महाधिवेशन सार्न चलखेल

काठमाडौं । आगामी जेठको अन्तिम साता तोकिएको नेकपा (एमाले)को नवौं महाधिवेशन सो मितिबाट अझै पछाडि धकेल्न पार्टीभित्रैबाट चलखेल सुरु भएको छ । दिल्लीमा उपचाररत नेता केपी ओलीको स्वास्थ्यलाई कारण बनाएर महाधिवेशन सार्ने लबिङ सुरु भएको बुझिएको छ ।
गत हप्ता महासचिव ईश्वर पोखरेलले ओलीलाई भेटेर फर्किएपछि महाधिवेशन सर्नसक्ने बारे पार्टीभित्र र बाहिर पनि गाइँगुइँ चल्न थालेको हो । सोमबार डाकिएको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बिनाकारण स्थगित गरिएपछि यसलाई पार्टीपंक्तिबाटै विभिन्न कोणबाट व्याख्या गर्न थालिएको छ । एक पोलिटब्युरो सदस्यले भने– ‘यो ढिलाढिला भनेको महाधिवेशन सार्नका लागि हो । चाँडै नै पार्टीमा महाधिवेशन सार्ने प्रस्ताव आउने बलियो सम्भावना छ’– उनले भने– ‘चैत भरिमा दस्तावेज लेखनको काम पूरा गर्ने भनिएको छ, तर अब पाँच दिन बाँकी छ । पाँच दिनमा दस्तावेज लेखनको काम सकिने कुरा कुनै हालतमा सम्भव छैन, यो गतिले कसरी निर्धारित मितिमा महाधिवेशन हुन्छ ?’
हिजो फागुन महिनाभन्दा पछाडि महाधिवेशन लगियो भने संसारै खस्छ, पार्टीको वैधानिकता नै समाप्त हुन्छ भन्नेहरू नै अहिले महाधिवेशन सार्ने चलखेलमा लागेको पनि उनले बताए । तर, महाधिवेशन सर्ने सम्भावनालाई कतिपय नेता अस्वीकार गर्छन् । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आफूलाई महाधिवेशन सर्छ भन्ने नलागेको बताए । उनले भने– ‘मूल काम भनेको सदस्यता नवीकरण र दस्तावेज लेखन हो, यो काम भइरहेको छ । हामीसँग अझै दुई महिना समय बाँकी छ, त्यो समय भनेको प्रशस्त हो ।’
गत चैत १८ गते बसेको मूल व्यवस्थापन समितिको सचिवालय बैठकले पाँच दिनभित्र उपसमितिहरूलाई पूर्णता दिने निर्णय गरेको थियो । केन्द्रीय कमिटीले उपसमितिका संयोजकहरू तोकिसकेको छ । संयोजकहरूले आ–आफ्नो उपसमितिमा रहने सदस्यको नाम मूल व्यवस्थापन समितिमा सिफारिस गरेपछि मूल व्यवस्थापनले पूर्णता दिनुपर्छ । त्यसैका लागि सोमबार मूल व्यवस्थापनको बैठक डाकिएको थियो । तर, अध्यक्ष झलनाथ खनाल अनुपस्थित भएको कारण देखाएर बैठक स्थगित गरिएको थियो । यद्यपि, संयोजकहरूले आफ्ना उपसमितिमा रहने सदस्यहरूको नाम छनोटको गृहकार्य गरिरहेको पनि प्रचार प्रमुख ज्ञवालीले बताए । ‘जुन दिन मूल व्यवस्थापनको बैठक बस्छ, त्यही दिन उपसमितिले पूर्णता पाउँछन्’– ज्ञवालीले भने ।
स्वास्थ्य उपसमितिको संयोजक समेत रहेका केन्द्रीय सदस्य योगेश भट्टराई पनि महाधिवेशन सर्ने कुरामा विश्वास गर्दैनन् । भट्टराईले भने– ‘तोकिएकै मितिमा महाधिवेशन हुन्छ, समय अझै घर्किएको छैन ।’ जुन दिन मूल व्यवस्थापन समितिको बैठक बस्छ त्यसै दिन आफ्नो उपसमितिमा रहनेहरूको नाम बुझाउने पनि भट्टराईले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply