाहरूको बाहुल्य छ । उनको पहिलो कथासंग्रह ‘इस्पातले बनेका मान्छेहरू’ करिब दुई दशकअघि नै प्रकाशनमा आएको थियो ।
समीक्ष्य कथाकृतिको कथा ‘पिँजडा र सुगा’ले प्रकृतिमा हरेक प्राणीको समान अधिकार छ भन्ने यथार्थलाई जीवित राख्न खोजिएको छ । हुन पनि हावा, पानी, भूमिलगायत प्रकृतिका हरेक चिजमा सबै प्राणीको समान अधिकार रहे पनि मानिसले भने युगौंदेखि आफ्नो प्रभुत्व र शासन जमाउँदै आयो । यो क्रम अहिलेसम्म चलिरहेको छ । यो कथामा मानिसले अरू प्राणीमाथि गर्ने दुव्र्यवहारको तह कतिसम्म माथि छ भन्ने कुरा एकजना सामन्ती चरित्र बोेकेका मानिसमार्फत देखाउन खोजिएको छ ।
पुँजीवादले हरेकलाई ‘वस्तु’मा परिवर्तित तुल्याइदियो । नारीलाई पनि एउटा वस्तुकै रूपमा हेर्दछ पुँजीवादले । नारीको बौद्धिक विकासमा टेवा पुग्ने भनेर फलाक्ने गरिएको सुन्दरी प्रतियोगिताको सम्पूर्ण रहस्य नारीको अंग प्रदर्शनमै गएर टुंगिन्छ । ‘अब ऊ मिसब्युटी हैन रे’ कथामा बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उत्पादनलाई बेच्न सुन्दरी प्रतियोगिताका विजेता नारीलाई कसरी प्रयोग गर्छन् भन्ने कुरा स्पष्ट देखाइएको छ । नारी सुन्दरताको वकालत गर्दै उत्पादनहरूमा नारीलाई नंग्याउने प्रवृत्ति कसरी मौलाइरहेको छ र बहुराष्ट्रिय कम्पनीहरूले यस्ता कार्यमा कसरी बाजी मारिरहेका छन् भन्ने सजीव बयान यो कथामा पाइन्छ ।
इमान बेच्ने र सिद्धान्तलाई पैतालामुनि दबाउने पात्रहरूको हामीकहाँ कमी छैन । निष्ठामा अडिनुभन्दा अवसरलाई पछ्याउने कार्यमा अधिकांशको दौडधुप चलिरहेको समयमा इमानदारीमा टिक्ने पात्र पनि छन् भन्ने देखाउन ‘मुकुन्दमान अर्थात् मुर्ख मान्छे’ कथा सक्षम देखिएको छ । सामान्य मजदुरी गरेर आफ्नो परिवार पालिरहेका मुकुन्दमान यस्ता व्यक्ति हुन्, जसले जीवनमा कहिल्यै सम्झौता गर्न जानेनन् । अरूका गुलिया आश्वासनमा भुल्न चाहेनन् र आफ्नो इमान र निष्ठालाई खरिद गर्न खोज्नेहरूसामु झुक्न मानेनन् । ‘फेरि अर्को अवतार’ भने धर्मको नाम र आडमा फस्टाइरहेको व्यापारप्रति चिरफार गरिएको कथा हो । नेपाली जनताको न्यून चेतना स्तरको फाइदा उठाउँदै धार्मिक पण्डाहरूले कसरी ठगिरहेका छन् ? धर्मको खेती गरेर मानिसहरूलाई कसरी मुर्ख बनाइरहेका छन् ? यही पक्षलाई उतार्दै त्यस्ता धार्मिक पण्डाविरुद्ध युवाहरूको जागरुकता बढेको कुरा यो कथामा देखाउन खोजिएको छ ।
‘बदलिएको मन’ प्रेममा असफल भएर आत्महत्या गर्ने तहसम्म पुगेका एकजना युवामा आएको परिवर्तन दर्साउने कथा हो । नेपाली समाज जातीय विभेदको बाक्लो चपेटामा छ । जातीय विभेदले प्रेमको रंगीन संसारमा रमाउन चाहनेहरूलाई छेकबार हालिदिएको यथार्थ पाटोलाई लुकाउन सकिँदैन । यो आफ्नी प्रेमिकासँग वैवाहिक सम्बन्ध कायम हुन नसकेपछि आत्महत्याको बाटो रोजेका एक युवालाई जीवनको महŒवबोध गराउन सफल एक शिक्षकको प्रयत्नलाई प्राथमिकतामा राखेर लेखिएको कथा हो ।
‘पैंतालाले थिचेको देउता’भित्रका अधिकांश कथा मानवीय संवेदना एवं जीवनको यथार्थलाई प्रगतिशील कोणबाट हेर्ने प्रयासमा केन्द्रित छन् । मूल्यहरूमा आइरहेको परिवर्तन, संवेदनहीनता, दम्भ एवं पाखण्डले भरिपूर्ण जीवन बाँच्नेहरूको भित्री रहस्य खोतल्न पनि उनका कथाहरू सक्षम देखिएका छन् । र, यत्ति भन्नैपर्ने हुन्छ, दहालका कथाहरूमा उनका सकारात्मक दृष्टि, वैचारिक ऊर्जा र गहन संवेदनशीलता मुखरित भएका छन् ।
कृति ः पैंतालाले थिचेको देउता
विधा ः कथा
कथाकार ः रोहित दहाल
प्रकाशक ः प्रगतिशील लेखक संघ, नेपाल
पृष्ठ ः १९२
मूल्य ः २५०।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा