वामदेवलाई छवि सुधार्ने मौका
‘तपाईंहरू व्यक्तिगत कुरा लिएर मकहाँ नआउनुहोला । यसपटक मलाई कुनै पनि हालतमा सफल हुनु छ । म यसपटक सफल भएँ भने मात्र भोलि प्रधानमन्त्री बन्न सक्छु । मलाई प्रधानमन्त्री भएको हेर्न चाहनुहुन्छ भने सहयोग गर्नूस् ।’
यी भनाइ उपप्रधान तथा गृहमन्त्रीमा ‘ह्याट्रिक’ गर्न सफल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमका हुन् । तेस्रोपटक पदभार ग्रहण गरेको भोलिपल्ट आफ्नो निवासमा बधाई तथा शुभकामना दिन आउने पार्टी कार्यकर्तासँग उहाँले उक्त भनाइ राख्नुभएको थियो । उहाँले पटक–पटक सार्वजनिक रूपमा पनि यो कुरालाई दोहोर्याउँदै आउनुभएको छ । पदभार ग्रहणका बेला पनि उहाँले यस्तै आशयका भनाइ राख्दै मातहतका निकाय तथा अधिकारीलाई आग्रह गर्नुभएको थियो ।
आखिर वामदेव गौतमले यस्तो धारणा किन राखिरहनुभएको छ त ? यी भनाइलाई केलाएर हेर्ने हो भने वास्तवमा यी उहाँका अन्तरमनका आवाज हुन् भन्ने कुरा अनुमान गर्न सकिन्छ । विगतमा समाजमा उहाँको जुन छवि निर्माण भएको छ, त्यसबाट उहाँ पनि अनभिज्ञ हुनुहुन्न र त्यसले पीडा पनि दिइरहेको रहेछ भन्ने बुझ्न सकिन्छ । जबकि त्यस्तो छवि निर्माणमा उहाँको आफ्नै व्यक्तिगत स्वभाव, कार्यशैली वा महत्त्वाकांक्षाको कत्तिको हात छ, त्यो आफ्नो ठाउँमा होला । त्यसभन्दा बढी उहाँका सहयोगी/शुभचिन्तक, पार्टीभित्रका धूर्त सहयोद्धा, वरिपरि घुम्ने लोभीपापीहरूको जमात र मिडियाको पनि कम महत्त्वपूर्ण भूमिका छैन । उहाँको पछिल्लो भनाइ सायद विगतमा आफूबाट पनि केही कमजोरी भएकै हुन् भन्ने कुराको आत्मस्वीकृति पनि हो । विगतमा सरकारमा रहँदा वा पार्टीभित्र पनि पटक–पटक उहाँ विवादमा तानिँदै आउनुभएको हो । उहाँमाथि केही संगीन आरोपहरू पनि लाग्ने गरेका छन्, जसबाट उहाँ अहिले पनि मुक्त हुनुुहुन्न ।
पार्टीभित्र कहिले पार्टी विभाजन गरेको त कहिले माओवादीको पक्षपोषण गरेको आरोपबाट चाहेर पनि गौतमले मुक्ति पाउन सक्ने अवस्था छैन । त्यसैगरी, सरकारमा रहँदा पनि कहिले प्रहरीभित्र हस्तक्षेप गरेको त कहिले तस्करीलाई प्रोत्साहन गरेको जस्ता संगीन आरोप पनि उहाँले खेप्दै आउनुभएको छ । ०५४ सालमा गृहमन्त्री हुँदा ‘एयरपोर्टबाट सुन ओसारेको’ आरोपलाई मिडियाले अहिले पनि ऐनमौकामा उछाल्ने गरेका छन् । उहाँले नेकपा (माले) निर्माण गरेपछि एमालेले प्रदीप नेपाल, खगराज अधिकारीहरूको कार्यदल बनाएर खुलामञ्चबाटै एक नम्बर भ्रष्टाचारी घोषणा गरेको थियो । पुष्टि नभए पनि यस्ता आरोपहरूले एउटा राजनीतिक नेताको छविमा कस्तो प्रभाव पर्छ भन्ने कुरा उहाँ स्वयम्ले पनि अनुभूत गरिरहनुभएकै होला । पहिला आफैंले लोकप्रिय र अत्यधिक मतले जित हात पारेको ठाउँमा दुई–दुई पटक हार बेहोर्न मात्र बाध्य हुनुभएन, त्यसयता उहाँको सार्वजनिक छवि पनि त्यही रूपमा चित्रित गरियो । वामदेव गौतम पछिल्लोपटक उपप्रधान तथा गृहमन्त्री भएको केही समयपछि बीबीसीका रवीन्द्र मिश्रले लिएको अन्तर्वार्तामा जुन रूपमा प्रस्तुत गरियो, त्यसले पनि पत्रकारिता जगत्बाट उहाँलाई हेर्ने दृष्टिकोणका बारेमा थाहा पाउन सकिन्छ ।
फुटेर पुन: जोडिँदा पनि गौतमको पार्टीमा जुन हैसियत र प्रभाव छ, त्यो लोभलाग्दो छ । वरीयताक्रममा चौथो नम्बरमा भए पनि उहाँ पार्टीमा अहिले निर्णायक अवस्थामा पुग्नुभएको छ । यतिबेला उहाँकै नेतृत्वमा पार्टी सरकारमा सहभागी छ । त्यसमा पनि तीन नेता (माधव नेपालबाहेक) का रोजाइका कुरा गर्दा १० मध्ये उहाँकै रोजाइका चार मन्त्री पर्नुले उहाँले प्रभाव आँकलन गर्न सकिन्छ । यसभन्दा पनि महत्त्वपूर्ण कुरा पार्टीको नवौं महाधिवेशनका लागि दस्तावेज लेख्ने जिम्मा उहाँलाई दिइनुले पार्टीभित्र उहाँको बढ्दो प्रभावलाई इंगित गर्दछ । भलै, उपप्रधानमन्त्री भएपछि केन्द्रीय कमिटीबाट त्यसको जिम्मा पार्टी अध्यक्षलाई दिइएको छ ।
वास्तवमा गौतमका अहिलेका भनाइहरूले उहाँ ती आरोपहरूबाट पन्छिने मात्र होइन, मुक्त हुने प्रयासमा हुनुहुन्छ भन्ने देखिन्छ । त्यसका लागि यो उपयुक्त र सायद अन्तिम मौका पनि हो । ‘समय आउँछ पर्खिंदैन बगेको खोलो फर्किंदैन’ भनेझैं यो समयलाई उहाँले आफ्नो बिग्रिएको छवि सुधार्ने मौकाका रूपमा उपयोग गर्न सक्नुभएन भने फेरि उहाँलाई यस्तो मौका जुर्छ भन्ने छैन । यदि उहाँ सफल हुनुभयो भने उहाँले भनेझैं प्रधानमन्त्रीका लागि पनि ढोका खुल्ला रहनेमा शंका छैन । तर, त्यसका लागि उहाँले भाषणमा होइन, व्यवहारमै छवि सुधारको अभियान चलाउनुपर्छ ।
सर्वप्रथम त आफूमाथिका आरोपहरूलाई चिर्न सशक्त प्रतिकार गर्ने वा आरोपमा सत्यता छ भने कारणसहित स्वीकार्न सक्नुपर्छ । उहाँजस्तो स्पष्ट वक्ताले यस्ता कुरामा पारदर्शिता अपनाउन सक्नुपर्छ । कतिपय सन्दर्भमा उहाँले गल्तीलाई स्वीकार गर्ने पनि गर्नुभएको छ, यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । आजसम्म त उहाँलाई भ्रष्टाचारमा मात्र विवादित गर्न खोजिएको छ, तर भोलि विभिन्न शक्तिकेन्द्रसँग जोडेर कुप्रचार पनि गरिएला । त्यसका लागि अहिल्यैदेखि सचेत हुनु जरुरी छ । कूटनीतिक सम्बन्ध विस्तारका लागि पनि उहाँसँग एउटा गतिलो टिम छैन । त्यतातिर पनि ध्यान दिनु आवश्यक देखिन्छ । साथै, सहयोगी र समर्थकहरूको त्यस्तो एउटा संयन्त्र निर्माण गर्नुपर्छ जसले आरोपहरूको कानुनी तवरमा तत्काल प्रतिवाद गरेर जनतामा फैलाइएको भ्रम निवारण गरुन् ।
वामदेव गौतममाथि अहिले पनि पार्टीपंक्तिभित्र गुनासो रहँदै आएको छ– ‘उहाँ संकीर्ण घेरामा चल्नुहुन्छ र आफ्नो नजिक रहिरहेका कार्यकर्तासँग मात्रै रमाउनुहुन्छ ।’ यदि यही अवस्था रहेमा उहाँ सिंगो एमालेको नेता बन्नेमा समस्या आउँछ । सहयोगीहरूको संकुचित दायराले गर्दा उहाँलाई सिंगो पार्टीको नेताका रूपमा विकास गर्नमा बाधा उत्पन्न भएको छ । उहाँका सहयोगीहरूमा देखिएको उच्छृंखलताका कारण पनि विवाद र बदनामी उहाँको हुने गरेको पाइन्छ । पछिल्लोपटक पनि शपथ लिनुअघि सहयोगीहरूबाट भएका केही उच्छृंखल गतिविधिका कारण पनि गौतमले मिडियाको प्रहार खेप्नुपर्यो ।
कतिपय स्वभावले पनि व्यक्तिको सफलता/असफलता निर्धारण गर्दछ । उहाँको सफलताको बाधक उहाँको आफ्नै स्वभाव पनि बनिरहेको पाइन्छ । उहाँ भावनामा बग्नुहुन्छ र कसैले हौस्याउँदा चाँडै हौसिनुहुन्छ । उहाँ निर्धक्क बोल्नुहुन्छ, स्पष्ट बोल्नुहुन्छ र त्यसलाई टुंगोमा पुर्याउन लागिपर्नुहुन्छ । आफूले बोलेको र गरेको कुरामा अडान लिनुहुन्छ । तर, राजनीतिमा सधैं त्यस्तो हुँदैन । हालैको घटनाले पनि त्यो कुराको पुष्टि गर्दछ । मौखिक सहमति भइसकेपछि पनि लिखित सहमति खोज्दै कांग्रेसले गृह मन्त्रालय दिन आनाकानी गर्यो । यसले वामदेव गौतमकै नेतृत्वमा रहेको वार्ता टोलीमाथि नै प्रश्नचिन्ह खडा गरिदियो । यो मौखिक विश्वासका आधारमा चल्न खोज्दा भएको घाटा थियो । यस्ता घटनाबाट पनि पाठ सिक्नु जरुरी छ ।
मालेकालीन राजनीतिबाट मूलप्रवाहमा जोडिएर महत्त्वपूर्ण स्थानमा आइपुग्दा पनि उहाँमा मालेकालीन राजनीतिको ‘ह्याङ’ उत्रिसकेको जस्तो देखिँदैन । उहाँका वरिपरि अहिले पनि तिनै व्यक्ति छन्, जो हिजो पार्टी विभाजनका क्रममा उहाँसँगै थिए । अन्य व्यक्तिहरूलाई आकर्षित गर्ने र अपनाउने कुरामा उहाँमा केही कमजोरी रहेको देखिन्छ । उहाँलाई जब कसैले नेता मानेर आउँछ भने उसलाई आफ्नो सम्झँदा कुनै हानि हुँदैन । पार्टीमा ठूलो तप्काको उहाँमाथि आशा र भरोसा छ । तर, उहाँले ठूलो तप्काको भावना बुझ्न नसक्नु भएको हो कि भन्ने भान पर्छ । तसर्थ, यस मामलामा पनि गौतमले आफ्नो छाती फराकिलो पार्नैपर्छ ।
वामदेव गौतमलाई सफल बनाउन होइन, उपयोग गर्ने कुरामा अधिकांश व्यक्ति लागिपरेको देखिन्छ । पार्टीभित्र मात्र होइन, सरकारमा र यहाँसम्मकि मिडियासमेत उहाँलाई उपयोग गर्ने सवालमा निकै अग्रस्थानमा रहेको पाइन्छ । जानकारहरूका अनुसार, वामदेव गौतमलाई उपयोग गर्न सजिलो छ । उहाँलाई हौस्याइएमा छिटो ‘कन्भिन्स’ हुने र जस्तोसुकै काम गराउन पनि सकिने उनीहरूको बुझाइ छ । त्यसैले हरेक हत्कण्डा अपनाएर आफ्नो काम पट्याउँछन् र पछि गौतमलाई एक्लै छाडिदिन्छन् ।
यस्ता केही कुरामा गौतमले ध्यान दिनु आवश्यक छ । पछिल्लो समयमा पनि शपथ लिनेबित्तिकै केही विवादित विषयमा समाचारहरू सार्वजनिक भए र हुनेक्रम जारी छ । ती समाचारमा कति सत्यता छ, यो गौतम र उहाँको सचिवालयले जान्ने कुरा हो तर यसबाट जनतामा राम्रो सन्देश गएको छैन । गौतमले माथि उल्लिखित कुरामा ध्यान पुर्याउन सक्नुभयो भने मात्र भावी गन्तव्य सफलताउन्मुख हुनेछ र उहाँले चुनावका बेला उत्साहका साथ भन्ने गरेको र सपना देख्ने गरेको प्रधानमन्त्रीको पदका लागि मार्ग प्रशस्त हुनेछ । अन्यथा, फोहोर पोखरीमा पौडी खेल्ने अनि लुतो आयो भनेर गुनासो गर्नुको कुनै तुक हुनेछैन ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply