बाँचेकाहरूका करुण कथा
उनीहरूले काम गरेको खिच्न हामी कान्लो उक्लियौँ । झोलाबाट क्यामरा निकाल्यौँ । टाइपड निकाल्न थाल्यौँ । यत्तिकैमा बिउ छरिरहेका मानिस काम छाडेर भागे । उनी हामीसँग डराए जस्तो लाग्यो । ए दाइ नभाग्नूस् । हामी केही गर्दैनौँ । आफ्नो काम गर्नूस् हामीले अनुरोध गरेपछि उनी हामीतिर फर्किए ।
मोहन मैनालीको पुस्तक मान्ठा डराएको जुगमा उल्लिखित यो प्रसंग बाजुराको पाण्डुसैनको हो । ०५९ को वर्षामा आफ्नै खेतमा काम गरिरहेका जुल्फे सार्की पत्रकारको क्यामरा र टाइपड निकाल्दा बन्दुक ठानेर भागेका थिए । पछि कुराकानी हुँदा वृत्तान्त थाहा पाएपछि आफू भाग्नुको कारण उनले यसरी उल्लेख गरेछन्, नौला मान्ठा आउँदा डर मान्दछौँ, हजुर । मान्ठादेखि मान्ठादेखि मान्ठा डराउने जुग आयो । (पृष्ठ १२६)
मोहन मैनालीले आफ्नो अघिल्लो पुस्तक उपल्लो थलोमा जस्तै मान्ठा डराएको जुगमा पनि ससाना कुरालाई सुक्ष्म ढंगले उतारेका छन् । कनीकुथी ठूलाबडाहरूको भनाइ उद्यृत गर्ने, कथित ठूलाहरुका वरिपरि परिक्रमा गर्ने र तिनीहरुका वान्ता आउलान् जस्ता बनावटी भनाइले पुस्तकका पाना रंग्याउने परम्पराबाट भिन्न देखिँदै आएका यी खोज पत्रकारले जीवनसँग ठूलो अर्थ राख्ने गाउँका ससाना प्रसंगहरूलाई पुस्तकमा कलात्मक रूपमा उतारेका छन् । हिंसा प्रतिहिंसाको अचानो सर्वसाधारण कसरी बनेका थिए ? पूर्वको संखुवासभादेखि पश्चिमको बाजुरा पुग्दासम्म उनले देखेका कारुणिक कथाहरू जस्ताका तस्तै पुस्तकमा राखेका छन् ।
कालिकोटको कोडबाडामा विमानस्थल बनाउन गएर उतै ज्यान गुमाएका धादिङको जोगीमाराका १७ जना निर्दोष युवाहरूको कथालाई मैनालीले पहिला लेखेर र पछि वृत्तचित्र बनाएर सार्वजनिक गरेका थिए । तिनका घरमा पुग्दाका अवर्णनीय पीडाका कथा यस पुस्तकमा पनि समेटेका छन् । कमाउन घर छोडेकाहरू कहिल्यै नफर्किने गरी बिलाएपछि विह्वल बनेका जोगीमाराका जिउँदाहरूका आँसुले मैनालीलाई घचेटेर कोडबाडासम्मै पुर्यायो, जहाँ उनीहरू स्वयम् जान सकेका थिएनन् ।
पुस्तकमा द्वन्द्वका बेला सर्वसाधारण कसरी पिल्सिएका थिए भन्ने कुरा मिहिन रूपमा उतारिएको छ । माओवादी निर्मूल पार्ने नाममा सरकारी फौजले गरेको विवेकहीन कारबाहीले मानिसहरू जबर्जस्ती माओवादीका बन्नुपरेका दृष्टान्तहरू पनि पुस्तकमा पढ्न पाइन्छ । कालिकोटदेखि बाजुरासम्मका त्यस्ता प्रसंगले माओवादी युद्ध चर्किनुमा सरकारी फौजको पनि हात थियो भन्ने निष्कर्षमा पुग्न करै लाग्छ । बिनाअनुसन्धान, बिनाप्रमाण र बिनाकिटानी पहिला मानिसलाई मार्ने र त्यसपछि सरकारी सञ्चारमाध्यमबाट आतंककारी मारिएको खबर प्रसारण गर्ने तरिकाले आम मानिस कति पीडित थिए भन्ने कुरा पुस्तकमा कालिकोट र बाजुराका दुई प्रसंग अघि सारेर देखाइएको छ ।
स्थानीय सत्ताका नाममा माओवादीले आम मानिसलाई दिएका दु:ख, कष्ट र यातनाका कथा झन् दारुण छन् । अरू राजनीतिक पार्टीका मानिसलाई गाउँमा बस्न नदिने, आफूलाई नसघाउनेलाई सुराकीको झूटा आरोप लगाउने, विद्यालयमा पढाउन नदिने, दुईचार पैसा कमाएकाहरूबाट पनि लुटेर लैजाने जस्ता काम माओवादीका लागि त सामान्य होलान् तर त्यही कारण आम मानिस असामान्य बनेका अनेक कथा पुस्तकमा समेटिएका छन् । अपठित, गाउँमा फटाहाका रूपमा चिनिने, काम पटक्कै नगर्ने, मीठो खानुपर्ने, आर्थिक रूपमा पनि बदनाम माओवादीका कार्यकर्ताका हर्कतका हेर्दा उनीहरूको केन्द्रीय नीति र तिनीहरूले गाउँमा गर्ने व्यवहारबीच तुलना नै हुन सक्दैनथ्यो भन्ने कुरा पुस्तकमा पढ्न पाइन्छ । अनेक ठाउँमा उनीहरूका व्यवहार देखेर आजित भएका मैनाली लेख्छन्, यस यात्रामा भेटिएका धेरै माओवादीको व्यवहार देख्दा म एउटा निचोडमा पुगेको थिएँ, जब मानिस बन्दुक बोक्छ वा बन्दुक बोक्ने मानिसको संगत गर्छ तब उसले आफू र अर्को मानिसबीच ठूलो अन्तर देख्छ । आफूले जे कुरा अरूलाई बताउन चाहँदैन, उसले त्यही कुरा जान्नुपर्छ …उनीहरूलाई हाम्रो घर कहाँ हो भन्ने कुरा चाहिन्थ्यो । हामीलाई उनीहरूको घर कहाँ हो भन्ने जानकारी काम लाग्छ कि लाग्दैन भन्ने कुरा उनीहरू नै निक्र्यौल गर्थे । …बन्दुकका सहाराले बल आर्जन गर्ने डाँका होस् या परम्परागत निरंकुश शासक होस् या यस्ता शासकका विरुद्ध लड्ने उद्देश्यका साथ बन्दुक बोक्ने लडाकु, सबैमा यही कुरा लागू हुन्छ । –पृष्ठ १९०)
संकटकालका बेला गाउँ उदास थिए । राजनीतिक गतिविधि शून्य थिए । लेखकका अनुसार, गाउँमा एमालेबाहेक अरूका कार्यकर्ता भेट्न पाइँदैनथ्यो । ती पनि राजनीतिक गतिविधिमा सक्रिय हुन पाएका थिएनन् । एकछिन पहिला माओवादी आएर खाना खान नदिए मार्छौैं भन्थे, एकछिन पछि सेना आएर माओवादीलाई खाना खान किन दिएको भनेर मार्छौंं भन्थे । यस्तो कहालीलाग्दो अवस्थामा मोहन मैनालीले भेटेका मानिसहरूको मनोविज्ञान कस्तो हुन्थ्यो होला ? हो, यही विषादपूर्ण मनोविज्ञानलाई उनले आफ्ना कलमबाट पाठकलाई पस्किएका छन् । फलानो ठाउँमा पुग्यौँ, चिया पियौँ, फलाना फलाना थियौँ जस्ता दोहोरिरहने प्रसंगलाई झिकिदिने हो भने मोहन मैनालीको मान्ठा डराएको जुग द्वन्द्वकालीन नेपालको उत्कृष्ट ऐनाका रूपमा पाठकसमक्ष आएको छ ।
द्वन्द्वले उजाडिएका बस्तीका सुस्केरा पुस्तकमा पाइन्छन् । दोहोरो मारबाट आफ्ना प्रियजनहरू गुमाएर पनि बाँच्न अभिशप्त ती दु:खी मानिसको स्पन्दन पुस्तकले समेटेको छ, जुन जोकसैले उतार्न मुस्किल पर्दछ । आफ्नै अगाडिबाट आफ्नो प्रिय छोरालाई कुट्दै लगेर मारेको दृश्यलाई कुन आमाले वर्णन गर्न सक्लिन् ? आफ्नो पतिलाई एक मुठी पानी पनि खान नदिएको पीडा कुन गर्भवती श्रीमतीले शब्दमा व्यक्त गर्न सक्लिन् ? तर पनि मोहन मैनालीले त्यो हिम्मत गरेका छन् र वास्तवमै द्वन्द्वका बेला आवाज हराएकाहरूलाई आवाज दिने कोसिस गरेका छन् ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply