21st May 2018, Monday

E-budhabar

हस्ताक्षरसँगै विचार



हस्ताक्षरसँगै विचार

२०२५ साल भदौ १ गते नेपाली साहित्यका शक्तिशाली हस्ताक्षर पारिजातले लेखिन्, ‘तपाईले यो कागज मतिर बढाउन साथ म यसप्रति ज्यादै सचेत भइरहेकी छु । मभित्र आफ्ना पाराका स्थितिहरु सबै मरिसकेका छन् । तसर्थ, यस्तो बेला जे लेखि दिए नक्कली र झूठ हुन जान्छ । म आफूलाई यहाँ निकै रित्तो पेश गरिरहेकी छु ।’
साहित्य–सर्जक डा. कविताराम श्रेष्ठले सोही वर्ष अर्थात् २०२५ सालदेखि एउटा अभियान थाले । त्यो थियो, नेपाली साहित्यका दिग्गज हस्ताक्षरहरुका हस्ताक्षर संकलन गर्ने । शैलेन्द्र साकार र गणेश रसिकको हस्ताक्षरयुक्त विचार र भावना लिएपछि प्रारम्भ भएको उनको हस्ताक्षर–संकलन अभियान ०६१ सालसम्मै तन्कियो । ३६ वर्षका दौरानमा उनले १ सय २७ जना प्रख्यात साहित्य–सर्जकहरुका हस्ताक्षर बटुले । तिनै हस्ताक्षरहरुलाई उनले भर्खरै पुस्तकाकारका रुपमा ल्याएका छन्– ‘१२७ हस्ताक्षर’ ।
बीसको दशकमा शंकर लामिछानेको प्रसिद्धि चम्किएको थियो । पारिजातकृत ‘शिरिषको फूल’ मा दमदार भूमिका लेखेपछि लामिछानेको लेखन–क्षितिज झनै फराकिलो भयो । तिनै प्रसिद्धिका समयमा डा. श्रेष्ठले लामिछानेको भावनालाई यसरी टिप्न भ्याएका थिए, ‘जीवनको परिभाषा फेरि नयाँ ढंगबाट गर्नु पर्नेछ । कुनै दिन समयले हामीलाई फेरि मुखाभिमुख गरिदियो भने मेरो एउटै र प्रथम प्रश्न तिमीसँग हुनेछ, त्यो हो–जीवन बाँच्ने योग्य रहेछ त, तुलसी ? आज तिमी सम्मुख नभएकोले म यी प्रश्न अन्तरमनसँगै गरिरहेछु ।’ २०२५ सालमै उनले प्रख्यात हास्यव्यंग्य–सर्जक भैरव अर्याल, कवि गुमानसिंह चाम्लिङजस्ता प्रतिभाका पनि हस्ताक्षर लिन भ्याएका रहेछन्, जुन पुस्तकमा संग्रहित छन् ।
थोरै कथा लेखेर पनि नेपाली साहित्यमा चम्किने सर्जक हुन्, तारिणीप्रसाद कोइराला । कोइरालाले आफ्नो भावनालाई व्यक्त गर्ने क्रममा लेखेका छन्, ‘रोसा भन्छिन्, सिगरेट छोड्नै पर्छ रे मैले । यो ३३ वर्षदेखि परेको बानी चटक्क छोड्नु रे मैले । अचम्म । तर डाक्टर पनि त त्यही भन्छ । भन्छ मलाई, इम्फेसिमा भएको छ रे । फोक्सोले पूरा अक्सिजन तान्न सक्दैन । अझ अंग्रेजीमा भन्ने हो भने लंग्सको इल्यास्टिसिटी लुज भएकोले अक्सिजनको इन–टेक कम छ, सिक्टी पर्सेन्ट मात्र । डाक्टर भन्छ, सिगरेट छाडेनौं भने चाँडै मर्छौं ।’ सोही क्रममा उनले नाट्य–सम्राट बालकृष्ण सम, लैनसिंह बाङ्देल, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल, महानन्द सापकोटा, गोविन्द भट्ट, केदारमान व्यथित, भवानी भिक्षु, चित्तधर हृदयजस्ता अग्रज सर्जकहरुका विचार पनि संकलन गरे ।
इतिहास–शिरोमणि बाबुराम आचार्य र नयराज पन्तका पनि विचार उनले समेटेका छन् । आचार्यले २०२६ सालमै लेखेका थिए, ‘लम्ज्याल पनि दुई थरि छन् । लामपाखे र युवावांगे । लामो पाखा भएको गाउँ यहाँ थियो भन्ने पत्ता लागेको छैन । लामपाखे थर भएका एकजना अघि पुरीको जगन्नाथजीका मन्दिरमा भेटिएका थिए । दोस्रो लामपाखे आचार्य भेटिएका छैनन् ।’ डा. श्रेष्ठले सर्जकहरु भीमनिधि तिवारी, अम्बर गुरुङ, हरिभक्त कटुवाल, वासु शशि, सिद्धिचरण श्रेष्ठ, शंकर कोइराला, गोपाल पाँडे असिम, सूर्यविक्रम ज्ञवाली, मदनमणि दीक्षित, केशवराज पिँडाली, शिव रेग्मी, श्यामप्रसाद शर्मा, रमेश विकललगायत प्रतिभासँग पनि हस्ताक्षर लिएका थिए । सोही क्रममा २०३७ सालमा प्रख्यात राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाले भने आफ्नो भावना व्यक्त गर्ने क्रममा यस्तो लेखेका थिए, ‘कला मेरो लागि जीवनको सबभन्दा महत्वपूर्ण कुरो हो । अन्नपानीले जीवन धान्छ । यो यथास्थितिको आधार हो । विकासका लागि अन्न–जलको आवश्यकता पर्दैन । यो त भावना जगत्को विषय हो । बाँच्न अन्न–पानी चाहिन्छ । प्रगति गर्न कला । म राजनीतिलाई बाँच्ने प्रक्रिया वा पर्ने तत्व मान्छु । कला राजनीतिभन्दा माथिको विषय हो ।’
मूलतः डा. श्रेष्ठले साढे तीन दशक समय खर्चेर बटुलेका नेपाली भाषा, साहित्य, इतिहास, संस्कृतिका दिग्गज हस्तीहरुका यो हस्ताक्षरयुक्त विचार र भावनाले तत्कालीन समयलाई बोध गराउने क्षमता राख्दछ । डा. श्रेष्ठको कृति नेपाली वाङ्मय अध्ययन गर्ने वर्तमान पुस्तालाई पूर्ववर्ती पुस्ताका भावनासँग साक्षात्कार गराउन सफल देखिएको छ ।
कृति ः १२७ हस्ताक्षर
विधा ः विचार संकलन
संकलक ः डा.कविताराम श्रेष्ठ
प्रकाशक ः बालसाहित्य प्रतिष्ठान
पृष्ठ ः १७६
मूल्य ः ३५५।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

कामिनीको पद धरापमा

काठमाडौं । सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय काम गर्न सक्षम नभएको र संस्था धराशायी पारेको भन्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । मन्त्रिपरिषदको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘भोर’–सन्देश

बीसको दशकमा औंलो उन्मुलन भएपछि मधेसमा अपेक्षाकृत रुपमा आवाद बढ्न पुग्यो । भारतीय सीमा क्षेत्रका केही प्रख्यात बजारहरुको घेरा तोडेर चुरेको काछसम्मै बस्ती विस्तारको लहर चल्यो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दुई देशका झझल्काहरू

नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा