बाबुरामको ‘नयाँ शक्ति’ र माओवादी एकता

रबीन्द्र श्रेष्ठ
एनेकपा (माओवादी)का नेता डा.बाबुराम भट्टराईको ‘खाँचो नयाँ शक्तिको’ शीर्षक लेखले एमाओवादीभित्र र बाहिरसमेत तरंग ल्याएको छ । वैचारिक संघर्षको अभाव भइरहेका बेला उनको लेखले पैदा गरेको तरंगलाई सकारात्मक रूपमा लिनुपर्दछ । तसर्थ, डा.भट्टराईले उठाएका विषयहरू निकै महत्त्वपूर्ण छन्, त्यसमा बिनाआग्रह–पूर्वाग्रह छलफल गरिनुपर्छ ।
डा.भट्टराईले २०६६ असारको रातो झिल्कोमा ‘आजको माक्र्सवाद’ शीर्षक लेख लेखेका थिए । उक्त लेख र त्यसमाथि प्रदीप गिरी तथा चैतन्य मिश्रले गरेका टिप्पणीहरू त्रिभुवन विश्वविद्यालयको एमए तहमा पढ्नुपर्छ । उनले लेखेका छन्– ‘नेपालमा आधारभूत रूपमा अर्धसामन्ती र अर्धऔपनिवेशिक संरचना कायमै रहेको छ ।’ आज करिब चार वर्षपछि ‘खाँचो नयाँ शक्तिको’ लेखमा डा.भट्टराई लेख्छन्– ‘सामन्तवादको अन्त्य गरेर पुँजीवादी क्रान्ति मूलत: सम्पन्न गर्यौँ । पुरानो सामन्ती युगको अन्त्य गरेर अब औद्योगिक पँुजीवादी युगमा प्रवेश गरेका छौँ ।’ अब प्रश्न यो हो– गत चार वर्षमा नेपालमा ठूलो क्रान्ति भएर अर्धसामन्ती र अर्धऔपनिवेशिक संरचनामा परिवर्तन भएर पँुजीवादी क्रान्ति सम्पन्न भई औद्योगिक पुँजीवादी युगमा प्रवेश गरेका छौँ भन्ने बाबुरामको नयाँ विचार हो त ? कदापि होइन । ०६६ को विचार गलत भएको भन्ने आत्मालोचना बाबुरामले गरेका छैनन् । डा.भट्टराईमा बौद्धिक इमानदारी छैन भन्ने देखिन्छ । बाबुरामसँग सोधौं– के कति कारण ०६६ को बाबुरामको विश्लेषण गलत भयो ? र, के कति कारण अहिलेको विचार ठीक भयो ?
०६६ मा डा.भट्टराईले लेखेका थिए– ‘यो एउटा संक्रमणकालीन सरकार र सत्ता हो, पुरानो वर्गीय सत्ता आंशिक रूपले मात्र ध्वंश भएको र नयाँ क्रान्तिकारी सत्ता पनि संस्थागत नभइसकेको यस्तो संक्रमणकालीन सत्ता विशिष्ट प्रकृतिको सत्ता …लामो समयसम्म रहन सक्दैन र अन्तत: त्यसले यो वा अर्को वर्गको अधिनायकत्वको स्वरूप धारण गर्नैपर्दछ । नेपालमा अग्रगमनकारी कि पश्चगामी वर्गको पक्षमा अहिलेको सत्ता रूपान्तरित हुन्छ, इतिहासले छिट्टै फैसला गर्नेछ ।’ डा.भट्टराईलाई प्रश्न गरौं– के इतिहासले फैसला गरिसकेको हो ? पछिल्लो लेख ‘खाँचो नयाँ शक्तिको’मा ‘अब औद्योगिक पुँजीवादी युगमा प्रवेश गरेका छौं’ मात्र भनेर सत्ताको वर्गीय चरित्रका विषयमा चुप लागेर उनले माक्र्सवादको आधारभूत वर्गीय दृष्टिकोण परित्याग गरेका छन् । उनले नयाँ लेखमा ‘हाम्रै नेतृत्वमा क्रान्ति पूरा भएर पनि नयाँ संविधान निर्माण गरी अगाडि बढ्ने जुन अवसर थियो, त्यो हामीले गुमायौं’ तथा ‘राजनीतिक रूपमा पुँजीवादी क्रान्ति सम्पन्न गरे पनि आर्थिक रूपमा पुँजीवादका आधारहरू निकै कमजोर छन्’ भनेका छन् । यसबाट पुँजीवादी, जनवादी क्रान्ति पूरा भएको अर्थ लाग्छ र यसबाट अहिलेको सत्ता औद्योगिक पँुजीवादी वर्गको सत्ता हो भन्ने अर्थ लाग्दछ । उनले ०६६ असोजमा रातो झिल्को पत्रिकाको दोस्रो अंकमा ‘नेपाली क्रान्तिका चुनौती र सम्भावनाहरू’ शीर्षकमा ‘नेपालमा पुँजीवादी जनवादी क्रान्ति पूरा नभएको, राष्ट्रपतिले ‘कु’ गरेको, संशोधनवादी एमालेको सरकारलाई क्रान्तिको गला रेट्न प्रयोग गरिएको’ आदि तर्कसहित नेपाली क्रान्तिका दुई सम्भाव्य बाटाहरूका रूपमा माथिबाट हस्तक्षेपको बाटो र तलबाट विद्रोहको बाटो भनेर व्याख्या गर्दै लेखेका थिए– ‘विद्रोह फेरि छापामार युद्धतिर फर्केर दीर्घकालीन जनयुद्धको बाटोमा अग्रसर हुनपर्ने अवस्था पनि आउन सक्छ ।’ यो बीचमा उनी प्रधानमन्त्री भए, जनसेना र हतियार बुझाए र संविधानसभाको चुनावमा सर्मनाक पराजय भयो । अब उनी भन्दैछन्– ‘जनवादी क्रान्ति पूरा भयो ।’
देशको वास्तविकता के हो त ? गणतन्त्रात्मक व्यवस्था हाम्रो ऐतिहासिक उपलब्धि हो । तर, अझै नयाँ पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको छैन । कतिपय पुँजीवादी–जनवादी क्रान्ति राजनीतिक रूपमा सम्पन्न भए पनि आर्थिक क्रान्ति पूरा नभएको तर्क पनि गर्छन् र अबको कार्यभार पँुजीवादको विकास गर्नु हो भन्ने गर्छन् । तर, त्यो पनि सही होइन । गणतन्त्र आउँदैमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको मान्ने हो भने चीनमा सन् १९११ मा नै गणतन्त्र आएको थियो । तर, १९४९ मा मात्रै जनवादी क्रान्ति सम्पन्न भयो । नेपालमा ०४६ सालको आन्दोलनबाट नै पँुजीवादी जनवादी क्रान्ति पूरा भएकाले पुँजीवादको विकास गर्दै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्छ भन्ने नेमकिपाको नयाँ धार त्यसबेला थियो तर एमाले, एकताकेन्द्र (माओवादी)लगायतले भने नेमकिपाको त्यो तर्क अस्वीकार गर्दै जनवादी क्रान्ति पूरा नभएकाले त्यसकै तयारी गर्नुपर्ने नीति तय गरेको थियो ।
०६२ सम्मको जनयुद्ध, जनआन्दोलन, मधेस र जनजाति आन्दोलन तथा पहिलो संविधानसभाको चुनावी जनआन्दोलनसम्म आउँदा पुरानो जनवादी क्रान्ति सम्पन्न भएको छ, तर नयाँ जनवादी क्रान्ति (मदन भण्डारीको शब्दमा जनताको बहुदलीय जनवादी क्रान्ति) भने सम्पन्न भएको छैन । भण्डारीले पाँचांै महाधिवेशनमा पेस गरेको ‘नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलीय जनवाद’ नामक दस्तावेजमा लेखेका थिए– ‘हाम्रो क्रान्ति पनि नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो कार्यक्रम पनि नयाँ जनवादी नै हो । ….अन्य देशहरूमा बहुदलीय प्रतिस्पर्धा रहेन । हामी भने त्यसभन्दा भिन्न सुस्पष्ट रूपमा बहुदलीय प्रतिस्पर्धा सामेल गर्न चाहन्छौं ।’ तर, त्यसमा बहुदलीयतालगायत अरू पनि केही विशेषताहरू सामेल थिए । पुरानो पुँजीवादी–जनवादी क्रान्तिले गणतन्त्र ल्याए पनि यसको आर्थिक आधारमा सामन्तवादका अवशेषहरू, दलाल तथा नोकरशाही पँुजीवाद र नवउपनिवेशवाद रहेको छ र उपरी संरचना पनि यही अनुरूपको रहेको छ । हामीलाई चाहिएको नयाँ पुँजीवादी–जनवादी गणतन्त्र कस्तो हो भने यसको आर्थिक आधार र उपरी संरचना सामन्तवादका अवशेष पनि नष्ट भएको, दलाल तथा नोकरशाही पँुजीवाद नष्ट भएको र नवउपनिवेशी स्थितिबाट मुक्त औद्योगिक क्रान्ति र कृषि क्रान्तिको सुरुआत गर्ने पँुजीवादी–जनवादी गणतन्त्र हो ।
वर्तमान नेपाली पुँजीवादले उद्योग जति अरब, चीन र भारतका साथै विकसित देशमा विस्तार र विकास गरेको छ । र, नेपालले दैनिक १४–१५ सय अदक्ष मजदुर निर्यात गरी विदेशी पँुजी आर्जन गरेर त्यो पँुजीले उपभोग्य सामान र विलासीका सामान आयात गर्दै आएको छ । यसैलाई औद्योगिक पुँजीवादी युगमा प्रवेश गरेको मान्न सकिन्छ ? यो दलाल पुँजीवाद हो, दास पुँजीवाद हो, विकृत पँुजीवाद हो, नवऔपनीवेशिक पुँजीवाद हो र प्रतिक्रियावादी पुँजीवाद हो । नेपालमा कृषि, उद्योग र पर्यटनलगायतका क्षेत्रमा केही राष्ट्रिय औद्योगिक पँुजीको विकास त भइरहेको छ, तर त्यो २० प्रतिशत पनि छैन । नेपालमा जडीबुटी कारखानाजस्ता सरकारी स्वामित्वका उद्योग पनि छन्, तर ती नोकरशाही पुँजीवादी उद्योग हुन् । नोकरशाही र दलाल पुँजीवादको विकासलाई नै नेपालमा पुँजीवादको विकास हुन थालेको भन्दै अब जनताको बहुदलीय जनवादी क्रान्ति वा नयाँ जनवादी क्रान्ति गर्नु पर्दैन भन्ने निष्कर्ष निकाल्नु नेपालको अर्थ–राजनीतिको सही विश्लेषण होइन । हामी माक्र्स, लेनिन र माओभन्दा नितान्त भिन्न समयमा छौं । हामीले सामना गरिरहेको वर्तमान नेपालको पँुजीवाद औद्योगिक पुँजीवाद होइन, यो दलाल तथा नोकरशाही पुँजीवाद हो । तसर्थ, नयाँ पुँजीवादी जनवादी गणतन्त्रात्मक क्रान्ति फेरि पनि आवश्यक छ, अहिले नै समाजवादी क्रान्तिको तयारीको नीति लिनु उग्रवामपन्थी गल्ती हो । यो नयाँ क्रान्ति मदन भण्डारीले भनेको क्रान्तिको बाटो भएर हुने सम्भावना अझै छ । एमाले र एमाओवादी एकीकृत पार्टी भएर सही ढंगले अघि बढेमा निकट भविष्यमा नै यो नयाँ पुँजीवादी–जनवादी गणतन्त्रात्मक क्रान्ति सम्पन्न हुने सम्भावना अझै छ ।
डा.भट्टराईले नयाँ शक्तिको वैचारिक आधार यसरी व्याख्या गरेका छन्– ‘हामीले राजनीतिक विचारलाई नयाँ ढंगले विकास गर्नु आवश्यक छ । त्यसका निम्ति वैचारिक र दार्शनिक ढंगले नवउदारवादी र समाजवादी दुईटै विचारको बीचबाट अहिलेको आवश्यकता सुहाउँदो विचारको विकास गरेर अगाडि बढ्नुपर्छ । ….अब नयाँ राजनीतिक विमर्श गर्दा यी दुईथरि दृष्टिकोणभित्र रहेका कमी–कमजोरीलाई बुझ्नु र तिनका सकारात्मक पक्षहरूलाई समेट्नु आवश्यक छ । खासमा यी दुई विपरीत विचार होइनन्, जसरी रूख र जंगल अलग होइनन् । कसैले रूखमात्र देख्ने, जंगल नदेख्ने र कसैले जंगलमात्र देख्ने रूख नदेख्ने प्रवृत्ति नवउदारवादी र समाजवादी दृष्टिकोण राख्नेहरूका बीचमा रह्यो । त्यसैले बिल्कुल विपरीत विचारहरूको समन्वय नभएर यी दुवैको अपूर्णतालाई अन्त्य गरी नयाँ विचारको विकास गर्नुपर्छ ।’ यो घोषणा भनेको बाबुरामको नयाँ शक्तिको वैचारिक घोषणा नभएर उनको समाजवादी दृष्टिकोण अर्थात् माक्र्सवादी दृष्टिकोण परित्यागको घोषणा हो । यहाँ ‘समाजवादी (माक्र्सवादी) दृष्टिकोणमा कमी–कमजोरी रहेको र त्यसलाई सच्याएर माक्र्सवादी दृष्टिकोणकै विकास गर्नुपर्छ’ भनिएको छैन, माक्र्सवादी र नवउदारवादी दृष्टिकोणको बीचबाट नयाँ विचारको विकासको फलाको हालिएको छ । कुनै बेला महेन्द्र, नेहरू, युगोस्लाभियाका टिटो, हिटलर आदि पनि यस्तै तेस्रो धारको कुरा गर्थे । दुवै दृष्टिकोणका नराम्रा कुरा हटाउने र राम्रा कुरा लिएर तेस्रो विचारको विकासको कुरा गर्थे । यसर्थ, यो बाबुरामको नांगो पतनको सुरुआत हो । बाबुरामले नयाँ विचार दिनुअगाडि सर्वप्रथम दुई हातले हसुर्ने हिसिला प्रवृत्तिको समाधान खोज्नुपर्ने हो, तर बाबुराम यसबारे सधैं मौन देखिएका छन् ।
यसमा बाबुरामको तीव्र महत्त्वाकांक्षा र देखावटी जोगी चरित्रको फ्युजन प्रवृत्ति तथा पार्टीभित्रको तीव्र अन्तरसंघर्षले पनि काम गरेको देखिन्छ । बाबुरामले पार्टी अध्यक्ष खोजेका थिए, त्यो नपाएपछि कुनै पदमा नबस्ने भनेर घुक्र्याए । त्यसबाट पनि केही हात नलाग्ने देखेर बाबुरामले ‘नयाँ शक्तिको खोजी’ भन्दै नयाँ वैचारिक आक्रमण गरेका हुन्, तर आफू नांगिएको कुरा बाबुरामले ढिलो मात्र थाहा पाउने भए । उनले वैद्य माओवादीमा भइरहेको अन्तरसंघर्षलाई बुझ्न सकेनन् । वैद्य माओवादीमा मोहन वैद्यसहितका नेताहरू अल्पमतमा परेका छन् र उनीहरू क्रान्तिको मालामात्र जपेर क्रान्ति नगर्ने प्रवृत्तिमा भासिएका भनेर कार्यकर्ताहरूका घेरामा परेका छन्, जसले गर्दा उनीहरू प्रचण्डसँग पुन: एकता गर्ने मनस्थितिमा पुगिसकेको भनिन्छ । तर, यो त्यति सजिलो भने छैन । प्रचण्डसँग एकता हुँदा वैद्य माओवादी पनि फुट्नुपर्छ । उता, प्रचण्ड पनि बाबुराम र भारतबाट धोका पाएको भन्दै नयाँ शक्तिको खोजीमा छन् भनिन्छ । बाबुरामले त नयाँ शक्तिको खोजीका लागि नांगो विसर्जनवादी दक्षिणपन्थी विचार ल्याए, अब वैद्य र प्रचण्डको गाईजात्रा भने हेर्न बाँकी नै छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
-
निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
-
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply