नेतृत्व हस्तान्तरण कि प्रतिस्पर्धा ?

संसारको कुनै पनि कम्युनिस्ट पार्टी विश्व कम्युनिस्ट आन्दोलनको अंग हो र हुनुपर्दछ । कम्युनिस्ट आन्दोलनको जन्म समाजमा रहेका सबैखाले विभेद र उत्पीडनहरूको अन्त्य गरी पूर्ण मानवीय स्वतन्त्रता र समानताको स्थापना गर्ने महान् उद्देश्यका साथ भएको हो । त्यसैले कम्युनिस्ट पार्टीको अलग्गै पहिचान हुनुपर्दछ ।
दलीय राजनीति पुँजीवादी युगको उपज हो । सामन्तवादी युगसम्म व्यक्तिवादी राजनीति चल्थ्यो । सामन्ती व्यवस्था हुँदासम्म राज्य सञ्चालनका निम्ति बनाइने संरचनाहरू सबै व्यक्तिवादी चरित्रका हुन्थे । भारदारी सभा या परामर्शदात्री सभा यस्तै केही हुनसक्थे तर ती सबै व्यक्तिको संलग्नतामा बन्थे । त्यहाँ समूहगत प्रतिनिधित्व हुँदैनथ्यो । समाजमा पुँजीवादी उत्पादन प्रणालीको विकास हुँदै गएपछि राजनीतिमा समूहवादको जन्म भयो । त्यही समूहवाद दलीय व्यवस्थामा विकसित भयो । सुरुमा पुँजीपति वर्गको नेतृत्वमा उसकै हित प्रतिनिधित्व गर्ने दलहरू बने । ती दलहरूले समाजको अर्को महत्त्वपूर्ण पक्षका रूपमा रहेको श्रमजीवी वर्गको हित गर्न सकेनन् या गरेनन् । त्यसैले श्रमजीवी वर्गको हित गर्ने, त्यस वर्गको पक्षमा काम गर्ने दल या पार्टीको आवश्यकता पर्यो । त्यही आवश्यकताले कम्युनिस्ट पार्टीको जन्म भयो ।
पार्टीहरू आन्दोलनबाट जन्मेका हुन् र जन्मन्छन् । सामन्ती शोषण–दमन र उत्पीडनका विरुद्धको आन्दोलनका दौरान पुँजीवादी या बुर्जुवा पार्टीहरू जन्मेका थिए भने कम्युनिस्ट पार्टीहरू सामन्ती शोषण–दमन मात्रै होइन, पुँजीवादी शोषण–दमन र उत्पीडनका विरुद्ध समेत आन्दोलन गर्नेक्रममा जन्मेका हुन् । त्यसैले कम्युनिस्ट पार्टी र बुर्जुवा पार्टीहरूका बीच केही मौलिक भिन्नताहरू हुन्छन् र हुनुपर्दछ ।
बुर्जुवा पार्टीहरू मूलत: राजनीतिक अधिकार र राजनीतिक परिवर्तनमा सीमित हुन्छन् भने कम्युनिस्ट पार्टीहरू राजनीतिक अधिकारलाई मात्रै पर्याप्त ठान्दैनन् र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका निम्ति समेत संघर्ष गर्दछन् । उनीहरू सामाजिक न्यायको पक्षमा समेत उभिन्छन् र समाजको आमूल परिवर्तनका निम्ति अर्थात् समाजमा सबै पक्षमा परिवर्तन ल्याउनका निम्ति संघर्ष गर्दछन् । त्यसैले एउटा कम्युनिस्ट पार्टी या कम्युनिस्ट व्यक्ति हुनु भनेको श्रमजीवी जनताका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका निम्ति संघर्ष गर्ने हुनु हो, सामाजिक न्यायका निम्ति संघर्ष गर्ने हुनु हो र सिंगै समाजको आमूल परिवर्तनका निम्ति संघर्ष गर्ने हुनु हो । यी तीन काम नगर्ने व्यक्ति वा संस्था कम्युनिस्ट होइन । समाज बदल्न नचाहने, यथास्थितिमै रमाउने र आफ्नो भलाइमा तल्लिन रहने व्यक्ति वा संस्था कम्युनिस्ट होइन, हुन सक्तैन ।
नेतृत्व
नेतृत्व भनेको अगुवाइ गर्ने कार्य हो । यो कार्य नीति, निर्णय र निर्देशनमार्फत् हुन्छ । नीति निर्माणमा अगुवाइ गर्नु नेतृत्वको मुख्य कार्य हो । नीति निर्माण गर्नका निम्ति स्थितिको सही आकलन हुनुपर्दछ । त्यसैले समाजमा विद्यमान समस्याहरूको पहिचान गर्ने र ती समस्याहरूको समाधानका निम्ति उपाय बताउने अर्थात् नीति निर्माण गर्ने कार्यमा अगुवाइ गर्नु नै नेतृत्व हो । नीति तय गर्ने या सूत्रीकरण गर्ने, ती सूत्रीकृत नीतिहरूलाई निर्णयको तहमा पुर्याउने र निर्णय कार्यान्वयनका निम्ति प्रभावकारी ढंगले निर्देशन गर्ने अर्थात् प्रवक्ताको भूमिका निर्वाह गर्ने कार्य नेतृत्वको व्यावहारिक रूप हो ।
नेतृत्वका दुई पक्ष हुन्छन् । एउटा वैचारिक नेतृत्व र अर्को संगठनात्मक नेतृत्व । विचार निर्माणमा अगुवाइ गर्ने कार्य वैचारिक नेतृत्व हो भने संगठन निर्माण र परिचालन गर्ने कार्य संगठनात्मक नेतृत्व हो । वैचारिक नेतृत्व र संगठनात्मक नेतृत्व एउटै व्यक्तिले गर्दा धेरै राम्रो मानिन्छ तर त्यस्तो नहुने पनि स्थिति रहन्छ । कतिपय व्यक्तिहरू विचार या नीति निर्माणमा अगुवाइ गर्छन् तर आफैंले संगठनात्मक नेतृत्व लिँदैनन् । कतिपय व्यक्तिहरू विचार या नीति निर्माणमा अगुवाइ गर्न सक्तैनन् तर संगठनका निर्माण र परिचालनमा भने राम्रो भूमिका निर्वाह गर्दछन् ।
नेतृत्व निर्माण
नेतृत्वको निर्माण व्यवहारबाट हुन्छ । विचार वा नीति निर्माण गर्ने कार्यमा र संगठनको निर्माण तथा परिचालनमा जसले अगुवाइ गर्छ वा अगुवाइ गर्नसक्ने क्षमता प्रदर्शन गर्दछ, उही नै नेता बन्दछ । त्यसैले नेता व्यवहारले जन्माउँछ । रुसी माक्र्सवादका पिता प्लेखानोभ भन्छन्– ‘एउटा महान् व्यक्ति उसमा रहेको समाजका तात्कालिक ठूला–ठूला आवश्यकताहरूको परिपूर्ति गर्नसक्ने सक्षम गुणहरूको कारणले महान् हुन्छ । ‘… उसले पहिले विकास भएका सामाजिक सम्बन्धहरुले सिर्जना गरेका सामाजिक आवश्यकताहरूको पहिचान गर्दछ र तिनको परिपूर्तिका लागि पहल गर्दछ’ (सेलेक्टेड फिलोसोफिकल वर्कस् भोलुम टु पेज ३१४) ।
नेतृत्वसम्बन्धी सवालमा बर्जुवा पार्टीहरू र कम्युनिस्ट पार्टीमा ठूलो भिन्नता हुन्छ । बुर्जुवा पार्टीहरू नेता प्रधान हुन्छन् र उनीहरूमा नेतृत्वको प्राय: पारिवारिक चरित्र हुन्छ । त्यहाँ व्यक्तिवाद हावी भएको देखिन्छ । तर, कम्युनिस्ट चाहिँ नेता प्रधान नभई नीति प्रधान हुनुपर्ने मान्यता रहेको हुनाले, त्यहाँ नेतृत्व निर्माणको प्रक्रिया अलि फरक हुन्छ । कम्युनिस्ट पार्टीमा नेतृत्वको निर्माण व्यक्तिकेन्द्रित भएर होइन, नीति केन्द्रित भएर बन्दछ । त्यहाँ पार्टीलाई व्यक्तिको इच्छामा होइन, नीति र विधिमा संचालन गर्नुपर्दछ भन्ने मान्यता राखिन्छ । नेतृत्व व्यक्तिका इच्छा–आकांक्षा पूरा गर्ने कुनै गरगहना या पोसाक होइन, त्यो त समयको माग पूरा गर्न सक्ने योग्यता, क्षमता र कुशलता हो । समाजका समस्याहरूको सही र सटिक विश्लेषण गर्नसक्ने र ती समस्याहरूको समाधानका निम्ति चुनौतीहरूको सामना गर्दै अगाडि बढ्न सक्ने र सिंगो संगठनलाई अगाडि बढाउन सक्ने योग्यता, क्षमता र कुशलता हो ।
नेतृत्वका केही महत्त्वपूर्ण पक्ष
नेतृत्वको सर्वप्रमुख पक्ष हो विचार तथा नीति निर्माणमा अगुवाइ गर्ने क्षमता । त्यो क्षमता भएन भने वैचारिक नेतृत्व हुनसक्तैन । वैचारिक नेतृत्व नभएर सांगठनिक नेतृत्व मात्र भयो भने त्यो प्राविधिक नेतृत्व हुन्छ र प्रभावकारी बन्न सक्तैन ।
नेतृत्वको दोस्रो महत्त्वपूर्ण कुरा हो विचार प्रस्तुतिको क्षमता । राम्रो विचार छ तर त्यसलाई प्रभावकारी ढंगले आमजनतामाझ पुर्याउन सकिएन भने पनि काम लाग्दैन । त्यसैले नेतृत्व गर्ने व्यक्तिमा प्रभावकारी प्रस्तुतिको क्षमता हुनुपर्दछ ।
नेतृत्वको तेस्रो महत्त्वपूर्ण पक्ष आचरण हो । अरू जतिसुकै गतिलो भए पनि आंशिक र नैतिक आचरण खराब भएको व्यक्ति नेता हुन सक्तैन । यदि यस्तै खराब आचरण भएको मान्छे नेता हुन पुग्यो भने संगठनकै आचरण भ्रष्ट हुन्छ र समाप्तिको दिशातर्फ जान्छ ।
नेतृत्वको चौथो महत्त्वपूर्ण पक्ष कार्यशैली हो । नोकरशाही कार्यशैली भएको नेतृत्व गतिलो मानिँदैन । लोकतान्त्रिक कार्यशैली राम्रो मानिने शैली हो । कम्युनिस्ट पार्टीमा जनवादमा आधारित कार्यशैलीलाई राम्रो मानिन्छ । त्यसैले जनवाद र केन्द्रीयताको राम्रो संयोजन भएको कार्यशैली अवलम्बन गर्ने नेतृत्व भयो भने राम्रो हुन्छ ।
नेतृत्वको पाँचौं महत्त्वपूर्ण पक्ष पहलकदमी र क्रियाशीलताको पक्ष हो । आफैं क्रियाशील नहुने र पहलकदमी नलिने नेतृत्व संगठनलाई गति दिन सक्दैन । त्यसैले नेतृत्व गर्ने व्यक्ति आफैं अत्यन्त गतिशील र पहलकर्ता हुनुपर्दछ ।
नेतृत्व लिने दुई माध्यम– हस्तान्तरण र प्रतिस्पर्धा
नेतृत्व लिने दुई तरिका छन् । एउटा भइरहेको नेतृत्वले आफ्नो उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गर्ने तरिका र अर्को नेतृत्वका निम्ति प्रतिस्पर्धा गर्ने र त्यस्तो प्रतिस्पर्धामा जित्नेले नेतृत्व लिने तरिका । हस्तान्तरणको प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्दा एक व्यक्तिले छाड्ने र अर्को व्यक्तिले लिने गरिन्छ । त्यसो गर्नका निम्ति पहिलेदेखि नै नेताको उत्तराधिकारी तयार गर्दै गएको हुनुपर्दछ । त्यसरी नेतृत्व परिवर्तन गर्दा छाड्ने र लिने व्यक्तिहरूको प्रमुख भूमिका रहन्छ । अरूको खासै भूमिका रहँदैन । यस प्रक्रियाबाट जाँदा नेतृत्व निर्माणमा कार्यकर्ताको भूमिका रहन पाउँदैन । नेतृत्वपंक्तिमा पहिलो नम्बर नेताको उत्तराधिकारी बन्ने होड चल्छ । प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने प्रक्रियामा व्यक्तिले आफ्नो योग्यता, क्षमता र पहलकदमीको आधारमा कार्यकर्ताको मन जितेर नेतृत्व लिने काम हुन्छ । यस प्रक्रियामा नेतृत्व चयनमा कार्यकर्ताको सक्रिय र निर्णायक भूमिका रहन्छ ।
नेकपा (एमाले)को नवौं महाधिवेशनको सन्दर्भमा नेतृत्व हस्तान्तरणको सवाल चर्को गरी उठ्ने गरेको छ । अघिल्लो महाधिवेशनमा यसैगरी चर्को रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने विषय उठेको थियो र प्रतिस्पर्धाबाटै नेतृत्व चयन गरिएको थियो । लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरियो भनेर ठूलो उपलब्धिको रूपमा चर्चा पनि गरिएको थियो । त्यसबेला यी प्रतिस्पर्धाको सवाल चर्को गरी उठाउने कमरेडहरूबाटै अहिले फेरि हस्तान्तरणको मुद्दा उठाइएको छ । यी दुई विचारका बीच तालमेल कहाँ छ ? केही बुझिँदैन । किनभने, प्रतिस्पर्धा र हस्तान्तरण एक–अर्कामा नमिल्ने कुरा हुन्, परस्पर विरोधी कुरा हुन् । यी दुई भिन्न–भिन्न प्रक्रिया हुन् । यी दुई प्रक्रिया या प्रणाली एकैसाथ लागू हुन सक्तैनन् । एउटाले अर्कोलाई स्थान दिँदैन । प्रक्रिया या प्रणालीलाई अँगाल्ने प्रणाली ? जबजले अँगालेको मान्यतामा अडिने हो भने प्रतिस्पर्धाको प्रणाली अँगाल्नुपर्दछ । किनभने, जबजले प्रस्ट भन्दछ– नेतृत्व पहलकदमी र प्रतिस्पर्धाबाट लिनुपर्दछ । (मदन भण्डारी, संकलित रचनाहरू, १, पृष्ठ. ३३३) जबज पारित गर्ने पाँचौं महाधिवेशनबाट पारित गरिएको राजनीतिक प्रतिवेदनमा ‘कुनै पनि एउटा नेता वा केही नेताहरू सर्वेसर्वा हुँदैनन् । सिंगो पार्टी निश्चित तहहरूबीच अन्तरसम्बन्ध भएको कमिटी प्रणालीमा आधारित भएर सञ्चालित हुन्छ ।’ (उपर्युक्त पृष्ठ २९६) त्यसैले जबजको मर्मअनुसार जाने हो भने व्यक्तिबाट व्यक्तिमा हस्तान्तरण उपयुक्त होइन । यदि हस्तान्तरणमै जाने हो भने पनि नेतृत्व लिन चाहने व्यक्तिको योग्यता, क्षमता, कुशलता, क्रियाशीलता, कार्यशैली र आचरण जस्ता विषय उठिहाल्छन् । साथै मापदण्डको कुरा पनि उठिहाल्छ । यी सब सवालको समाधान दिने कसरी ? नेतृत्व चयनका निम्ति प्रत्येक महाधिवेशनमा अलग–अलग प्रक्रिया अवलम्बन गर्ने कि एउटा खास प्रकारका मान्यता स्थापित गरेर जाने ? यो एउटा अहम् सवाल हो । यसमा बहर हुनुपर्दछ ।
खाँचो हस्तान्तरणको कि रूपान्तरणको ?
मुलुकको वर्तमान राजनीतिक नेतृत्वप्रति आम नेपाली जनताले गरिरहेका आलोचना र टिप्पणीतर्फ ध्यान दिने हो भने मुख्य सवाल अहिलेको प्रमुख नेतृत्व पंक्ति रूपान्तरित हुन सकेन भन्ने हो । समय अगाडि बढ्यो, समाज बदलियो, परिस्थिति फेरियो तर मुख्य राजनीतिक नेतृत्वको चरित्र बदलिएन, त्यसको स्वभाव, क्रियाकलाप र गुणमा परिवर्तन आएन भन्ने हो । हिजो आन्दोलनको बेला राम्रै योग्यता, क्षमता र कुशलता प्रदर्शन गरेको नेतृत्वले परिस्थिति बदलिएअनुरूप आफूलाई बदल्न नसक्दा या रूपान्तरित हुन नसक्दा नयाँ परिस्थितिका नयाँ चुनौतीहरूको सामना गर्न र अपेक्षित ढंगले कार्यसम्पादन गर्ने क्षमता देखाउन सकेन भन्ने हो ।
नेकपा (एमाले) नेतृत्वका निम्ति पनि आम कार्यकर्ताको टिप्पणी छ कि अहिलेको शीर्षस्थ नेतृत्व पंक्तिले बदलिएको परिस्थितिअनुसार पार्टीलाई हाँक्न सकेन । पार्टी सिद्धान्त सही छ, विचार सही छ, नीति सही छ, तर पनि पार्टी किन भने जसरी अगाडि बढ्न सकिरहेको छैन ? आम कार्यकर्ताको गुनासो छ कि शीर्षस्थ नेताहरू आत्मकेन्द्रित भए, पार्टीको हितलाई भन्दा आफ्नो निजी हितलाई र आफ्नो वरिपरि घुम्ने केही निश्चित मान्छेहरूको हितलाई प्राथमिकता दिए र समाज परिवर्तनको मुद्दालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सकेनन् ।
त्यसैले आजको आवश्यकता नेतृत्व हस्तान्तरणको भन्दा पनि रूपान्तरणको हो । नेतृत्व हस्तान्तरण होस् या नहोस्, यदि रूपान्तरित नहुने हो, अहिलेको आत्मकेन्द्रित चिन्तन र व्यवहारमा परिवर्तन नल्याउने हो भने र अहिलेको नोकरशाही चरित्रको कार्यशैलीमा परिवर्तन नगर्ने हो भने अवस्था जहाँको तही रहनेछ । नेतृत्व हस्तान्तरण होस् या नहोस् यदि रूपान्तरित भएन भने अहिलेको शीर्षस्थ नेतृत्व पंक्तिले पार्टीलाई गति दिन नसक्ने मात्र होइन ऊ आफू पनि समाप्त हुनेछ र पार्टीलाई पनि समाप्त गर्नेछ । त्यसैले अबको संघर्ष रूपान्तरणका निम्तिको संघर्ष हुनुपर्दछ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply