एसपी सरुवामा गृहमन्त्री थापा र उपराष्ट्रपति पुत्रको सेटिङ बदनामहरूले पाए महŒवपूर्ण जिल्लाको इन्चार्ज
काठमाडौं । नेपाल प्रहरीले वैशाख २३ मा निकालेको ७९ एसपीको सरुवामा रक्तचन्दन तस्करीमा मुछिएकादेखि लागूऔषध प्रकरणमा निलम्बनमा परेकाहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट खारेजी र सुन तस्करीको जालो तोडेर कमाएको ख्याति बदनाम एसपीलाई आकर्षक जिल्लामा सरुवा गरेर धुजाधुजा पारेका छन् । एसपीहरूको सरुवामा गृहमन्त्री थापाका छोरा प्रतीक थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले आर्थिक लेनदेनका आधारमा गरेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रतीक थापा र दीपेश पुनले बदनामहरूबाट लाखौंलाख रुपैयाँ घुस लिएर जिल्ला इन्चार्जमा सरुवा गरेका छन् । उनीहरूले भनेअनुसार घुस नदिने एसपीहरूलाई ६ महिनामै फिर्ता गरेका छन् । घुस दिनेहरूलाई थमौती गरेका छन् । स्रोतका अनुसार उपराष्ट्रपति पुनका छोरा दीपेशले पोखरा लेखनाथका जग्गा दलालहरूसँग घुस लिएर ओम रानाजस्ता बदनाम एसपीलाई कास्कीको प्रमुखमा सरुवा गरेका छन् । ओम रानालाई रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करी गरेको आरोपमा अवधि पुग्नुअघि नै तानिएको थियो । र, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै बनाएका थिए । रक्तचन्दन तस्करी गरेको आरोपमा सेनाले अहिर्दमन गण रसुवाका तत्कालीन गणपति कर्णेल रामजी थापालाई कोर्टमार्सल गरी जागिरबाटै बर्खास्त गरेको थियो । तर, ओम रानालाई नेताहरूको दबाबमा कारबाही नै उन्मुक्ति दिइएको थियो । ओम रानाले रसुवामा प्रहरी प्रमुख हुँदा सुन तस्करी निर्बाध गराएका थिए । रसुवा सरुवा हुनासाथ रानालाई सुन तस्करीको सञ्जाल सञ्चालन गर्ने कांग्रेस नेता मानबहादुर तामाङले कार नै उपहार दिएको उनीसँगै रसुवामा काम गरेका एक जुनियर प्रहरी अधिकृतले बुधबारलाई बताएका छन् । मानबहादुर तामाङ केही महिनाअघि रसुवा हुँदै आएको र क्षेत्रपाटीमा बरामद भएको ८८ केजी सुन प्रकरणम पक्राउ परेका थिए, जुन सुन अपराध अनुसन्धान महाशाखाले बरामद गरेको थियो । राना महानगरीय आयुक्त कार्यालयमा काम गर्दा पनि जुवा अखडादेखि होटल गेस्टहाउसमा रकम असुलीमा विवादमा परेका थिए ।
गृहमन्त्री थापाका पीएसमेत रहेका उनका छोरा प्रतीक थापा र दीपेश पुनकै सेटिङअनुसार आर्थिक लेनदेन गरी बदनाम एसपीहरूको सूची गृह मन्त्रालयबाटै पठाइएको बताइन्छ । प्रतीक थापा र दीपेश पुनले रूपन्देहीको डीएसपी हुँदा लागूऔषध प्रकरणमा एक वर्ष निलम्बनमा परेका रामेश्वरप्रसाद यादवलाई पनि लाखौं रुपैयाँ घुस लिएर सिन्धुलीमा सरुवा गरिएको छ । कार्यक्षमता नै नभएका र बिरामी अवस्थाका सुशीलसिंह राठौरलाई चितवनजस्तो संवेदनशील जिल्लामा सरुवा गरिएको छ । बदनामहरूको सरुवा गर्न गृहमन्त्री थापाले दबाबलाई आईजीपी खनालले रोक्न नसकेको गुनासो व्यवसायिक एसपीहरूको छ । प्रहरी स्रोतका अनुसार सरुवा भएको एक वर्ष पनि नभएका कास्कीका अशोक सिंहलाई फिर्ता गरिएको छ । उनले पोखरामा गुन्डागर्दी रोक्न र शान्तिसुरक्षा कायम गर्न सकारात्मक भूमिका खेलेका थिए । अशोक सिंहसँगै सरुवा भएका नुवाकोटका एसपी वसन्त कुँवर थमौती भएका छन् । त्रिशूलीमा बालुवा खानीहरूलाई अवैध रूपमा फिरफिरे सञ्चालन गर्न दिएर मासिक १० लाख रूपैयाँ घुस खाने गरेको आरोप कुँवरमाथि छ । कुँवरसँग पनि दीपेश पुन र प्रतीक थापाले घुस लिएर थमौती गरेको आरोप छ । काठमाडौंको जनसेवा प्रहरीको प्रमुख हुँदा तस्करीको सुन लिएको आरोपमा निलम्बनमा परेका एसपी लोकेन्द्र श्रेष्ठ मकवानपुरमा सरुवा भएका छन् । उनी पनि पुन र थापालाई यथेष्ट रकम व्यवस्थापन गरी केही दिनअघि काजसरुवा भएका थिए । २३ गतेको सरुवामा दरबन्दी कायम गरिएको छ । ३३ किलो सुन प्रकरणमा निलम्बनमा परेका एसपी विकास खनालको ठाउँमा कुनै बेला सुनकाण्डमै परेका श्रेष्ठलाई सरुवा गरिएको छ । गृहमन्त्रीपुत्र प्रतीकको लगानी रहेको एक रेस्टुरेन्टमा बोलाउँदै दीपेशले सशस्त्र र नेपाल प्रहरीका सरुवाबढुवादेखि ठेक्कापट्टाका डिल गर्दै आएका छन् । यी केही उदाहरण मात्र हुन्, दीपेश र प्रतीकले प्रत्येक सरुवामा पैसा असुली गरेको आरोप छ । दीपेश पुनले ललितपुरमा अवैध रूपमा क्रसर र बालुवा खानी सञ्चालन गरेको समाचार केही दिनअघि मिडियाले सार्वजनिक गरेका थिए । अहिले गृहमन्त्री थापालाई पनि उनले बदनाम गराउने काम गरेका छन् । र, सिन्डिकेट र सुन प्रकरणमा कमाएको इज्जत माटामा बिलाउन दीपेश पुन लागेका छन् ।
अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका दीपेश पुन र प्रतीक थापाले रूपन्देहीका श्याम ज्ञवालीको एक वर्ष पुगे पनि चलाएका छैनन् । झापा र मोरङका एसपी पनि चलाइएका छैनन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply