संगति नमिलेको अनौपचारिक इतिहास

आफ्नो समयका हक्की, चर्चित र विवादास्पद विद्वान हृषिकेश शाहका सम्झनाहरूको संकलन ‘प्रारब्ध र पुरुषार्थ’ आत्मकथाका रूपमा भर्खरै सार्वजनिक भएको छ । उनको निधनको झन्डै १२ वर्षपछि प्रकाशनमा आएको यस कृतिले स्वर्गीय शाहका बारेमा पुराना मानिसहरूका मनमा सम्झनालाई एक पटक ताजा बनाइदिएको छ भने जीवितकालमा उनका बारेमा थाहा नपाउने मानिसहरूलाई उनका बारेमा बुझ्नका लागि मद्दत पुर्याएको छ । प्रकाशन संस्था हिमाल किताबका वसन्त थापाले सुरुमै दिएको जानकारी अनुसार यो पुस्तक डा. हर्क गुरुङको आग्रह अनुसार हिमाल किताबका श्रीभक्त खनालले शाहसँग गरेको टेपमा आधारित छ । त्यसमा हरि अधिकारीले सम्पादकका रूपमा काँटछाँट र सम्पादन गरेका रहेछन् । थाहा छैन, अरूका रचनामा खोटैखोट कmेलाउन पारंगत अधिकारीले यसमा कति थपे, कति झिके, कति बान्की मिलाए, कति आफू अनुकूल बनाए, कति आफूलाई मन नपरेकाहरूको ढाड सेक्ने गरी यत्तिकै छोडिदिए । तर, हृषिकेश शाहको निधन भइसकेकाले यस पुस्तकको आधिकारिकताका बारेमा ‘ठीक होला’ भन्नेबाहेक अरू कुनै आधार छैन । त्यसै पनि मानिसको निधनपछि प्रकाशन गरिने पुस्तकहरूमा प्रयुक्त व्यक्तिविशेष सम्बन्धका टिप्पणीहरू विवादित मानिन्छन् । झन् हृषिकेश शाह जस्ता आफैंमा विवादास्पद मानिने, सोचाइ र कर्ममा संगति नमिलेका र अरूलाई प्राय: हेपेर बोल्ने व्यक्तिका भनाइहरू विवादित हुने नै भए । तर पनि, प्रस्तुत पुस्तक पढ्दा मोटामोटी एक जमानाको नेपाल बुझ्नका लागि मद्दतगार नै छ ।
जसरी हृषिकेश शाहको जीवनमा संगति मिलेको पाइँदैन, त्यसरी नै उनको यस पुस्तकमा पनि विषयवस्तुको क्रमबद्धता र संगति मिलेको पाइँदैन । राजाको विश्वासप्राप्त गरेकाहरूमध्ये पनि अझ विश्वासिलाहरूलाई मात्र राखिने राजसभा स्थायी समितिको सभापति भएका बेला प्रतिबन्धित विद्यार्थी संगठनको अधिवेशन उद्घाटन गर्न जानुलाई कुन रूपमा बुझ्ने ? अनि उनले एकातिर आफूलाई सुरुदेखि नै प्रजातन्त्रवादी देखाउन खोजेका छन् भने अर्कातिर कांग्रेसको सरकार हुँदा त्यसलाई बर्खास्त गरेर सत्ता हातमा लिनका लागि पहिला सुवर्णशमशेरलाई हातमा लिन राजा महेन्द्रलाई पेरिसमा भेटेर उचालेका छन् । एकातिर उनी बेला–बेलामा आफूलाई भारतविरोधी देखाउन उद्यत हुन्छन् भने अर्कातिर आफूलाई भारतीय नेताहरूसँग निकै निकट भएको देखाउन पनि पछि पर्दैनन् । यस्ता थुप्रै असंगति र विरोधाभाषहरूले यो पुस्तक भरिएको छ, हृषिकेश शाहको जीवन जस्तै ।
हृषिकेश शाहको पुस्तकबाट थाहा पाउन सकिने एउटा सपाट तथ्य चाहिँ के हो भने अहिलेभन्दा पहिला नेपालमा भारतीय प्रभुत्व र प्रभाव धेरै गुणा बढी थियो । नेपालको राजकीय मामिलामा सम्पूर्ण रूपमा भारतीय राजदूतकै हालीमुहाली हुन्थ्यो । अझ त्यस्तो गर्नमा नेपालकै नेताहरूले बढी उचाल्दा रहेछन् । यस्तै एक प्रसंग पुस्तकमा छ । शाह भन्छन् :
‘एक पटक महेन्द्रले आफू बाहिर जाने बेला र हिमालय पनि बाहिर जान परेको बेला बसुन्धरालाई राजप्रतिनिधि स्थायी समितिको अध्यक्ष बनाए । ….मैले भनें, बुबा पनि बाहिर सवारी भएको छ…..प्रजातन्त्र जोगाउनुपर्यो सरकार । …केही कदम चाल्ने हो भने रक्तपात हुँदैन । …..यिनीहरूलाई दवाउन भारतबाट फौज ल्याउने । यिनीहरूले आत्मसमर्पण गर्छन् । मैले नेपालीहरूको मनस्थिति बुझेको छु सरकार ।’
कस्तो अचम्मको सल्लाह ? यदि हृषिकेश शाहले भनेको कुरा राजाको छोरा बसुन्धरा र तत्कालीन भारतीय राजदूत भगवान सहायले मानेको भए अवस्था के हुन्थ्यो होला ? यस्ता कतिपय प्रसंगमा शाह अचम्मका देखिन्छन् ।
पुस्तकभरि हृषिकेश शाहले राजनीति आफैंले चलाएको र अरूलाई आफैंले काम गर्न लगाएको वर्णन पढ्न पाइन्छ । सबैलाई तँ र बढीमा तिमी भनेर सम्बोधन गर्ने उनले आफ्नो अस्थिर र कतिपय सन्दर्भमा रहस्यमय चरित्रका कारण कुनै पनि भूमिका पूर्ण रूपमा पूरा गर्न सकेको देखिँदैन । उनी अमेरिकाका लागि राजदूत भए, अर्थमन्त्री भए, विदेशमन्त्री भए, राजसभा स्थायी समितिका सभापति भए, राष्ट्रिय पञ्चायतका सदस्य भए । तर, कहीँ कतै पनि उनको भूमिका सम्झनायोग्य र पूर्ण कार्यकालको समापनसँग पूरा भएको देखिँदैन । यसबाट पनि उनमा रहेको अस्थिर चरित्र बुझ्न सकिन्छ । तर, यीमध्ये उनी संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर भने केही प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम देखिएका छन् । त्यो पनि भारतीय आडका कारण रहेछ भन्ने कुरा किन थाहा हुन्छ भने सोझै भारतीय कूटनीतिज्ञ अघि सर्दा जहाँ–जहाँ अप्ठेरो हुन्छ, त्यहाँ–त्यहाँ शाहलाई अघि सारिँदोरहेछ । संयुक्त राष्ट्रसंघको महासचिवका लागि उनको नाम चर्चामा आउनुको पनि त्यस्तै कारण रहेछ भन्ने रहस्य उनले खोलेका छन् ।
पुस्तकमा शाहले केही रमाइला कुरा गरेका छन् । पत्याउने वा नपत्याउने ? पाठककको जिम्मा :
० हामीले गृहमन्त्री (बीपी कोइराला)ले तरुनीहरूसँग कानाकानापिच्चा खेलेर समय बिताउँछन् भनेर एक जना तरुनीले गृहमन्त्रीको टाउको रुमालले छोप्न लागेको फोटो छापिदिएका थियौं । (पृष्ठ १००)
० महेन्द्र गजब–गजब गर्नुहुन्थ्यो । नेहरूसँग कुरा गर्न भनेर तुलसी गिरीलाई पठाउनुभयो । उसले त्यहाँ नेहरूसँग नेपालको त्यतिबेलाको प्रणालीलाई पार्टीलेस डेमोक्रेसी के–के भनेछ । त्यसका त्यस्ता कुरा सुनेर लौ जा तँ, तेरा कुरा सुनेँ । मलाई अर्ति दिइस् भनेर डाँको टिपेछन् । (पृष्ठ १२७)
० कुनैबेला दरबारको वफादार कर्मचारी रहेको लोकदर्शन बज्राचार्यलाई महेन्द्रले थुने । कोही भन्छन् यसले इन्डियनहरूकहाँ फाइल लग्यो । (पृष्ठ १५८)
० बीपीले गणेशराज शर्मा र परशुनारायण चौधरीलाई रञ्जनराज खनाल (प्रमुख सेक्रेटरी) कहाँ चुनाव लड्न पैसा माग्न पठाउनुभयो । एक–दुई करोड मागेको हुनुपर्छ । एक पैसा पनि दिएनन् राजाले । (पृष्ठ १६०)
० महेन्द्रको बोली छुच्चो थियो । आफ्नी सासूलाई हरिशमशेरकी स्वास्नी भन्थे । त्यसैले रत्न सधैं रुने गर्थिन् । हरिशमशेरले छापा मार्ने भने, छापा मार्ने भनेको गुरिल्ला लिएर आक्रमण गर्ने हो । (पृष्ठ १६४)
० मलाई रानी रत्नले भन्नुभएको वीरेन्द्रले ज्ञानेन्द्रको घाँटी समातेर झन्डै मारेका थिए रे ! ‘के फूर्ति गर्छौ, तिमीभन्दा अगाडि म राजा भएको’ भनेर ज्ञानेन्द्रले भनेकाले झगडा परेको रहेछ । (पृष्ठ १६६)
० विश्वेश्वरप्रसाद गृहमन्त्री हुँदा म र टंकप्रसाद गोलघरमा थुनिएका थियौं । ….त्यही बेला हो टंकप्रसादको खल्तीमा त्रिभुवनले कम्पनी ५० हजार हालिदिएको तिम्रो त एउटा कोटसम्म पनि रहेनछ भनेर (पृष्ठ ऐ)
० मेरो छोरा श्रीप्रकाश शाहले ज्ञानेन्द्रको पकेट खर्च जोगाइदिन्थ्यो । ज्ञानेन्द्रले पाउने मासिक दुई सय पहिलो तारिखमै स्वाहा हुने । (पृष्ठ १६७)
पुस्तक पढ्दा इतिहासका कतिपय अपत्यारिला कुरा पनि थाहा पाइन्छ । आफैं द्रष्टाका रूपमा शाहले भनेका हुनाले त्यो साँचो नभए पनि कि अर्को द्रष्टाले भन्न सक्नुपर्यो कि त पत्याउन करै लाग्छ । झट्ट पढ्दा कतिपय कुरा पत्याउन मुस्किल पनि पर्दछन् । बोलेर टेपबाट उतार गरी लेखेका कारण सिलसिला नमिल्नु अस्वाभाविक होइन । पुस्तकको दोस्रो भागमा शाह स्वयम्ले अंग्रेजीमा लेखेका कुरालाई उल्था गरिएकाले ती बढी व्यवस्थित छन् भने सान्दर्भिक तस्बिरहरूले पुस्तकलाई वजनदार बनाएका छन् । प्रभावकारी थुप्रै पुस्तकका लेखक शाहको यस फितलो पुस्तकले इतिहासको केही अनौपचारिक ज्ञान चाहिँ दिन्छ भन्नेमा शंका छैन ।
प्रारब्ध र पुरुषार्थ
लेखक : हृषिकेश शाह
विधा : संस्मरण
प्रकाशक : हिमाल किताब
पृष्ठ : २३५
मूल्य : रु. ३७५/–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply