अशोकको टिम घर न घाटको
काठमाडौ । एमालेको उपाध्यक्ष त्यागेर संघीय समाजवादी नामक पार्टी गठन गरेको अशोक राई नेतृत्वको टिम १६ महिना नपुग्दै घर न घाटको अवस्थामा पुगेको छ ।
एमालेले जनजातिका एजेन्डा उठाएन भन्दै त्यही मुद्दामा पार्टी खोलेका राई संविधानसभामा समानुपातिकबाट सभासद् भए पनि उनको टिमका अरू त्यसबाट रुष्ट बनेका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा उदयपुरबाट पराजित राई यस पटक समानुपातिकमा सुरक्षित बसेका थिए । जातीय पार्टीको संगठन विस्तारका लागि आफ्नै गृहजिल्ला जान नसकेर फर्केका राई चुनाव हार्ने डरले समानुपातिकमा बसेकोमा कसैलाई शंका नै थिएन । प्रत्यक्षतर्फ एक सिट पनि नजिते पनि समानुपातिकमा ल्याएका पाँच सिटमा अध्यक्ष राईले नै मन गरेपछि उनको पार्टीमा असन्तुष्टि चुलिएको थियो । पार्टीका कुनै पदाधिकारी सभासद् नबन्ने विषयमा छलफल चलिरहेका बेला राईले आफ्नै नाम निर्णय गरेपछि अरू पदाधिकारी उनीप्रति असन्तुष्ट बनेका हुन् ।
अहिले उपाध्यक्षहरू गोपाल ठाकुर, रिजवान अन्सारी, विजय सुब्बा, दानबहादुर विश्वकर्मालगायतले अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पार्टीले अहिले हरेक निर्वाचन क्षेत्रमा जनजागरण अभियान चलाइरहे पनि पार्टी गतिविधिबाट उनीहरू पूरै टाढा बसेका छन् । उपाध्यक्ष ठाकुरले पार्टी गतिविधिबाट आफू अहिले टाढा रहेको स्वीकार्दै भने– ‘पार्टीका बारेमा अहिले म केही थाहा नभएको अवस्थामा छु ।’ पार्टीमा आफ्नो असन्तुष्टिभन्दा पनि विमति रहेको उल्लेख गर्दै उनले भने– ‘हाम्रो पार्टीमा पनि आफैलाई ठालू ठान्ने प्रवृत्ति देखियो, निर्णय प्रक्रियामा अरूको सहभागिता नै स्वीकार गरिएन ।’
अर्का उपाध्यक्ष अन्सारीले सामाजिक सञ्जाल फेसबुकमार्फत नै असन्तुष्टि सार्वजनिक गरेर अब के गर्ने होला भनेर साथीहरूसँग सुझावसमेत मागेका छन् । हिजै अन्सारीले आफ्नो स्टाटसमा लेखेका छन्– ‘सडेगलेको पुरानो मानसिकता र संर्कीण सोचको जगमा उभिएर नयाँ खाले पार्टी र नयाँ नेपालको निर्माण हुन सक्तैन भन्ने कुरा हामी सबैले बुझेका छौं ।’ अध्यक्ष राईको मानसिकता र सोचलाई उनले पुरानो र संकीर्णको संज्ञा दिएका छन् ।
राईको लहडमा लागेर एमालेमा रहँदै राम्रो राजनीतिक इतिहास र छवि बनाएका सुब्बा, अन्सारी, ठाकुरबाहेक राजेन्द्र श्रेष्ठ, वीरबहादुर लामा, रकम चेम्जोङ, हेमराज राईलगायतको बिल्लीबाँठ भएको छ । यद्यपि श्रेष्ठ, लामा, चेम्जोङ र राईले भने अशोकलाई नै काँध थापिरहेका छन् । समानुपतिकमा प्राप्त पाँच सिटमा राईले आफूलाई ल्याएर अरू पदाधिकारीलाई लत्याएपछि पार्टीमा धाँजा देखा परेको हो । राईले आफूबाहेक धनुषाकी उर्मिलादेवी शाह, कास्कीका दिलबहादुर नेपाली, बर्दियाका कासिम अलि सिद्घिकी र काठमाडौंकी राधादेवी तिमिल्सिनालाई सभासद् बनाएका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply