‘पुँजीवाद’ र ‘सामन्तवाद’को खोजीबाट प्राप्त हुने नेतृत्व

नेपालको सामाजिक, राजनीतिक रूपान्तरणमा महत्त्वपूर्ण बलिदानीपूर्ण योगदान गरेको गौरवशाली पार्टी नेकपा
(एमाले)को नवौं महाधिवेशन अहिले सर्वाधिक चर्चामा छ । चर्चाका आ–आफ्नै जोडकोण, विषय र पक्षविपक्षहरू छन् । यसैसँग जोडिएर नेपाली जनता र आमूल परिवर्तनका लागि निस्वार्थ ढंगले क्रियाशील पार्टीपंक्तिमा केही शब्दजालको भ्रम उत्पन्न गराइएको छ । नेपाली समाज सामन्तवादी अवस्थामा छ कि पुँजीवादी अवस्थामा ? नेपालमा राजनीतिक क्रान्ति भयो कि बाँकी छ ? कम्युनिस्ट पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण कसरी गर्ने (कसै–कसैले हस्तान्तरण मात्रै पनि भन्ने गरेका छन्) ? कम्युनिस्ट पार्टीको सञ्चालन कसरी गर्ने ? आदि । झट्ट हेर्दा यी र यस्तै धेरै विषय र चर्चाहरू आकर्षक लाग्न सक्छन् । तर, जे जस्तो कोण र सोचबाट यी कुराहरू उठेका छन् त्यसको पछाडिको यथार्थ पार्टी कार्यकर्ता र नेपाली जनताले थाहा पाउनै पर्दछ ।
कम्युनिस्ट पार्टीमा बहस, छलफललाई अन्यथा लिन सकिँदैन । तर बहस, छलफलको अन्तरआशय बेठीक भएपछि परिणामहरू ठीक आउने आशा गर्न सकिँदैन । पार्टीलाई बलियो बनाउने हो र एकताबद्ध राख्ने हो भने त्यसको पहिलो सर्त पार्टी विधानको पालना गर्नु र गर्न लगाउनु हो । साथै, संगठनात्मक पद्धतिहरूको पालना, नीति र सिद्धान्तमा स्पष्टता, सामूहिकता र विश्वास, आर्थिक पारदर्शिता, सबै प्रकारका विकृति र विसंगतिको अन्त्यका लागि एकताबद्ध अभियान, परिभाषित कामसहितको सक्रियता र क्रियाशीलता नै पार्टीलाई बलियो बनाउने प्रमुख आधारहरू हुन् ।
नेकपा (एमाले) पार्टीभित्र माथि चर्चा गरिएका केही आधारहरूको स्थिति कस्तो छ त ? घोत्लिएर सोच्नुपर्ने भएको छ । पार्टी विधानको हाकाहाकी उल्लंघन गर्ने, पार्टी विधान र संगठनात्मक पद्धतिले स्वीकार नगर्ने संरचना बनाउने, व्यक्तिहरूको मनोनयन गर्ने, जथाभावी ढंगले मापदण्डविपरीत कमिटीहरूमा मनोनीत गर्ने, पार्टीको सदस्यसमेत नरहेका तथा अपराधीको सूचीमा रहेका व्यक्तिहरूलाई पार्टीको जिम्मेवार कमिटी र जनसंगठनको माथिल्लो तहमा मनोनयन गर्ने आदि विषयहरू पार्टीभित्रको चुनौती बनेका छन् । पार्टीभित्र जातीय, धार्मिक, साम्प्रदायिक, भेगीय, क्षेत्रीय भावना फैलाउने, कुनै एक/दुई घटना र भावनाबाट प्रभावित तथा विचलित हुने वा जाँच पड्तालबिना नै निष्कर्षमा पुग्ने कमजोरी हुँदै आएका छन् । पार्टीभित्र आन्दोलन र संघर्षको खास समयमा कष्टसाध्यपूर्वक लागेको ठूलो पंक्तिको बेवास्ता हुने र तड्कभडकपूर्ण स्वार्थी समूहको बोलबाला हुने अवस्था उत्पन्न भएको छ । पार्टीभित्र हाइर्यार्की, वरीयताक्रम निर्धारण हैन, जुनियर, अनुभवहीन, घोर निम्न पुँजीवादी चिन्तन व्यवहारबाट ग्रसित व्यक्तिहरूको उक्साहटमा निर्णयमा पुग्ने अवस्था आएको छ । यी प्रसंग मैले मूल विषयभन्दा बाहिर गएर चर्चा गर्नुको कारण कार्यकर्तालाई जे कारणले समस्या उत्पन्न भएको हो त्यसमा केन्द्रित नगरी अन्तै गर्न खोजिएकाले चर्चा गरेको हुँ ।
नेकपा (एमाले)का सम्पूर्ण कार्यकर्ताले परिकल्पना गरेको पार्टी कस्तो हो ? सबैले बुझेको सिकाइएको पार्टी कस्तो हो ? हामीले कल्पना गरेको पार्टी, बुझेको पार्टी, सिकाएको पार्टी के माथि भनेजस्तो समस्या भएको हो ? कदापि होइन । सबै पार्टी सदस्यहरूको आदर्श, निष्ठा, विश्वास के हो ? स्पष्ट छैन र पार्टीको नेतृत्व के कस्तो हुनुपर्दछ, नेतृत्व निर्माणको प्रक्रिया के हो ? नयाँ पुस्ताको निर्माण र नेतृत्व हस्तान्तरण कसरी हुन्छ ? पार्टीपंक्तिले के बुझेका छन् ? कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरण कहिले हुन्छ ? यस्तो भ्रमको खेती अब प्रहरीले गाँजा फाँडे जसरी फाँड्न जरुरी छ । कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरण, वर्ग संघर्षको निरन्तरतामा, योग्यता, क्षमता, संगठनको आवश्यकता, अनि सामूहिकतामा आधारित भएर निरन्तर भई नै रहन्छ । हाल चर्चा गरिएको जस्तो नेतृत्व हस्तान्तरण खास–खास बेलामा र खास–खास व्यक्तिका लागि हुन्छ भन्ने स्कुलिङ निरर्थक छ । नेतृत्वको हस्तान्तरण वर्गीय विचारधारात्मक र नेतृत्वको राजनीतिक कुशलताको आधारमा हुन्छ, वर्ष, पालोपैंचो र व्यक्ति आधारित हुन सक्दैन । यो हाल अभ्यासमा रहेको (धेरै आलोचना र विरोधसहित) उच्चस्तरीय राजनीतिक संयन्त्रजस्तो महिना–महिनाको हुन सक्दैन । साथै कम्युनिस्ट पार्टी होस् कि बुर्जुवाहरूको पार्टी नेतृत्व निर्माण निश्चित विचारधारालाई सामूहिक रूपमा मान्ने नै हो र त्यहाँ व्यक्ति पार्टी संगठनभन्दा माथि र ठूलो हुन सक्दैन । कुनै पनि नेताको देवत्व प्रचार गर्नु कमरेड पुष्पलाल र जननेता मदन भण्डारीको अपमान गर्नुबाहेक केही हुने छैन । यस्तो प्रयास पार्टी जीवनको लोकतान्त्रिकरणको पनि अपमान हो ।
भ्रमको खेतीको चर्चाको शिखरमा जनताको बहुदलीय जनवादको सिरानी हालेर बसेको ‘पुँजीवाद’ र ‘सामन्तवाद’ को यथार्थ पनि अब कार्यकर्ताले थाहा पाउनै पर्छ । संसारमा सामन्तवादको चरण (युग) र पुँजीवादको चरणमा भएका प्रगतिहरू र त्यसका मूल्य, मान्यता, जीवनमा प्रभाव, सांस्कृतिक प्रभावको लामो चर्चा गर्न सकिन्छ । कार्यकर्तापंक्तिले एउटा कुरो बुझे दुवै ‘वाद’को मोतीबिन्दु समाप्त हुनेछ । एउटा नेता कार्यकर्ता बिहान उठ्छ, ‘बाथरुम’को नित्यकर्म सक्छ, ‘मर्निङवाक’ गर्छ, ‘कफी र ब्रेकफास्ट’ गर्छ, टेलिभिजनमा समाचार हेर्छ, पत्रपत्रिका पढ्छ, आफ्नै कम्युटर/ल्यापटप चलाउँछ, दिनमा ४/५ वटा मिटिङ/भेलामा सहभागी हुन्छ । प्रत्येक भेला/मिटिङको उपस्थितिमा भिन्न–भिन्न लुगा ड्रेस लगाउँछ र बास्नादार अत्तरको प्रयोग गर्दछ । त्यस्ता भेला बैठकमध्ये धेरैमा अखाद्य पस्किइन्छ र अपाच्य ठाउँमा हुन्छन, कपालको रंगरोगन र अनुहारको सजावटमा चिन्तित रहन्छन् । कसै–कसैले ब्युटिसियन पनि सँगै लैजान्छन रे † घरको चमक धमक, भेटघाट, सामाजिक सांस्कृतिक व्यवहार, पार्टीका समर्थक सम्पर्क, खानपान, महँगा मोबाइल अनि गाडी, करोडौंको बैंक ब्यालेन्स र अन्य धनसम्पत्ति । अनि, साँझतिर त्यस्ता महोदयहरू यसो घोत्लिन्छन कि नेपालमा ‘पुँजीवाद’ आइसक्यो कि ‘सामन्तवाद’ बाँकी छ भनेर । एउटा सानोभन्दा सानो काम लिएर आएको गरिब कार्यकर्तालाई प्रश्न गर्छन्, ‘कमरेड नेपालमा ‘सामन्तवाद’ बाँकी छ कि ‘पुँजीवाद’ आइसक्यो ?’
बस † बहसको यथार्थ यत्ति हो । ती नेताको प्रश्नबाट बिचरा कार्यकर्ताले अनुमान लगाउन कोसिस गर्दछ के चाहिँ आयो वा बाँकी छ भनेर । किनकि, नेताजीको कोपभाजनको खतरा ठूलो छ । हो, नेपालमा अहिले त्यही अवस्था रहेको छ जुन नेताले हैन कार्यकर्ताले बुझेको छ । बहस छलफल र वादको कुरा आएको छैन, छाएको छैन बरु, कोपभाजन आएको छ । त्यसैभित्रबाट नेतृत्वको खोजी हुँदैछ ।
कार्यकर्ताको दशा यस्तो छ, अर्कोतिर दिशा अर्कै छ । नेकपा (एमाले) माथि धेरै पटक जघन्य सांघातिक हमलाहरू भए माले–माक्र्सवादीको एकतादेखि, केशरमणि गुप्तचरी, संसद्मा ह्विप उल्लंघन, बोगटी प्रकरण, जननेता मदन भण्डारी–जीवराज आश्रितको हत्या, २०५२ भदौको सर्वोच्च अदालतको फैसला, माओवादीको तथाकथित जनयुद्धमार्फत ‘सच्चा कम्युनिस्ट पार्टी’को खेल, २०५४ सालको विभाजनदेखि विभिन्न घटनाक्रमलाई नेकपा (एमाले)ले कुशलतापूर्वक सम्हालेको छ । फेरि अहिले केही दिशानिर्देशबाट नेकपालाई कमजोर पार्ने खेल हुँदैछ कि भन्ने आशंका उत्पन्न भएको छ । नेपाली समाजको बदलिँदो सांस्कृतिक, पारिवारिक बनावट, उत्पादन सम्बन्धमा आएको परिवर्तन, सोच्ने र विचार गर्ने प्रक्रियामा समेत देखापरेको फरक, सूचना सञ्चार, यातायात, बजारको विस्तार अनि सांसारिक सम्बन्ध सबैतिरबाट अब सामन्तवादी समाज विचार र उत्पादन प्रक्रिया समाप्त भइसकेको छ । एउटा किसान परिवारसमेत अब आफ्नो जमिन, कृषि, मल, बीउ, औजार सबै पुँजीवादी प्रणालीको मातहत छ । शिक्षादीक्षा आजको प्रतिस्पर्धा र योग्यताको विकासमा सबै प्रकारले पुँजीवादी उत्पादन सम्बन्ध हाबी छ । एक जना समाजशास्त्रीको व्याख्यामा भन्ने हो भने पारिवारिक सम्बन्ध र परस्परको सहयोगसमेत पुँजीवादमा आधारित भइसकेको छ । यस्तो बेलामा सामन्तवाद लडाइँको प्रधान पक्ष हो भन्ने व्याख्याले हामीलाई कहाँ पुर्याउँछ ? हो, हाम्रा लडाइँ विकृत पुँजीवादसँग हुन बाँकी छ, शोषण, दमन र उत्पीडनको पुँजीवादी शैली तौरतरिकाबाट श्रमजीवी जनताको मुक्ति बाँकी छ । चरम छाडा बजार अर्थतन्त्र र उपभोक्तावादबाट नेपाली जनतालाई मुक्त गर्न बाँकी छ । यी सबैका लागि जनताको बहुदलीय जनवाद स्थापना गर्न मौजुदा राजनीतिक परिवर्तनलाई अत्यधिक प्रयोग गर्न बाँकी छ । हाल जनताको बहुदलीय जनवाद आएको हैन तर अब प्रधान लडाइँ सामन्तवादसँग छ भन्नु पनि युक्तिसंगत हुँदैन ।
जनताको बहुदलीय जनवाद—समाजवादमा संक्रमणअघिको व्यवस्था हुनेछ । यसलाई अनावश्यक भ्रमपूर्ण नबनाऔं, जबज र माक्र्सवाद दुवै जडसूत्र होइनन् अनि नेपाली समाजमा चारैतिरबाट पुँजीवादी उत्पादनको प्रभावबीचबाट जबजको राजनीतिक वैचारिक क्रान्ति कसरी गर्ने भन्ने मुख्य विषय हो । हामीले निरुपण गरेको हरेक पक्षमा, हाम्रो व्यवहार, सोचमा रूपान्तरणका लागि जबजलाई ठीक व्याख्या तथा उपयोग गरौं । जबजको यथार्थता बोक्ने पार्टी संगठन र नेतृत्वको निर्माणमा दृढ संकल्पित भएर लागौं ।
पार्टीको सम्पूर्ण पंक्तिलाई, नेताहरूले रुचिका अंश–अंशका कुराहरू बताएर भ्रमित गरिएको छ । साथै कार्यकर्ता पंक्तिबाट पनि समग्र राजनीतिक–सांगठनिक प्रक्रियामा अभिरुचि कम भएर गएको वर्तमान अवस्थामा अंश–अंशकै कुराहरूबाट चित्त बुझाउँदै आएका छन् । नेकपा (एमाले)ले झन्डै २२ देखि २५ वर्षअघि ‘जडसूत्रवादको विरोध गरौं’, ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं’ भन्ने मान्यता अघि सारिसकेको छ । जबज क्रान्तिको कार्यक्रम, निर्देशक विचार, मार्गदर्शक सिद्धान्त हो । जबज द्वन्द्ववाद र ऐतिहासिक भौतिकवादका मूल्य–मान्यतामा आधारित भएर नै अगाडि बढेको छ । जबज द्वन्द्वको नियमलाई सार्वभौम ठान्दछ । नेपालमा द्वन्द्वको प्रधान अवस्था पुँजीवादी उत्पादन प्रणालीमा छ, जहाँ पुँजी र श्रमजीवीबीचको द्वन्द्वको अवस्थामा पुगेको छ । यो वर्गीय द्वन्द्वका साथै जातीय, सांस्कृतिक, धार्मिक, लैंगिक, भाषिक द्वन्द्वहरू पनि छन् तर त्यसको धुरी पुँजीवादी सामाजिक–आर्थिक अवस्थाको बाहुल्यता विद्यमानता नै हो । त्यसैले नेकपा (एमाले)ले अब श्रमजीवी पक्षको पक्षपोषण र उत्पादन शक्तिको भूमिकामा जोड दिनैपर्छ । र, हाम्रा व्याख्याहरूले पनि कुनै पनि हालतमा सामन्त र पुँजीपतिलाई खुसी तुल्याउनु हुँदैन । हामी पुरानो जनवादले जस्तो सामन्तवादको मात्रै विरोधमा नफसौं । जबजले सामन्तवाद र पुँजीवाद दुवैको विरोध गर्नुपर्छ ।
त्यसैगरी हाल एमाओवादीहरूले चर्चा गरेजस्तो ‘पुँजीवादी क्रान्ति’को कार्यदिशाको कुरा गरेर पुरानो जनवादले जस्तो पुँजीवादको चरम विकासको विकृतिजन्य अवस्था हैन, नयाँ जनवाद अर्थात् जबजले वैज्ञानिक समाजवादको दिशा निर्देशन गर्नुपर्छ । अबको जनवादी क्रान्ति पुँजिपति वर्गको नेतृत्वमा हैन, सर्वहारा श्रमजिवी वर्गको नेतृत्वमा हुनुपर्दछ । त्यो जबजको राजनीतिक, कार्यनीतिक कार्यदिशाको आधारमा नेकपा (एमाले)को नेतृत्व/अगुवाइमा हुनेछ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply