एउटा तस्बिर जो अहिलेसम्म पनि चर्चित छ
एउटा तस्बिर, जसमा मानव अधिकारकर्मी विनायक सेन प्रहरी–भ्यानको भित्रबाट बाह्य संसार हेरिरहेका छन् । यो उनलाई जेलबाट रिहाइ गराउनका निम्ति चलेको आन्दोलनको एउटा प्रतीकात्मक तस्बिर बन्न पुग्यो । यसरी नै, भोपाल ग्यास काण्डको स्मरण गर्दा, एउटा बच्चाको लासको तस्बिर भुल्न सकिँदैन, जसलाई फोटो पत्रकार रघु रायले आफ्नो क्यामरामा कैद गरेका थिए । यसरी, कुनै तस्बिर हाम्रो आँखा सामुन्ने आउँछन्, हामी त्यससित जोडिएको घटनाको याद गर्दछौं । तपाईंले कहिल्यै सोच्नुभएको छ, यसरी कुनै पत्रिकाको आवरण वा कुनै समाचारपत्रको पहिलो पृष्ठमा जुन व्यक्तिको तस्बिर छापिन्छ, त्यसको ती व्यक्तिको जीवनलाई यतिसम्म प्रभावित गर्न सक्दछ कि, एउटा आम व्यक्ति हुनुका बाबजुद उसको जीवनमा व्यक्तिगत भन्ने कुनै चिज बाँकी रहँदैन । उसका हरेक क्रियाकलाप र बयानको राजनीतिक अर्थ निकालिन्छन्, जबकि उसको कुनै पार्टी वा राजनीतिसित टाढा–टाढासम्मका कुनै साइनो वा लेनदेन छैन । तपाईहरूमध्ये कति जनालाई कुतबुद्धिन अन्सारीको नाम थाहा छ ? यस सवालको जवाफमा निश्चित रूपले धेरै व्यक्तिको जवाफ ‘छैन’ भन्ने नै आउँछ । यद्यपि, यो तस्बिर जसमा एकजना पीडित व्यक्ति हात जोडेर उभिएका छन्, उक्त तस्बिर देख्दा गुजरातको २००२ को दंगाको सम्झना ताजा भएर आउँछ । उक्त तस्बिरमा हात जोडेर उभिएका युवक नै कुतबुद्धिन अन्सारी हुन् । उक्त तस्बिरप्रति तपार्इं निश्चित रूपमा परिचित हुनुहुन्छ । बाह्र वर्षपहिले र्यापिड एक्सन फोर्सका सामुन्ने जुन अन्सारी हात जोडेर उभिएका थिए, अब उनको त्यो हात फोटोग्राफर र टेलिभिजन पत्रकारसित मिल्न पुग्दछ । उनी तस्बिर खिचाउन र टेलिभिजन च्यानलहरूमा ‘बाइट’ दिन अनिच्छुक देखिन्छन् । यद्यपि, अब अन्सारीको हरेक बयानको राजनीतिक व्याख्या गर्ने गरिन्छ । तर, कुतबुद्धिन भन्छन्– ‘मलाई यस कुराले धेरै तनाव दिन्छ ।’ हालैका दिनमा एउटा ठूलो अंग्रेजी समाचारपत्रका पत्रकारले अन्सारीको घरसामु आएर फोन गरे र भेटघाटको बहानामा बाहिर सडकमा बोलाए । हालसालै अहमदाबादको सडकमा ‘नमो टी स्टल’ र ‘नरेन्द्र मोदीसित चियासित चर्चा’को स्टिकर बाँडिए । नि:शुल्क रूपमा पाइएको ती स्टिकर र होर्डिङबोर्ड केही पसलेहरूले पनि आफ्नो पसलमा लगाएका छन् । मुस्लिम बस्तीका पसलमाथि यस्ता होर्डिङबोर्डहरू देखिनु आश्चर्यको विषय होइन । एउटा मुस्लिम पत्रकार साथीले बोलाउँदा घरबाट निस्किएका अन्सारीको गल्ती सिर्फ यति मात्रै थियो कि, मित्रताको सम्मान गर्दै उनले असावधानीश एउटा यस्तो चिया पसलमा चिया पिए, जहाँ ‘मोदी टी स्टल’को स्टिकर टाँसिएको थियो । अन्सारीले उक्त कुरा त्यतिखेर मात्र सम्झिए, जब साथीको समाचारपत्रमा उनको तस्बिर पहिलो पृष्ठमा ‘नमो टी स्टल’सँगै चिया पिइरहेको आयो । अन्सारीले उक्त तस्बिरबाट निकालिएको आशयको खण्डन गर्नुपर्यो । सन् २००२ मा जब उनको तस्बिर छापिएको थियो, त्यसपछि उनलाई केही व्यक्तिले सहानुभूतिपूर्वक हेर्न थाले । केही यस्ता व्यक्ति पनि थिए, उनीहरू घृणाका पात्र थिए । अन्सारी भन्छन्– ‘मैले कसैको केही बिगारिदिएको थिइनँ । मैले सम्झन सकिरहेको थिइनँ कि, एउटा तस्बिरका कारण अचानक व्यक्तिको व्यवहार यसरी कसरी बदलिन सक्छ ?’ अन्सारी न कसैको दयाको पात्र बन्न चाहन्थे, न उनी चाहन्थे कि, कसैले उनलाई घृणा गरोस् । उनी एक सामान्य व्यक्तिको रूपमा बाँच्न चाहन्थे । यो संसारले त्यस एउटा तस्बिरको कारण उनलाई आम व्यक्तिका हिसाबमा बाँच्न दिएन । चलचित्र ‘राजधानी एक्सप्रेस’को निर्मातामाथि मानहानिको मुद्दा पनि अन्सारीले दिनुपरेको थियो । उक्त चलचित्रमा पुलिस स्टेसनभित्र उनको तस्बिर देखाइएको थियो, जसलाई एउटा प्रहरी इन्स्पेक्टरले बन्दुकले निशाना लगाउँछन् । अन्सारीका अनुसार, उनको अनुमतिबिना उक्त तस्बिरको प्रयोग गलत तरिकाले गरिएको थियो । यसरी नै, जब एक आतंकवादी संगठनले २००२ को दंगाको जोडिएको यथार्थ रिपोर्ट तयार पार्दछ, त्यसमा अन्सारीको तस्बिर पनि पठाइन्छ । यति मात्रै होइन, कैयौं धर्मनिरपेक्ष दलहरू आफ्नो चुनाव प्रचारको पोस्टर र समाचारपत्रहरूमा छापिने विज्ञापनहरूमा उनको तस्बिर प्रयोग गर्न हिच्किचाउँदैनन् । अन्सारी भन्छन्– ‘ठूला–ठूला नेताहरूका साथ मेरो तस्बिर मात्र विज्ञापनमा छापिन्छन्, ती नेताहरूमध्ये कसैसित मैले आजसम्म भेटेको छैन ।’ उनी २००२ को दंगापछि अहमदाबाद छाडेर मालेगाव गए । र, एउटा कारखानामा काम गर्न थाले । एक दिन जब एउटा उर्दू समाचारपत्रमा उनको तस्बिर छापियो, तब कारखानाका मालिकले उनलाई बोलाएर स्पष्टीकरण लिँदै भने– ‘तिमी यो झगडामा सहभागी भएका रहेछौ, तर तिमीले मलाई बताउँदै बताएनौ ।’ अन्सारी बुझ्न चाहन्छन् कि, २००२ मा उनको एउटा तस्बिर छापियो, त्यसमा उनको के अपराध थियो ? यथार्थ यो थियो कि, उक्त तस्बिर खिच्नेको उक्त तस्बिरको यथार्थसित अन्सारीले दस वर्षपछि मात्रै परिचित हुन पुगे । गुजरात–२००२ को दस वर्ष पूरा भएकोमा बीबीसीको टोली अहमदाबँद आएको थियो । उक्त टोलीमा फोटोग्राफर आर्को दत्ता पनि सम्मिलित थिए । आर्कोबाट दुई वर्षपहिले उनले थाहा पाएका थिए कि, अन्सारी कसरी मद्दतका लागि जब कराइरहेका थिए, आर्को र उनका साथीहरूको नजर उनीमाथि पोखियो । पत्रकारहरूले आपत्ति जनाएपछि र्यापिड एक्सन फोर्स हरकतमा आयो र अन्सारीको ज्यान बच्यो । गुजरात–२००२ सित जोडिएको एउटा अर्को तस्बिर, पत्रपत्रिकाहरूमा छाइरहे । टाउकोमा भगवा पट्टा र हातमा तलबार लिएका एउटा युवकको तस्बिर थियो त्यो । उक्त तस्बिर अशोकको थियो । अन्सारीका अनुसार, एउटा वृत्तचित्र फिल्मको सुटिङको क्रममा हालसालै दुवै जना पहिलो पटक भेटिएका थिए । अशोकले २००२ को दंगाप्रति अफसोस प्रकट गरेका थिए । एउटा तस्बिर, कसैको जिन्दगी कुन सीमासम्म प्रभावित गर्न सक्दछ, यदि यसबारे जान्नका लागि कसैलाई रुचि छ भने एक पटक कुतबुद्धिन अन्सारीसित भेट गर्दा हुन्छ । (सन् २००२ मा भारतस्थित गुजरातको राजधानी अहमदाबादमा चर्किएको जातीय दंगामा थुप्रै मुस्लिमहरूले ज्यान गुमाएका थिए । त्यही क्रममा हिन्दू अतिवादीहरूको निशानामा परेका एक युवकको तस्बिर खिचिएको थियो र उक्त तस्बिरको अहिलेसम्म पनि चर्चा हुने गर्दछ । यो आलेख, सन् २०१४, १३ मार्चमा हिन्दी म्यागेजिन ‘शुक्रबार’मा छापिएको थियो । र, यो त्यही लेखको भावानुवाद हो ।)
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply