नेपाली समाजको विश्लेषण र नेतृत्वको प्रश्न

पार्टी कसैको प्राइभेट लिमिटेड होइन, एकपछि अर्को गर्दै भागबन्डा पुर्याउन अँध्यारो कोठामा सम्झौता गर्न पाइँदैन ।
हाम्रो पार्टीभित्र वैचारिक बहस चलिरहेको छ । बहसको सन्दर्भमा दुई खाले प्रवृत्तिहरू पार्टीभित्र प्रकट भइरहेको हामीले देखिरहेका छौं । एउटा प्रवृत्ति छ, यथास्थितिवादी र अर्को अतिवादी ।
यथास्थितिवादी प्रवृत्तिले नेपाली समाजमा ठूलै परिवर्तन भएको देखिरहेको छैन । सामान्य केही फेरबदल मात्र भइरहेको मात्र देखिरहेको छ र पुरानै विश्लेषणलाई अलिकति तानतुन गरेर कायम राख्न चाहन्छ । यो प्रवृत्ति बोक्नेहरूले आफूलाई जनताको बहुदलीय जनवादको असली हिमायती र प्रवक्ता ठानिरहेका छन् । उनीहरूले वास्तवमा जनताको बहुदलीय जनवादलाई खोपीको देवता बनाउन खोजेका छन् । यसलाई निर्जीव सिद्धान्तका रूपमा लिन चाहिरहेका छन् र सिद्धान्त जीवनका लागि, सिद्धान्त व्यवहारका लागि भन्ने मान्यतालाई आत्मसात् गर्न सकेका छैनन् । जीवन धेरै अगाडि बढिसकेको छ, व्यवहार धेरै अगाडि बढिसकेको छ । यो बढिसकेको व्यवहारलाई दिशानिर्देश गर्नका लागि सिद्धान्तले पनि आफूलाई ‘अपडेटेट’ गर्नुपर्दछ र आफूलाई समृद्ध बनाउन सक्नुपर्दछ । पछाडि परेको सिद्धान्तले अगाडि बढेको व्यवहारको अगुवाइ गर्न सक्दैन ।
यसक्रममा हामीले देखेका छौं, राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भएको छ । सामन्तवादको प्रतिनिधिमूलक संस्था राजतन्त्र उन्मूलन भएको छ । गणतन्त्र स्थापित भएको छ । र, त्यो गणतन्त्रलाई हामी लोकतान्त्रिक ढंगबाट अगाडि बढाउन चाहिरहेका छौं । यो गणतन्त्र नेपाली समाजमा जुन किसिमले आएको छ, यो आफैंमा पनि बढो युनिक छ । धेरै ठूलो रगत बगाएर, धेरै वर्ष लगाएर राजतन्त्र ढलेको छ । जनताको चेतना, जागरण र परिचालनको माध्यमबाट हालीमुहाली गरेर बसेको र जनताको सांस्कृतिक मान्यतामा समेत आफ्नो छाप छाडेको राजतन्त्रलाई नेपाली जनताले तुलनात्मक रूपमा कम रगतको मूल्य चुकाएर फाल्न सफल भएका छन् ।
त्यही कम्युनिस्टहरूमध्येका अरू समूह देखिए, जसले १७ हजार नेपाली जनताका छोराछोरीको रगतको खोलो बगाउने तहमा पुगे । उनीहरूले पनि राजतन्त्रलाई ढाल्न सकेनन् । तर, एमालेले बहुत कम मूल्य तिरेर यो परिवर्तन गर्न सफल भयो । नेपालमा भएका अरू पार्टीहरू जो कुनै न कुनै रूपमा ‘बेबी किङ’को धारणा बोकिरहेका थिए, कुनै न कुनै रूपमा राजतन्त्रसँग अन्तिम समयसम्म पनि सहमतिको प्रयास खोजिरहेका थिए । ती सबैभन्दा भिन्न ढंगबाट एमाले संघर्षको आन्दोलनको एउटा उद्घोष गरिरहेको थियो । र, त्यो उद्घोष गर्ने क्रममा आन्दोलनले यति उचाइ हासिल गर्यो, जसले गर्दा एउटा राजनीतिक क्रान्ति सफल भयो । यो राजनीतिक क्रान्तिबाट नै हामीले गणतन्त्र स्थापित गर्न सक्यौं ।
कतिपय साथीहरू चिजलाई बुझ्न र आत्मसात् गर्न सकिरहेका छैनन् । यसैक्रममा नेपाली समाजमा पनि ठूल्ठूला परिवर्तन भएका छन्, सामाजिक क्षेत्रमा पनि । हाम्रो उत्पादन सम्बन्धमा पनि परिवर्तन भएको छ । स्वामित्वको सम्बन्धमा परिवर्तन भएको छ । यी सबै परिवर्तनहरूलाई तद्अनुरूप नै बुझ्न सक्नुपर्दछ ।
नेपाली समाजलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक भनियो । कहिलेबाट भनियो त ? कमरेड पुष्पलालले अर्धऔपनिवेशिक भन्न थाल्नुभएको बिन्दुको हामीले पहिचान गर्न सक्नुपर्छ । उहाँले सुगौली सन्धिलाई ‘टर्निङ प्वाइन्ट’ मान्नुभएको छ । सन् १८१६ मा ब्रिटिससँग भएको सम्झौतापछि नेपाली समाज अर्धऔपनिवेशिक भयो भन्नुभएको छ । त्यसैगरी, उहाँले सन् १९३७ देखि नेपाली समाज अर्धसामन्ती भयो भन्नुभएको छ । त्यो कुन बिन्दुले हो ? जुन बिन्दुमा नेपालमा पुँजीको प्रयोग भएको थियो । पुँजी लगानी भएको थियो, औद्योगीकरणको सुरुआत भएको थियो । एउटा उद्योग स्थापना भएको थियो–विराटनगर जुटमिल । जुटमिलको स्थापनालाई उहाँले ‘टर्निङ प्वाइन्ट’ मान्नुभएको छ । र, समाजलाई सामन्तीबाट अर्धसामन्तीमा परिवर्तन भएको व्याख्या गर्नुभयो । पुँजीको व्यापक परिचालन भएर, सामन्तवादलाई ढालेर, आधा पुँजीवाद आएर अर्धसामन्ती भनेको होइन । जब सामन्तवादको आधारलाई भत्काउने अवस्था देख्नुभयो, यसरी ००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पार्ने क्रममा उहाँले नेपाली समाजको शब्दचित्र तयार पार्दै अर्धसामन्ती–अर्धऔपनिवेशिक भन्नुभएको हो ।
तर, यसबीचमा धेरै ठूल्ठूला परिवर्तनहरू भए । बिर्ता प्रथाको उन्मूलन भयो, सामन्ती प्रथाको उन्मुलन गर्ने क्रममा ०२१ सालमा भूमिसुधार लागू गरियो । छुवाछूतका विरुद्धमा काम सुरु गरियो । यी सबै स्थितिबाट अगाडि बढ्दै जाने क्रममा हामीले देख्यौं, औद्योगीकरणको लहर सबैतिर फैलिएको छ । कृषिमाथि आश्रित हुने जनसंख्या घटेको छ । सबैक्षेत्रमा पुँजीवादले प्रभाव फैलाएको छ । सांस्कृतिक, सामाजिक जनजीवनमा सामन्तवाद धरमराउँदै र ढल्दै गइरहेको छ भने पुँजीवादको क्षेत्र विस्तार हुँदै गइरहेको छ । ०६२–६३ मा राजतन्त्र ढलेको बिन्दुलाई हामीले भन्नुपर्दछ कि अब नेपाली समाज अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थामा छैन ।
अर्धऔपनिवेशिक सन्दर्भमा अवश्य पनि विदेशीहरूले नेपालमा विभिन्न हिसाबले हस्तक्षेप गर्ने गरेका छन्, शोषणका अनेक माध्यम प्रयोग गर्ने गरेका छन् । विदेशी संस्थाहरूले नेपालमा आफ्नो प्रभुत्व विस्तार गर्ने कोसिस गरिरहेका छन् । यसअर्थमा नवऔपनिवेशिक शोषणका प्रक्रिया र प्रयासहरू जारी छन् भन्न सकिन्छ । तर, हामीले अर्धसामन्ती, अर्धऔपनिवेशिक भनेर जाने काम गर्न सकिन्न । यो एउटा मान्यतालाई बुझ्न सक्नुपर्छ ।
दोस्रो किसिमको मान्यता छ, जसले नेपाल पूर्ण रूपमा पुँजीवादी समाज भइसकेको छ, अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेका छौं भन्छ । यो अर्को किसिमको अतिवादी अवस्था हो । अहिले पुँजीवादको व्यापक विस्तार गर्नुपर्ने, राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने अवस्था छ । राष्ट्रिय पुँजीको विकास गर्दै जाँदा सामन्तवाद अन्त्य हुँदै जान्छ । पुँजीवादले सामन्तवादको विस्थापन गर्दै जान्छ । त्यसले समाजवादी क्रान्तिको आधार निर्माण गर्ने काम गर्छ ।
जबजको व्याख्या गर्दै जाँदा कमरेड मदन भण्डारीले जनवादी समाज तीन चरणबाट अघि बढ्छ भनेर व्याख्या गर्नुभएको छ । एउटा सामन्तवादका अवशेषका विरुद्ध संघर्ष गर्ने चरण, दोस्रो पुँजीवादको विकासको चरण र तेस्रो समाजवादी क्रान्तिको चरण । अहिले हामी दोस्रो चरणमा प्रवेश गरिरहेका छौं । अर्थात् पुँजीवादको प्रारिम्भक विकासका चरणमा रहेका छौं । हामी पुँजीवादी समाजको पक्षमा छैनौं, समाजवादतिर नै नेपाली समाजलाई डोर्याएर लैजानुपर्छ । यो मान्यताबाट नै हामी चल्नुपर्छ । नवौं महाधिवेशनबाट यी कुरालाई प्रस्ट पारेर जानुपर्दछ ।
यसबीचमा जनताका बीचमा धेरै कुराहरू उठेका छन्, जनताका ती मुद्दाहरूलाई नेकपा (एमाले)ले सम्बोधन गरेको छ । सम्बोधन गरिएका ती सबै विषयहरूलाई जनताको बहुदलीय जनवादले आफूभित्र आत्मसात् गर्नुपर्छ । यी आत्मसात् गर्नुपर्ने विषयहरूमा गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक–आर्थिक रूपान्तरणको मुद्दालाई समेटेर जबजले आफूभित्र समाविष्ट गरेर जानुपर्ने आवश्यकता छ ।
अब यी कुराहरूलाई ०४९ सालमा कसैले सोच्ने कुरा पनि भएन । कार्ल माक्र्सले सन् १८४८ मा कम्युनिस्ट घोषणपत्र लेख्दा १८७१ को ब्रिटिस क्रान्तिको परिकल्पना गर्नुभएको थिएन । १९१७ को रुसी क्रान्तिको परिकल्पना गर्नुभएको थिएन । पछिल्लोकालमा लेनिनले चीनमा जस्तो जनवादी क्रान्तिको परिकल्पना गर्नुभएको थिएन । हामीले नेपालमा यस्तो किसिमको अवस्था आउला भनेर सोचेका पनि थिएनौं । विचित्रको अवस्था नेपालमा देखा पर्यो । कम्युनिस्ट पार्टीमा चुनावमा भाग लिएर बहुमत हासिल गरेर सरकारमा पुग्ने कुरा यो त गजबको हो । यो अवस्थालाई विकास गर्दै जाँदा राजतन्त्रलाई पनि ढाल्न सकियो । कम्युनिस्ट पार्टीले चुनावको माध्यमबाट सबैभन्दा ठूलो पार्टी बन्ने अवसर पनि प्राप्त गर्यो । र, दुई वटा अवसर त यसले गुमायो । ०५६ सालमा नेकपा (एमाले)मा विभाजन भएको भए त्यही बेला हामी बहुमतमा पुग्न सक्थ्यौं । ०७० सालमा संघीय समाजवादी पार्टीको चोइटो एमालेबाट नगएको हामी प्रत्यक्षतर्फ बहुमतमा आउने सम्भव थियो । यो सबै स्थितिले के देखाउँछ भने जनताको बहुदलीय जनवादले शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट जनताको मन र विश्वास जित्दै परिवर्तनको अगुवाइ गर्नुपर्छ भन्ने मान्यता बोकेका थियौं, त्यो सही थियो । त्यसो भएर जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नै हामीले यी सबै प्रगति गरेका छौं । यसको औचित्यता व्यवहारले पुष्टि गरेको छ ।
मदन भण्डारी र हामी बसेर नेपालमा राजतन्त्र कहिले ढल्ला भनेर छलफल गथ्र्यौं । फेरि हामीले दीर्घकालीन जनयुद्धको बाटोमा जानुपर्ने हो कि वा सहरी विद्रोहको बाटोमा जानुपर्ने हो कि ? शान्तिपूर्ण ढंगबाट सफल हुन सक्दछ कि जनताको आन्दोलनबाट सम्भव हुन सक्दछ ? यस्ता विषयमा हामीले व्यापक रूपमा छलफल चलाएका थियौं । तर, हामीले एउटा मान्यता के थालेका थियौं भने अब शान्तिपूर्ण ढंगबाट नै सम्भव हुन्छ । जनताको परिचालन, राजनीतिक सरगर्मी, चेतना यी तीन वटा कुराको अत्यन्तै बढी आवश्यकता छ भन्ने कुरालाई जबजले अगाडि सार्यो । विचारको क्षेत्रमा, संगठनको क्षेत्रमा, आन्दोलन, निर्वाचनको क्षेत्रमा प्रतिस्पर्धाको सामना गर्नुपर्छ र प्रतिस्पर्धाको माध्यमबाट कम्युनिस्ट पार्टीले आफ्नो वर्चस्व र श्रेष्ठता सावित गर्नुपर्दछ भन्ने कुरा हामीले अगाडि सारेका थियौं । विचारको श्रेष्ठता, संगठनताको कुशलता र शक्तिको परिचालनको योग्यतालाई काम र व्यवहारमा सक्रियतापूर्वक पहलकदमी लिएर मात्र स्थापित गर्न सक्दछौं । हामीले आफूलाई सर्वहारा वर्गको अग्रदस्ता भनेर दाबा गरिरहेका छौं । त्यो दाबा बन्दुक उठाएर मात्र होइन, शान्तिपूर्ण रूपमा गतिविधिको माध्यमबाट विचार, कार्यशैली, संगठन, जनसेवाको भावना र राज्य सञ्चालनको कुशलताबाट हामीले हाम्रो श्रेष्ठता हासिल गर्न सक्छौं भन्यौं ।
विचार, कार्यशैली, योजना, योजना कार्यान्वयन, जनचेतना जगाउने सन्दर्भमा, जनपरिचालनका सन्दर्भमा हामीले गर्ने कामको आधारमा जनताले कम्युनिस्ट पार्टीलाई राम्रो भन्न सक्दछन्, कम्युनिस्ट पार्टी लोकप्रिय हुन सक्दछ । जनतासँगको सम्बन्धलाई यसले घनीभूत रूपमा बाक्लो बनाउन सक्दछ । जनताको प्यारो पार्टीको रूपमा स्थापित गर्न सक्दछ । र, कम्युनिस्ट आन्दोलनलाई एउटा लोकप्रिय आन्दोलनको रूपमा स्थापित गर्न सक्दछ भन्ने सोच जबजले लिएको छ ।
त्यसैले जनवादी क्रान्तिको सिंगो चरणभित्र जनवादीकालभित्र अगुवाइ गर्दछ, त्यसपछि हामी नयाँ चरणमा प्रवेश गर्नेछौं । हामीले अहिले सोचिरहेको कुरा के हो भने आउँदो १० वर्षभित्र नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा अगाडि बढाउन सकिन्छ । हिजो राजनीतिक क्रान्तिको अगुवाइ पनि नेकपा (एमाले)ले गरेको हो र नेपाली समाजमा आएका संकटलाई टार्न शान्ति प्रक्रियाको अगुवाइ पनि नेकपा (एमाले)ले गरेको हो । आउँदो दिनमा आर्थिक क्रान्तिको अगुवाइ पनि यसैले गर्नुपर्छ । त्यो तब सम्भव छ, जब पार्टीले क्रान्ति गर्ने बाटो अवलम्बन गर्छ । जब त्यो पार्टी क्रान्तिकारी ढंगबाट सोच्छ, जब त्यो पार्टी यथास्थितिवादी चिन्तनबाट मुुक्त हुन्छ, जब त्यो पार्टी अतिवादी विचारबाट मुक्त हुन्छ । समाजको क्रान्तिकारीकरण गर्ने मान्यतालाई आत्मसात् गर्नसक्छ । समाजमा रहेका सबै विभेदलाई अन्त्य गर्ने अठोट लिन्छ, शोषण, उत्पीडन, विभेदलाई अन्त्य गर्ने योजनाका साथ अगाडि सर्छ, सामाजिक–आर्थिक क्रान्तिको अगुवाइ गर्ने जिम्मेवारी नेकपा (एमाले)को काँधमा आएको छ, संविधान निर्माण गर्दै यस क्रममा भएका राजनीतिक उपलब्धि संस्थागत गर्नुपर्ने आवश्यकता छ भने भोलिका दिनमा मुलुकलाई कुन दिशामा लैजाने भन्ने दिशाबोध गर्न पनि नवौं महाधिवेशन कोसेढुंगाका रूपमा रहेको छ । नेकपा (एमाले)ले कम्युनिस्ट आन्दोलनको मूलप्रवाहका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता छ भने नेपालको राजनीतिक मियोको रूपमा उभ्याउनुपर्ने आवश्यकता छ ।
यो गहन जिम्मेवारी पूरा गर्न नेकपा (एमाले) बलियो हुनैपर्छ । बलियो हुनका लागि यसको विचार ठीक हुनुपर्छ, संगठन चुस्त–दुरुस्त हुनुपर्छ, आचरण राम्रो हुनुपर्छ, कार्यकर्ता क्रियाशील हुनुपर्छ । हाम्रो पार्टीभित्र डनवाद र धनवादको खतरा मडारिरहेको छ । डनवाद र धनवादबाट पार्टीलाई मुक्त गर्न सकिएन भने पार्टी फेरि बदनामीको सिकार हुनेछ, जनताबाट विस्थापित हुनेछ र यसले आफ्नो सबै ओज, ऊर्जा गुमाउनेछ । यसर्थ, यस पार्टीलाई क्रान्तिकारी दिशाबाट अगाडि बढाउनुपर्ने खाँचो छ ।
योग्य र सक्षम नेतृत्व छाडिकन कसैको प्राइभेट लिमिटेड जस्तै म पछि फलानो, फलानो पछि फलानो अनि एक वर्ष म बस्ने अनि एक वर्षपछि फलानो बस्ने । यति वर्षपछि फेरि फलानो बस्ने भन्ने भागबन्डा ! पाण्डवहरूको जस्तो भागबन्डाले यो पार्टी अघि बढ्दैन । यो कसैको निजी सम्पत्ति होइन । यो सिंगो पार्टी मात्रै होइन, यो राष्ट्रको भविष्यसँग जोडिएको कुरा हो । नेपालको भविष्यसँग पनि जोडिएको कुरा हो ।
म नयाँ पुस्तालाई अगाडि बढाउने पक्षमा छु । जीवनशक्तिले ओतप्रोत भएका, नवीन विचारले अगाडि बढेका, जबजको मान्यतालाई आत्मसात् गर्दै अघि बढिरहेका, पार्टीको क्रान्तिकारी परम्परालाई मानेका, बुझेका र पार्टीलाई क्रान्तिकारी दिशामा अघि बढाउने स्पष्ट दृष्टिकोण बोकेका, त्यस्ता ऊर्जाशील मेचीदेखि महाकालीसम्मका योग्य, सक्षम नेतृत्वको एउटा टिमले अब यो पार्टीलाई अगुवाइ गर्छ । त्यसले जिम्मेवारी सम्हाल्ने र मुलुक हाँक्ने अवस्था बनेपछि हामीजस्ता पुरानो पुस्ताका मानिसहरूले बिदा लिएर जानुपर्छ । एक जनाले मात्र होइन, त्यो टिमले बिदा लिएर जानुपर्छ । अब नयाँ टिम आउँछ, जो नेतृत्वमा बसेको छ, त्यसले पो छाड्ने हो । अर्थात् अहिले कार्यकारी भूमिकामा बसेको छ, अर्थात् जो अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव छ, त्यसले छाड्ने हो । म त नेतृत्वमै छैन । म त वरिष्ठ नेता मात्रै हो । अँध्यारो कोठामा बसेर षड्यन्त्र गरेर भागशान्ति नेपाल गरेर यो पार्टी चल्न सक्दैन ।
व्यवहारमा के देखियो भने एमालेको संगठन मजबुत छ, बीचमा एउटा अवस्था आयो, भेल जस्तै, ग्रहण जस्तै । अपवादहरू हुन्छन, राजनीतिक पार्टीको जीवनमा जित र हार हुन्छन् । तर, एमालेको वैचारिक जग बलियो थियो । जित र हार भन्ने हो भने सबैले हारेका होइनन् ? गत निर्वाचनमा सहमतिका साथ प्रचण्डलाई एउटा सिट दिऔं भन्दा काठमाडौंमा १५ सिटमा होइन, १६औं सिटमा सहमति हुन्छ भन्ने यिनै साथीहरू होइनन् ? त्यसरी दम्भ देखाउने मान्छेले खोइ राजीनामा दिएको ? खोइ नैतिकता देखाएको ? मैले त देखाएँ । मैले त एउटै मान्छे लगातार एउटै पदमा बसिरहनुपर्छ भन्ने मान्यतालाई तोडें । अरूले छाड्ने हिम्मत गरे ? अलिकति पनि संस्कार नभएका व्यक्तिले मात्र राम्रा कुरालाई छोप्न सक्छन् ।
(वरिष्ठ नेता नेपालले गत शुक्रबार राजधानीमा अनलाइन पत्रकारहरूका बीचमा व्यक्त धारणाका सम्पादित अंश)
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply