विश्व नियाल्ने आधार
वि.सं २००७ पूर्व नेपालको कूटनीतिक सम्बन्ध अत्यन्तै साँघुरो थियो । राणाकालीन शासन प्रणालीले कूटनीतिक सम्बन्धलाई खासै प्राथमिकतामा राखेको थिएन, एकप्रकारले विश्व परिवेशसित टाढिएको अवस्थामा थियो । त्यतिबेलासम्म बेलायत, भारत, अमेरिका र फ्रान्ससित मात्र कूटनीतिक सम्बन्ध थियो । तर, ००७ सालमा प्रजातन्त्र स्थापना भएपछि भने अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्कमा आशातित रूपमा विस्तार हुन थाल्यो । त्यसपछि यो क्रम झाँगिँदै गयो र विगत ६३ वर्षको दौरानमा नेपालको १ सय ३४ देशसित कूटनीतिक सम्बन्ध स्थापित हुन पुगेको छ ।
राजनीतिक, प्राध्यापन र पत्रकारितालगायत क्षेत्रमा क्रियाशील रहेर आफ्नो परिचय बनाएका हिरण्यलाल श्रेष्ठले नेपालको कूटनीतिक सम्बन्ध कायम भएका सयभन्दा बढी देशको समग्र पक्षबारे उल्लेख गर्दै ‘मित्रताको सयपत्री’ नाम पुस्तक ल्याएका छन् । अफगानिस्तानदेखि जिम्बाबेसम्म एक सय एक देशसित कुन समयमा कूटनीतिक सम्बन्ध कायम भएको थियो र तत्तत् देशहरूसित कूटनीतिक सम्बन्ध कायम भएपछि द्विपक्षीय सम्बन्ध, घटनाक्रम र वर्तमान स्थितिबारे समेत जानकारी दिन उक्त पुस्तक अग्रसर रहेको प्रस्ट हुन्छ । कूटनीतिक सम्बन्ध गाँसिएका देशहरूको संक्षिप्त चिनारीसहित नेपालले कूटनीतिक सम्बन्ध कायम गरेपछि हासिल गरेको उपलब्धिहरूबारे पनि पुस्तकले खुलस्त पारेको छ ।
सन् १९७९ मा नेपाल आयल निगमको एउटा टोली इराक पुगेको थियो । उक्त टोलीले नेपालमा इराकबाट पेट्रोलियम पदार्थ आयात गर्ने प्रबन्धसमेत मिलाएको थियो । तर, खाडी युद्धले यो कार्य त्यत्तिकै स्थगित भयो । र, इराकमा उत्पन्न राजनीतिक अस्थिरताका कारण कुनै बेला पेट्रोलियम पदार्थ आयात गर्न लागिएको मुलुकसित अहिले नेपालको व्यापारिक सम्बन्ध शून्यप्राय: छ । लेखकले विश्लेषण गर्दै लेखेका छन्– ‘इराकमा भएका विविध युद्ध र द्वन्द्वबाट नेपालमा समेत प्रतिकूल प्रभाव परेको देखिन्छ । खासगरी पेट्रोलियम पदार्थको आयातमा आघात परेको छ । यसबाट अभाव र मूल्यवृद्धि बेहोर्नुपरेको छ । यस क्षेत्रमा भएका युद्धहरूबाट एसियामा कार्यरत नेपालीहरूको रोजगारीमा समेत प्रतिकूल प्रभाव परेको छ ।’
कूटनीतिक सम्बन्धको कुनै सीमा हुँदैन । नेपालले संसारकै ठूलो र प्रभावकारी देश रुससित सन् १९५६ मा र ०.१७ वर्गमिल मात्र रहेको सानो मुलुक भ्याटिकन सिटीमा सन् १९८३ मा कूटनीतिक सम्बन्ध कायम गरेको थियो । त्यसो त, नेपाल र भ्याटिकन सिटीबीच कूटनीतिक सम्बन्ध कायम भएलगत्तै तत्कालीन राजा वीरेन्द्रले भ्याटिकन सिटीको भ्रमण गरेका थिए । भ्याटिकन सिटीसितको सम्बन्ध केलाउने क्रममा लेखकले नेपालमा इसाई धर्मावलम्बीहरूको प्रवेश र उनीहरूले आफ्नो धर्म प्रचारका क्रममा गरेका क्रियाकलापहरू पनि उल्लेख गरेका छन् ।
फक्ल्यान्डको युद्धमा गोर्खाली सेनाहरू प्रयोग भएका थिए । अर्जेन्टिनाले आफ्नो टापु ठान्ने फक्ल्यान्डलाई बेलायती कब्जाबाट फुत्काउन युद्ध गरे । त्यो युद्धमा बेलायतले गोर्खाली सेनाको प्रयोग गर्यो । तर, त्यही विषय नै अर्जेन्टिनालाई नेपालप्रति गुनासो पोख्ने माध्यम बन्ने गरेको छ । लेखक लेख्छन्– ‘संयुक्त राष्ट्रसंघमा फक्ल्यान्ड युद्धबारे छलफल हुँदा अर्जेन्टिनाका प्रतिनिधिले नेपाल र अर्जेन्टिना दुवै कूटनीतिक सम्बन्ध भएको मित्रदेश, दुवै असंलग्न अभियानका देश भएकाले नेपाल नागरिक गोर्खालीहरूले किन अर्जेन्टिना विरुद्ध युद्धमा भाग लिए ? भनी प्रश्न उठाउँदा, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले प्रत्युत्तर नदिइकन उनी सुटुक्क सभास्थलबाट निस्के भनी त्यसबेलाको अन्तर्राष्ट्रिय समाचार बनेको थियो ।’
लेखकले यस्ता थुप्रै जानकारीमूलक सामग्री पस्केर नेपाल र कूटनीतिक सम्बन्ध कायम भएका देशहरूबीचका अन्तरकुन्तर खोतल्ने प्रयास गरेका छन् । नेपाललाई कुन देशले कुन–कुन क्षेत्रमा सहयोग गरेको छ, कुन–कुन परियोजनामा लगानी गरेको छ र कुन कुन देशमा कुन–कुन वस्तु निर्यात हुन्छ जस्ता पक्षहरू पनि उल्लेख गरिएका छन् ।
परराष्ट्रविद् डा.जयराज आचार्यले सोही पुस्तकमा लेखेका छन्– ‘भारत र चीनजस्ता विश्वका सबैभन्दा धेरै जनसंख्या भएका एसियाली शक्तिहरूको बीचमा रहेकोले नेपाल आफ्नो परराष्ट्र सम्बन्धमा संवेदनशील रहनु स्वाभाविक छ । यद्यपि विभिन्न कालखण्डमा नेपालको परराष्ट्र नीतिमा विभिन्न आयामहरूको प्राधान्य रहेको पाइन्छ तथापि मननीय कुरा के छ भने विगतको हरेक नीतिले नेपालको राष्ट्रिय हितलाई नै सर्वोपरि राखेको थियो ।’
पुस्तक ‘मित्रताको सयपत्री’ नेपालसित कूटनीतिक सम्बन्ध कायम भएका देशहरूको सन्दर्भमा विश्लेषणपरक रूपमा लेखिएको नभई घटनामूलक सन्दर्भहरूले व्याप्त रहेको छ । र, यो पुस्तकले नेपालको कूटनीतिक सम्बन्ध रहेको देशहरूबारे मोटामोटी जानकारी बटुल्न यथेष्ट रूपमा सघाउ पुर्याउनेमा शंका गर्ने ठाउँ छैन ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply