वैचारिक विमर्शको बाहुल्यता

कवि वासुदेव अधिकारी तिख्खर वैचारिक चेत र कलात्मकताले भरिपूर्ण कविता लेख्ने सीमित सर्जकहरूको सूचीमा पर्दछन् । राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत क्षेत्रमा व्याप्त विसंगत, विकृत र विरोधाभास पक्षहरूमाथि सार्थक हस्तक्षेप गर्ने हैसियत पनि उनका कविताहरूले राख्दछन् । अधिकारीको पछिल्लो कविताकृति ‘गायब सभामुख’भित्रका कविताहरूले नेपाली समाज र व्यक्तिका प्रवृत्तिहरू केलाउनुका साथै राजनीतिक तहमा जमेर बसेका लेउहरूलाई खुर्केर फ्याँक्ने संकल्पबोध पनि गरेको प्रतीत हुन्छ ।
राजनीतिक दृश्यपटलमा परिवर्तनका तीव्र रेखाहरू कोरिँदै जानुलाई नेपाली राजनीतिको पछिल्लो उपलब्धि, सान र गौरवको रूपमा अथ्र्याउनु यथोचित होला । मूलत: ०६२/६३ को जनआन्दोलनपछि देश परिवर्तनको दिशातिर तीव्र रूपमा उन्मुख छ । दस वर्षसम्म माओवादीले सञ्चालन गरेको युद्ध, केही समयावधिसम्म तन्किएको निरंकुशताको कहर, दोस्रो जनआन्दोलन, गणतन्त्रको स्थापना र संविधानसभाको निर्वाचनले नेपाली समाजले एकपछि अर्को गर्दै परिवर्तनका स्वादहरू चाख्न पायो । र, जनताले नयाँ संविधानको मुख हेर्न पाउने सुऔसर पनि जुर्दै गइरहेको थियो । तर, राजनीतिक स्वार्थ र खिचातानीमा रुमल्लिएका नेतागण र पार्टीहरूको अदूरदर्शिताका कारण पहिलो संविधानसभा अल्पायूमै बित्यो । संविधानसभाको अवसानपछि आहत भएका कवि ‘अग्निस्राव र संविधानसभा’मा लेख्छन्– ‘कति सजिलै कुल्चियौ/संविधानसभा हिजो/र अक्करमा आइपुग्यौं हामी/कति सजिलै बिर्सियौ/जनआन्दोलन हिजो/र रक्तपातमै मग्न भइरह्यौं हामी ।’
सामान्य जनताको राजनीतिलाई हेर्ने दृष्टि सदैव नकारात्मक रहँदै आयो । सत्ताको बागडोर सम्हाल्नेहरूले जनतासामु गरेका संकल्प, प्रतिबद्धता र मूल्य, मान्यताहरू कुल्चिँदै आफूखुसी शासन चलाउन थालेपछि जनताले अविश्वासको नजरले हेर्न थाले र अहिलेसम्म पनि अविश्वासको खाडल पुरिन सकेको छैन । र, देशको नेतृत्व गर्नेहरूले जनविश्वासमाथि कुठाराघात गरेपछि आक्रोश उत्पन्न हुनु स्वाभाविकै हो । अझ, संविधानसभाको घाँटी निमोठेर हत्या गर्नेहरूप्रति सर्वत्र आक्रोश छाउनुलाई अन्यथा मान्न सकिँदैन । कविले संविधानसभाको अवशान हुँदा रमिते बनेका सभासद्हरूलाई तीखो प्रश्न गरेका छन्– ‘संविधान लेख्नकै लागि हो/त्यति सफा हृदय–कागज दिएको/विचार–मसी दिएको/भावना–कलम दिएको/तिमीले लेख्यौ त्यसरी नै ?’ कविले सभासद्हरूलाई मात्र प्रश्नको बौछार गरेका छैनन्, संविधानसभा जोगाउन नसकेका सभामुखलाई पनि उत्तिकै तीक्ष्ण प्रश्नवाण तेस्र्याएका छन् । शीर्षक कविता ‘गायब सभामुख’मा कवि लेख्छन्–‘भु्रण तुहिने बेला/एकाएक अलप भयौ तिमी/एकाएक अन्तध्र्यान भयौ तिमी/हामी त्वाएकी सुत्केरी वरिपरि/जन्मिँदै लास भएको सिनो वरिपरि/तिमी न त्वाउने सुत्केरी वरिपरि/न हामीसँगै सिनोको मलामीमा/ कहाँ गायब तिमी ?/कहाँ अलप तिमी ?’
नेतृत्व गर्नेहरू नै विसंगतिको आहालमा चुर्लुम्मै डुबेर पौडी खेल्न थालेपछि देशको के हविगत होला ? पार्टीको के हालत होला ? अझ, द्रव्यमोहले तानिएर इमानदार कार्यकर्ताहरूलाई पाखातिर धकेल्ने र द्रव्यदान गर्नेहरूलाई थालीमा राखेर आकर्षक पद दिने प्रवृत्ति मौलाउने हो भने कुनै पनि राजनीतिक शक्तिको भविष्य कस्तो होला ? त्यस्तो पार्टीको चमक कसरी खुइलिँदै जाला ? ‘ल्याक्पार यात्रा’ले राजनीतिक दलभित्र उम्रिएको विसंगतिका झार खनेर जिलो केलाउने प्रयत्न गरेको छ । कवि लेख्छन्– ‘घरमै पार्टी सदस्यता/कोटको खल्तीपिच्छे नागरिकता/सोचाइमा अग्रगामिता/नेता किनमेलमा पारदर्शिता/देश बनाउने होइन कमरेड ?/नाच्ने होइन ल्याक्पारको लयमा ?’ ‘घरको कथा’ले पनि संविधान नबनेकोमा नै चिन्तन जाहेर गरेको छ । पुरानो घर भत्काएपछि नयाँ बनाउनेतिर चासो, चिन्ता र समय दिन नसक्ने गैरजिम्मेवार प्रवृत्तिप्रति यो कविताले प्रश्नचिन्ह उठाएको छ । ‘जात्रा अनुकरण’ले संविधान लेखनमा आफ्नो स्वविवेक प्रयोग गर्नेभन्दा पनि विदेशी शक्तिकेन्द्रहरूको सल्लाहको भर पर्ने नेताहरूप्रति कटाक्ष गरेको छ । कवि लेख्छन्–‘संविधानको कपुरी क लेख्न/तिनलाई आफै आउँछ कि/अरु कसैले सिकाउनुपर्छ ?/संविधान लेख्दा/माटो हृदय छाम्छन् कि/लुकी लुकी एसएमएस हेर्छन् उनीहरू/तिनले सुनको बिहान कल्पेका छन् ?/कि ‘सुन’ भागबण्डामा पल्केका छन् ?/कस्तो लाग्छ हँ तिमीलाई ?’
मूलत: प्रगतिशील काव्य–लेखनबाट नै आफ्नो लेखकीय चिनारी बनाएका अधिकारीका यसअघि समयका स्वरहरू, मनको हरियो, मनको गीत, आफन्तलाई सम्बोधनजस्ता सशक्त कविताकृति प्रकाशित भइसकेका छन् । र, ‘गायब सभामुख’मा पनि उनले आफ्नो पुरानै लेखन शैली र शिल्पलाई पछ्याएका छन् । ‘कविता समकालीन अनुभूतिको आलेख हो’ भन्ने मान्यतामा अडिग अधिकारीले यो कृतिमार्फत् राष्ट्रिय जीवनका जल्दाबल्दा प्रश्नहरूमाथि काव्यीक धरातलबाट वैचारिक विमर्श चलाउने अभीष्ट राखेको सहजै महसुस गर्न सकिन्छ । हो, रवीन्द्र मिश्रले भनेजस्तै उनी ‘राजनीतिक चेतनाबोधले प्रेरित कवि’ हुन् र ‘गायब सभामुख’लाई त्यही तह र सन्दर्भका कविताहरूको पुञ्ज मान्न सकिन्छ ।
कवि : वासुदेव अधिकारी
विधा : कविता
प्रकाशक :शब्द संयोजन
पृष्ठ :५० प्लस २८
मूल्य :१५०।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply