बालकोटमा बैठकमा क–कसका नाममा चर्काचर्की ?
काठमाडौं । ‘पार्टी भनेको न्याय दिने ठाउँ पनि हो, पार्टीले न्याय दिनुपर्छ । युवाहरूलाई संरक्षण गर्ने कि उपेक्षा ?’ अध्यक्ष केपी ओली निवास बालकोटमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षतिर फर्केर बोलिरहँदा शान्तपूर्वक सुनिरहेका अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालले कुरा सकाएपछि भने, ‘अहिले त्यहाँबाट भैरवसुन्दरजीलाई नै गर्ने हो, उहाँको हुन सक्दैन ।’
‘उहाँ’ भनिएका ती व्यक्ति थिए युवासंघका पूर्वमहासचिवसमेत भइसकेका निरज आचार्य । उनलाई प्रतिनिधि तथा प्रदेससभा निर्वाचनमा जाजरकोटबाट प्रदेशसभातर्फ टिकट दिएर मनोनयन दर्ता गराइसकेपछि ‘ब्याक’ गराइएको थियो । सोमबारको बैठकमा प्रदेश इन्चार्ज युवराज ज्ञवालीले सो प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवारको नाम सिफारिस गर्नासाथ करिब १५ मिनेट त आचार्यकै नाममा गलफत्ती भयो ।
प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभामा पठाउने नाममा पनि बैठकमा नेताहरूबीच चर्को विवाद भएको थियो । प्रदेशबाट सिफारिस भएका सहिदपत्नी र पार्टीका अगुवा कार्यकर्तालाई पनि छाडेर पार्टीमा नवप्रवेशी कलाकार कमल ओलीलाई उम्मेदवार बनाउने भनेपछि ओलीको नाममा केही नेताले असहमति जनाएका थिए । जबकि, ५ नम्बर प्रदेशले ०६२÷६३ को जनआन्दोलनका प्रथम सहिद उमेश थापाकी पत्नी एन्जिला थापाको नाम पनि सिफारिस भएको थियो । तर, ओलीलाई एमालेमा प्रवेश गराउँदाको बेला नै ‘मान्य’ बनाउने वचन दिइसकिएकाले उनैलाई पठाउने निर्णय अध्यक्ष ओलीले बैठकमा सुनाएका थिए । ५ नम्बर प्रदेशबाट उम्मेदवार बनाउने विषयमा छलफल चल्दा केन्द्रीय सदस्य ठाकुर गैरेको नाममा पनि नेताहरूबीच चर्काचर्की परेको स्रोतले बतायो ।
प्रदेश नम्बर तय गरिएका राष्ट्रियसभाका उम्मेदवारको अर्को रोचक पक्षको अहिले एमाले वृत्तमा चर्चा हुने गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष ओलीले कैलालीबाट कमला ओलीको नाम लेखेका थिए । तर, प्रदेश इन्चार्ज भीम रावलले उनको नाम हटाएर झपट रावललाई टिकट दिलाएका थिए । अहिले भने तीनै ओलीलाई अध्यक्ष ओलीकै बढी आग्रहमा राष्ट्रिय सभाको उम्मेदवार बनाइएको छ ।
सोमबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि ५, ६ र ७ नम्बर प्रदेशका १३ जना उम्मेदवारको नाम टुंगो लगाएको थियो । निर्वाचन आयोगको कार्यतालिकाअनुसार बुधबार राष्ट्रियसभामा उम्मेदवारी दर्ता हुँदै छ ।
एमालेले प्रदेश नम्बर ५ मा ४ जना, प्रदेश नम्बर ६ मा ५ जना र ७ मा ४ जना उम्मेदवार उठाउँदै छ । त्यस्तै, प्रदेश नम्बर १ मा ५, २ नम्बरमा १, ३ नम्बरमा ६ र ४ नम्बरमा ४ जना उम्मेदवार उठाउँदै छ । बाँकी उम्मेदवारको नाम मंगलबार सार्वजनिक गर्ने एमालेको तयारी छ ।
बैठकले वाम कार्यदलको सिट बाँडफाँड प्रतिवेदन अनुमोदन गरेको छ । कार्यदलको बाँडफाँडअनुसार एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा उम्मेदवारी दिँदै छ । बैठकले प्रदेश नम्बर ७ बाट कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया विष्ट (महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम, चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा, प्रदेश नम्बर ६ बाट कविता बोगटी (महिला), हुम्ला, नन्दा शर्मा (महिला), सुर्खेत, नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट, ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुम, प्रदेश नम्बर ५ बाट रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रूपन्देही, मीना बुढा (महिला), रोल्पा, कोमल वली (महिला), दाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बाँकी प्रदेशबाट राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउन हिजो अबेरसम्म बैठक जारी थियो ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply